सुनमा कर बढेपछि एकैदिन साढे २० हजारले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो । यो भारी वृद्धिसँगै बजारमा आज छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम रहेको थियो । सुनसँगै आज चाँदीको भाउमा पनि उच्च वृद्धि भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ । बजेटमा गरिएका नीतिगत परिवर्तन र भन्सार दरको वृद्धिका कारण नेपालको सुनचाँदी बजारमा सम्भवतः यो अहिलेसम्मकै सबैभन्दा ठूलो एकल दिनको मूल्य वृद्धि हो । सरकारले सुनमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउने घोषणा गरेको थियाे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै राजस्व वृद्धि र विलासिताजन्य वस्तुको उपभोग नियन्त्रण गर्ने उद्देश्यले भन्सार दर बढाइएको बताएका थिए । भन्सार महसुल वृद्धि भएपछि आगामी दिनमा सुनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ। आयात लागत बढ्ने भएकाले उपभोक्ता मूल्यमा पनि वृद्धि हुने व्यवसायीहरूले बताएका छन्। सरकारले सुनलाई विलासिताजन्य वस्तुको रूपमा राख्दै यसमा कर संरचना कडा बनाउने नीति लिएको जनाएको छ । अर्थमन्त्री वाग्लेले यसबाट राजस्व संकलन वृद्धि हुने र अनावश्यक सुन आयात नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन् ।
टिकटकर तुल्सा अधिकारी पक्राउ
काठमाडौं । टिकटकर तुल्सा अधिकारी पक्राउ परेकी छन् । उनलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । प्रहरीका अनुसार अहिले उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । टिकटकर अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । गत साउनमै उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो ।
कर नतिरेकालाई छुट योजना, विगतको ‘ब्यालेन्सिट’ देखाउन नपर्ने
काठमाडौं । सरकारले देशको आर्थिक गतिविधिमा सुधार ल्याउन र विभिन्न कारणले बक्यौता तिर्न नसकेका करदाताहरूलाई लक्षित गरी विशेष छुट योजना सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकमार्फत आर्थिक वर्ष २०८३/८४ सम्म विभिन्न चरणमा जरिवाना, ब्याज, शुल्क तथा अतिरिक्त दस्तुरहरूमा आकर्षक छुटको व्यवस्था गरिएको हो । लामो समयदेखि कर तिर्न बाँकी रहेका, विवरण बुझाउन नसकेका वा कानुनी विवादमा अल्झिएका व्यवसायहरूका लागि छुट योजना ल्याएको हो । सरकारले प्यान नलिई आय आर्जन गरेका व्यक्तिहरूका लागि २०८३ साल पुस मसान्तभित्र कर प्रणालीमा आउँदा शुल्क र ब्याज पूर्ण रूपमा छुट दिने घोषणा गरेको छ । प्यान लिएर पनि हालसम्म कुनै कारोबार नगरेका करदाताहरूका लागि सरकारले ठूलो राहत दिँदै अघिल्ला वर्षहरूको विवरण नै बुझाउनु नपर्ने व्यवस्था गरेको छ । यस्तै, प्यान भई आय विवरण तथा कर बुझाउन बाँकी रहेका करदाताहरूले पनि आगामी २०८३ पुस मसान्तभित्र बक्यौता राफसाफ गरेमा शुल्क र ब्याजमा शतप्रतिशत छुट पाउनेछन् । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ दर्ता भएर पनि कर नतिरेका र विवरण बुझाउन बाँकी रहेका व्यवसायीहरूका लागि पनि सरकारले विशेष सहुलियत ल्याएको छ । यस्ता करदाताहरूले आगामी २०८३ पुस मसान्तभित्र बक्यौता बुझाएमा ब्याज, थप दस्तुर र जरिवाना तिर्नुपर्ने छैन । अन्तःशुल्क तर्फ कर नतिरेका करदाताहरूका लागि २०८३ पुस मसान्तसम्म विलम्ब शुल्क र जरिवाना छुटको व्यवस्था गरिएको छ भने अन्तःशुल्क इजाजत नवीकरण नगरेकाहरूका लागि आगामी २०८३ असोज मसान्तभित्रै पछिल्ला वर्षको दस्तुर र जरिवानामा छुट दिने गरी छोटो म्याद तोकिएको छ । विवरण पेश गरेर पनि भ्याट, अन्तःशुल्क र डिजिटल माध्यमको कर तिर्न बाँकी रहेका करदाताहरूले २०८३ पुस मसान्तभित्र शुल्क, जरिवाना, ब्याज र विलम्ब शुल्कमा पूर्ण मुक्ति पाउनेछन् । आन्तरिक राजस्व विभागको कर निर्धारणबाट सिर्जित बक्यौता रहेका करदाताहरू र विभिन्न न्यायिक निकायमा मुद्दा विचाराधीन अवस्थामा रहेका करदाताहरूका लागि पनि २०८३ पुस मसान्तसम्मको म्याद दिई शुल्क, जरिवाना र ब्याज छुटको व्यवस्था गरिएको छ । तर, यसमा दूरसञ्चार क्षेत्रको बक्यौतालाई भने समावेश गरिएको छैन । कूटनीतिक निकायमा कार्यरत रहँदा कर तिर्न बाँकी भएकाहरूका लागि आगामी २०८३ मंसिर मसान्तभित्र ब्याज र शुल्क छुटको व्यवस्था गरिएको छ । यस्तै, कम्पनी ऐन अन्तर्गत बक्यौता रहेका कम्पनीहरूका लागि आगामी २०८३ असोज मसान्तभित्रै सम्पूर्ण कर, शुल्क, ब्याज र जरिवाना मिनाहा हुने गरी विशेष अवसर दिइएको छ । साल बसाली ऐन अन्तर्गत बक्यौता रहेका करदाताहरूले भने २०८३ मंसिर मसान्तभित्र जरिवाना, ब्याज र शुल्कमा आकर्षक छुट पाउन सक्नेछन् । यस्तै, क्यासिनोको इजाजत नवीकरण गराउन बाँकी रहेका व्यवसायीहरूले आर्थिक वर्ष २०८३/८४ भित्र नवीकरण शुल्क बुझाएमा नवीकरण शुल्कमा लाग्ने जरिवानाको ८५ प्रतिशत छुट पाउनेछन् । सरकारको यस कदमले ठूलो परिमाणको बक्यौता उठाउने र करदाताहरूलाई कानुनी झन्झटबाट मुक्त गराई नियमित कर प्रणालीमा ल्याउने सकारात्मक प्रयासका रुपमा हेरिएको छ ।
लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु
मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा हाइअल्टिच्युडका कारण लेक लागेर १३ पर्यटकको मृत्यु भएको बताए । मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन् । धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका पर्यटक सबै वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । मुस्ताङमा हाइअल्टिच्युडका कारण लेक लागेर बढी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बेँसीको समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा आउने पर्यटकलाई पर्याप्त रूपमा आवश्यक स्वास्थ्य सावधानी र सतर्कता अपनाउन नसक्दा लेक लागेर मृत्यु हुने समस्या देखिएको हो । समुद्री सतहको तीन हजार मिटरमाथिको उच्च उचाइको पर्वतीय क्षेत्रमा अक्सिजनको लेवल कम भई यहाँ आएका पर्यटकलाई लेक लाग्ने समस्या रहने गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । यहाँका सरोकारवाला सरकारी कार्यालयले हाइअल्टिच्युडका कारण लेक लाग्ने समस्या कम गर्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय, एक्याप, मुक्तिनाथ विकास समिति, स्थानीय तह र सुरक्षा निकायलगायतले हाइअल्टिच्युडसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना थासाङ–४ घाँसामा लेक लाग्ने समस्यासम्बन्धी सचेतनामूलक साइन बोर्ड राखिएको छ । एक्यापले चालु वर्ष घाँसादेखि मुक्तिनाथसम्म पर्यटकीय चहलपहल हुने स्थानमा बोर्ड टाँस गरेको एक्याप प्रमुख राजेश गुप्ताले जानकारी दिए । त्यसैगरी, प्रदेश जनस्वास्थ्य कार्यालयले पनि हाइअल्टिच्युडसम्बन्धी साइन बोर्ड तथा ब्रोसर छपाएर पर्यटकलाई वितरण गर्ने गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले बताइन् । हाइअल्टिच्युडको जोखिम कम गर्न तथा पर्यटकको स्वास्थ्य रक्षाका लागि वारागुङ–१ मुक्तिक्षेत्रका सबै होटलमा प्रोटेबल अक्सिजन सिलिन्डरसहित लेक नलाग्ने औषधिको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सम्बन्धित ट्राभल एजेन्सी र होटलहरूले पर्याप्त हाइअल्टिच्युडसम्बन्धी जानकारी दिन नसक्दा लेक लाग्ने घटना न्यूनीकरण हुन नसकेको हो । विभिन्न पर्यटक ट्राभल्स कम्पनीहरूले यहाँ आउने पर्यटकलाई होल्डिङ नगरी एकसाथ गन्तव्यमा पुर्याउने परिपाटीका कारण पनि लेक लाग्ने समस्या जटिल बनेको हो । उच्च स्थानमा हाइअल्टिच्युडको जोखिमबाट सुरक्षित रहन ठाउँठाउँमा होल्डिङ गर्दै यात्रा गर्नुपर्ने यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन् । मुक्तिनाथ दर्शनार्थीहरूको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्रले मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ व्यवस्थापन गरिएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने सिँढीबाटो नेपाली सेनाले निर्माण गरेको विश्रामस्थलमा गरी दुई ठाउँबाट उक्त सेवा प्रदान गरिएको संयोजक बोहोराले उल्लेख गरे । बेँसीको समथर ठाउँबाट हिमाली जिल्लाको उच्च क्षेत्रमा यात्रा गर्ने पर्यटकमध्ये शारीरिक रूपमा अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हाइअल्टिच्युडको समस्या देखिने गरेको छ ।
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा
काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो । डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन् । सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०.३८ ले सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि सन् १९८८ मा पारित प्रस्ताव डब्लुएचए ४२.१९ अनुसार हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउन थालिएको हो । डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८८१ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् । तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन् । पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ । सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ । यस वर्षको दिवसको अवसरमा डब्ल्युएचओेले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ । सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ८८चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छ भने विद्युतीय चुरोट (ई-सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ निरन्तर बढिरहेको छ । डब्ल्युएचओले सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, प्रयोग गर्न सहज र छोड्न कठिन बनाउने गरी विकास गरिरहेका जनाएको छ । विशेषगरी स्वादयुक्त ई-सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएका सङ्गठनको भनाइ छ । डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवद्र्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौं मानिसको मृत्यु भइरहे पनि ठूला कम्पनीहरूले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेको बताएका छन् । उनका अनुसार स्वादयुक्त ई-सिगरेट, निकोटिन पाउच र अन्य निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले युवापुस्तालाई लक्षित गरिरहेको छ । निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुनसक्ने डब्लुएचओले जनाएको छ । हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई-सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ । डब्ल्युएचआले हालै सार्वजनिक गरेको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यसको व्यापक प्रचारप्रसार भइरहेको उल्लेख गरिएको छ । आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद तथा जीवनशैलीसँग जोडिएका विज्ञापन अभियानमार्फत युवालाई आकर्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियमनको व्यवस्था छैन । विश्वव्यापी रूपमा यसको बिक्री तीव्र गतिमा बढिरहे पनि पर्याप्त नियमन नहुँदा लाखौं मानिस जोखिममा छन् । डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन रोक्न, सार्वजनिक भित्री स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न तथा कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ । सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै डब्ल्युएचओले स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयासमा जोड दिएको छ ।
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो । यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट ब्राउनसुगरसहित तीन, सल्ल्यानको बागचौर नगरपालिका-२ खरिबोटबाट ब्राउनसुगरसहित एक, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट खैरो हेरोइन बोकेका दुई जनालाई एउटा डिजिटल तराजु र नगद १२ हजार ७१० रुपैयाँसहित शुक्रबार पक्राउ गरिएको हो । यसैगरी, मोरङ, बेलबारी नगरपालिका–१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस्तै, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट एक, नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१६ अमहवाबाट एक, मध्यपुर थिमि नगरपालिका-५ कमेरोटारबाट दुई, बर्दिया, गुलरिया नगरपालिका-८ थपुवाबाट चार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१४ छेपारेबाट एक, चितवनको खैरहनी नगरपालिका-८ चौबिसकोठीबाट एक र सर्लाहीको ईश्वरपुर नगरपालिका-८ रामपुरबाट ५५ किलो गाँजासहित एक जनालाई शनिबार पक्राउ गरिएको हो ।
घरजग्गा व्यवसाय चलायमान बनाउन सहजीकरणको माग
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन् । नेपाल जग्गा तथा आवास विकास सङ्घको १९ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले घरजग्गा क्षेत्रका विद्यमान चुनौती र सरकारले चाल्नुपर्ने नीतिगत कदमबारे ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष कुँवरले सरकारी नीतिको अस्पष्टताका कारण ‘रियल इस्टेट’ व्यवसायी सङ्कटमा परेको र यसले आमनागरिकको आवासमा पहुँचसमेत कठिन बनाएको बताए । ‘अस्पष्ट नीतिका कारण व्यवसायी आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्, जुन मुलुकको आर्थिक समृद्धिका लागि डरलाग्दो अवस्था हो’ , उनले भने । अध्यक्ष कुँवरले व्यवस्थित बस्ती विकासका लागि ‘रियल इस्टेट’ कम्पनीलाई जग्गा हदबन्दी नलाग्ने व्यवस्था गर्न र निर्मित आवास तथा अपार्टमेन्ट बिक्रीमा रहेका कानुनी बाधा हटाउन माग गरे । कित्ताकाटमा हाल देखिएको अस्थायी सहजीकरणलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, ‘प्लानिङ’ अनुमति प्राप्त कम्पनीलाई नगर विकास समिति सरहको सुविधा दिई ‘ल्याण्ड पुलिङ’ र ‘हाउस पुलिङ’ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, एकीकृत सहरी विकास ऐन तथा भूमि संहिता जारी गर्नुपर्ने, मालपोत तथा नापी कार्यालयमा विद्युतीय प्रणाली लागू गरी पारदर्शिता र छरितो कार्यविधि सुनिश्चित गर्नुपर्ने उनको माग थियो । अध्यक्ष कुँवरले भने, ‘ यी माग व्यवसायीको हितमा मात्र नभई राष्ट्रको समग्र सामाजिक-आर्थिक विकासका लागि पनि आश्यक छन् । त्यसैले सुरक्षित, दिगो र समावेशी सहरीकरणमार्फत नेपाललाई आधुनिक बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक छ ।’
ढुक्क हुनुस्, देश बनाउँछौं: महामन्त्री शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । महामन्त्री शाहले भने, ‘सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था गरिएको छ । अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ । हामीले सफा नियतका साथ काम गरिएका छौं । जनतासँग गरेका वाचा पूरा गर्न पार्टी र सरकार प्रतिबद्ध छ ।’ उनले पार्टी राजीतिमा दुई किसिमका गुणको सङ्घर्ष हुने गरेको भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए । पार्टीमा योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न आग्रह गर्दै महामन्त्री शाहले सबल पार्टीको माध्यममार्फत देश बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले सबल पार्टी बनेमा कम्तीमा दुईरतीन दशक देशको नेतृत्व गर्ने दाबी गर्दै त्यसैले पार्टी बलियो बनाउने बेला आएको बताए । महामन्त्री शाहले भने, ‘अहिले पार्टी निर्माण गर्ने बेला हो, यस अभियानमा योगदान दिनेलाई पार्टीले सोहीअनुसार अवसर दिन्छ । पार्टी महाधिवेशनमा होमिएको छ, चुस्त र बलियो सङ्गठन बनाउन सबैले मेहनत गरौं ।’