महामन्त्री राणा राप्रपा छाडेर नयाँ अभियानमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छोडेको घोषणा गरेका छन् । डा. राणाले नयाँ राजनीतिक अभियानको घोषणा गर्दै राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वानसमेत गरेका छन् । शनिबार सार्वजनिक गरेको आह्वानपत्रमार्फत राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक बाटो तय गर्ने निर्णय गरेको बताएका हुन् । उनले देश तथा विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझाव, सल्लाह र शुभेच्छाका आधारमा नयाँ अभियान अघि बढाउन लागिएको उल्लेख गरेका छन् । राणाले देशलाई माया गर्ने, समृद्ध नेपाल निर्माणको चाहना राख्ने राष्ट्रवादी शक्तिहरू तथा नयाँ पुस्तालाई समेत आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका छन् । ‘देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नयाँ पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु,’ उनले आह्वानपत्रमा उल्लेख गरेका छन् । आफ्नो वक्तव्यमा राणाले राप्रपाको पछिल्लो राजनीतिक यात्राप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । विगत चार वर्ष राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरिएको भए पनि विरोधाभास र सैद्धान्तिक द्विविधाका कारण पार्टी गलत दिशामा गएको उनको आरोप छ ।
१२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा
काठमाडौं । बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आइतबार स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत सातवटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने तीन हजार बालबालिकामा अध्ययन गरिएको जानकारी दिए । उनका अनुसार अध्ययनमा १० वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवनमा लागेको पाइएको छ । त्यस क्रममा ५७ प्रतिशत मानिसले बिहान उठ्नबित्तिकै चुरोट खाने गरेको र ७४ प्रतिशत सेवनकर्ताले चुरोट छाड्न कोशिस गरे पनि नसकिरहेको बताएका थिए । कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का, भेपजस्ता स्वादिलो र मिठास सुगन्ध आउने ‘फ्लेवर’ राखेर बिक्री गर्ने पाइएको बताए । उनले हाल किशोर किशोरीमा चुरोट, भेप र हुक्काको आकर्षण बढेकाले अभियान सञ्चालन गरेर रोक्नुपर्ने बताए । अतिरिक्त सचिव डा. श्रेष्ठले भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको सेवन नगर्नसमेत आग्रह गरे । उनले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि कानुन कार्यान्वयनमा जोड दिए । ‘मुलुकलाई सुर्तीमुक्त अभियान सञ्चालन गरेर मुटु, फोक्सो, मिर्गौला र क्यान्सरजस्ता रोगको उपचारमा लाग्ने खर्च जोगाउन सकिन्छ । यसमा सबैले ध्यान दिनुपर्छ,’ श्रेष्ठले भने । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सुर्तीजन्य पदार्थ सामाजिक विष रहेकाले सबैको सहयोगबाट यसलाई रोक्न सकिने बताए । ‘सुर्तीजन्य पदार्थ एकप्रकारले सामाजिक विष नै हो । यसलाई सबै मिलेर समाजबाट हटाउनुपर्दछ,’ उनले भने । निमित्त महानिर्देशक डा. भट्टचनले सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रण गर्न सरकार लागिपरेको र यसमा सबैको साथ आवश्यक रहेको धारणा राखे । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आफ्नो घरमा कोही सुर्तीजन्य पदार्थ सेवनकर्ता छ भने छोडाउन आग्रह गरे । ‘आफ्नो घरमा कसैले सुर्तीजन्य पदार्थ सेवन गर्दछन् भने पहिलो तिनीहरूलाई छोडाऔं । विस्तारै सामाजका अन्य व्यक्तिलाई पनि यस कार्यमा नलाग्न सचेत गराऔं,’ उनले भने । स्वास्थ्य अभियन्ता शान्तराज मुल्मी, डा. जयकुमार गुरुङ, ज्योति बानियाँले युवालाई सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिए । ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं’ भन्ने नाराका साथ आज दिवस मनाइएको छ । नेपालमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । धूमपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेहजस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताएका छन् ।
ओछ्यानसहित दम्पती बेपत्ता पारेको आरोपमा ४ जना पक्राउ, जग्गाको किचलोले घटना भएको आशंका
काठमाडौं । सुतेको ओछ्यानसहित दम्पतीलाई बेपत्ता पारेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुर रहेका छन् । चारैजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । गत फागुन १० गते राति पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी सुतेकै कोठाबाट ओछ्यानसहित बेपत्ता भएका थिए । उनीहरूको अवस्थाबारे प्रहरीले अझैसम्म केही पनि पत्ता लगाउन सकेको छैन । प्रहरीका अनुसार भारत र नेपालका विभिन्न शंकास्पद ठाउँमा खोजी भइरहेको छ । पक्राउ परेकाहरूले झा दम्पतीलाई मारेको वा बेपत्ता पारेको बारेमा प्रस्ट बयान नदिएकाले भारतलगायत नेपालका विभिन्न शंकास्पद ठाउँमा खोजी भइरहेको प्रहरीले जनाएको छ । जग्गाको विवादले घटना घटाएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार हरेन्द्र ठाकुर जग्गाका कारोबारी हुन् । उनले आफ्नो प्लटिङमा बाटो बनाउ झालाई जग्गा बेच्न दबाब दिँदै आएका थिए । यद्यपि झा जग्गा बेच्न तयार थिएनन् । दम्पती बेपत्ता भएको राति हरेन्द्र र रामबाबुबीच पटक–पटक अस्वाभाविक रूपमा संवाद भएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हाल यो घटनाको महोत्तरी प्रहरी, प्रदेश २ प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेका छन् ।
‘निजी क्षेत्र बजेट कहाँबाट बर्सियो भनेर उत्साहित छन्, पुँजीगत लाभकर अन्तिम नै हो’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा लगाइने पुँजीगत लाभकर अन्तिम करकै रूपमा कायम रहने स्पष्ट पार्दै कर दरमा गरिएको सामान्य वृद्धि लगानीकर्ताकै सुझावअनुसार गरिएको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पुँजीगत लाभकरबारे उठेका चासोको जवाफ दिँदै अल्पकालीन र दीर्घकालीन लगानीमा लाग्ने करदरमा सीमित समायोजन मात्र गरिएको बताए । ‘पुँजीगत लाभकर अन्तिम नै हो,’ उनले भने, ‘५ प्रतिशतलाई ७.५ प्रतिशत र ७.५ प्रतिशतलाई १० प्रतिशत बनाएका छौं । तर यो अन्तिम करकै रूपमा कायम रहनेछ ।’ उनले कर संरचनामा गरिएको परिवर्तन लगानीकर्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राखेर गरिएको दाबी गरे । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा अर्थतन्त्र चलायमान बनाउन सूचना प्रविधि, डिजिटल पूर्वाधार र भौतिक पूर्वाधार क्षेत्रमा ठूलो लगानी तथा नीतिगत प्रोत्साहन दिने बताए । ‘अर्थतन्त्रमा बिग ब्याङ र पूर्वाधारमा बिग पुसका रूपमा काम गर्छौं,’ उनले भने, ‘निजी क्षेत्र अहिले यस्तो बजेट कहाँबाट बर्सियो भनेर उत्साहित भएको अवस्था छ ।’ सरकारले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा हेरेको उल्लेख गर्दै उनले बजेटमार्फत लगानी, उत्पादन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार बजेटले निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ ।
शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाइएका करबारे बोले अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा, स्वास्थ्य र विद्युत क्षेत्रमा बजेटमार्फत प्रस्ताव गरिएका कर व्यवस्थाहरू सामाजिक समानता, सार्वजनिक सेवा सुधार र दीर्घकालीन पूर्वाधार विकासलाई लक्षित गरेर ल्याइएको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘समता कर’ कुनै नयाँ अवधारणा नभई विगतमा पनि प्रयोगमा आएर पछि हटाइएको व्यवस्था रहेको बताए । उनका अनुसार सरकारले यस वर्ष बालबालिकाको पोषण भत्ता दोब्बर बनाएको छ, जसका लागि वार्षिक करिब ६ अर्ब रुपैयाँ अतिरिक्त दायित्व सिर्जना भएको छ । स्वास्थ्य करबाट संकलित रकम पौष्टिक आहार तथा सामाजिक क्षेत्रमा खर्च हुने व्यवस्था गरिएको उल्लेख गर्दै उनले यो कर मध्यम वर्गलाई आर्थिक रूपमा थिच्न नभई सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने उद्देश्यले ल्याइएको बताए । ‘यो मध्यम वर्गको ढाड सेक्ने नीति होइन । यसको ध्येय सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नु हो,’ उनले भने काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा गरेको सुधारका कारण अहिले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयप्रति आकर्षण बढेको उदाहरण दिँदै उनले त्यसैलाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखिएको बताए । विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत भ्याटबारे पनि अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पारे । बढ्दो विद्युत् खपतसँगै ठूलो लगानीका पूर्वाधार निर्माण आवश्यक भएको भन्दै उनले आयकरमा राहत दिएर उपभोगतर्फ करको भार सार्ने नीति अवलम्बन गरिएको बताए । ‘मध्यम वर्गले १० लाख रुपैयाँ आम्दानीमा १ प्रतिशत कर छुट पाउनु चानचुने कुरा होइन। हामी यसमा लचिलो भएकै हौं,’ उनले भने, ‘आयमा कर घटाऔं र उपभोगमा केही बढाऔं भन्ने उद्देश्यले विद्युत् करको व्यवस्था गरिएको हो ।’ उनले विद्युत् करको प्रभाव न्यून रहने दाबी गर्दै ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई कुनै अतिरिक्त कर नलाग्ने बताए । १५० युनिटसम्म खपत गर्नेले मासिक २४ रुपैयाँ मात्र अतिरिक्त तिर्नुपर्ने र अधिकांश घरधुरीको अतिरिक्त भार २५ देखि १०० रुपैयाँको बीचमा सीमित रहने उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेले सबै घरधुरीले एकैपटक इन्डक्सन चुल्हो र विद्युतीय सवारीसाधन प्रयोग गर्न थाले वर्तमान पूर्वाधारले धान्न नसक्ने अवस्था रहेको पनि बताए । ‘सबैले इन्डक्सन चुल्हो र ईभी चलायो भने अहिलेको पूर्वाधार पर्याप्त छैन, ट्रान्सफर्मर नै पड्किन सक्छ,’ उनले भने । मध्यम वर्गलाई बजेटमार्फत उल्लेख्य कर छुट र सहुलियत दिइएको उल्लेख गर्दै उनले त्यसको सन्तुलन कायम गर्न केही क्षेत्रमा सम्झौता आवश्यक हुने बताए । ‘मध्यम वर्गलाई ठूलो छुट दिइएको छ । त्यसका लागि केही कम्प्रोमाइज पनि गर्नुपर्छ,’ उनले भने ।
बजेट महत्त्वाकांक्षी होइन, जीडीपीको तुलनामा आकार सानो छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट महत्त्वाकांक्षी नभएको दाबी गरेका छन्। आइतबार (आज) अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजारमा चलेको हल्लाभन्दा निकै कम आकारको बजेट आएकाले यसलाई ठूलो भन्न नमिल्ने जिकिर गरे । कुल गार्हस्थ उत्पादन (जीडीपी) को सापेक्षतामा बजेटको आकार विगतका वर्षहरूभन्दा सानो रहेको उनको मुख्य दाबी छ । ‘बजारमा २५ खर्बको बजेट आउँछ रे भन्ने व्यापक हल्ला थियो, तर अन्तिममा बजेट २१ खर्बको हाराहारीमा आयो,’ अर्थमन्त्री वाग्लेले भने, ‘धेरैले बजेट ठूलो र महत्त्वाकाङ्क्षी आयो भने पनि आकारका हिसाबले यो त्यस्तो होइन । राज्यको क्षमता र अनुकूलताकै आधारमा वाञ्छित सीमाभित्र बजेट आएको छ ।’ अर्थमन्त्री वाग्लेले बजेटलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातसँग तुलना गरेर हेर्नुपर्नेमा जोड दिए । विगतमा जीडीपीको ३७ प्रतिशतसम्मको बजेट आएको इतिहास स्मरण गराउँदै उनले यसपटक प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँको सापेक्षतामा २८.५ प्रतिशत हाराहारी मात्रै बजेट ल्याइएको स्पष्ट पारे । भूकम्पपछिका वर्षहरूमा बजेटको आकार जीडीपीको ३० प्रतिशतमाथि आउने गरेकोमा यसपालि त्यो ट्रेन्ड भत्काइएको उनले बताए । बजेटले मुलुकमा ऋणको भार थप्यो भन्ने आलोचनाको खण्डन गर्दै अर्थमन्त्रीले भूकम्प र कोरोना महामारीको समयमा जस्तो अहिले ऋण नबढेको दाबी गरे । हाल मुलुकको कुल ऋणको आकार २९ खर्ब ७५ अर्ब रुपैयाँ (जीडीपीको ४३ प्रतिशत हाराहारी) पुगेको जानकारी दिँदै उनले यस वर्ष ६५७ अर्ब ऋण लिइएको र ३१८ अर्ब रुपैयाँ ऋण तिरिएको बताए । यो साल वैदेशिक ऋण मात्रै ७२ अर्ब रुपैयाँ तिरिनेछ । आगामी वर्षका लागि ४१० अर्ब रुपैयाँ आन्तरिक र २४७ अर्ब रुपैयाँ बाह्य ऋणको लक्ष्य लिइएको जानकारी दिँदै उनले भने, ‘अहिले हामीले लिने ऋण पहिलेकै थोपरिएको ऋण तिर्नमा जाने गरेको छ ।’ अर्को वर्षदेखि ऋणलाई नेटमा हिसाब गर्ने विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि छलफल भइरहेको र नयाँ विधि अपनाइने उनले जानकारी दिए । निजामती कर्मचारीको तलब वृद्धिका विषयमा बजारमा चलेका भ्रमहरूलाई चिर्दै अर्थमन्त्री वाग्लेले तलब वृद्धि स्पष्ट रूपमा २१ प्रतिशत नै भएको दाबी गरे । ‘तलब वृद्धि २१ प्रतिशत नै हो, यसमा कसैलाई डाउट नहोस् । झुक्क्यायो वा ढाँट्यो भन्ने कुराहरू गलत हुन्,’ उनले स्पष्ट पारे, ‘१० प्रतिशत बेसमै वृद्धि भएको हो र बढेको बेसमा अर्को १० प्रतिशत थपिएको हो । तर, यो कार्यसम्पादनमा आधारित सुरु गर्नका लागि हो । अहिले सबैले पाउँछन्, तर रिफर्म पछि त्यो एडजस्टेबल हुनसक्छ । त्यसपछिको प्रोत्साहन भत्ता वास्तविक प्रोत्साहनकै लागि मात्र हुनेछ ।’
ओमोडा ई-५ प्रो सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ
काठमाडौं । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले विद्युतीय सवारीसाधन ‘ओमोडा ई-५ प्रो’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार (आज) राजधानीमा आयोजित एक कार्यक्रमका बीच भविष्यमुखी डिजाइन र उच्च प्रविधियुक्त यस गाडीको औपचारिक लन्च गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले ओमोडाले नेपाली बजारमा विद्युतीय सवारीको प्रयोगमा नयाँ आयाम थपेको दाबी गरे । उनले आगामी दिनमा दिगो यातायातका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नायिका रेखा थापाले शारडा ग्रुपसँगको आफ्नो पुरानो सम्बन्धलाई स्मरण गर्दै ओमोडा गाडीको प्रयोगबाट आफू पूर्ण रूपमा सन्तुष्ट रहेको बताइन् । उनले व्यापारसँगै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकता दिने ओमोडाको संस्कारको प्रशंसा गरिन् । एसपीजी अटोमोबाइल्सका भाइस प्रेसिडेन्ट रूपेश शर्मा भट्टले प्राविधिक पक्षमा ‘ओमोडा ई-५ प्रो’ निकै शक्तिशाली र सुरक्षित देखिएको बताए । भट्टका अनुसार यसमा ५१.६ किलोवाटको शक्तिशाली ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । यस सवारीले ५-स्टार एनसीएपी (युरोपेली नयाँ कार मूल्याङ्कन कार्यक्रम) रेटिङ पाएको छ । यसमा ७ वटा एयरब्याग र १९ वटा एडीएस (उन्नत चालक सहायता) प्रणाली) सुविधाहरू उपलब्ध छन् । यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, प्रिमियम सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर जस्ता अत्याधुनिक सुविधाहरूले यात्रालाई थप विलासी बनाउने भट्टले जानकारी दिए । कम्पनीले ओमोडा ‘ओमोडा ई-५ प्रो’ को सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ । यद्यपि सुरुवाती ग्राहकहरूले ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले एक वर्षको निशुल्क बीमा सुविधा उपलब्ध गर्ने समेत बताएको छ । आठवटा आकर्षक रङहरूमा उपलब्ध ओमोडा ‘ओमोडा ई-५ प्रो’ ले नेपाली विद्युतीय सवारीको बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीले गरेको छ । कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र निर्देशक गौरव शारडा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको हुनसक्ने जानकारी आफूले पाएको’ भन्ने अभिव्यक्तिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । आइतबार आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादका सन्दर्भमा बोल्दै नेपालले पनि भारतको भूमि मिचेको भन्ने जानकारी आफूले पाएको उल्लेख गरेका थिए । प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि कांग्रेसले त्यसलाई गम्भीर, संवेदनशील र कुटनीतिक प्रभाव पार्न सक्ने विषय भन्दै संसदमै विरोध जनाएको हो । कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले तथ्य र प्रमाणबिनै दुई देशको सीमासँग जोडिएको अत्यन्त संवेदनशील विषय उठाएको आरोप लगाइन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र सार्वभौमिकतासम्बन्धी प्रश्न उठाएको बताउँदै त्यसको आधार स्पष्ट पार्न माग गरिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भनिन्, ‘प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि जानकारी दिनुपर्यो । यदि त्यस्तो तथ्य छ भने प्रमाण सार्वजनिक गरियोस् । होइन भने दुई देशबीचको सीमासम्बन्धी यति गम्भीर र आपत्तिजनक विषय प्रधानमन्त्रीले संसदमा कसरी उठाउनुभयो ?’ उनले प्रधानमन्त्रीको भनाइ पुष्टि गर्न नसकिने अवस्थामा उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने मागसमेत गरिन् । कांग्रेसले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले भ्रम सिर्जना गर्न सक्ने र नेपाल–भारत सम्बन्धजस्तो संवेदनशील विषयमा अनावश्यक विवाद निम्त्याउन सक्ने चेतावनी दिएको छ । कांग्रेसले प्रधानमन्त्रीसँग उक्त भनाइको आधार र प्रमाण सार्वजनिक गर्न औपचारिक रूपमा आग्रह गरेको छ । प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि संसदमा सीमासम्बन्धी विषय पुनः बहसको केन्द्रमा आएको छ ।