काठमाडौं । सुतेको ओछ्यानसहित दम्पतीलाई बेपत्ता पारेको आरोपमा ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुर रहेका छन् ।
चारैजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
गत फागुन १० गते राति पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी सुतेकै कोठाबाट ओछ्यानसहित बेपत्ता भएका थिए । उनीहरूको अवस्थाबारे प्रहरीले अझैसम्म केही पनि पत्ता लगाउन सकेको छैन ।
प्रहरीका अनुसार भारत र नेपालका विभिन्न शंकास्पद ठाउँमा खोजी भइरहेको छ ।
पक्राउ परेकाहरूले झा दम्पतीलाई मारेको वा बेपत्ता पारेको बारेमा प्रस्ट बयान नदिएकाले भारतलगायत नेपालका विभिन्न शंकास्पद ठाउँमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जग्गाको विवादले घटना घटाएको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रहरीका अनुसार हरेन्द्र ठाकुर जग्गाका कारोबारी हुन् । उनले आफ्नो प्लटिङमा बाटो बनाउ झालाई जग्गा बेच्न दबाब दिँदै आएका थिए । यद्यपि झा जग्गा बेच्न तयार थिएनन् ।
दम्पती बेपत्ता भएको राति हरेन्द्र र रामबाबुबीच पटक–पटक अस्वाभाविक रूपमा संवाद भएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हाल यो घटनाको महोत्तरी प्रहरी, प्रदेश २ प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेका छन् ।