महामन्त्री राणा राप्रपा छाडेर नयाँ अभियानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छोडेको घोषणा गरेका छन् । डा. राणाले नयाँ राजनीतिक अभियानको घोषणा गर्दै राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वानसमेत गरेका छन् ।

शनिबार सार्वजनिक गरेको आह्वानपत्रमार्फत राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक बाटो तय गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले देश तथा विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझाव, सल्लाह र शुभेच्छाका आधारमा नयाँ अभियान अघि बढाउन लागिएको उल्लेख गरेका छन् ।

राणाले देशलाई माया गर्ने, समृद्ध नेपाल निर्माणको चाहना राख्ने राष्ट्रवादी शक्तिहरू तथा नयाँ पुस्तालाई समेत आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका छन् । ‘देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नयाँ पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु,’ उनले आह्वानपत्रमा उल्लेख गरेका छन् ।

आफ्नो वक्तव्यमा राणाले राप्रपाको पछिल्लो राजनीतिक यात्राप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । 

विगत चार वर्ष राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरिएको भए पनि विरोधाभास र सैद्धान्तिक द्विविधाका कारण पार्टी गलत दिशामा गएको उनको आरोप छ ।
null

Share News