अब कम्प्युटरमा सिधै ‘एआई’, एनभीडीयाले ल्यायो ‘नयाँ चिप’
काठमाडौं । एनभीडीयाले सोमबार एउटा नयाँ चिप सार्वजनिक गरेको छ । सार्वजनिक चिपले कृत्रिम बौद्धिकता (एआई) का क्षमताहरूलाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरहरूमा उपलब्ध गराउने एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले जानकारी दिए । चिप सार्वजनिक भएसँगै एनभीडीयाले आफूलाई उसका प्रतिस्पर्धीहरू एड्भान्स्ड माइक्रो डिभाइसेज (एडब्ल्यूडी), इन्टेल र एप्पलसँगको प्रतिस्पर्धामा उभ्याएको छ । कम्प्युटिक्स सम्मेलनका लागि ताइवानमा रहेका एनभीडीयाका सीईओ हुआङले दुई कम्पनीबीच तीन वर्षको सहकार्यपछि एआई युगका लागि पीसीलाई पुन:परिभाषित गर्ने माइक्रोसफ्टसँगको प्रयासको एक हिस्सा आरटीएक्स स्पार्क पीसी चिप भएको बताएका छन् । एनभीडीयाका सीईओ जेन्सेन हुआङ । ताइवानको मिडियाटेकसँग मिलेर विकास गरिएको यो चिप यसै वर्षको शरद ऋतुमा डेल, एचपी, लेनोभो, आसुस, माइक्रोसफ्ट सर्फेस र एमएसआईका ल्यापटप तथा कम्प्याक्ट डेस्कटपहरूमा उपलब्ध हुनेछ । यसपछि एसर र गिगाबाइटका मोडलहरूमा पनि यो चिप आउनेछ । उद्योग विज्ञहरूका अनुसार यो प्रोसेसरले एआईसँगको प्रयोगकर्ताको अन्तरक्रियालाई पूर्ण रूपमा बदल्नेछ किनकि यसलाई क्लाउड कम्प्युटिङमा मात्र निर्भर हुनुको सट्टा स्थानीय रूपमै स्वायत्त एआई एजेन्टहरू सञ्चालन गर्न मिल्ने गरी डिजाइन गरिएको छ । एआई मोडलहरूलाई तालिम दिने चिपहरूमा आफ्नो वर्चस्व जमाएपछि एनभीडीया अब ‘इन्फरेन्स प्रोसेसर’ को मागमा आउने अनुमानित वृद्धिलाई कब्जा गर्न अघि बढेको छ । यी त्यस्ता चिपहरू हुन् जसले प्रयोगकर्ताका प्रश्नहरू र दैनिक कार्यहरू सम्हाल्न बनाइएका एजेन्टहरूलाई एआई प्रतिक्रिया दिने शक्ति प्रदान गर्छन् । बढ्दो प्रतिस्पर्धाले लगानीकर्ताहरूलाई चिन्तित बनाएका बेला, पीसीहरूलाई लक्षित गरेर एनभीडीयाले आफ्नो ठुलो सञ्जाल र एआई विशेषज्ञताको बलमा एउटा नयाँ ठुलो बजार खोल्ने दाउ खेलेको छ । एआई पीसीहरूका लागि अहिलेसम्मको बजार प्रतिक्रिया मिश्रित देखिएको छ । एचपीले गत हप्ता यी डिभाइसहरूले त्रैमासिक बिक्री बढाउन मद्दत गरेको रिपोर्ट गरेको थियो, तर डेलले यस वर्षको सुरुमा माग सुरुवाती अपेक्षाभन्दा कम रहेको बताएको थियो । एआई मागको फाइदा उठाउन खोजिरहेको क्वालकमले पनि माइक्रोसफ्टसँग मिलेर एआई पीसीहरू अघि सारिरहेको छ । काउन्टरपोइन्ट रिसर्चका सहसंस्थापक नील शाहले भने, ‘आरटीएक्स स्पार्कले परम्परागत एपकेन्द्रित पीसीलाई एक वास्तविक उपयोगी ‘एजेन्टिक एआई’ व्यक्तिगत कम्प्युटरमा रूपान्तरण गर्ने देखिन्छ । निजी एज एआई एजेन्टहरू महत्त्वपूर्ण बन्दै जाँदा आगामी वर्षहरूमा यो अन्ततः हरेक घरमा पुग्नेछ ।’ ‘यो व्यक्तिगत कम्प्युटिङ क्षेत्रका लागि ‘आरटीएक्स स्पार्क’ विशेष हुनेछ, जसरी विगतमा आइफोन, च्याटजीपीटी वा डिपसिक भएका थिए,’ उनले थपे । यस घोषणापछि एनभीडीयाको सेयर ४ प्रतिशतले बढ्यो, जबकि एएमडी, इन्टेल र क्वालकमको सेयर ४.९ प्रतिशतदेखि ८.५ प्रतिशतसम्मले घट्यो । एप्पल ०.८ प्रतिशतले घट्यो भने सफ्टवेयर सेयरहरूमा आएको सुधारका कारण माइक्रोसफ्ट २.७ प्रतिशतले बढ्यो । एचपी र डेल दुवै ७ प्रतिशतभन्दा बढीले बढे भने हङकङमा लेनोभोको सेयर ५ प्रतिशतभन्दा बढीले बन्द भयो । हुआङले सोमबार आफ्नो मुख्य भाषणको ठुलो हिस्सा कम्पनीको पीसी र सीपीयू विस्तारमा केन्द्रित गरेका थिए । उनले आफ्नो नयाँ भेरा सेन्ट्रल प्रोसेसरको सुरुवाती प्रयोगकर्ताहरूमा ओपनएआई, एन्थ्रोपिक र स्पेसएक्स रहेको बताए । पूर्ण रूपमा स्वायत्त एजेन्टहरूतर्फको यात्रा आफ्नो ट्रेडमार्क कालो छालाको ज्याकेटमा ठाँटिएका हुआङले जुन २ देखि ५ सम्म चल्ने कम्प्युटिक्स ट्रेड शो अगाडि सम्बोधन गरिरहेका थिए । यस मेलाले विश्वका केही ठुला प्रविधि कम्पनीका नेतृत्वकर्ताहरूलाई आकर्षित गरेको छ । पीसी हार्डवेयरमा स्थानीय रूपमै चल्ने एआई एजेन्टहरूमा एनभीडीयाले दिएको जोड क्वालकमका सीईओ क्रिस्टियानो अमोनको भनाइसँग मिल्दोजुल्दो थियो । अमोनले पनि कम्प्युटिक्स अगाडि बोल्दै सन् २०२६ लाई ‘एजेन्टिक एआई’को लागि टर्निङ पोइन्टका रूपमा चित्रण गरे । ‘दुई वर्षअघि हामीले एआईले कसरी मानव–कम्प्युटर इन्टरफेसलाई परिवर्तन गर्नेछ र फलस्वरूप हाम्रा सबै व्यक्तिगत कम्प्युटिङ डिभाइसहरूको आर्किटेक्चर बदल्नेछ भन्नेबारे कुरा गरेका थियौं । र, त्यो सन् २०२६ मा वास्तविकता बन्न थालेको छ। त्यसैले हामी २०२६ लाई ‘एजेन्टहरूको वर्ष’ भन्छौं,’ उनले भने । अमोनका अनुसार एजेन्टिक एआईतर्फको यो परिवर्तनले स्थानीय एज कम्प्युटिङलाई अपरिहार्य बनाउँछ, किनकि आजका डिभाइस आर्किटेक्चरहरू सधैं अन रहने र स्वायत्त रूपमा चल्ने गरी बनाइएका थिएनन् । ‘आजका यी सबै डिभाइसहरू प्रयोगकर्ताद्वारा सुरु गरिने कार्यका लागि बनाइएका हुन्, एजेन्टहरूद्वारा होइन,’ उनले भने । मे महिनामा भएको वित्तीय प्रतिवेदन बैठकको क्रममा हुआङले एनभीडीयाको नयाँ भेरा सेन्ट्रल प्रोसेसरले कम्पनीलाई नयाँ २०० अर्ब डलरको बजारमा पहुँच दिने बताएका थिए । एनभीडीयाका पछिल्ला एआई उत्पादनहरूको रूपरेखा प्रस्तुत गर्दै र विश्वव्यापी प्रविधि उद्योगमा ताइवान टापुको केन्द्रीय भूमिकालाई हाइलाइट गर्दै गरिएको लामो भाषणमा हुआङले भने, ‘यो (भेरा सीपीयू) हाम्रो वृद्धिको नयाँ प्रमुख ड्राइभर बन्नेछ ।’ हुआङले एआईले सफ्टवेयर इन्जिनियरहरूको माग घटाउनेछ भन्ने चिन्तालाई ‘पूर्ण बकवास’ भन्दै खारेज गरे । बरु यो प्रविधिले कामदारहरूलाई बढी उत्पादक बनाएर रोजगारीका अवसरहरू बढाउने तर्क उनले गरे । उनले भने, ‘यो एआईको प्रतिज्ञा हो । इन्जिनियरहरू, सफ्टवेयर इन्जिनियरहरूको सङ्ख्या वास्तवमा बढिरहेको छ । मानिसहरू एआईले जागिर घटाउने कुरा गर्छन् । यो पूर्ण बकवास हो । यसले गर्दा अझ बढी सफ्टवेयर इन्जिनियरहरू काममा राखिँदै छन् ।’ ताइवानको दक्षिणी सहर ताइनानमा जन्मिएका हुआङले गत हप्ता ताइवानमा प्रतिवर्ष करिब १५० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका थिए र यसलाई एआई क्रान्तिको केन्द्रविन्दुको रूपमा वर्णन गरेका थिए । ताइपेई म्युजिक हलमा भएको यो भाषण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बेइजिङ भ्रमणमा गएर चिनियाँ नेता सी जिनपिङलाई भेट्न पुगेको उच्चस्तरीय कर्पोरेट प्रतिनिधिमण्डलको हिस्सा बनेको करिब दुई हप्तापछि भएको हो । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) अन्य पठनीय सामग्रीहरू : चिप प्लान्ट बनाउन १.५ अर्ब डलर लगानी गर्दै सामसङ इरान र अमेरिका युद्धविरामको सहमति नजिक फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति
माण्डु हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले ७१ लाख ७७ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नबिनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् । नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेटवार्तामा छिमेकी दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । सभापति लामिछाने भाजपाका अध्यक्ष नबिनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नेछन् । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले अध्यक्ष लमिछानेको उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन निकट समन्वय गरिरहेको जनाएको छ ।
इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियानमा युवाको उत्साहजनक सहभागिता
काठमाडौं । इनड्राइभले काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरेको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) संस्कृतिबाट प्रेरित उक्त अभियानमा करिब २ हजार ४ सय जना प्रत्यक्ष रूपमा सहभागी भएको कम्पनीले जनाएको छ । अभियानमार्फत इनड्राइभले यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सेवाबारे विशेष गरी शहरी युवा तथा विद्यार्थी समुदायलाई जानकारी गराउने उद्देश्य राखेको थियो । ‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानले यात्रु र चालकबीच भाडा निर्धारणमा हुने आपसी सहमतिलाई केन्द्रमा राखेको थियो । इनड्राइभको प्लेटफर्ममा यात्रुले प्रस्ताव गरेको भाडालाई चालकले स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने सुविधा रहेको छ । कम्पनीले काठमाडौंको परम्परागत मोलमोलाइ संस्कृतिलाई अभियानसँग जोड्दै बागबजार, जनबहाल, पिम्बहाल र ठमेलमा ब्रान्डेड मःम स्टल सञ्चालन गरेको थियो । सहभागीहरूले ह्वील स्पिन, मोलमोलाइ चुनौतीलगायतका विभिन्न अन्तरक्रियात्मक गतिविधिमा सहभागिता जनाएका थिए । चुनौती पूरा गर्नेहरूले निःशुल्क मःम तथा कम्पनीका ब्रान्डेड उपहार सामग्री प्राप्त गरेका थिए । इनड्राइभका अनुसार अभियानले सामाजिक सञ्जालमा पनि उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । विशेषगरी युवा यात्रु तथा विद्यार्थी समुदायबीच अभियान प्रभावकारी बनेको कम्पनीको दाबी छ । इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले काठमाडौंमा मोलमोलाइको संस्कृति गहिरोसँग स्थापित रहेको बताउँदै त्यसैलाई रमाइलो र सहभागितामूलक ढंगले प्रस्तुत गरेर कम्पनीको निष्पक्ष मूल्य निर्धारण अवधारणाबारे जनचेतना फैलाउने प्रयास गरिएको बताइन् । उनका अनुसार अभियान सञ्चालन गरिएका चारै स्थानबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । यसले यात्रु र चालक दुवैले थप विकल्प, पारदर्शिता र लचकतायुक्त सेवाप्रति सकारात्मक दृष्टिकोण राखेको देखाएको उनले बताइन् । कम्पनीले यस्ता अभियानमार्फत निष्पक्षता, पारदर्शिता र प्रयोगकर्ताको रोजाइको स्वतन्त्रतालाई केन्द्रमा राख्ने आफ्नो सेवामोडेललाई थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने जनाएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको अडान कायमै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । तर प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको विरोध जारी रहेकाले बैठक प्रभावित हुने संकेत देखिएको छ । संसद् सचिवालयका अनुसार मंगलबारको बैठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति सदनमै आएर माफी नमागेसम्म संसद् चल्न नदिने अडान कायम राखेका छन् । उनीहरूको विरोधका कारण बजेटमाथिको छलफल सहज रूपमा अघि बढ्ने वातावरण नबनेको विपक्षी नेताहरूको भनाइ छ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले विपक्षी दलहरू हिजोकै अडानमा रहेको बताउँदै सदन सञ्चालनको जिम्मेवारी सभामुखको भएको उल्लेख गरे । 'सदन कसरी चलाउने भन्ने विषयमा सभामुखले अहिलेसम्म दलहरूसँग कुनै औपचारिक छलफल गर्नुभएको छैन,' उनले भने । महरका अनुसार संसद्को गोलकिपर सभामुख हुन् । उनले निष्पक्ष भएर खेल खेलाउने कि पक्षधर बन्ने भन्ने उनकै रोजाइको विषय हो । नेपाली कांग्रेसले गठन गरेको छायाँ मन्त्रिपरिषद्का अर्थमन्त्रीसमेत रहेका सांसद नरेन्द्रकुमार केरुङले पनि सभामुखको भूमिकामाथि प्रश्न उठाए । उनका अनुसार सभामुखले विपक्षी दलहरूलाई औपचारिक रूपमा वार्ताका लागि नबोलाई सदनमा दलहरू बोलाउँदा पनि आएनन् भन्ने अभिव्यक्ति दिनु तटस्थ भूमिकासँग मेल नखाने विषय हो । 'दलहरूलाई औपचारिक रूपमा वार्ताका लागि नबोलाईकनै सभामुखले सदनमा दिएको अभिव्यक्तिले उनको निष्पक्षतामाथि प्रश्न उठाएको छ,' केरुङले भने । यस विषयमा सभामुखको सचिवालयसँग प्रतिक्रिया लिन खोजिए पनि सम्पर्क हुन सकेन । यद्यपि संसद् सचिवालयले भने बैठक सुरु हुनुअघि सभामुखले प्रमुख दलहरूसँग छलफल गर्ने तयारी रहेको जनाएको छ । पछिल्लो समय प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको केही भूमि मिचेको जानकारी आफूलाई प्राप्त भएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । सत्तारूढ र विपक्षी दलबीच अहिलेसम्म सहमति जुट्न नसकेकाले आजको बैठक पनि अवरोधको चपेटामा पर्न सक्ने सम्भावना रहेको छ । बजेटमाथिको बहुप्रतीक्षित सामान्य छलफल सुरु हुने कार्यसूची रहे पनि राजनीतिक विवाद समाधान नभएसम्म संसद्को नियमित कारबाही प्रभावित हुन सक्ने देखिएको छ ।
भूकम्पले क्षति पुर्याएको जनप्रिय आधारभूत विद्यालयलाई सिद्धार्थ बैंकले बनाइदियो नयाँ भवन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकको आर्थिक सहयोगमा सानीभेरी गाउँपालिका–१, भण्डारवनमा रहेको विद्यालयको नयाँ भवन तथा सुलभ पहुँचयुक्त शौचालय निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवन उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक हंसा बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालयको भवन पुनर्निर्माणपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण पाउने अपेक्षा गरिएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माणलाई केवल भौतिक संरचना निर्माणका रूपमा नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरे । उनले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि भएकाले समयसापेक्ष, गुणस्तरीय र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भवन निर्माण कार्य सम्पन्न गरेको बताए । बैंकका अनुसार नवनिर्मित भवनले विद्यार्थीहरूलाई सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच दिलाउनुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन, नियमित पठनपाठनलाई निरन्तरता दिन र समग्र शैक्षिक वातावरण सुदृढ बनाउन सहयोग पुग्नेछ । सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा
काठमाडौं । मर्मतसम्भार तथा स्तरोन्नतिको कार्य सम्पन्न भएपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि अरब तथा अन्तर्राष्ट्रिय वायुसेवाका लागि पुनः उडान सञ्चालन शुरु गरेको छ । विमानस्थललाई चरणवद्ध रूपमा खुला गर्ने योजनाअन्तर्गत यो सेवा पुनः शुरु गरिएको हो । कुवेत न्युज एजेन्सीकाअनुसार विमानस्थलको टर्मिनल १ बाट यात्रु सेवा शुरु गरिएको छ । हवाई ट्राफिक प्रवाहलाई सहज बनाउन, यात्रा प्रक्रियालाई व्यवस्थित तुल्याउन र उडान सङ्ख्यामा हुने क्रमिक वृद्धिलाई सम्बोधन गर्न आवश्यक प्राविधिक तयारीहरू पूरा गरिएको छ । नागरिक उड्डयनका कार्यवाहक महानिर्देशक दुआइज अल–ओतैबीले सञ्चालनको प्रारम्भिक चरणमा प्रत्येक वायुसेवा कम्पनीलाई दैनिक एक उडानको अनुमति दिइएको जानकारी दिए । उनकाअनुसार यो व्यवस्था सेवाको प्रभावकारिता मूल्याङ्कन गर्न र भविष्यमा थप उडानहरू विस्तार गर्नका लागि आधार तयार गर्न लागू गरिएको हो । क्षेत्रीय तनाव र द्वन्द्वका कारण गत फेब्रुअरीको अन्त्यदेखि बन्द रहेको उक्त विमानस्थल अप्रिल महिनामा चरणवद्ध रूपमा खोल्ने प्रक्रिया अघि बढाइएको थियो । यसैबीच, कुवेती सेनाले सोमबार आफ्ना हवाई प्रतिरक्षा प्रणालीले ’शत्रुतापूर्ण’ मिसाइल र ड्रोनहरू सफलतापूर्वक विफल पारेको जनाएको छ । कुवेतको परराष्ट्र मन्त्रालयले यी आक्रमणहरूको कडा शब्दमा निन्दा गर्दै यसलाई मुलुकको सुरक्षा र स्थिरताका लागि गम्भीर चुनौती एवं तनाव बढाउने कार्य भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार सोमबार बिहान ६ बजेदेखि कुवेतका विभिन्न क्षेत्रमा तीन पटक हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए ।
सर्वोत्तम पेन्ट्सले जेठ २८ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता कर्मचारी र बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २ गते र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।