विकासन्युज

१७६ मेगावाटका ६ वटा सञ्चालनमा, २५५ मेगावाटका ३ आयोजना निर्माणाधीन

सन्तोष गौतम काठमाडौं । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरि, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्णमा हाल १७६ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने २५५.५ मेगावाट क्षमताका ३ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । नारच्याङ क्षेत्रमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको निलगिरि-१, ७१ मेगावाटको निलगिरि-२ र छ मेगावाटको रेलेखोला आयोजना सञ्चालनमा छन् । त्यसैगरी वडा नं ५ र ६ को सीमाक्षेत्रमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । यसबाहेक नारच्याङको भालेबास क्षेत्रमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । सुपर घलेम्दी (९.१४ मेगावाट) र मध्य कालीगण्डकी (६६.५ मेगावाट) आयोजना निर्माणाधीन छ । आइएमई समूहले थप ६६ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी आयोजना अघि बढाउने तयारी पनि गरेको छ । ऊर्जा उत्पादनको केन्द्र अन्नपूर्ण अन्नपूर्ण क्षेत्रमा जलविद्युत् विकासको इतिहास २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजनाबाट सुरु भएको मानिन्छ । त्यसपछि लामो समय खासै गतिविधि नभए पनि पछिल्लो दशकमा निजी क्षेत्रको लगानी बढ्दै जाँदा अन्नपूर्ण ऊर्जा उत्पादनको केन्द्र बन्न पुगेको हो । वि.सं २०७६ मा पाँच मेगावाट क्षमताको घलेम्दीखोला आयोजना सञ्चालनमा आयो । त्यसपछि मिस्त्रीखोला, निलगिरि-१, निलगिरि-२, घारखोला र रेलेखोला आयोजना सञ्चालनमा आए । दाना सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको घलेम्दी हाइड्रोका सञ्चालक प्रमोद श्रेष्ठले बताए । जलविद्युतले फेरिएको नारच्याङ अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ जलविद्युत् विकासको केन्द्र बनेको छ । यहाँ निर्माण भएका र निर्माणाधीन आयोजनाले गाउँको स्वरूप नै परिवर्तन गरिदिएका छन् । वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार एक समय सडक पहुँच नभएको नारच्याङ अहिले जलविद्युत् आयोजनाका कारण सडक, पुल र अन्य पूर्वाधारले जोडिएको छ । ‘हामीले कल्पना नगरेको अक्करे भिर छिचोलेर सडक पुगेको छ । गाउँमै रोजगारी र आम्दानीका अवसर सृजना भएका छन्,’ उनले भने ।  करिब ४५० घरपरिवार र एक हजार ६०० जनसङ्ख्या रहेको नारच्याङमा अहिले आयोजनामा काम गर्न बाहिरबाट आएका कामदारको सङ्ख्या स्थानीय जनसङ्ख्याभन्दा बढी छ । गाउँमा जग्गाको मूल्य प्रतिरोपनी ३० रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म पुगेको छ । वैदेशिक रोजगार र सहरतर्फ बसाइँ सरेका धेरै व्यक्ति गाउँ फर्किन थालेका छन् । पोखराबाट फर्केर होटल व्यवसाय सञ्चालन गरिरहेका टेकबहादुर पुनका अनुसार गाउँमै अवसर सृजना भएपछि बाहिर बस्नुपर्ने बाध्यता हटेको छ । स्थानीयले जग्गाको मुआब्जा, होटल व्यवसाय, कृषि, पशुपालन, ढुवानी, यातायात, निर्माण सामग्री आपूर्ति, ठेक्कापट्टा तथा सेयर लगानीबाट आम्दानी गरिरहेका छन् । पालिकाको आम्दानी बढ्दै जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीले गाउँपालिकाको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले ७० लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो । चालु आवमा यो रकम बढेर १ करोड ७० लाख रुपैयाँ पुगेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए ।  यसका अतिरिक्त आयोजनाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, सीप विकास, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रभा माध्यमिक विद्यालयमा पाँच वर्षदेखि हाइड्रो इन्जिनियरिङ विषयको अध्ययन सञ्चालन हुनु पनि त्यसकै परिणाम हो । स्थानीयले पूर्ण लाभ लिन सकेनन् जलविद्युत् आयोजनाले आर्थिक गतिविधि बढाए पनि दीर्घकालीन लाभको विषयमा स्थानीय समुदाय अझै पर्याप्त रूपमा तयार नभएको देखिन्छ । अधिकांश स्थानीयले मुआब्जा, ज्याला मजदुरी वा निर्माणकालीन अवसरबाट तत्काल लाभ लिए पनि आयोजना सञ्चालनपछिको अर्थतन्त्रमा कसरी सहभागी हुने भन्ने विषयमा रणनीतिक सोचको अभाव देखिएको छ । निर्माण सम्पन्न भएपछि मजदुरीका अवसर घट्ने भएकाले कृषि, पर्यटन, सेवा र उद्यमशीलता क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको स्थानीय अगुवाहरू बताउँछन् । प्रभावित क्षेत्रका बासिन्दाले जलविद्युत् कम्पनीहरूको सेयर खरिद गरेका छन् । मिस्त्रीखोला आयोजनामा मात्रै प्रभावित क्षेत्रका स्थानीयले १७ लाखभन्दा बढी कित्ता सेयर लगानी गरेका थिए । अन्य आयोजनाले पनि स्थानीयका लागि सेयर निष्काशनको तयारी गरिरहेका छन् । वातावरणीय चुनौती बढ्दै जलविद्युत् विकाससँगै वातावरणीय प्रभावका विषयमा पनि बहस बढ्न थालेको छ । नदीमा पानीको बहाव घट्दा माछा, पाहालगायत जलचरको बासस्थान प्रभावित भएको स्थानीयको गुनासो छ । नारच्याङका अविन चोचाङ्गीका अनुसार मिस्त्रीखोलामा पहिले प्रशस्त माछा पाइन्थ्यो । तर आयोजना सञ्चालनपछि पानी सुरुङमार्फत बग्न थालेपछि नदीमा जलचर देखिन छाडेका छन् । वडाध्यक्ष फगामीले पनि जलविद्युत् आयोजनाबाट आर्थिक र भौतिक लाभ भए पनि नदीका जलचर हराउन थालेको, परम्परागत पानीका मुहान सुक्न थालेको तथा वन्यजन्तुको आवतजावत घटेको बताए ।  स्थानीयका अनुसार खोलामा न्यूनतम पानी छाड्ने व्यवस्था भए पनि प्राकृतिक पारिस्थितिक प्रणालीमा असर देखिन थालेको छ । वातावरणीय प्रभावको नियमित अध्ययन र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने माग उठिरहेको छ । तातोपानी कुण्डको भविष्यप्रति चिन्ता अन्नपूर्ण क्षेत्रका प्राकृतिक तातोपानी कुण्डहरू पनि जलविद्युत् आयोजनाका कारण जोखिममा पर्न सक्ने आशङ्का बढेको छ । भुरुङ तातोपानी, पाउद्धार, रातोपानी र सेकार्कु क्षेत्रका स्थानीयले सुरुङमार्फत नदीको पानी मोडिँदा प्राकृतिक तातोपानीका मुहान प्रभावित हुनसक्ने बताएका छन् । भुरुङ तातोपानीका अनिल हिराचनका अनुसार कालीगण्डकीको पानीको बहावमा परिवर्तन हुँदा तातोपानी मुहानमा असर पर्न सक्ने खतरा छ । स्थानीयहरूले आयोजनाको वातावरणीय प्रभावबारे थप सुनिश्चितता खोजेका छन् । तातोपानी कुण्ड अन्नपूर्ण गाउँपालिकाको पर्यटन र आन्तरिक आम्दानीको महत्त्वपूर्ण आधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो बनेको छ । विज्ञ र स्थानीय अगुवाहरूका अनुसार जलविद्युत्लाई केवल मुआब्जा र ज्याला मजदुरीमा सीमित नराखी स्थानीय अर्थतन्त्रको आधार बनाउनु आवश्यक छ । कृषि उत्पादनलाई आयोजनाको बजारसँग जोड्ने, ऊर्जा प्रयोगमा आधारित उद्योग स्थापना गर्ने, पर्यटन र जलविद्युत्लाई एकीकृत गर्ने तथा स्थानीय युवालाई प्राविधिक तालिम प्रदान गर्ने रणनीति अपनाउनुपर्ने सुझाव दिइएको छ । गाउँपालिकाले पनि जलविद्युत् विकासलाई समग्र आर्थिक रूपान्तरणसँग जोड्ने दीर्घकालीन नीति निर्माणको तयारी थालेको अध्यक्ष पुनले बताए । रोयल्टीबाट प्राप्त रकमलाई उपभोगमुखीभन्दा उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ । रासस

बोस्नियामाथि स्विट्जरल्यान्डको ४-१ को सहज जित

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जेगोभिनालाई ४-१ ले पराजित गरेकाे छ । लस एन्जलस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरे । यस्तै रुबेन भार्गास र ग्रानिट जाकाले पनि एक-एक गोल गरे। खेलको ८०औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको दिशा परिवर्तन भएको थियो । उनले ब्रिल एम्बोलोलाई स्पष्ट गोल अवसरबाट रोक्ने क्रममा पछाडिबाट फाउल गरेपछि रेफ्री जोआओ पिन्हेइरोले उनलाई सोझै रातो कार्ड दिएका थिए । त्यसअघि लामो समयसम्म बोस्नियाको संगठित रक्षात्मक खेलले स्विट्जरल्यान्डलाई गोल गर्नबाट रोकेको थियो । तर प्रशिक्षक मुराट याकिनले ७१औँ मिनेटमा मान्जाम्बीलाई मैदान प्रवेश गराएपछि खेलको गति परिवर्तन भयो । मान्जाम्बीले केही मिनेटमै टोलीलाई अग्रता दिलाए । बायाँ विंगबाट भार्गासले दिएको क्रस क्लियर गर्ने प्रयास असफल भएपछि पेनाल्टी क्षेत्रभित्र आएको बलमा उनले शक्तिशाली भली प्रहार गर्दै गोल गरेका थिए । मुहारेमोभिचको बहिर्गमनपछि स्विट्जरल्यान्डले थप दबाब सिर्जना गर्यो । ८४औँ मिनेटमा एम्बोलोले बल नियन्त्रण गर्दै भार्गासतर्फ पास दिएपछि उनले तल्लो कुनामा गोल गर्दै अग्रता दोब्बर बनाए । ९०औँ मिनेटमा भार्गासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३-० मा पुर्याए । इन्जुरी समयमा बोस्नियाका वैकल्पिक खेलाडी एर्मिन माह्मिकले शानदार भलीमार्फत एक गोल फर्काए पनि त्यसको केहीबेरपछि जाकाले पेनाल्टीमा गोल गर्दै स्विट्जरल्यान्डको ४-१ को जित सुनिश्चित गरे ।

कतारमाथि क्यानडाको फराकिलो जित, जोनाथन डेभिडको ह्याट्रिक

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा कतारमाथि फराकिलो जित हासिल गरेको छ । भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा बिहीबार राति भएको खेलमा क्यानडाले कतारलाई ६-० गोलअन्तरले पराजित गरेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एक-एक गोल गरे । थप एक गोल आत्मघाती रूपमा आएको थियो । खेलको १६औँ मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । २९औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा कतारका हमाम अहमद रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो । पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडालाई ३-० को अग्रता दिलाए । ५१औँ मिनेटमा कतारका असिम माडिबोले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित बन्यो । यसपछि क्यानडाले खेलमा पूर्ण नियन्त्रण जमायो । ६४औँ मिनेटमा नाथन सालिबाले गोल गर्दै अग्रता ४-० मा पुर्याए। ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गरेपछि स्कोर ५-० भयो। दोस्रो हाफको इन्जुरी समयमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दै क्यानडालाई ६-० को फराकिलो जित दिलाए ।

पोखराको नयाँ योजना: ‘एक पर्यटक, एक मित्र’ अभियानदेखि सिसा पुलसम्म

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ‘समुन्नत पोखराको आधार: सबल अर्थतन्त्र र पूर्वाधार’को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । १९औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताए ।  ‘निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू आत्मसात गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न आगामी वर्षको कार्यक्रमले सहयोग पुग्नेछ,’ उनले भने । महानगरले आगामी वर्षका लागि विभिन्न ३५ बुँदामा विशेष अभियान तथा प्रोत्साहन कार्यक्रमसमेत ल्याएको छ । पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई नागरिकस्तरबाट आवश्यक जानकारीसहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका अगाडि बढाउन ‘एक पर्यटक, एक मित्र अभियान’ सञ्चालन गरिने महानगर प्रमुख आचार्यले बताए ।  त्यसैगरी, सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सर्वोच्च अदालतको आदेशानुसार फेवाताल संरक्षणसहित मापदण्ड कार्यान्वयन गर्ने र ताल वरपर हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने प्रमुख आचार्यले बताए ।  पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकीकृत प्रवर्द्धन गर्ने तथा फेवाताल, बेगनास ताल, रूपा ताल लगायत नगर क्षेत्रमा रहेका ताल तथा ऐतिहासिक पोखरीहरूलाई पर्यटकीय क्षेत्रका रूपमा सौन्दर्यकरण गर्दै पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ । पोखरा-भरतपुर-लुम्बिनी ‘सिल्भर ट्रियाङ्गल’ अवधारणा अन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा त्रिपक्षीय भ्रमण आदानप्रदानलगायत पर्यटकीय वस्तु तथा सेवाको प्रवर्द्धनात्मक गतिविधिहरूलाई नीति कार्यक्रममा जोड दिइएको छ । महानगरका प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकाको मेगा वृक्षारोपण अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने तथा महानगर क्षेत्रमा रहेका एक सय वर्ष पुराना ऐतिहासिक रुखहरूको अध्ययन र ‘जिपिएस नक्साङ्कन’सहित अभिलेख तयार पारिने महानगर प्रमुख आचार्यले बताए । ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान, सीमा नाकामा रिफ्रेसमेन्ट सेन्टर, एक वडा एक सार्वजनिक शौचालय अभियान तथा सुरक्षित सहर अभियान महानगरले सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । यसैगरी सबैभन्दा बढी वृक्षारोपण तथा हरियाली प्रवर्द्धन गर्ने तीन विद्यालय, तीन सरकारी कार्यालय, पाँच टोल विकास संस्था र सात आमा समूहलाई वार्षिक ‘ग्रीन अवार्ड’ प्रदान गरिने प्रमुख आचार्यले बताए ।  महानगरले ल्याएको नीति तथा कार्यक्रममा महानगरपालिका र मातहत कार्यालयहरूमा सुशासन सुदृढीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित, मितव्ययी, सरल, सहज र पारदर्शी तथा प्रविधिमैत्री बनाइने, महानगरलाई वित्तीय दायित्व पर्ने अनावश्यक संरचना खारेज गरी अनलाइन प्रणालीबाट प्रदान गरिने सेवा विस्तार गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता गर्ने उल्लेख छ । सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन तथा सार्वजनिक जग्गाको अभिलेख व्यवस्थित गर्ने, फिर्के खोलाको खोलाघर तथा पोखरा बसपार्कको जग्गामा बनेका संरचना हटाउँदा विस्थापित भएकाहरूलाई व्यवस्थापन गर्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहर तथा नगरहरूसँग भगिनी सम्बन्ध विस्तार गर्दै लगिने प्रमुख आचार्यको भनाइ छ । शैक्षिक गुणस्तर सुधार र स्वच्छ प्रतिस्पर्धाका लागि कक्षा ८ को परीक्षालाई समूह विद्यालयको केन्द्र बनाई परीक्षा सञ्चालनलाई निरन्तरता दिइने तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विद्यार्थी, शिक्षकहरूलाई उचित प्रोत्साहन प्रदान र प्रधानाध्यापकहरूको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रोत्साहनको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ । स्वास्थ्य बिमा सेवालाई थप गुणस्तरीय बनाउँदै बिमा सञ्चालन भएका स्वास्थ्य संस्थाको कार्यक्षेत्रका सबै घरपरिवारमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार तथा सङ्घीय तथा प्रदेश सरकारसँगको समन्वयमा नगर क्षेत्रमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरूको प्रभावकारी नियमन तथा अनुगमन प्रणाली सुदृढ गरिने उल्लेख छ । प्रदेश सरकारको समन्वयमा निजी तथा सरकारी संस्थामा १० प्रतिशत बेड निःशुल्क उपलब्ध हुने व्यवस्था कार्यान्वयन गरिने महानगरको नीति छ । महानगरका वडा केन्द्र जोड्ने ‘कनेक्टिङ सडक’ र सहरी सडकहरूलाई क्रमशः अस्फाल्ट, कङ्क्रिटमा स्तरोन्नति गर्दै लैजाने र रणनीतिक महत्त्वका सडक तथा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा सहरी सडकलाई सङ्घ सरकार र प्रदेश सरकारको सहकार्यमा अस्फाल्ट कालोपत्र गरिने प्रमुख आचार्यले बताए । सार्वजनिक निजी साझेदारीमा पातले छाँगोमा सिसा पुल निर्माण आयोजना सञ्चालनमा ल्याएर उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, फोहरमैला प्रशोधन केन्द्र र सेती खोंचमा ‘क्यान्टिलिभिर वाक’ निर्माण, व्यवस्थित वधशाला निर्माण, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति, बेगनास तालमा वाटर स्पोर्ट्स परियोजना सञ्चालन गरिने नीति कार्यक्रममा समावेश गरिएको छ । त्यसैगरी, नगर विकास कोष र एसियाली विकास बैंकसँगको साझेदारीमा आधुनिक र व्यवस्थित पोखरा बसपार्क र पोखरा सभागृह निर्माण सुरु गर्ने तथा बेगनास ताल बसपार्क, पोखरा प्रवेश गर्ने नाकामा मिनी बसपार्क, मुक्तिक्षेत्र प्रवेशद्वार र नमूना अक्षराधाम निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रमुख आचार्यको भनाइ छ ।  पोखराको पुरानो र ऐतिहासिक बजारलाई सम्पदा तथा सांस्कृतिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने, महानगर क्षेत्रभित्र मनाइने परम्परागत जात्रा, पर्व, मेला, पूजा, जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरूको परिचयात्मक प्रोफाइल तयार तथा फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ गन्तव्यका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।  फिर्केखोलाको दायाँ-बायाँ व्यवस्थित ‘फुटट्रेल’, सुरक्षित साइकल लेन, आकर्षक पदमार्ग निर्माणसहित हरियाली बेल्ट, ढुंगे तटबन्ध, वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाउने प्रमुख आचार्यले बताए । 

हल गोरु पाल्ने किसानलाई ५ हजार रुपैयाँ

काठमाडौं । परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतिपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका-१२ ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । वडाका ३९ जना किसानलाई प्रतिहल गोरु ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो । शुक्लागण्डकी नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालित कार्यक्रमअन्तर्गत वडा नं १२ का किसानलाई बिहीबार नगद प्रोत्साहन वितरण गरिएको हो । वडाध्यक्ष इन्द्र गुरुङले किसानलाई रकम हस्तान्तरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।  गुरुङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरुको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले किसानलाई उत्साहित बनाउने विश्वास व्यक्त गरे ।  ‘हाम्रा पुर्खादेखि चलिआएको कृषि प्रणाली र स्थानीय उत्पादनको आधार जोगाउन हल गोरुको महत्त्वपूर्ण भूमिका छ । किसानको मिहिनेत र योगदानको सम्मान गर्दै नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । आगामी दिनमा पनि किसानलक्षित विभिन्न सहयोग तथा प्रोत्साहनका कार्यक्रम ल्याइनेछ,’ उनले भने ।  उनले कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउन नगरपालिकाले बीउबिजन, तालिम, प्रविधि हस्तान्तरण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जानकारी दिए । नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपकुमार उपाध्यायले परम्परागत कृषि प्रणाली संरक्षण, स्थानीय जातका पशुपालन प्रवर्द्धन तथा किसानलाई खेतीमा निरन्तर लागिरहन उत्प्रेरित गर्न प्रोत्साहन रकम वितरण गरिएको बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा कृषि यान्त्रिकीकरण बढेसँगै हलगोरु पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ । यद्यपि पहाडी तथा ग्रामीण क्षेत्रमा अझै पनि हलगोरु खेतीको महत्त्वपूर्ण आधारका रूपमा रहेको उनको भनाइ छ ।  ‘परम्परागत कृषि प्रणाली हाम्रो कृषि संस्कृतिसँग जोडिएको विषय हो । हलगोरु संरक्षण गर्नु भनेको कृषि परम्परा, जैविक उत्पादन र ग्रामीण जीवनशैलीको संरक्षण गर्नु पनि हो । त्यसैले नगरपालिकाले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो,’ उपाध्यायले भने ।  प्रोत्साहन रकम प्राप्त गरेका किसानले स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरेकामा खुसी व्यक्त गरेका छन् ।

बहाल कर घटाउने घोषणा, अब १० प्रतिशतबाट ७ प्रतिशतमा झर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिएकी हुन् ।  त्यसैगरी, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने, असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रमसमेत कामपाले ल्याउने भएको छ । आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजार रुपैयाँ भन्दा कम भएमा ५ प्रतिशत र सोभन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिने भएको छ । करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको छ । कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने, करदातालाई वस्तुगत सङ्घहरूसँग आबद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ । घरघरमै नागरिकता महानगरपालिकाले आगामी आवदेखि घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै कामपाका कार्यवाहक प्रमुख डङ्गोलले आगामी आवमा युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिएकी छिन् । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । कामपाले जेनजी सहिद तथा अमर प्रहरीको नामावलीसहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको बताइएको छ ।  कामपाले आफ्नै अस्पताल निर्माण गर्ने  कामपाले आगामी आवदेखि महानगर अस्पताल निर्माण गर्ने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रूपैयाँ विनियोजन गरिएको छ । ‘टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ डङ्गोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘ज्येष्ठ नागरिक निमोनिया खोपका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । क्यान्सरजस्ता असाध्य रोगहरूको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ २ करोड रूपैयाँ विनियोजन गरिएको छ ।’ निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्यप्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको पनि बजेटमा उल्लेख छ । त्यस्तै, पोषणभत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अब २० वर्षपछि विवाह गर्ने छोरीले ५१ हजार रुपैयाँ पाउने

काठमाडौं । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला) ले ५१ हजार रुपैयाँ नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो । ‘बालविवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो । अब सुरु हुने नयाँ आर्थिक वर्ष २०८३/८४ मा यो प्रोत्साहन रकम उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले पाउनेछन्,’ नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने ।  यसले बालविवाहलाई निरुत्साहित गर्नसँगै कानुनअनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने क्षेत्रीको विश्वास छ । गत मङ्गलबार प्रस्तुत नीति तथा कार्यक्रमभित्रको यो व्यवस्थाबारे समाजका सबैतिरबाट हौसला पाइएको उनको भनाइ छ ।  यसअघि २०८० साल चैत ५ गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई ५० हजार रुपैयाँ नगद प्रोत्साहनको घोषणा गरेका थिए । सोअनुसार हालसम्म बर्दिबास-१२ को एक जोडीले मात्र प्रोत्साहन रकमको दाबी गरेर लिएका नगर कार्यपालिकाको कार्यालयको अभिलेखबाट देखिन्छ । जम्मा १४ वडाको नगरपालिका क्षेत्रमा सबै जसो वडामा मुसहर समुदायको बसोबास छ । तर यो उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोडीले मात्र लिनुले यिनीहरूमा अझै बालविवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिबास-२ का सामाजिक-राजनीतिक कार्यकर्ता देवनारायण महतो बताउँछन् ।  अहिले १ लाख हारहारीको जनसङ्ख्या भएको नगरपालिकामा यहाँका १३ वडाहरू पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् । अब बर्दिबास-१२ मात्र बालविवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ । नगरले आउने आर्थिक वर्षदेखि लागू हुने गरी निर्णय गरेको २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ प्रोत्साहन रकमको व्यवस्थाले सामाजिक सचेतना बढाउन सहज हुने अपेक्षा गरिएको छ । नगरका आम समुदायका छोरीका लागि यो व्यवस्था भए पनि मुसहर समुदायको हकमा पुरुष, महिला दुवैले पाउने यसअघि देखिको व्यवस्था कायम नै राखिएको नगर प्रमुख क्षेत्रीले स्पष्ट पारे । मुसहर जाति समुदायमा बालविवाहका घटना बाक्लै पाइने हुँदा यसलाई नियन्त्रण गर्न पुरुष, महिला दुवैलाई प्रोत्साहन दिइने व्यवस्था कायम नै राखिएको उनको भनाइ छ । नगरपालिकाको यो नयाँ निर्णयलाई महिला अधिकारवादीहरूले सामाजिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

२०० रुपैयाँमै स्वास्थ्य प्रमाणपत्र बेच्ने दुई डाक्टरसहित गिरोह पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार २ चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।  उनले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताए ।  प्रहरीले २०० रुपैयाँ लिएर सो निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।