विकासन्युज

विद्यार्थीले बनाए रोबट ‘राधा’, कावासोतीका विद्यालय आविष्कार र उत्पादनसँग जोडिँदै

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन् । कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन, अनुसन्धान र प्रयोगसँग जोड्ने प्रयास गरेको कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताए । कावासोती नगरपालिका–१७ मा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयमा शिक्षक र विद्यार्थी मिलेर ‘राधा’ नामको रोबट निर्माण गरेका छन् । विद्यालयमा पुग्ने जोकसैलाई उक्त रोबटले नमस्कारसहित स्वागत गर्ने गरेको छ । विज्ञान शिक्षक सुजन पोख्रेलका अनुसार परियोजनाले विद्यार्थीलाई रोबोटिक्स र कोडिङको आधारभूत ज्ञान दिनुका साथै प्रविधि क्षेत्रमा भविष्य निर्माण गर्न प्रेरणा प्रदान गरेको छ । कक्षा ९ मा अध्ययनरत समृद्धि पोख्रेलले रोबोट निर्माण र सञ्चालनमा सहभागी हुन पाउँदा नयाँ अनुभव प्राप्त भएको बताइन् । कावासोती–१३ स्थित पिठौली आधारभूत विद्यालयले नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन इकाई स्थापना गरेको छ भने गोसाइँबाबा आधारभूत विद्यालयले अम्बा र बेसारखेती तथा प्रशोधन कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको भान्साबाट निस्कने जैविक फोहर प्रयोग गरी बायोग्यास उत्पादन सुरु गरेको छ । पालिकाभित्रका विद्यालयमा यस्तै नवीनतम् कार्यहरू अहिले सञ्चालन भइरहेको शाखा अधिकृत पाण्डेले बताए । परियोजनाअन्तर्गत विद्यालयहरूले रोबोटिक्स, बायोग्यास उत्पादन, सोलार ड्रायर निर्माण, फलफूल तथा तरकारी उत्पादन, जैविक मल निर्माण, नर्सरी स्थापना, स्मार्ट सिँचाइ प्रणाली, गड्यौला मल उत्पादन, बेसारखेती तथा प्रशोधन, इकोपोखरी निर्माणलगायत कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । नगरपालिकाका शिक्षा शाखा अधिकृत पाण्डेका अनुसार कार्यक्रमले विद्यार्थीमा समस्या समाधान, अनुसन्धान, नेतृत्व तथा उद्यमशीलताजस्ता जीवनोपयोगी सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 'अब विद्यार्थीले किताब पढ्नेमात्र होइन, जीवनोपयोगी सीपसमेत सिकुन् र भोलिका दिनमा आफूलाई सक्षम बनाएर उभिन सकुन् भनेर शिक्षासँगै विभिन्न सीपलाई जोड्दै गएका हौँ, हाम्रो अपेक्षा यसले विद्यार्थीमा नवीनतम् कार्य गर्ने सोचको विकास गर्न सहयोग पुग्छ भन्ने छ', शाखा अधिकृत पाण्डेले भने । परियोजनाको मूल्याङ्कनपछि उत्कृष्ट तीन विद्यालयलाई प्रतिविद्यालय रु एक लाख र उत्कृष्ट १० शिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेसमेत शाखा अधिकृत पाण्डेले बताए । सीमित बजेट, प्राविधिक सहयोग र समय व्यवस्थापन चुनौतीका रूपमा रहे पनि कार्यक्रमले विद्यालयलाई केवल पढाइ हुने थलोबाट सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्रका रूपमा रूपान्तरण गर्ने प्रयास थालेको उनले बताए । रासस

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कञ्चनपुरको खेलकुद विकास एवं विस्तारका लागि बजेट विनियोजन गरेको छ । यहाँको मिनी स्टेडियम निर्माणदेखि कवर्डहल परिसरमा इन्डोर क्रिकेट हल निर्माणसम्मका लागि आगामी आवमा बजेट विनियोजन भएको हो ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ मा खेलकुद मिनी स्टेडियम निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी  दोधारा चाँदनी-८ मा फुटसल स्टेडियम निर्माणका लागि रु ३० लाख ४० हजार विनियोजन गरिएको छ । बेदकाट नगरपालिका-१ मा गौँडी खेल मैदान निर्माणका लागि रु ३८ लाख, शुक्लाफाँटा नगरपालिका-१० मा बाल व्यायमशाला निर्माणका लागि रु सात लाख ६० हजार विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्याडमिन्टन, फुटबल, कबड्डी, बक्सिङ, कराते क्रिकेटका लागि पनि बजेट विनियोजन गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताए। उनका अनुसार प्रदेश सरकारले जिल्ला ब्याडमिन्टन सङ्घ सामग्री खरिदका लागि रु सात लाख ६० हजार, बक्सिङ हल मर्मतसम्भारमा रु सात लाख ६० हजार, कुस्ती प्रशिक्षण केन्द्रलाई रु तीन लाख ८० हजार, कबड्डी सङ्घको प्रशिक्षण हल मर्मतसम्भार रु १५ लाख २० हजार र कञ्चनपुर फुटबल सङ्घको भवन निर्माणमा रु ५३ लाख २० हजार विनियोजन गरेको छ । त्यसैगरी महेन्द्रनगरमा क्रिकेट इन्डोर हल निर्माण १९ लाख, भीमदत्त नगरपालिका-९ रिडौना खेल मैदानमा ७ लाख ६० हजार खेलमैदानको पर्खाल निर्माणमा रु ११ लाख ४० हजार विनियोजन गरिएको छ ।  भीमदत्त नगरपालिका-३ मा कराते तालिम हल निर्माणका लागि रु २२ लाख ८० हजार, बेदकोट नगरपालिका-१० चतहरीमा रहेको अधुरो ब्याडमिन्टन हल निर्माणका लागि रु १९ लाख, कृष्णपुर नगरपालिका-५ पुरानो पञ्चायत खेल मैदानका लागिका लागि रु १९ लाख, सयपत्री खेलमैदान स्तरोन्नतिका लागि रु १९ लाख विनियोजन गरिएको छ ।       दोधारा चाँदनी-७ मा खुला व्यायमशाला निर्माणका लागि  सात लाख, चाँदनी क्रिकेट मैदान निर्माण एवं खेल सामाग्री खरिदका लागि ११ लाख ४० हजार, बेलौरी खुल्ला व्यायमशालाको सामग्री खरिदका लागि सात लाख ६० हजार र कृष्णपुर-८ मा राजघाट क्रिकेट मैदान मैदान स्तरोन्नति गर्न रु ११ लाख ४० हजार रकम प्रदेश सरकारबाट विनियोजन भएको जिल्ला खेलकुद समितिका प्रमुख भट्टले जानकारी दिए । आगामी आर्थिक वर्ष महेन्द्रनगरस्थित कवर्डहल परिसरमा निर्माणाधीन क्रिकेट मैदानका लागि सङ्घीय सरकारबाट भने रु तीन करोड रकम विनियोजन भएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।      सुदूरपश्चिम प्रदेश सरकारको चालु वर्षको बजेटमा महेन्द्रनगरस्थित कवर्डहल परिसरमा रहेको बक्सिङ हल मर्मत, हक्की खेल मैदान निर्माण, क्रिकेट मैदानमा माटो भरान, हुस्ती सङ्घको हल निर्माण भइरहेको छ भने यहाँ ४०० मिटर एथ्लेटिक्स ट्रयाक निर्माणको पनि गृहकार्य भइसकेको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँ निर्माणाधीन बहुउद्देश्यीय कवर्डहल हलका लागि पनि प्रदेश सरकारबाट थप बजेट विनियोजन भएको बताए। ‘बहुउद्देश्यीय हलका लागि रु एक करोड ५० लाख विनियोजन भएको छ’, उनले भने, ‘अब प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट कार्यान्वयनमा पनि तदारुकता देखाउनुपर्छ । सरोकार भएका निकायलाई सक्रिय बनाउनुपर्छ ।’ रासस

दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियामाथि जित दर्ता गरेको छ ।  मेक्सिकोले दक्षिण कोरियालाई १-० ले  पराजित गरेको हो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा रोमोले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।  खेलको बाँकी समयमा दक्षिण कोरियाले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । अन्ततः रोमोले गरेको सोही एकमात्र गोल नै मेक्सिकोको जितका लागि पर्याप्त बन्यो । यस जितसँगै थप ३ अङ्क जोड्दै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा मेक्सिकोको यो लगातार उत्कृष्ट प्रदर्शन हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा पनि मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० हराएको थियो । लगातार दुई खेलमा जित निकाल्दै मेक्सिको नकआउट चरणमा पुगेको छ । एक खेल खेल्न बाँकी छँदै उसले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

१ हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रामा शनिबार भोटो देखाइने

काठमाडौं । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक(धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ ।  वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।  संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन् । भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले उल्लेख गरे ।  उनले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । साथै उनले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नगर्न सम्बन्धित सबैलाई आग्रह गरे ।  

चियामा भारतको अवरोधपछि सरकार गम्भीर, कूटनीतिक पहल चाल्छौं: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नेपाली चियाको भारत निर्यातमा देखिएका विद्यमान अवरोध र जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरी कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा परराष्ट्र मन्त्रालय पुगेको महासंघको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएको हो । सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिए । ‘नेपाली चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीहरूसँग कुराकानी अगाडि बढाइसकेका छौँ । समस्याको व्यवहारिक समाधानका लागि कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारी अनुसार यसको छिट्टै समाधान निस्किनेछ,’ उनले भने। उनले चिया लगायत अन्य वस्तुको निर्यातमा समेत आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग छलफल भइरहेको बताए । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँको जीविकोपार्जनमा असर पर्ने बताउँदै जतिसक्दो छिटो समस्याको समाधानका लागि मन्त्री समक्ष आग्रह गरे । उनले दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए । सांसद एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली र सांसद एवं उद्योग समितिका सभापति रहबर अन्सारीले यस्ता समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । यस्तै वाणिज्य सचिव कृष्ण बहादुर राउतले प्रक्रियागत सहजीकरणका लागि मन्त्रालयले पनि आफ्नो च्यानलबाट कुराकानी गरिरहेको र छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष नरेशलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष हेमराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली लगायतका उद्योगी व्यवसायीहरूले विशेषगरी हालै भारतीय चिया बोर्डद्वारा जारी गरिएको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (क्इए) का कारण नेपाली चिया निर्यातमा थप जटिलता उत्पन्न भएको बताए । उनीहरूले नेपाली चियाको गुणस्तरमा कुनै समस्या नरहेको उल्लेख गर्दै भारतीय पक्षसँगका द्विपक्षीय व्यापारिक संयन्त्रहरूमा यो विषयलाई प्रमुखताका साथ उठाइनुपर्नेमा जोड दिए ।

सेयर खरिद र नामसारीमा कडाइ, ५ प्रतिशत लगानीमा १० वटा विवरण बुझाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा हुने संस्थापक सेयर खरिद तथा नामसारी गर्दा विवरण अनिवार्य खुलाउन निर्देशन दिएको छ । चुक्ता पुँजीको ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी बराबरको संस्थापक सेयर खरिद वा नामसारी गर्दा सम्बन्धित लगानीकर्ताको विस्तृत विवरण लिनुपर्ने व्यवस्था गरेको हो । साथै यस्तो विवरण राष्ट्र बैंकसमक्ष समेत पेश गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार लगानीकर्ताले प्रचलित कानुन बमोजिम मापदण्ड पालना गरेको स्वघोषणा, नाम-ठेगाना र पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको जानकारी, आपराधिक गतिविधिमा संलग्न भए/नभएको अवस्था, तथा मुद्दा-मामिला, अनुसन्धान वा न्यायिक/प्रशासनिक कारबाहीमा संलग्नताको विवरण खुलाउनुपर्नेछ। त्यस्तै, कर तथा सरकारी बक्यौता तिर्न बाँकी छ वा छैन, कर्जा सम्बन्धी कालोसूचीमा परेको वा नपरेको, स्वार्थ द्वन्द्वको अवस्था तथा नेपाल वा विदेशमा सम्पत्ति रहेको वा हिताधिकारी भएको जानकारी पनि अनिवार्य गरिएको छ । यसबाहेक कार्य अनुभव, जिम्मेवारी, पुरस्कार वा सजाय तथा वित्तीय आचरणसम्बन्धी विवरण पनि पेश गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । संस्थागत लगानीकर्ताको हकमा भने सो संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १५ प्रतिशत वा सोभन्दा बढी लगानी गर्ने वास्तविक धनी वा हिताधिकारीको समेत सोही विवरण लिनुपर्ने व्यवस्था गरिएको छ । पहिले नै ५ प्रतिशत वा २५ लाखभन्दा बढी सेयर धारण गरिसकेका लगानीकर्ता र वास्तविक हिताधिकारीको हकमा पनि यही विवरण लागू हुने र विवरणमा परिवर्तन भएमा अद्यावधिक गरी राष्ट्र बैंकलाई बुझाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

पश्चिमी वायुसँगै देशभर मौसम अस्थिर, पहाडमा वर्षा र तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । यसैगरी, लुम्बिनी प्रदेशको पहाडी भू-भाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा हुनुका साथै कतिपय स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । अन्य हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

१७६ मेगावाटका ६ वटा सञ्चालनमा, २५५ मेगावाटका ३ आयोजना निर्माणाधीन

सन्तोष गौतम काठमाडौं । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरि, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्णमा हाल १७६ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने २५५.५ मेगावाट क्षमताका ३ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । नारच्याङ क्षेत्रमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको निलगिरि-१, ७१ मेगावाटको निलगिरि-२ र छ मेगावाटको रेलेखोला आयोजना सञ्चालनमा छन् । त्यसैगरी वडा नं ५ र ६ को सीमाक्षेत्रमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । यसबाहेक नारच्याङको भालेबास क्षेत्रमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । सुपर घलेम्दी (९.१४ मेगावाट) र मध्य कालीगण्डकी (६६.५ मेगावाट) आयोजना निर्माणाधीन छ । आइएमई समूहले थप ६६ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी आयोजना अघि बढाउने तयारी पनि गरेको छ । ऊर्जा उत्पादनको केन्द्र अन्नपूर्ण अन्नपूर्ण क्षेत्रमा जलविद्युत् विकासको इतिहास २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजनाबाट सुरु भएको मानिन्छ । त्यसपछि लामो समय खासै गतिविधि नभए पनि पछिल्लो दशकमा निजी क्षेत्रको लगानी बढ्दै जाँदा अन्नपूर्ण ऊर्जा उत्पादनको केन्द्र बन्न पुगेको हो । वि.सं २०७६ मा पाँच मेगावाट क्षमताको घलेम्दीखोला आयोजना सञ्चालनमा आयो । त्यसपछि मिस्त्रीखोला, निलगिरि-१, निलगिरि-२, घारखोला र रेलेखोला आयोजना सञ्चालनमा आए । दाना सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको घलेम्दी हाइड्रोका सञ्चालक प्रमोद श्रेष्ठले बताए । जलविद्युतले फेरिएको नारच्याङ अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ जलविद्युत् विकासको केन्द्र बनेको छ । यहाँ निर्माण भएका र निर्माणाधीन आयोजनाले गाउँको स्वरूप नै परिवर्तन गरिदिएका छन् । वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार एक समय सडक पहुँच नभएको नारच्याङ अहिले जलविद्युत् आयोजनाका कारण सडक, पुल र अन्य पूर्वाधारले जोडिएको छ । ‘हामीले कल्पना नगरेको अक्करे भिर छिचोलेर सडक पुगेको छ । गाउँमै रोजगारी र आम्दानीका अवसर सृजना भएका छन्,’ उनले भने ।  करिब ४५० घरपरिवार र एक हजार ६०० जनसङ्ख्या रहेको नारच्याङमा अहिले आयोजनामा काम गर्न बाहिरबाट आएका कामदारको सङ्ख्या स्थानीय जनसङ्ख्याभन्दा बढी छ । गाउँमा जग्गाको मूल्य प्रतिरोपनी ३० रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म पुगेको छ । वैदेशिक रोजगार र सहरतर्फ बसाइँ सरेका धेरै व्यक्ति गाउँ फर्किन थालेका छन् । पोखराबाट फर्केर होटल व्यवसाय सञ्चालन गरिरहेका टेकबहादुर पुनका अनुसार गाउँमै अवसर सृजना भएपछि बाहिर बस्नुपर्ने बाध्यता हटेको छ । स्थानीयले जग्गाको मुआब्जा, होटल व्यवसाय, कृषि, पशुपालन, ढुवानी, यातायात, निर्माण सामग्री आपूर्ति, ठेक्कापट्टा तथा सेयर लगानीबाट आम्दानी गरिरहेका छन् । पालिकाको आम्दानी बढ्दै जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीले गाउँपालिकाको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले ७० लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो । चालु आवमा यो रकम बढेर १ करोड ७० लाख रुपैयाँ पुगेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए ।  यसका अतिरिक्त आयोजनाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, सीप विकास, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रभा माध्यमिक विद्यालयमा पाँच वर्षदेखि हाइड्रो इन्जिनियरिङ विषयको अध्ययन सञ्चालन हुनु पनि त्यसकै परिणाम हो । स्थानीयले पूर्ण लाभ लिन सकेनन् जलविद्युत् आयोजनाले आर्थिक गतिविधि बढाए पनि दीर्घकालीन लाभको विषयमा स्थानीय समुदाय अझै पर्याप्त रूपमा तयार नभएको देखिन्छ । अधिकांश स्थानीयले मुआब्जा, ज्याला मजदुरी वा निर्माणकालीन अवसरबाट तत्काल लाभ लिए पनि आयोजना सञ्चालनपछिको अर्थतन्त्रमा कसरी सहभागी हुने भन्ने विषयमा रणनीतिक सोचको अभाव देखिएको छ । निर्माण सम्पन्न भएपछि मजदुरीका अवसर घट्ने भएकाले कृषि, पर्यटन, सेवा र उद्यमशीलता क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको स्थानीय अगुवाहरू बताउँछन् । प्रभावित क्षेत्रका बासिन्दाले जलविद्युत् कम्पनीहरूको सेयर खरिद गरेका छन् । मिस्त्रीखोला आयोजनामा मात्रै प्रभावित क्षेत्रका स्थानीयले १७ लाखभन्दा बढी कित्ता सेयर लगानी गरेका थिए । अन्य आयोजनाले पनि स्थानीयका लागि सेयर निष्काशनको तयारी गरिरहेका छन् । वातावरणीय चुनौती बढ्दै जलविद्युत् विकाससँगै वातावरणीय प्रभावका विषयमा पनि बहस बढ्न थालेको छ । नदीमा पानीको बहाव घट्दा माछा, पाहालगायत जलचरको बासस्थान प्रभावित भएको स्थानीयको गुनासो छ । नारच्याङका अविन चोचाङ्गीका अनुसार मिस्त्रीखोलामा पहिले प्रशस्त माछा पाइन्थ्यो । तर आयोजना सञ्चालनपछि पानी सुरुङमार्फत बग्न थालेपछि नदीमा जलचर देखिन छाडेका छन् । वडाध्यक्ष फगामीले पनि जलविद्युत् आयोजनाबाट आर्थिक र भौतिक लाभ भए पनि नदीका जलचर हराउन थालेको, परम्परागत पानीका मुहान सुक्न थालेको तथा वन्यजन्तुको आवतजावत घटेको बताए ।  स्थानीयका अनुसार खोलामा न्यूनतम पानी छाड्ने व्यवस्था भए पनि प्राकृतिक पारिस्थितिक प्रणालीमा असर देखिन थालेको छ । वातावरणीय प्रभावको नियमित अध्ययन र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने माग उठिरहेको छ । तातोपानी कुण्डको भविष्यप्रति चिन्ता अन्नपूर्ण क्षेत्रका प्राकृतिक तातोपानी कुण्डहरू पनि जलविद्युत् आयोजनाका कारण जोखिममा पर्न सक्ने आशङ्का बढेको छ । भुरुङ तातोपानी, पाउद्धार, रातोपानी र सेकार्कु क्षेत्रका स्थानीयले सुरुङमार्फत नदीको पानी मोडिँदा प्राकृतिक तातोपानीका मुहान प्रभावित हुनसक्ने बताएका छन् । भुरुङ तातोपानीका अनिल हिराचनका अनुसार कालीगण्डकीको पानीको बहावमा परिवर्तन हुँदा तातोपानी मुहानमा असर पर्न सक्ने खतरा छ । स्थानीयहरूले आयोजनाको वातावरणीय प्रभावबारे थप सुनिश्चितता खोजेका छन् । तातोपानी कुण्ड अन्नपूर्ण गाउँपालिकाको पर्यटन र आन्तरिक आम्दानीको महत्त्वपूर्ण आधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो बनेको छ । विज्ञ र स्थानीय अगुवाहरूका अनुसार जलविद्युत्लाई केवल मुआब्जा र ज्याला मजदुरीमा सीमित नराखी स्थानीय अर्थतन्त्रको आधार बनाउनु आवश्यक छ । कृषि उत्पादनलाई आयोजनाको बजारसँग जोड्ने, ऊर्जा प्रयोगमा आधारित उद्योग स्थापना गर्ने, पर्यटन र जलविद्युत्लाई एकीकृत गर्ने तथा स्थानीय युवालाई प्राविधिक तालिम प्रदान गर्ने रणनीति अपनाउनुपर्ने सुझाव दिइएको छ । गाउँपालिकाले पनि जलविद्युत् विकासलाई समग्र आर्थिक रूपान्तरणसँग जोड्ने दीर्घकालीन नीति निर्माणको तयारी थालेको अध्यक्ष पुनले बताए । रोयल्टीबाट प्राप्त रकमलाई उपभोगमुखीभन्दा उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ । रासस