२.२४ अर्बमा चार लेन सडक बन्दै, धमाधम विद्युत् पोल हटाइँदै
काठमाडौं । घोराही-तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन सडक निर्माणको कामलाई अघि बढाइएको छ । घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउने गरी तयारी थालिएको घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका साइड इन्चार्ज भुपेन्द्र बाँठाले बताए । ‘सर्रा क्षेत्रमा फिजिकल भेरिफिकेसन गर्ने कार्य भइरहेको छ, त्यसपछि सर्रादेखि घोराहीसम्मका पोल निकाल्छौँ । घोराहीदेखि बेलझुन्डीसम्म साढे चार सय बढी पोल निकाल्नु पर्नेछ,’ उनले भने । साइड इन्चार्ज बाँठाका अनुसार चार लेनअन्तर्गत घोराही विरतणको क्षेत्र तुलसीपुर-१८ को बेलझुन्डीसम्म पर्छ । बेलझुन्डीदेखि तुलसीपुरसम्मको कार्यक्षेत्र भने तुलसीपुर वितरण केन्द्रको पर्छ । तुलसीपुर क्षेत्रमा पनि ३०० भन्दा बढी पोल निकाल्नुपर्ने छ । तुलसीपुर क्षेत्रका पनि अबको केही समयमा निकाल्ने तयारी रहेको छ । उक्त सडक खण्डमा ११ केभी र ३३ केभी लाइन रहेका छन् । त्यसका लागि कार्यालयको आदेश आइसकेको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए । साथै सडक बीचमा पर्ने ५९ रुख पनि हटाउने प्रक्रिया अघि बढेको छ । ती रुखमा छपान गर्ने (चिह्न लगाउने) काम भइसकेको उनको भनाइ छ । अबको केही समयमा रुख पनि हटाउने काम हुने प्रमुख विष्टले बताए । हाल चार लेनमा पर्खाल निर्माण, कल्भर्ट निर्माण, माटो कटानको काम जारी छ । श्री दिवा-बन्दना भगवती जेभीले सडक स्तरवृद्धिको काम गरिरहेको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भई काम अघि बढेको हो । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचमा मेडिएन र दुवैतर्फ दुई-दुई लेनको हुने उनले बताए । सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रको काम सुरु हुनेछ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालका प्रमुख विष्टले बताए । गएको २४ असारमा भ्याटबाहेक २ अर्ब २४ करोड ५६ लाख रुपैयाँमा उक्त सडक चार लेनको काम हुन लागेको हो । उक्त सडक चार लेन बनाउन यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्दपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयअनुसार ३ करोड ९९ लाख ४९ हजार रुपैयाँको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडक बीचमा पर्ने सेवारखोला, हापुरखोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति र मूल्यमा प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो । प्रशासनले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कारोबार गर्ने डिलर, डिस्ट्रीब्युटर तथा व्यवसायीहरूले कृत्रिम अभाव सृजना गर्ने उद्देश्यले अनावश्यक रूपमा मौज्दात गर्ने, लुकाइ छिपाइ भण्डारण गर्ने वा बिक्रीवितरणमा अवरोध पुर्याए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । त्यस्तै उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ तथा ग्यास भण्डारण नगर्न आग्रह गरिएको छ । इन्धनको अनावश्यक प्रयोग नगरी मितव्ययी प्रयोग गर्न तथा सम्भव भएसम्म वैकल्पिक ऊर्जाका स्रोत, विशेषगरी विद्युतीय उपकरण (इन्डक्सन चुलोलगायत) प्रयोग गर्न प्रशासनले अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । कानूनविपरीत कृत्रिम अभाव सृजना गर्ने व्यक्ति, फर्म वा संस्थाबारे जानकारी पाएमा सम्बन्धित निकायलाई सूचित गर्न पनि प्रशासनले सबैमा अपिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । ग्यासको अभाव छैन: उद्योग वाणिज्य सङ्घ देशभर खाना पकाउन प्रयोग गरिने ग्यास अभाव भएको हल्ला चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताइएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्यास नआए पनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य सङ्घले जनाएको हो । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजालको लगायतका ग्यास सिलिन्डर हालसम्म पर्याप्त रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए । ‘कम्पनीहरूले नपठाएका कारण जिल्लामा केही दिनअघिदेखि नोबेल ग्यास भने पर्याप्त मात्रामा थिएन । कटारीबाट ३०० वटा पठाइएकाले तत्कालका लागि नोबेल ग्यास पनि अभाव हुँदैन,’ उनले भने । उनका अनुसार अहिले हरेक उपभोक्ताले आफ्नो घरमा दुई/तीन वटासम्म ग्यास सिलिन्डर खरिद गरेर भण्डारण गरिराखेका छन् । इरान र अमेरिकामा चलिरहेको युद्ध लामो समयसम्म जारी रहेको खण्डमा भने जिल्लामा ग्याससँगै दैनिक उपभोग्य सामानको समेत अभाव हुने उनको भनाइ छ । अन्यथा अहिले नै ग्यासलगायत कुनै पनि सामानको अभाव नरहेको उनले बताए । खाना पकाउने ग्यास अभाव भएको बाहिरी हल्ला जिल्लावासीमा समेत फैलिएपछि विशेषगरी विद्यार्थीका लागि प्राथमिकतामा राखेर ग्यास वितरण गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । विद्यार्थी तथा कोठा भाडामा बस्दै आएका कर्मचारीको समस्यालाई मध्यनजर गर्दै एउटा मात्र ग्यास सिलिन्डर हुनेलाई प्राथमिकता दिएर वितरण गर्ने गरी तयारी गरिएको वाणिज्य सङ्घका अध्यक्ष आचार्यले जानकारी दिए । ग्यास चुलोले छिटो, सजिलो र सस्तो गरी खाना पकाउन सकिने भएपछि गाउँका अधिकांश स्थानीयले दाउरा प्रयोग गरेर खाना पकाउन छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका दिलकुमार राईले बताए । ‘ग्यास अभाव भएको हल्ला गाउँसम्म नै फैलिएको छ । ग्यास चुलोका कारण धेरैको घरमा आगो बाल्ने अगेनासमेत हटाइसकिएको छ । यदि साँच्चिकै अभाव भएको खण्डमा वृद्धवृद्धामात्र बसेको घरमा समस्या हुने देखिन्छ । अन्यमा खासै प्रभाव पर्दैन,’ उनले भने । जिल्लामा ग्यास तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव एवं कालोबजारी नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले व्यापारीलाई आग्रह गरेको छ । कृत्रिम अभाव एवं कालोबजारी गरेको खण्डमा कडाभन्दा कडा कारबाही गरिने गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताए ।
लुम्बिनी र सुदूरपश्चिममा वर्षा हुने, केही स्थानमा हल्का वर्षा हुँदै
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।
२२.५ मेगावाटको अपर ठूलोखोलाको बिजुली केन्द्रीय लाइनमा, ३ बैंकको ७० प्रतिशत ऋण लगानी
काठमाडौं । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । ‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ,’ उनले भने । हालको सुक्खायाममा १३.८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युतगृह, पाइप लाइन, प्रसारण लाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो । वि.सं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), २ हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । दुईवटा युनिट (टर्वाइन) रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए । यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ । ५ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख-जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युतगृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो । राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला-राहुघाट-मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् । राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका-३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको सो माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीले बताएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउनै बाँकी छ ।
इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू
काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ । आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ । आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ । इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थमा मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कास्साभा), सडेगलेको अन्न, मर्चा (यस्ट) र अन्य आवश्यक रसायन समावेश छन् । खाद्यान्नको दुरुपयोग रोक्नका लागि खाद्यान्नका रूपमा प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ । उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्नेछ । यसले बजारलाई नियन्त्रित गर्दै इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित गर्ने नीति स्पष्ट गर्दछ । उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री उपाय अपनाउनुपर्ने, गुणस्तर मापदण्ड कायम गर्नुपर्ने र गुणस्तर परीक्षणको जिम्मेवारी आफ्नै प्रयोगशालाबाट गर्नुपर्ने आदेशमा उल्लेख छ । निगमले पनि प्रत्येक ट्यांकरको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ । इथानोलको मूल्य निर्धारण सरकारद्वारा सिफारिस समितिको सुझावमा प्रत्येक आर्थिक वर्ष सुरु हुनु अघि हुने छ । मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ । निर्धारित मूल्य प्रत्येक वर्ष साउन १ गतेदेखि लागू हुनेछ । नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ । उद्योगले सम्झौतामा उल्लंघन गरेमा प्रचलित कानुन अनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको छ । इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ । अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ । मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ । सरकारले इथानोल मूल्य निर्धारण र उद्योगलाई सुविधा दिने सिफारिसका लागि समिति गठन गरेको छ । समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुनेछन् भने अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल आयल निगमका प्रतिनिधि सदस्य रहनेछन् । आदेशअनुसार समितिले कच्चापदार्थ लागत, कर छुट, सुविधा, राष्ट्रिय प्राथमिकता उद्योग मान्यता, उपकरण आयातमा कर छुट, कृषक र कृषि सहकारीलाई मल, बीउ, विद्युत् महसुलमा सहुलियतलगायत विषयमा सिफारिस गर्नेछ । यो नीति कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, नयाँ उद्योग स्थापना गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । यसको कार्यान्वयनको प्रभावकारिता भने उद्योगको क्षमता, कच्चापदार्थको उपलब्धता तथा सरकारको नियमनमा निर्भर हुनेछ ।
एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएका हो । एमालेले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायलाई समेटेर अन्तिम नामावली तयार पारेको छ । पार्टीले आदिवासी जनजाति क्लस्टरबाट ४ जनालाई सांसदका रूपमा चयन गरेको छ । जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन् । खस आर्य समूहबाट सबैभन्दा धेरै ५ जनाको नाम टुंगो लगाइएको छ । खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेकी पार्टीका केन्द्रीय सचिव पद्यमा अर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल सांसद बनेका छन् । अर्याल स्याङ्जा र हमाल लमजुङकी हुन् । खस आर्यकै पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराललाई चयन गरिएको छ भने सोही समूहको पुरुषतर्फबाट गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बनेका छन् । बैठकले थारु समुदायबाट १ जना पुरुष कृपाराम राणालाई सांसद बनाउने निर्णय गरेको छ । दलित कोटाबाट २ जना महिला सांसद छानिएका छन् । जसमा विष्णुमाया वीके र नीता घटानी रहेका छन् । मधेसी क्लस्टरबाट ३ जनाको नाम टुंगो लाग्दा २ महिला र १ पुरुष परेका छन् । मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बनेका छन् । मुस्लिम समुदायबाट १ जना महिला साजिदा सिद्दीकीलाई सांसदका रूपमा चयन गरिएको छ ।
तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ आयोजित नेपाल फार्मा एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल फार्मा एक्स्पो २०२६ नेपाल औषधि उत्पादक संघ (एपन) को आयोजनामा फागुन २८, २९ र ३० गते काठमाडौंमा आयोजित तीनदिने एक्स्पोमा औषधि उद्योगसँग सम्बन्धित नवीन प्रविधि, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा अत्याधुनिक मेसिनरीहरूको प्रदर्शनी गरिएको थियो। प्रत्येक दुई वर्षमा आयोजना हुने यो एक्स्पोको यसपटक दशौं संस्करण हो । संघका अध्यक्ष विप्लब अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन भइरहेको सन्देश जनतामाझ पुर्याउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार विश्व बजारमा विकास भएका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गर्दै नेपाली औषधि उद्योग अघि बढिरहेको छ । ‘नेपालमा उत्पादन हुने औषधिको गुणस्तरबारे कुनै शंका नगर्न उपभोक्तालाई आग्रह गर्दछु,’ उनले भने । एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यका अनुसार तीन दिनको अवधिमा २५ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पोमा २०० भन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए, जसमध्ये ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, अत्याधुनिक औषधि उत्पादन मेसिनरी तथा प्याकेजिङ प्रविधिको प्रदर्शन गरिएको थियो। साथै स्वदेशी औषधि उद्योगहरूले आफ्ना उत्पादन, उपलब्धि र प्रगतिका नमुनासमेत प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस एक्स्पोले नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ ।