मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य
झापा । बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन् । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन् । नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले घर घरमा पुगेर बिरामीको पहिचान र उपचार गर्दै आएको शाखा प्रमुख सविता सापकोटाले बताइन् । उनका अनुसार चालू आव २०८२/८३ को पाँच महिनामा ४६ जना क्षयरोगका नयाँ सङ्क्रमित भेटिएका छन् । आव २०८१/८२ मा २१० जना, २०८०/८१ मा २०५ जना र २०७९/८० मा २०० जना क्षयरोगका संक्रमित फेला परेका थिए । नगर प्रमुख गोपाल बुढाथोकीले नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य बमोजिम सञ्चानल गर्दै आएको अभियान प्रभावकारी भइरहेको बताए । शाखाकी प्रमुख सापकोटाले अन्य घातक रोग लागेका सङ्क्रमितको उपचारकै क्रममा मृत्यु हुने गरेको बाहेक क्षयरोगबाट हुने मृत्युदर अत्यन्त न्यून रहेको बताइन् । जोखिमयुक्त क्षेत्र पहिचान गरेर संक्रमितको खोजी कार्य गर्ने र अति विपन्न बिरामीलाई पोषिलो खानेकुरा समेत वितरण गर्ने कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् । उनका अनुसार क्षयरोग लागेका प्रत्येक विरामीलाई वर्षेनी एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ । लगत संकलन गरिएका क्षयरोगका विरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने र उपचारमा फ्लोअप गरिरहेको पनि उनको भनाइ छ । क्षयरोगी पहिचानका लागि नगरपालिकाले एआई प्रविधिको सहायताबाट छातीको एक्सरे परीक्षण गर्दै आएको छ । यसका लागि मेचीनगरको वडा नं. २, ४, ७, १०, १२ र १५ मा छातीको एक्सरे परीक्षण गर्ने शिविर सञ्चालन गरिएको छ ।
नेपाली प्रविधिमा नयाँ अध्याय : टिङ टिङले गर्यो पहिलो भर्चुअल एआई प्रडक्ट लन्च
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) टेलिफोनी सेवामा अग्रणी टिङ टिङले नेपालकै पहिलो भव्य ‘भर्चुअल प्रडक्ट लन्च’ आयोजना गर्दै ‘टिङटिङ नेक्स्ट’ सार्वजनिक गरेको छ । यससँगै टिङ टिङले आफूलाई केवल एआई टेलिफोनी सेवा प्रदायकको सीमामा नराखी, एक बहुआयामिक एआई पावरहाउसका रूपमा स्थापित गरेको छ । यस लन्चलाई नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानकको रूपमा हेरिएको छ । टिङ टिङले अत्याधुनिक सञ्चार उपकरणहरू सार्वजनिक गर्नुका साथै व्यवसाय र ग्राहकबीचको सम्बन्धलाई पुनः आत्मीय बनाउने दृष्टिकोण अघि सारेको छ । यसले साधारण अटोमेसनभन्दा माथि उठेर ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्राको संकेत गर्ने कम्पनीले जनाएको छ । टिङ टिङले नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ । १. टिङ टिङ भ्वाइस यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट विकसित टेक्स्ट–टु–स्पीच इन्जिन हो । स्थानीय लवज, भावना र सांस्कृतिक सन्दर्भमा आधारित ‘रिरी’ले रोबोटिक वा विदेशी लवजभन्दा फरक, स्वाभाविक नेपाली आवाजमा संवाद गर्छ । २. टिङ टिङ टेक्स्ट नेपालकै सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा महत्वपूर्ण सन्देशहरू छिटो र भरपर्दो रूपमा लाखौं प्रयोगकर्तासम्म पु‍र्याउने सुनिश्चित गर्दछ । ३. टिङ टिङ फर्म्स ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत शैलीलाई रूपान्तरण गर्दै यसले आवाजमार्फत प्रतिक्रिया दिने सुविधा प्रदान गर्छ । बोलेको नेपालीलाई एआईले तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले जटिल डिजिटल फर्महरूको झन्झट हट्नेछ । ४. टिङ टिङ एजेन्ट्स लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत यो प्रविधिले ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता पुराना मेनु प्रणालीलाई विस्थापित गर्छ । २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज र आशय बुझ्दै प्राकृतिक दुईतर्फी संवाद गर्न सक्ने यो प्रणालीले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ । टिङ टिङ नेपालकै अग्रणी एआई सञ्चार प्लेटफर्म हो । नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यो प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन तथा अत्याधुनिक प्रविधिमार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरोसँग बुझ्न सहयोग गर्दै आएको छ ।
चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट ठहरिएको हो । मन्त्रालयले हालै सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार कुल २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८दशमलव ७५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको हो । ‘ग’ वर्गका जिल्लामध्ये मनाङ शीर्ष स्थानमा रहँदा, ‘ग’ वर्गकै जिल्ला प्रशासन कार्यालय रसुवाले २८ दशमलव ६८७५ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ । यसैगरी, ‘ख’ वर्गका जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय धनकुटाले २८ दशमलव पाँच अङ्क प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छभने ‘ख’ वर्गकै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २८ दशमलव ३७५ अङ्कसहित चौथो स्थान प्राप्त गरेको छ । यस्तै, ‘ख’ वर्गकै जिल्ला प्रशासन कार्यालय पर्वतले २८ दशमलव ३१२५ अङ्क प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको र ‘क’ वर्गका जिल्लातर्फ जिल्ला प्रशासन कार्यालय ललितपुरले २८ दशमलव २५ अङ्कसहित छैटौँ स्थान प्राप्त गरेको जनाइएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मनाङजस्तो विकट जिल्लामा रहेर जनताको सेवा गर्न पाउँदा आफूलाई गर्व लागेको बताए । उनले भने, 'सन्तुष्टि र आत्मसम्मानका आधारमा काम गर्ने हो, सोही अनुसार नतिजा प्राप्त हुँदा खुसी लाग्छ ।' मनाङ जिल्ला मूल्याङ्कनमा सर्वोत्कृष्ट हुनुका आधार प्रस्तुत गर्दै प्रजिअ पौडेलले सोलारको माध्यमबाट विद्युत् आपूर्ति नियमित गरेर ‘अनलाइन’ सेवा प्रदान गरेको जानकारी दिए । उनका अनुसार घुम्ती शिविर सञ्चालन गरेर सबै पालिकामै गएर जनतालाई राष्ट्रिय परिचयपत्र उलब्ध गराएको र विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयमा आउने गुनासाहरूलाई समयमै फर्छ्र्यौैट गरिएको उनले बताए । यसैगरी अर्को मूल्याङ्कनको आधार जिल्लामा पर्ने उजुरी एक वर्षभित्र फर्छ्र्यौट गर्नुपर्ने प्रावधानलाई एक महिनामै टुङ्ग्याउने काम गरेको प्रजिअ पौडेलले जानकारी दिए । 'यसका साथै नेपाल–चीन बोर्डरमा बोडर आउट पोष्ट (बिओपी) राख्नका लागि जग्गा व्यवस्थापन गरी सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ । नागरिकलाई प्रत्यक्ष असर पार्ने सडक पूर्वाधारलाई नियमित र व्यवस्थित गरिएको छ । जसले गर्दा सडकमार्फत सदरमुकामसम्मको पुग्ने समय किफायत भएको छ । जिल्ला प्रशासनक कार्यालयको पहलमा भएका यस्ता कार्यले जनता र सरकारबीचको सामीप्यता गहिरो बनाएको छ । जनताले सरकारको अपनत्व महसुस गरेका छन्', प्रमुख जिल्ला अधिकारी पौडेलले भने । हाल मनाङमा माइनस १० डिग्री तापक्रमसम्म पुगेको उल्लेख गर्दै उनले जोखिमको अवस्थामा पनि जनताको सेवा गर्न सबै लागिरहेको बताए । इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहेका उपसचिव पौड्याललाई गृह मन्त्रालयले गत भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो । त्यसपछि गृह सचिवसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरू पूर्ण रूपमा कार्यान्वयन गर्न आफूले सबै कर्मचारीको साथ लिएर काम गरेको र त्यसकै आधारमा मन्त्रालयले मूल्याङ्कन गरेको उनले सुनाए । प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीसहित जिल्लास्थित सबै कार्यालयहरूको सामूहिक प्रयासको नतिजा प्राप्त भएको बताए । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । रासस
कलश स्टक मार्केटले सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने
काठमाडौं । कलश स्टक मार्केट ब्रोकर नम्बर ७४ ले लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार पुस १९ गतेदेखि २६ गतेसम्म ८ दिनसम्म चल्ने यो तालिम अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । सेयर बजारप्रति चासो राख्ने इच्छुक व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन् । बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने तालिममा सेयरबजारसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ । तालिमका प्रमुख प्रशिक्षकका रूपमा अशोक कुमार शाह रहने कलश स्टक मार्केटले जनाएको छ । तालिममा सहभागी हुन इच्छुकले कलश स्टक मार्केटको आधिकारिक वेबसाइटमार्फत फारम भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदीप के.सी.ले जानकारी दिएका छन् ।
तीन पूर्वप्रधानमन्त्रीको एकै स्वर, समयमै निर्वाचन गरौं, अन्योलता हटाऔँ
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीले मुलुक राजनीतिक अन्योलबाट बाहिर निस्कँदै निर्वाचनतर्फ केन्द्रित भएको भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य: सामूहिक पहल’ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र बाबुराम भट्टराईले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेर राजनीतिक निकास दिनुपर्ने बताएका हुन् । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिका लागि निजी क्षेत्रको संरक्षण, संरचनागत सुधार र राज्य–निजी–समुदायबीचको सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक समेत रहेका दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताए । निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उनको भनाइ छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसदले संविधानमा रहेका अन्योलता हटाउने काम गर्नेछ । हामीले आफ्नै आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो भनेर खोज्नुपर्छ । स्थापित शक्तिहरू अब नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पाखा लाग्ने मोडमा पुगेका छन्,’ उनले भने । पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनको भनाइ छ । राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए । निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने उनले धारणा राखे । ‘युवापुस्ता जेनजी प्रदर्शनपछि हामीले राष्ट्रिय सहमति र राष्ट्रिय राजनीतिक एकतामा जानुपर्छ भनेका थियौँ । सर्वपक्षीय सहमति गर्ने वातावरण क्रमशः बन्न थालेको छ । के हुन्छ भन्ने अन्योलभन्दा अब निर्वाचनमा केन्द्रित हुनुपर्छ । सरकारले अप्ठेरो बीच पनि विकल्प निर्वाचन नै हो भन्ने वातावरण बनाउँदै गएको छ,’ उनले भने । साथै उनले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने बताए । उनका अनुसार निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गरिएन भने विकास र समृद्धि सम्भव हुँदैन । निजी क्षेत्रको प्रवर्द्धन नगरी अर्थतन्त्र उकास्ने सपना पूरा नहुने उनले बताए । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताए । जेनजी आन्दोलनको क्रममा आपराधिक गतिविधि गर्नेहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने उनले माग गरे । विगतमा भएका त्रुटीहरू सच्याएर अघि बढ्ने काममा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । ‘वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनका साथसाथै केही संरचनाहरूमा सुधार गर्न सकिने पनि भएकाले त्यसमा पनि समय दिनुपर्ने आवश्यकता पर्छ । ती क्षेत्रहरूमा रहेको संरचनाहरूमा रहेका त्रुटीहरूमा सुधार गर्ने हो र सिष्टम कसरी बसाल्न सक्ने हो, अहिलेसम्म भएको राम्रा कामहरूलाई कसरी जोगाउने र कमजोरीहरू कसरी सुधार्ने भन्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता पर्दछ,’ उनले भने । नेपाल वन, कृषि, सांस्कृतिक, खनिज, जल लगायत विभिन्न सम्पदामा सम्पन्न रहेको उनले बताए । उनका अनुसार जसरी खोज अनुसन्धान लगानी गर्नुपर्ने, प्रतिफललाई ध्यानमा राखेर लगानी गर्नुपर्ने उनको भनाइ छ । ‘उद्योगी, व्यवसायी साथीहरूले पहल लिनुभएको छ । विभिन्न देशका अनुभव प्राप्त व्यक्तिलाई बोलाएर क्षेत्रगत छलफल गरेर अघि बढ्नुपर्छ । तपाइहरुले घच्घच्याउनु भएको छ । त्यो महत्वपूर्ण कुरा हो । वास्तवमा यो देशको विकास गर्ने हुटहुटी पहिला चाहियो । सपना देख्न सक्नु पयो । त्यसका लागि योजना बनाउन सक्नुपर्यो,’ उनले भने । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको समग्र विकासका लागि आमूल आर्थिक र शासकीय सुधार आवश्यक रहेको बताए । २० वर्षदेखि के गर्ने भन्ने बहस भएपनि किन कार्यान्वयन हुन नसकेको हो भन्नेतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ । निर्वाहमुखी अर्थतन्त्रले देश अघि नबढ्ने बताउँदै उनले स्पष्ट औद्योगिकरण नीति आवश्यक रहेको उल्लेख गरे । राज्य, निजी र सामुदायिक क्षेत्रको सहकार्यमा औद्योगिकरणतर्फ जानुपर्ने उनको भनाइ छ । निजी क्षेत्रलाई राज्यले साथ नदिएसम्म विकास सम्भव नहुने उनको भनाइ छ । ‘२० वर्षदेखि के गर्ने भनेर बहस भयो । किन भइरहेको छैन त्यो खोज्नुपर्यो । विश्व कहाँ पुगेको छ र नेपाली समाज कहाँ छ हेरौँ । निर्वाहमुखी अर्थतन्त्रले मुलुकलाई अघि बढाउन सक्दैन । आमूल परिवर्तन गर्नका लागि खास अर्थतन्त्रको नीति लिनुपर्छ । मुलुकलाई औद्योगीकरणका लागि लैजान राज्य र निजी र सामुदायिक क्षेत्रको सहकार्यमा स्पष्ट नीति बनाउनुपर्छ । वैचारिक रुपमै प्रष्ट पनि हुनुपर्छ,’ उनले भने । भट्टराईले शासकीय प्रणाली सुधार गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने र राजनीतिक स्थायित्व बिना समृद्धि सम्भव नहुने बताए । उनले सम्पत्ति, भूमि र बैंकिङ क्षेत्रमा संरचनात्मक सुधार, सम्पतीको स्वामित्व राज्यले लिने र भोगाधिकार जनतालाई दिने प्रस्ताव पनि अघि सारे । उनका अनुसार सबैलाई एकपटक सम्पत्ति घोषणा गराई पूर्ण डिजिटलाइजेसन गर्नुपर्ने, पुँजी अभाव भएका क्षेत्रका बैंकहरूमा थुप्रिएको रकमबारे गम्भीर समीक्षा गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार तथा विदेश गएका लाखौँ नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा आक्रमण हुनु गलत भएको उल्लेख गर्दै भट्टराईले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।
२०२६ मा सुनचाँदीको मूल्य अझै माथि जाने संकेत
काठमाडौं । सन् २०२५ मा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भयो । यस अवधिमा सुनको मूल्य ६२ प्रतिशतले र चाँदीको मूल्य १४४ प्रतिशतले बढ्यो । २०२६ मा पनि यो तेजी कायम रहन सक्ने अपेक्षा गरिएको छ । इकोनोमिक्स टाइम्सको एक प्रतिवेदनअनुसार विज्ञहरूले लगानीकर्ता सतर्क रहनुपर्ने जनाएका छन्, किनकि सट्टाबाजीका कारण मूल्यमा अचानक ठूलो उतार–चढाव आउन सक्छ । सुन र चाँदी दुवै मूल्यवान धातु हुन्, जसलाई मानिसहरूले सुरक्षित लगानी मान्छन् । इकोनोमिक्स टाइम्सले २०२६ का लागि सुन र चाँदीको मूल्य अनुमानबारे १० जना कमोडिटी बजार विज्ञहरूसँग प्रश्न गरेको थियो । सबै १० जना विज्ञको धारणा मूल्य माथि जाने नै छ भन्ने छ । तीमध्ये ८० प्रतिशतले चाँदीले सुनभन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन् । आनन्द राठी सेयर्स एन्ड स्टक ब्रोकर्सका कमोडिटीज तथा करेन्सी निर्देशक नवीन माथुरले २०२६ मा दुवै धातुका लागि बलियो फन्डामेन्टल रहेको बताए । यद्यपि नाफामा केही कमी आउन सक्छ । सुनले निरन्तर राम्रो प्रदर्शन गर्नेछ भने चाँदीमा उतार–चढाव बढी भए पनि प्रतिशतका हिसाबले यसले सुनलाई उछिन्ने सम्भावना छ । चाँदीको मूल्यबारे ६० प्रतिशत विज्ञहरूको अनुमान अनुसार अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य कम्तीमा प्रति औंस १०० अमेरिकी डलरसम्म पुग्न सक्छ । यो बुधबारको ७२ डलरको मूल्यभन्दा करिब ४० प्रतिशत बढी हो । ती ६० प्रतिशतमध्ये आधाले चाँदीले प्रति औंस ११० डलरको स्तर पार गर्ने बताएका छन् । त्यस्तै, २०–२० प्रतिशत विज्ञले चाँदीको मूल्य ८०–९० डलर र ९०–१०० डलरको दायरामा रहने अपेक्षा गरेका छन् । २०२५ मा सुन र चाँदी सबैभन्दा राम्रो प्रदर्शन गर्ने सम्पत्तिहरूमध्ये परेका थिए । यसको पछाडि फरक–फरक कारण थिए । सुनको मूल्य बढ्नुको मुख्य कारण केन्द्रीय बैंकहरूको खरिद, ब्याजदर घट्ने अपेक्षा, भू–राजनीतिक अनिश्चितता र डलर कमजोर हुनु हो । यी कारणहरूले चाँदीको मूल्यमा पनि ठूलो उछाल आयो । यसका अतिरिक्त चाँदीको बढ्दो अभाव पनि एउटा ठूलो कारण हो । चाँदी सोलार प्यानल, विद्युतीय सवारी साधन र एआईजस्ता तीव्र रूपमा बढिरहेका उद्योगहरूमा प्रयोग हुन्छ । एचडीएफसी सेक्युरिटीजका कमोडिटीजका वरिष्ठ विश्लेषक सौमिल गान्धीका अनुसार चाँदी औद्योगिक धातु र मूल्यवान धातु दुवैको हैसियत राख्छ, जसले यसलाई अझ आकर्षक बनाउँछ । बलियो औद्योगिक तथा लगानी माग र स्थिर आपूर्तिका कारण चाँदीको बजार धेरै वर्षदेखि घाटामा चलिरहेको छ र यो प्रवृत्ति २०२६ मा पनि जारी रहने सम्भावना छ । मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसेजका कमोडिटीज तथा करेन्सी हेड अफ रिसर्च नवनीत दमानीले हालको तेजीपछि लगानीमा सावधानी अपनाउने समय आएको बताए । उनका अनुसार खरिद सोचविचार गरेर गर्नुपर्छ, किनकि मूल्यमा ७–१० प्रतिशतसम्म गिरावट आउन सक्छ ।
सुनको मूल्य तोलामा १४ सयले घट्यो
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा बिहीबार पनि दुवै धातुको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ र चाँदीको मूल्य ५५ सय रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ । हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ । यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए अर्थात् ‘डाक्टर’ बन्ने सपना । आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ। यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौंदेखि टाउको दुख्ने समस्या थियो । बुबा कतारमा पसिना बगाइरहेका बेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो । उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे । डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो । अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उहाँको बालमस्तिष्कमा गहिरो चोट पुर्यायो । ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, 'औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने । आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो । अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु ।' यही अठोटले हो, उनको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ । सुरुमा उनलाई एमबिबिएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन । थियो त केवल एउटा दृढ सङ्कल्प । सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गरे। पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे । त्यसपछि उहाँको वास्तविक सङ्घर्षको अध्याय सुरु भएको हो । 'सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन । सपना पछ्याउन घर छोड्नुपर्ने भयो । एमबिबिएसको तयारीका लागि काठमाडौं पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो । तीन महिनामै काठमाडौं छाडेर घर फर्किँए । उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किए । परिवारमा ‘भोक कि पढाइ’ भन्ने सङ्कट आइलाग्यो', सत्यनारायणले सुनाए । हातमा दशथोक, मनमा पुस्तक परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन । काठमाडौंमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए । गाउँमै निर्माण मजदुरको काम रोजे । दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो । शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उजको मन फेरि पढाइतर्फ फर्किन्थ्यो । बत्तीको मधुरो उज्यालोमा उनी चिकित्सा शिक्षाका पुस्तक पल्टाउथे र प्रवेश परीक्षाको तयारीमा डुब्थे। 'मैले गरिबीले काठमाडौं छोडेँ, तर सपना छोडेको होइन । मैले अभावले हण्डर खाएँ, तर हिम्मत हारेको थिइनँ । त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको सङ्कल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झक्झक्याइरह्यो । आखिर सबैको कुरा अठोट त रहेछ, नहार्ने अठोट', मलिन मुद्रामा सत्यनारायणले विगत सम्झिँदै भने । यही अठोटले उनको सङ्घर्षले नयाँ गोरेटो तय गर्यो । मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले उनी किताब किन्थे । कतिपय रात त उनले भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरे । सत्यनारायण भन्छन्, 'मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो ।' त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले उहाँलाई मेडिकल कलेजको ढोकासम्म पुर्याएको हो । सफलताको उडानः पहिलो प्रयासमै नाम काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन । त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए । सत्यनारायणले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । उनको तपस्याले अन्ततः प्रतिफल दियो । यो खबर सुन्दा परिवारमा खुसीको सीमा छैन । यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो । बुबा मधुरी साफी भन्छन्, 'छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ । हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन । कक्षा भर्नाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङसम्म पुग्ने र बस्ने खाने समस्याले क्षणिक खुसीलाई अन्धकारतर्फ धकेल्दै थियो ।' जब प्रविधिको सहाराले ‘भाइरल’ बने सत्यनारायणको कथा सामाजिक सञ्जालमा चर्चामा आएपछि देशैभरबाट सहयोगी हातहरू उनको झुपडीसम्म पुग्न थालेका छन् । प्रविधिको सहारामा उनको सफलताको चर्चा देश, विदेशमा पुगेको छ । विस्तारै आर्थिक सहयोग गर्नेहरू थपिँदै छन् । सहयोगी मनहरू जुर्मुराएका छन् । यो सहयोगले उनलाई केही राहत त दिएको छ । सहयोगी हातहरू झुपडीसम्म आइपुग्दा सत्यनारायणको आँखामा एकातिर कृतज्ञताको भाव देखिन्छ भने अर्कोतिर आफ्नो जिम्मेवारीप्रतिको गहिरो बोध । चारैतिरबाट पाइरहेको साथ र शुभेच्छापछि उत्साहित बनेका सत्यनारायण भन्छन्, “जब म काठमाडौँबाट रित्तो हात गाउँ फर्किएर मजदुरी गर्न थालेको थिएँ, मलाई लाग्थ्यो यो लडाइँमा म एक्लै छु । आज देशैभरिबाट मनकारी महानुभावहरूले देखाउनुभएको यो माया देख्दा म भावुक भएको छु । यो सहयोग केवल पैसा मात्र होइन, यो मप्रतिको भरोसा र समाजको ऋण हो, जुन म जीवनभर सेवा गरेर तिर्नेछु ।” उनलाई आफूजस्तै अन्य गरिब विद्यार्थीहरूको भविष्यको पनि चिन्ता छ । भन्छन्, “म त भाग्यमानी रहेछु र सबैको नजरमा परेँ, तर म जस्ता हजारौँ सत्यनारायणहरू आज पनि गाउँका कुनाकाप्चामा मजदुरी गर्दै सपना मारिरहेका छन् । राज्यले यस्तो प्रणाली बनाओस् कि कोही पनि प्रतिभाशाली विद्यार्थीले पैसाकै अभावमा किताब फाल्नु नपरोस् । सपना मार्न नपरोस् ।” आरक्षणः सीमान्तकृतका लागि वरदान सत्यनारायणको यो सफलतामा मेहनतसँगै नेपालको समावेशी आरक्षण व्यवस्थाको पनि ठूलो भूमिका छ । मधेस मामिला जानकार प्राडा विजयप्रसाद मिश्र आरक्षणको व्यवस्थाको महत्त्व सत्यनारायणजस्ता धेरै युवाहरूको सफलताले थप सान्दर्भिक बनाउँदै लगेको बताउछन् । भुइँमान्छेहरूले आफ्नो अधिकार सही प्रयोग नगरेसम्म र ओझेलमा परेको समुदायलाई अवसर नदिएसम्म लोकतन्त्र बलियो हुँदैन भन्ने कुरा यसबाट बुझ्नुपर्ने उनको भनाइ छ । प्राडा मिश्र भन्छन्, 'आरक्षणलाई अझै वैज्ञानिक बनाउनुपर्छ, यसलाई भुइँमान्छेले लाभ लिने गरी अझै व्यवस्थित बनाउनुपर्छ । कुन समुदाय पछाडि छ भन्ने बुझ्न प्रत्येक १० वर्षमा यसको समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।' सत्यनारायण साफी युवाहरूका लागि प्रेरणाको बलियो स्रोत बनेका छन् । झुपडीमा फुलेको उनी र उनीजस्तै युवाहरूको ‘सपनाको बिउ’ लाई फक्राउन सरकार र सरोकार भएकाहरूको सहयोगको खाँचो छ । रासस