विकासन्युज

कांग्रेसको अनुशासन समितिको बैठक जेठ २१ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरद्वारा जारी सूचनाअनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा आयोजना गरिनेछ । बैठकमा सहभागी हुन केन्द्रीय अनुशासन समितिका सबै सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । समितिको बैठकमा समसामयिक संगठनात्मक तथा अनुशासनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

सभापति लामिछानेले आज भारतका गृहमन्त्रीलाई भेट्दै

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज उनीहरुबीच भेटवार्ता हुनेछ ।  भेटका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यासको आदानप्रदान, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार-विमर्श हुने अपेक्षा गरिएको छ। रास्वपाका सभापति लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटमा सक्रिय रहेको छ। भारतका गृहमन्त्री शाहसँगको भेटलाई नेपाल-भारत सम्बन्ध र राजनीतिक तहको संवाद विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । आजै लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेट गरेका थिए । 

अर्थमन्त्रीले 'राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस्' भन्ने प्रस्ताव गर्न पाएनन्

काठमाडाैं ।  आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूचीसहित मंगलबार बोलाइएको प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको विरोधका कारण स्थगित भएको छ। बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । त्यसपछि बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यतालिका तय गरिएको थियो ।  तर, विपक्षी दलहरूको अवरोधका कारण बैठक नियमित रूपमा सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले आजका लागि निर्धारित कार्यसूची हटाइएको जानकारी गराए । उनले अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित गरिएको घोषणा गरे । बैठक स्थगित भएसँगै सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सामान्य छलफल पनि सुरु हुन सकेन । अब उक्त छलफल प्रतिनिधिसभाको आगामी बैठकबाट अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण स्थगित भएको छ। बैठकमा उत्पन्न अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले आजका लागि तय गरिएका सबै कार्यसूची हटाइएको जानकारी गराएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित गरिएको घोषणा गरे । विपक्षी दलहरूले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै बैठकमा विरोध जनाएपछि संसद्को नियमित कारबाही प्रभावित भएको थियो । त्यसपछि सभामुख अर्यालले दलहरूबीच सहमति र संवादका लागि समय आवश्यक रहेको उल्लेख गर्दै बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्नेछ ।

प्रतिनिधिसभा बैठक दुई घण्टा ढिला सुरु

काठमाडौं, । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे सुरु भएको छ । मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको अवरोधका कारण समयमै सञ्चालन हुन सकेन । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्दै सदनमा विरोध जनाएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय महतत्वको विषयसँग सम्बन्धित भएकाले त्यसबारे स्पष्ट जानकारी र प्रमाण प्रस्तुत गरिनुपर्ने धारणा राखेका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको औपचारिक धारणा पनि माग गरेका छन्। यता विपक्षीको उक्त मागप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमत नभएको बताइएको छ। सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा बैठक निर्धारित समयमै सञ्चालन हुन नसकेको हो । दलहरूबीचको छलफलपछि प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेबाट सुरु भएको संसद् सचिवालयले जनाएको छ । सदनमा जारी विवाद समाधानका लागि राजनीतिक तहमा थप संवाद भइरहेको बताइएको छ ।

१८४ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २ हजार ७७७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ कराेड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको २६ करोड ७८ लाख, रिडिपावरको २६ करोड, ५ लाख, सेन्ट्रल फाइनान्सको २२ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  मंगलबार कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ, नेपाल रिइन्स्योरेन्स र गुरखाज फाइनान्सको लगानीकर्ताले कमाएका छन् । आज १२ उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.५९ प्रतिशत, फाइनान्स ६.०३ प्रतिशत, होटल तथा पर्यटन ०.१२ प्रतिशत, हाइड्रोपावर ०.६१ प्रतिशत, इनभेष्टमेन्ट ०.२० प्रतिशत र लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत बढेका छन् । साथै माइक्रो फाइनान्स ०.४० प्रतिशत, म्यूचल फन्ड ०.२९ प्रतिशत, नन लाइफ इन्स्योरेन्स, अन्य ३.८४ प्रतिशत र ट्रेडिङ १.१३ प्रतिशतले बढेका छन् ।    

कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक

काठमाडौं । कमल शिशिरको नयाँ गीत बजारमा आएको छ । शिशिरको आफ्नै युटुब च्यानलबाट ‘लाल्टिन बालेर’ बोलको गीत सार्वजनिक भएको हो ।  गीतमा वसन्त थापा र देवी घर्तीको स्वर रहेको छ भने नन्दु परियारले संगीत भरेका छन् ।  दिनेश पराजुलीको समूहले निर्माण गरेको गीतको म्युजिक भिडियोमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन् ।  लामो समयदेखि गजल, कविता, मुक्तकसमेत लेख्दै आएका गीतकार शिशिरले गीतमार्फत् गण्डकी र धौलागिरी क्षेत्रमा रहेका गुरुङ र मगर समुदायको कथा भनेका छन् ।  रोधीमार्फत जोडिने प्रेम देखाउने प्रयास गरेका उनले रैथाने लय जगेर्ना गर्ने प्रयास गरेको देखिन्छ ।

ईस्टू काठमाडौं जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयन

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन ईस्टू काठमाडौं जिल्ला समन्वय समितिको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित समितिको अध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामनरेश राय, उपाध्यक्षमा नेत्रमणि रेग्मी, महिला उपाध्यक्षमा स्वर्णलता गुरुङ, सचिवमा सरोज श्रेष्ठ तथा कोषाध्यक्षमा सुजना अर्याल कोइराला निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए । अध्यक्ष गौतमका अनुसार समितिका सदस्यहरूमा किशोरमणि आचार्य, लक्ष्मी देउला र लक्ष्मी घिमिरे क्षेत्री चयन भएका छन् । रेनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा ईस्टू राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी रहेको गौतमले जानकारी दिए ।  गौतमका अनुसार कार्यक्रममा ईस्टूका प्रमुख संरक्षक मुकुन्द गौतम विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए । अधिवेशनमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका हकहित, पेशागत सुरक्षा, संगठन विस्तार तथा आगामी कार्ययोजनाबारे समेत छलफल भएको अध्यक्ष गौतमले बताए । नवगठित समितिले शिक्षकहरूको पेशागत अधिकार संरक्षण, संगठन सुदृढीकरण तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष गौतमले जानकारी दिए ।