दर्शक बटुल्दै ‘जात्रा’, समिक्षकबाट प्रशंसा, एक दिनमा नै लगानी उठेकाे निर्माताकाे भनाइ
काठमाडौं, २७ कात्तिक । शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘जात्रा’ हेर्ने दर्शकको संख्या आज बढ्दै गएको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्री भएको ‘जात्रा’ ले शनिबार हाउसफुल दर्शक पाएको छ । समिक्षकको प्रशंसा र माउथ पब्लीसिटीका कारण पनि र्दशकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताएका छन् । “हामीले गरेको दुखले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको महसुस भइरहेको छ, १३ वर्षदेखि मह सञ्चारसँग गरेको सहकार्यको प्रतिफललाई दर्शकले मनपराएको पाएको छु,” उनले भने । फिल्म समिक्षकबाट पनि ‘जात्रा’ ले गतिलो प्रतिक्रिया पाएको छ, फिल्म एकपटक हेरीसकेका कतिपयले दोहोर्याएर हेर्न आतुर रहेको समेत बताएका छन् त्यसले जोस जाँगर बढेको उनको भनाई छ । फिल्मको लगानी लगभग उठिसकेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँले बताएका छन् । यद्यपी, ‘जात्रा’ को दर्शक बढ्दै गएका कारण धेरथोर फाइदा हुनेमा ढुक्क रहेको उनी बताउँछन् । “फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका कारण दर्शकको सख्या पनि हलहरुमा बढीरहेका छन्, यसले अर्को फिल्म बनाउन सजिलो पर्ने देखेको छु” उनले भने । पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की (भष्मे डन) फरक भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, पशुपतिप्रसादका (हनुमान) र रविन्द्र झाको अभिनयले पनि दर्शकको मन तान्ने निश्चित छ । पछिल्लो समय क्युट नायिकाको रुपमा चर्चा बटुलेकी वर्षा राउत पनि यस फिल्ममा फरक रुपमा प्रस्तुत भएकी छिन् । वर्षाको अभिनयलाई लिएर उनको बुवाआमाले भने मन खल्लो भएको प्रतिक्रिया दिएका छन् । फिल्मले निकै हँसाउँदो रहेछ, तर आफ्नी छोरी भने धरै रुँदी रहिछ, त्यसैले मनै खल्लो भयो, वर्षाको आमाले बताइन् । हेर्नुहोस् भिडियो ।
कार्कीको प्रहरी कनेक्सन, प्रहरीसँगको मिलेमतोमा देशैभर अख्तियारको दुरुपयोग
काठमाडौं २७, कात्तिक । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्नालगायतमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चल्यो। मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइयो। स्रोतका अनुसार भ्रष्टाचारको मुद्दा चल्ने निश्चित भएपछि प्रतिष्ठानका केही पदाधिकारी ‘झोला’ बाकेर काठमाडौं आए। प्रतिष्ठानका टोलीसँग अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले खटाएका मानिसले होटल अन्नपूर्णमा भेट्ने तय भयो। प्रतिष्ठानको टोलीले आफूहरूको सुरक्षा र सम्भावित रंगेहात कारबाहीको डर हुने भनेपछि प्रहरी सुरक्षाका साथ दुवै पक्षबीच भेट भयो। अख्तियारकै स्रोत भन्छ, ‘उक्त भेटघाट कार्यक्रममा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालसमेत उपस्थित थिए।’ पूर्वमहान्यायाधिवक्ता द्रोणराज रेग्मी अख्तियारको कानुनी सल्लाहकारमा नियुक्त भए। अनधिकृत कामका लागि धापासीमा ‘सेफ हाउस’ नै खुलेको स्रोतले बतायो। अख्तियारका एक सहसचिवका अनुसार कार्कीको आदेशमा प्रहरी प्रधान कार्यालयले स्थापना गरेको ‘सेफ हाउस’ मा गम्भीर भ्रष्टाचारका उजुरी र तिनका प्रमाणमाथि छलफल नभई व्यक्तिमाथिका जासुसीका क्रियाकलाप सञ्चालन हुन थाले। ‘केही दिनमै यथार्थ क्रियाकलाप देखेपछि उहाँ (रेग्मी)ले कानुनी सल्लाहकारको पद छाड्नुभयो,’ ती सहसचिवले भने, ‘भ्रष्टाचार नियन्त्रणमा केही योगदान गरौं भनेर आएका सल्लाहकारहरू प्रहरी र गुप्तचरी निकायले जस्तो शैलीमा क्रियाकलाप सञ्चालन गरेको देखेर छक्क परेका थिए।’ सेफ हाउसबारे अख्तियारको निर्णय भएको छैन भने आयुक्तहरूलाई पनि जानकारी छैन। तर आयुक्त राजनारायण पाठक बारम्बार उक्त घरमा पुग्ने गरेको स्रोत बताउँछ। कार्कीका समर्थक, सचिवालयका कर्मचारीहरूसहित भेला हुने उक्त सेफ हाउसमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र आईजीपी अर्याल पनि नियमित रूपमा पुग्ने गरेको अख्तियार स्रोत बताउँछ। स्रोतका अनुसार नेता तथा कर्मचारीहरूको व्यक्तिगत विवरण समेटिएको ६५ पृष्ठ लामो प्रतिवेदन तयार गर्ने अभियानमा अनुसन्धान विभागका एसपी कुमार खडका पनि संलग्न थिए। उक्त घरमा कारबाही गर्नुपर्ने व्यक्तिहरूको सूची तयार गर्नेदेखि धम्क्याउने, आफूअनुकूल निर्णय गर्न बाध्य पार्ने क्रियाकलाप हुन्थे। लोकमानको टिममा रहेका र सल्लाहकार तथा शुभचिन्तकको समूहका क्रियाकलापका लागि सञ्चालित अड्डा पछि भने बन्द भएको स्रोत बताउँछ। जासुसीमा प्रहरी ‘प्रधानन्यायाधीशदेखि आलोचक नेता, पत्रकार, कर्मचारीलगायतको व्यक्तिगत विवरण र अन्य जासुसीका लागि खडा गरिएको उक्त अखडामा विरोधीलाई तह लगाउने रणनीतिसम्म तय हुन्थ्यो,’ अख्तियार स्रोतले भन्यो। कल डिटेल, व्यक्तिको बसाइ र आवतजावतको लोकेसनदेखि म्यासेजका विवरण हेर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाएको उपकरण र सफ्टवेयर आईजीपी अर्यालले अख्तियार पुर्याइदिएका थिए। ‘कार्कीले गैरकानुनी सम्पत्ति आर्जनको फाइल खोलिदिने धम्की दिएर अर्याललाई आफ्नो काबुमा राखेका थिए, त्यसपछि कार्कीबाट जे आदेश आयो, उनले पालना गरे,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसपछि कार्की प्रहरी संगठनकै दुरुपयोग गरेर झनै शक्तिशाली र निरंकुश बने।’ अख्तियारमा १८ वर्षदेखि कार्यरत अनुसन्धान अधिकृत एवं इन्जिनियर गोविन्द श्रेष्ठले अर्यालको गैरकानुनी सम्पत्ति आर्जनको फाइल हेरेर तामेलीको सिफारिस गरेका थिए। कार्कीले श्रेष्ठलाई प्रयोग गरेर त्यही फाइल फेरि ब्युँताउने त्रास देखाएको स्रोत बताउँछ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठदेखि हालका प्रधानन्यायाधीश, अन्य न्यायाधीश र सभासदको जासुसीमा कार्कीले प्रहरी टोली प्रयोग गरेका थिए। आयुक्तहरू प्रमुख आयुक्तलाई भेट्न जाँदा आईजीपीसँग मिटिङमा हुनुहुन्छ भनेर कार्कीका निजी सहायक एवं इन्सपेक्टर दानबहादुर थापाले दुई घण्टासम्म पर्खाउने गरेको स्रोत बताउँछ। अरू आयुक्तसँग भेटघाटै नगर्ने अर्यालले कार्कीमाथिको महाअभियोगपछि भने रणनीति परिवर्तन गरे। उनले आफ्नो इन्डोनेसिया भ्रमणअघि बारम्बार अन्य आयुक्तलाई भेट्ने र सम्बन्ध सुधारको प्रयास गरिरहेका थिए। ‘तपाईंहरूलाई भेट्ने त मन थियो, तर लोकमानले निगरानी गरेकाले सम्भव भएन,’ अर्यालको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो। कार्कीले अघि सारेका माग सहजै पूरा गरेका कारण करिब ५० जना प्रहरीको दरबन्दी रहेको अख्तियारमा ३ सय ५० भन्दा बढी पुगेका थिए। प्रहरी महाशाखामा सीमित प्रहरीहरू हरेक महाशाखामा अनुसन्धान अधिकृतको जिम्मेवारीमा थिए भने क्षेत्रीय कार्यालयहरूमा एसएसपीकै कमान्डमा निजामती कर्मचारीहरू खटिएका हुन्थे। ‘लोकमानले अघि सारेका र महत्त्वपूर्णको सूचीमा राखेका हरेक फाइलको अनुसन्धान अधिकृत प्रहरी अधिकारीहरू नै थिए,’ अख्तियार स्रोतले भन्यो, ‘चेन अफ कमान्डमा चल्ने भएकाले जे आदेश हुन्थ्यो, त्यहीअनुसारको मुद्दा तयार हुन्थ्यो।’ कार्कीको आदेशमा नक्साल आईजीपी अर्यालले अडान लिन नसक्दा प्रहरी प्रधान कार्यालयमा सञ्चार तथा अन्य रणनीतिक उपकरणदेखि लत्ताकपडा र दंगा नियन्त्रणका सामग्री खरिद प्रक्रियामा कार्कीको सक्रियता बढदै गएको अख्तियार स्रोत बताउँछ। गत वर्ष सार्क सम्मेलनका क्रममा उपकरण खरिद गर्ने क्रममा आफ्ना सम्धी रोहिणी थपलियाको कम्पनीलाई कार्कीले छनोट गर्न आईजीपी अर्याललाई दबाब दिए। ‘करिब एक साताको सूचना निकालेर सामान खरिद गरिएको थियो,’ स्रोतले भन्यो। कार्कीकी जेठी छोरीको थपलियाका छोरासँग विवाह भएको थियो। कान्तिपुर दैनिकबाट ।
नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न सूचना राजमार्ग, तीन वर्षपछि गति लियो
काठमाडौं २७, कात्तिक । निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो । दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम ९सासेक० अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० साल भित्र सकिनुपर्ने थियो । ०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो । तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु भएको छैन् । झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो । चार वर्षमा सूचना राजमार्ग निर्माणको काम ८५ प्रतिशत सकिएको परियोजनाका परामर्शदाता रामविक्रम दाहालले बताए । उनका अनुसार परियोजनालाई तीन भागमा बाँडेर निर्माण भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट ।
गोरखाको एक गाउँ, जहाँ पुस्तौंदेखि प्रेमविवाह मात्र हुन्छ, बाजेको पालेदेखीनै लभ म्यारिज
गोरखा २७, कात्तिक । गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् । विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको लामो प्रेम हालै विवाहमा बदलियो। नयाँ पुस्ताका यी जोडीको मात्र मायाप्रीति झाँगिएर विहे भएको होइन् । उनीहरुका बुबा–आमा, हजुरबा–हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो । गोरखाका उत्तरी भेग काशीगाउँ, केजोरा र आसपासका गाविसमा बसोबास गर्ने सबै युवकयुवतीको विवाह मायाप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।‘य हाँ तीन जात, तीन धर्म छ’, बुद्धिमान घले भन्छन्, ‘बौद्ध, हिन्दु र क्रिश्चियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरु सबैको विवाह गर्ने परम्परा एउटै हो–‘पहिले माया प्रेम अनि विवाह ।’ कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै विहे हुन्छ, कसैको ५(६ वर्ष पछि । अधिकांश विवाह परिवारले स्वीकार नगर्दा नगर्दै पनि विहे गर्छन्। पछि समायोजन हुँदै जान्छ। अन्नपूर्ण पोस्टबाट ।
जिविसको लापरबाहीले किसानका खेत सुके, दुई हजार हेक्टर जमिन बाँझो हुँदै
काठमाडौं २७, कात्तिक । जिल्ला विकास समिति झापाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबको पाँच वर्षमा सिँचाई सुविधा पुगेका झापाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन्। उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले बुधबारेकै धान फल्ने जग्गा बाँझो हुने बताएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा छलफल कार्यक्रम आयोजना गरेर उनले यस्तो चेतावनी दिएका हुन् । विरिङ खोलाबाट खेतमा सिँचाइ पुर्याउन आधा दर्जन योजना सञ्चालित छन् । केही योजना आउने क्रममा रहेको उनले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट ।
लोडसेडिङ पूर्ण रुपमा हटाउने घोषणा गरिने, सरकारको सय दिनमा नो लोडसेडिङ प्राथमिकताको नारा
काठमाडौ २७, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकालगायतका अन्य जिल्लामा विद्युत् लोडसेडिङ पूर्ण रूपमा हटाउने सम्बन्धमा परीक्षण प्रसारण सफल भइरहेको बताएका छन्। प्रधानमन्त्री बनेको सयौँ दिन उनले सबै वैकल्पिक उपायसहित चाँडै ‘नो लोडसेडिङ’ घोषणा गरिने बताएका हुन्। यसैबीच सरकारको सय दिनको कार्यविवरण सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि सहमति गरी संशोधन प्रस्ताव दर्ता गरिने बताए । ‘संविधान संशोधनको प्रस्ताव तयार भएको छ, यसमा प्रतिपक्षको पनि सहमति खोज्ने प्रयास भएको छ । सकेसम्म प्रतिपक्षको पनि सहमति भयो भने वातावरण सहज हुन्छ र निर्वाचनतिर देशलाई लैजान सकिन्छ भनेर त्यसको प्रयास भइरहेको छ,’ प्रधानमन्त्रीले भने ।
सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्नेमा नेपाल पहिलो, सकारात्मक कदमप्रतिको सह्रहना
काठमाडौं २७, कात्तिक । सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको हो । यसअघि विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग प्रदान गरेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र त्यसपछि आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमूलक चिह्न राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागू गरेको थियो । सरकारले सुर्तीजन्य पदार्थको बट्टा, पोका, र्यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्न तथा अङ्कित गर्न निर्देशन दिएको थियो । क्यानेडियन क्यान्सर सोसाइटीले भारतको दिल्लीमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाको सातौँ कन्फरेन्स अफ दी पार्टीको दौरानमा सो प्रतिवेदन जारी गरेको हो । सुर्ती नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदन गर्ने १८१ राष्ट्रको सम्मेलन भारतको नोइडा, उत्तर प्रदेशमा यही कात्तिक २२ गतेदेखि सुरु भएको सम्मेलन शनिबारसम्म जारी रहनेछ । कारोबार दैनिकबाट ।
स्वास्थ्यका कर्मचारीको विदेश भ्रमण, एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण
काठमाडौं २७, कात्तिक । स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि विभिन्न तहका कर्मचारी विदेश भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँदिल्लीलगायत ठाउँ गएका हुन् । एकैपटक १८ जना भ्रमणमा विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको थियो । त्यसैगरी, स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो । त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए । नयाँ पत्रिका दैनिकबाट ।