काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन हुनु अघि नै अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्न स्वीकृति दिने भएकोछ । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिनको लागि अर्थमन्त्रालयमा सिफारिस गरिसकेको छ ।
बीमा समितिबाट १० वटा जीबन बीमा कम्पनीलाई लाईसेन्स दिन सिफारिस भई आएको अर्थमन्त्रालयका सहसचिव आनन्दराज ढकालले बताए । उक्त विषयमा अहिलेसम्म कुनै निर्णय नभएको उनले बताए ।
अर्थमन्त्री विदेशमा भएकोले निर्णय हुन नसकेको अर्थमन्त्रालय स्रोतले बतायो । ओबीओआरमा हस्ताक्षर गर्ने क्रममा चीन भ्रमणमा रहेका अर्थमन्त्री कृष्णवहादुर महरा आज अध्ययन्न नेपाल फर्कने कार्यक्रम छ ।
‘मन्त्रीज्यु भोली मात्र मन्त्रालय आउनुहुन्छ होला, उहाँ आउनुभएपछि यस विषयमा टुङ्गो लाग्छ’ स्रोतले भन्यो । बीमा समितिले गरेको सिफारिस अनुसार सबै कम्पनीलाई लाईसेन्स दिन अर्थमन्त्रालयले सहमति दिने सम्भावना छ । लाईसेन्स वितरणको काम भने बीमा समितिले नै गर्नेछ ।
बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई लाईसेन्स दिने सहमति माग्दै मन्त्रालयमा सिफारिस गरेको छ ।
जीवन बीमा सेवा सञ्चालन गर्नको लागि १२ वटा कम्पनीले बीमा समितिमा आवेदन गरेकोमा स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनिलाईफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बीमा समितिले सिफारिस गरेको छैन । ‘बीमा समितिले तोके अनुसार कागजात तथा विवरण बुझाउन नसकेकाले दुई कम्पनीलाई लाईसेन्स दिन सिफारिस गर्न नसकिएको बीमा समिति स्रोतले बतायो ।
निर्जीबन बीमा कम्पनीतर्फ सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड र मनकामना इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सञ्चालन अनुमति मागेका छन् । उनीहरुलाई बीमा समितिले स्वीकृत दिन सकछ । निर्जीवन बीमा कम्पनीहरुको लागि अर्थमन्त्रालयको सिफारिस आवश्यक पर्दैन ।
कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भई बीमा समितिसँग लाईसेन्स माग गर्ने कम्पनीहरुलाई प्रक्रिया पुरा गरेर बैंशाख २४ गतेसम्म आउन बीमा समितिले निर्देशन दिएको थियो । १७ वटा कम्पनी प्रक्रियामा रहेकोमा २ वटा जीवन बीमा र एउटा निर्जीवन बीमा कम्पनी प्रक्रियाबाट बाहिरिन पुगेका छन् ।
१६:५५ बजे सच्यार्इएकाे
ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवश्यक प्रक्रिया पुरा नगरेको हुनुपर्नेमा अन्यथा हुन गएकोले सम्पादन गरिएकाे छ । सम्पादक