विकासन्युज

५ वर्षमा पेन्सनमा १ खर्ब ५९ अर्ब ४८ करोड खर्च, ८८६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने पैसा पेन्सनमा

काठमाडौ २८, कात्तिक । सेवानिवृत्त कर्मचारी तथा उनीहरूमा आश्रित परिवारका लागि प्रत्येक वर्ष ठूलो धनराशी खर्च हुँदै आएको छ । ५ वर्षमा सरकारले पेन्सनका लागि १ खर्ब ५९ अर्ब ४८ करोड खर्च गरेको छ । बर्सेनी बढ्दै जाने यस्तो पेन्सनले राज्यको ढुकुटीमा उल्लेख्य भार थप्दै आएको र केही वर्षपछि राज्यले सो भार थाम्नै नसक्ने देखिएको छ । सरकारले एक दशक अघिनै पेन्सन कोष स्थापना गर्ने भनिएपनि हालसम्म भएको छैन । सो कारण राज्य पेन्सन भारले थिचिन लागेको छ । सरकारले ९ वर्ष अघिनै सहभागितामा आधारित पेन्सन प्रणाली लागू गर्ने तयारी गरेपनि अस्थिर र ठोष निर्णय लिन नसक्ने सरकारको फाइदा उठाउँदै कर्मचारीहरुले केही राजनीतिक उच्च अधिकारीको आडमा सो व्यवस्थालाई लागू नहुँदाको अवस्थामा नै लत्याएका कारण आज राज्यले ठूलो भार खेपीरहनु परेको हो । विकास निर्माणमा खर्चिनु पर्ने रकम अनुत्पादक क्षेत्रका लागि छुट्याउनु पर्ने भएको छ । सरकारले हरेक वर्ष पेन्सनका लागि छुट्याउँदै आएको रकमबाट ठूूला विद्युत् आयोजना तथा पूर्वाधार निर्माण गर्न सकिन्छ । ५ वर्षमा पेन्सन भएको तथा हुन लागेको खर्चबाट प्रतिमेगावाट रू. १८ करोडका दरले ८ सय ८६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्थ्यो । चालू आवमा पेन्सनका लागि विनियोजित बजेटबाट पनि करिब २ सय ३४ मेगावाटको विद्युत् उत्पादन हुन सक्छ । सरकारले विगत लामो समयदेखि योगदानमा आधारित पेन्सन प्रणालीे लागू गर्ने भन्दै आएको र अघिल्ला केही वर्षदेखि सरकारको नीति तथा कार्यक्रम एवम् बजेटमा राम्रै स्थान पाए पनि हालसम्म लागू गर्न सकेको छैन । पेन्सनको असीमित दायित्व राज्यले धान्न नसक्ने, सङघीयतामा अझ बढी कर्मचारीको आवश्यकता पर्ने र जसको कारण पेन्सनभार अझ थपिने भएकाले पनि सरकार जतिसक्दो चाँडो योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा जानुपर्ने अर्र्थिवज्ञ डा. शंकर शर्मा बताउँछन् । ‘नयाँ व्यवस्थामा सरकारले कोषको व्यवस्था गर्ने भएकाले एकैपटक रकम छुट्ट्याए पुग्ने र त्यसको ब्याजबाट पनि कोष सञ्चालन गर्न सहयोग पुग्ने उनले बताए । के हो योगदानमा आधारित पेन्सन प्रणाली ? सेवानिवृत्त कर्मचारीका लागि हाल सरकारले मात्रै बेहोर्दै आएको पेन्सन दायित्व(निश्चित लाभ प्रणाली)लाई हटाएर योगदानमा आधारित पेन्सनको व्यवस्था गर्न लागेको हो । विद्यमान निश्चित लाभ प्रणालीमा हरेक कर्मचारीले पाउने निवृत्तभरण भत्ता उनीहरूको स्तरअनुसार निश्चित हुन्छ, जुन समयअनुसार बढ्दै जान्छ र यसको सम्पूर्ण दायित्व सरकारले वहन गर्छ । यस्तो प्रणालीले राज्य कोषमा विशेष भार थपेको र यो वर्र्षैिपच्छे बढ्दै जाने भएकाले सरकारले कर्मचारी र सरकार दुवैले बेहोर्ने योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न लागेको हो । यस्तो व्यवस्थामा कर्मचारीको तलबबाट निश्चित रकम काटिन्छ भने सरकारले पनि केही रकमको व्यवस्था गर्छ । निवृत्तीभरण व्यवस्थापन कार्यालयका प्रमुख शिवनाथ पौडेलका अनुसार हरेक आवमा जस्तै चालू आवमा ९ हजार सेवानिवृत्त कर्मचारी थपिने छन् । चालू आवसम्ममा यस्तो सुविधा पाउनेहरूको संख्या २ लाख २१ हजार पुगेको छ । पेन्सनर बढेसँगै सरकारको दायित्व बढ्न गई बढी रकम विनियोजन गर्नुपर्ने वाध्यता सरकारलाई छ । बढ्दो पेन्सनको भार राज्यले थेग्न नसक्ने अर्का अर्र्थिवज्ञ डा.चन्द्रमणि अधिकारी बताउँछन् । अन्य मुलुकले अपनाएका मोडेल हेरेर भएपनि जतिसक्दो छिटो नयाँ पेन्सन प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । बेलायत तथा ग्रीसले पनि आर्थिक भार धान्न नसकेपछि पेन्सन व्यवस्था कटौती गरेका थिए । पेन्सनको उचित व्यवस्थापन हुनुपर्छ नत्र, प्रान्तीय ढाँचामा जाँदा धेरै कर्मचारी आवश्यक पर्ने र दायित्व अझ बढ्ने उनको भनाइ छ । ‘पेन्सन पाउने उमेरको पनि अब समय सीमा तोकिनुपर्छ । नेपाल प्रहरी तथा सेनामा कार्यरत कर्मचारी चाँडै सेवानिवृत्त भएर लामो समयसम्म पेन्सन पाउने गरेका छन् उनीहरूका लागि पनि राज्यले छुट्टै व्यवस्था गर्नुपर्छ,’ उनले भने । विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने विकास निर्माणमा खर्चिनुपर्ने ठूलो रकम सेवानिवृत्त कर्मचारीको लागि खर्च भइरहेको छ । आर्थिक वर्ष २०६८/६९ मा सेवानिवृत्त कर्मचारीका लागि रू. ११ अर्ब ५४ करोड विनियोजन गरिएकोमा चालू आवमा सो रकम बढेर रू.४१ अर्ब ६ करोड पुगेको छ । सरकारले कर्मचारीहरूको तलब २५ प्रतिशतले बढाएकाले यो भार अझ थपिएको छ । सरकारले बजेटमार्फत सेवानिवृत्त कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने भन्दै रू. ४२ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । सो रकममध्ये रू.३५ अर्ब सेवानिवृत्त निजामती कर्मचारी, सेना, प्रहरीको लागि हो भने रू. ७ अर्ब १० करोड शिक्षकका लागि भएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । यसले के स्पष्ट पार्छ भने राज्यलाई जतिसुकै भार परे पनि यस वर्ष पनि नयाँ पेन्सन प्रणाली लागू हुने देखिदैन । पेन्सन भार (रू. करोडमा) आव                      रकम २०७३/७४             ४२, १० २०७२/७३             ४१,०६ २०७१/७२             ३३,७५ २०७०/७१             २४,३८ २०६९/७०             १८,१९ स्रोतः निवृत्तभरण व्यवस्थापन विभाग कार्यालय

अपर बलेफी “ए”जलविद्युत आयोजनालाई चार बैंकद्धारा ४ खर्व ३६ अर्व ऋण

काठमाडौँ ,२८ कात्तिक । । छ खर्व आठ अर्व रुपैयाँको लागमा बन्न लागेको ३६ मेगावाटको अपर बलेफी “ए” जलविद्युत आयोजना निर्माणका लागि  पाँच वटा बैकहरुले ऋण प्रबाह गर्ने भएका छन् । ग्लोवल आइएमई सहित चार वटा बैंक र सो आयोजना निर्माण कम्पनी हुआनिङ्ग डेभलपमेन्ट प्रा.लि.वीच शनिवार सहवित्तियकरण ऋण सम्झौता भएको छ । ग्लोवल आइएमइ बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एस.वि.आई बैंक र एनआईडिसि विकास बैंकले आयोजनाको लागि ऋण प्रदान गर्नेछन् । आयोजनाको कुल लागत मध्ये चार खर्व ३६ अर्व रुपैयाँ बैंकहरुले लगानी गर्ने छन् । सिन्धुपाल्चोकको गोल्छे र गुम्वा गा.विसमा अवस्थित सो आयोजनाको पावर हाउस गोल्छे गा.वि.समा निर्माण गरिनेछ । वि.स. २०७५ माघ महिना सम्म निर्माण सम्पन्न गर्ने अपेक्षा सहित सो सम्झौतामा हस्ताक्षर गरिएको हो । आयोजनाबाट उत्पादित ३६ मेगावाट विजुली सोही जिल्लामा रहेको लामोसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ ।

लघुवित्तको स्प्रेडदरमा पुनर्विचार हुदैनः गभर्नर

काठमाडौँ ,२८ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले लघुवित्तका लागि निर्धारण गरिएको स्प्रेड दरसम्बन्धी व्यवस्थामा पुनर्विचार नहुने बताएका छन् । भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा आयोजित वित्तिय साक्षता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले लघुवित्तका लागि कायम गरिएको स्पेडदर गम्भीर अध्ययनपछि निर्णय गरिएकोले पुनर्विचार नहुने स्पष्ट पारेका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३÷७४ कावे मौद्रिक नीति मार्फत लघुवित्तको स्प्रेडदर ७ प्रतिशत भन्दा नवढ्ने गरी कायम गरेको थियो । सोही कार्यक्रममा गभर्नर नेपालले वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कसैको स्वार्थअनुकुल पारित हुन नहुने बताए । त्यससम्बन्धी कुरा आफुले संसदको अर्थ समितिमा पनि पटक–पटक उठाएको उनको भनाई थियो । बैंक तथा वित्तीय संस्थामा अध्यक्ष र सञ्चालकको कार्यकालबारे मस्यौदा राष्ट्र बैंकले लामो छलफल र अध्ययनपछि तयार गरेकाले त्यसलाई परिमार्जन गर्न नहुनेतर्फ उनको जोड थियो । कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कर्मचारीको आठ करोड बक्यौता तिर्न क्यासिनो माजोङलाई सर्बोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सोल्टी होटलस्थित क्यासिनो माजोङले पूर्ववर्ती क्यासिनोको दायित्व वहन गरी कर्मचारीहरुको आठ करोड रुपैयाँ वक्यौता तिर्नुपिर्ने फैसला गरेको छ । यस फैसलाबाट मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको बक्यौता रहेको तलव भक्ता उठ्ने छ । सोल्टी होटलको नियन्त्रणमा रहेको क्यासिनोमा विगत तीस वर्षभन्दा बढी अवधि काम गरेका मुुकुन्दराज खरेलसहितका ४९ जना कामदार कर्मचारीहरुले नयाँ व्यवस्थापनबाटै बक्यौता पारिश्रमिक, भत्ता लगायत सुविधा पाउने निश्चत भएको छ । क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठले कम्पनीका तर्फबाट श्रम अदालत, श्रम कार्यालय र मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको विरुद्द दायर गरेको रिट निवेदनमा रिट खारेज हुने ठहर गरी सर्वोच्चले अन्तिम फैसला गरेको हो । यो सँगै क्यासिनो माजोङको चार वर्ष लामो कानुनी संघर्ष टुङिगएको छ । न्यायाधीश द्धय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा भएको अन्तिम आदेशमा नामको लागि मात्र नयाँ कम्पनी खडा गरी पूरानो कम्पनीको सम्पत्ति र श्रोतमा संचालन भएको कम्पनीलाई छुट्टै नयाँ अस्तित्व वा हैसियतको कम्पनी भनी मान्न नमिल्न ठहर गरिएको छ । सोल्टी होटलले पहिले क्यासिनो नेपाल चलाएको थियो ।  तर सो क्यासिनोको नाममा धेरै रकम बक्यौता रहेपछि सो कम्पनीलाई नयाँ नाम दिएर क्यासिनो माजोङ बनाइएको थियो । सो रिट खारेज भएपछि कर्मचारीहरुले यसै साता मात्रै अदालतबाट फैसलाको पूर्णपाठ प्राप्त गरी निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् । सर्वोच्चको बीस पृष्ठ लामो फैसलाको अन्तिम आदेश खण्डमा “क्यासिनो माजोङ र सोल्टी होटलबीच भएको मिति २०६९ कात्तिक २४ को सम्झौतामा पूर्र्व क्यासिनो सञ्चालन हुँदा बाँकी रहेको बक्यौता कर र अन्य दायित्व क्यासिनो माजोङको हुने भनी उल्लेख गरेको देखिँदा क्यासिनो माजोङ नयाँ कम्पनीको रुपमा खडा भएपनि पूर्ववर्ती कम्पनीको दायित्व व्यहोर्न नपर्ने गरी स्वतन्त्र रहेको भनी मान्न सकिएन” भनी उल्लेख गरिएको छ । यस्तै क्यासिनो माजोङले क्यासिनो नेपालसँग कुनै सम्बन्ध नरहेको दावी गरेपनि सोही क्यासिनो संचालन रहेको स्थान, जुवा खेलाउने साधन र केही पूरानै कर्मचारीसमेत प्रयोग गरेको देखिँदा क्यासिनो माजोङ पूर्ण स्वायत्त नयाँ कम्पनी भन्ने दावी तथ्ययुक्त नदेखिएको सर्वोच्चको ठहर छ । श्रम कार्यालयले विभिन्न मितिमा गरेका निर्णयहरु बमोजिम क्यासिनो माजोङले ४९ जना कर्मचारीहरुलाई तिर्नुपर्ने दायित्व रकम आठ करोड आठ लाख अन्ठाउन्न हजार आठ सय पन्ध्र रुपैयाँ पुगेको छ ।

नेपालीसँग भएको २५ हजारसम्मको भारु राष्ट्रको सम्पत्ति हो, टेबुल ठोकेर साट्नुपर्छ

भिष्मराज ढुंगाना भारत सरकारले चलन चल्चीमा रहेको ५०० र १००० दरका नोट  नचल्ने निर्णय गरेपछि त्यसको मार नेपालीलाई नराम्ररी परेको छ । भारतले स्रोत खुलेका रकम जति पनि र सर्व साधारणलाई ठूला दरका नोट प्रति व्यक्ति ४००० भारतीय रुपैयाँ साट्न सकिने जनाएको छ । तर,  नेपाल राष्ट्र बैंकले नेपालीसँग भारतीय रुपैयाँ तत्कालका लागि साट्न रोक लगाएको छ । राष्ट्र बैंकको यो निर्णयले भारतीय रुपैयाँमा कारोबार गर्दै आएका नेपालीलाई धेरै निराश र चिन्तित बनाएको छ । यो अवस्था कहिलेसम्म रहन्छ, नेपालीसँग भएको भारु राष्ट्र बैंकले साट्ने कि नसाट्ने ? प्रस्तुत छ नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानासँग विकासन्युजले गरिएकाे कुराकानी ः   नेपालीसँग रहेको भारतीय रुपैयाँ फिर्ता गराउन राष्ट्र बैंकले के के गरिरहेको छ ? हामीले नेपालमा भएको भारुको निगरानी गरिरहेका छौैं । भारत सरकारले भारु प्रतिबन्ध लगाएकै भोलिपल्ट विहानै आकस्मिक व्यवस्थापन समितिको बैठक बसेको थियो । भारतले प्रतिबन्ध गरेकोले नेपालमा पनि भारु चलाउन मिलेन । त्यही अनुसार निर्णय गरेर सम्बन्धित निकायलाई परिपत्र गरेका छौं । त्यस्तै, राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थासँग भएको भारतीय रुपैयाँको अबस्थाबारै जानकारी लिएको छ । त्यस्तै राष्ट्र बैंकले अर्थ मन्त्रालयमा र परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको छ । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई र परराष्ट्र मन्त्रालयले तत्काल भारत सरकारलाई पत्र पठाईसकेको छ । दुई देशबीच गभर्नर टु गर्भनर लेवलमा पनि सम्पर्क भएको छ । भारतीय राजदूताबासलाई पनि ५०० र १०००का भारुको सटहीको पहल गर्न अनुरोध गरेका छौं । भारतीय पक्षबाट प्रतिक्रिया के आएको छ ? नेपालमा भएको भारु साट्नुपर्छ भन्ने विषयमा भारतीय राष्ट्र बैंक (आरबीआई) सकारात्मक छ । तर आरबीआई पनि भारत सरकारको निर्णय कुरेर बसेको छ । आरबीआईबाट इमेलमार्फत हामीसँग भएको भारुको अवस्थाबारे जानकारी मागेको छ । हामीले बैंक तथा वित्तीय संस्थामा भएको पैसाको मात्रै जानकारी दिने हो, सर्वसाधारणसँग भएको पैसा यति नै छ भनेर जानकारी त दिन सकिने विषय भएन । नेपालीसँग ५०० र १००० दरका भारु कति रहेको अनुमान छ ? भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ । सर्वसाधारणसँग भएको पैसा अनुमान पनि गर्न सकिदैन । उक्त दरका नोट बैंक तथा वित्तीय संस्थामा करिब तीन करोड ६० लाख भारु रहेको देखिएको छ । नेपालीसँग रहेको भारु सटहीको गर्ने विषयमा नेपालस्थित भारतीय दूतावासको भनाई के छ ? दुतावासकाअधिकारीहरुले सकारत्मक कुरा गरेका छन् । भारतीय सरकारले सकारात्मक रूपमा नै हेर्छ भन्ने कुरा पाएका छौं । हामीले हाम्रो तर्फबाट कुरा राखेका छौं । भारतमा काम गरेर फर्केका धेरै नेपालीलाई ठूलो समस्या भएको छ । व्यक्तिसँग भएका २५ हजार रुपैयाँसम्मको भारु त साट्नुपर्छ भनेर हामीले लविङ गरिरहेका छौं । राष्ट बैंकले सर्वसाधारसँग भएको पैसा तत्काल साट्दैनौ भन्दा सर्वसाधारण आत्तिएका छन् । सर्वसाधारणसँग भएको ५०० र १००० दरका भारतीय रुपैयाँ अब के हुन्छ त ? नेपालीले दिनरात मेहनत गरेर कामएको पैसा उनीहरुको कमाई मात्रै नभएरै नेपालकै सम्पति हो । त्यो पैसा साट्न नपाए राष्ट्रकै सम्पत्ति गुम्ने हो । त्यसैले यो सम्पत्ति नगुमाउन राष्ट्रले नै यसलाई लिने व्यवस्था गर्नुपर्छ । हामीेले आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं । गैरकानुनी रूपमा आर्जन गरेको होइन । नेपालमा भारुको प्रयोग भारत सरकारले दिएको सीमाभित्रै रहेको चलन चल्तीमा छ । त्यसैले त्यो रकम हामीले टेवल ठोकेर पनि लिनुपर्छ, सटही हुनुपर्छ । कसैले एक करोड छ, दुई लाख छ भन्ला तर त्यो पैसा भने गैरकानुनी हो । भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ ।

खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै विप्लप नेतृत्वको माओवादीको नेपाल बन्द, बन्दले निजी क्षेत्र प्रभावित

काठमार्डाैं २८, कात्तिक । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै आज नेपाल बन्द आयोजना गरेको कारण उपत्यकासहितका देशैभरको जनजीवन प्रभावित बनेको छ । बन्द आयोजना आव्हानले बिहानैदेखि सार्वजनिक सवारी साधन सडकमा देखिएका छैनन् भने केही निजी मोटरसाइकल र ट्याक्सीहरू मात्रै सडकमा चलिरहेका छन्। सार्वजनिक सवारी साधन नचल्दा यात्रुल सास्ती बेहोर्नु परेको छ। बन्दको प्रभावले निजी क्षेत्र सबैभन्दा धेरै प्रभावित हुने गरेको छ । दैनिक मजदुरी गर्नेदेखि निजी क्षेत्रका साना व्यापार व्यवसायदेखि ठूला उद्योग कलकारखानपनि ठप्प हुँदा एउटै बन्दबाट देशले अर्बौ रुपैयाँको क्षति व्यवहोनुपर्ने निजी क्षेत्रका व्यवसायीको भनाइ छ । प्रहरीले भने आइतबार विहानैदेखि बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का करिब ५ दर्जन कार्यकर्तालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरिसकेको छ । नेपाल प्रहरीका अनुसार कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको बताए। अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उनले बताए। प्रहरीले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ। उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

ओम डेभलपमेन्ट बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, तीन महिनामा ३ करोड २१ लाख खुँद नाफा

काठमाडौं २८, कात्तिक । ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले चालू आवको पहिलो तीन महिनामा ३ करोड ३२ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा २ करोड रुपैयाँ मात्रै नाफा गरेको उल्लेख छ । बैंकको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । बैंकले गत असोज मसान्तसम्ममा कुल १२ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकको निक्षेप अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब १९ करोड रुपैयाँ मात्रै रहेको थियो । अघिल्लो वर्ष यो बैंकको कर्जापनि ४ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । यो सस्था सिटी डेपलपमेन्ट बैंक र ओम फाइनान्स एक आपसमा गाभिएर ओम डेपलपमेन्ट बैंक बनेको हो । बैंकको खराब कर्जा १ दशमलव ९६ प्रतिशत रहेको छ । यस्तो कर्जा अघिल्लो वर्षको असोज मसान्तमा १ दशमलवल ११ प्रतिशत मात्रै रहेको थियो । बैंकको निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) ७७ दशमलव ०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो सीडि रेसियो ७४ दशमलव ८६ प्रतिशत रहेको थियो । बैैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ रहेको छ । यो बैंकको प्रति सेयर बजारमा ६ सय २९ रुपैयाँमा कारोबार भइरहेको छ ।

तीन महिनमा माछापुच्छ्रे बैंकको नाफा २४ करोड, गत वर्षको तुलनामा ४२ प्रतिशतले बढी

काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनमा २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो । बैंकको बिजनेश पनि उच्च दरमा बढेको छ । २०७२ असोज मसान्तमा ४४ अर्ब निक्षेप रहेकोमा २०७३ असोज मसान्तसम्ममा ५८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । एक वर्षअघि कर्जा प्रवाह ३६ अर्ब रहेकोमा अहिले ४९ अर्ब ८७ करोड रुपैयाँ बनाएको छ । त्यस्तै बैंकको लगानी ६ अर्ब रुपैयाँ रहेको छ । बैंकका मुख्य परिसूचकहरु सन्तुलित छन् । क्यापिटल एडेक्वसी ११ दशमलव २० प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । निस्क्रिय कर्जा शुन्य दशमलव ५४ प्रतिशत रहेको छ । ४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको संचित कोषमा ९२ करोड रुपैयाँ छ । गत वर्षको नाफाबाट बैंकले बोनस सेयर दिदै छ र भने पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको छ । प्रति सेयर आम्दानी २१ रुपैयाँ १७ पैसा रहेको छ । पछिल्लो समय यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५४३ रुपैयाँमा कारोकार भएको छ ।