भाद्र २३ गतेदेखि २६ गतेसम्म क्यान कमटेक २०१६ आयोजना हुने
काठमाडौं, ३१ साउन । म्यान महासंघले आगामी भाद्र २३ गतेदेखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । क्यान कमटेक इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजीको प्रदर्शनी हुने आयोजकले बताएको छ । नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता भएको महसुुुस गरी क्यान महासंघले वर्षै पिच्छे यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेकुरिटी, सेफ्टी र सोलुशन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यान महासंघको अध्यक्ष विनोद ढकालले जानकारी दिए । विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धि कम्पनीहरुले भागलिने क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम नै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” राखिएको छ । मेलामा प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । सुबिसु, सामसुङ र सन्राइज बैंक २०७३ सालमा हुने क्यान कमटेक २०१६, क्यान ईन्फोटेक २०१७ र क्यान आईसिटि कन्फरेन्स २०१७ तीनवटा कार्यक्रमहरुको नै क्रमशः टाईटल स्पोन्सर, एशोसिएट स्पोन्सर र अफिसियल बैंकको रुपमा रहेको समेत आयोजनकले जनाएका छन् । अफिसियलहरुमा बैंकमा सन्राइज बैंक, ईन्स्योरेन्समा प्रुडेन्सियल ईन्स्योरेन्स, आईएसपीमा सुबिसु, एफएममा नेपाल एफ. एम., अनलाईन टिकेटिङ्गमा एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्टमा ई–सेवा, नेपाली आईटी म्यागेजिनमा लिभिङ्ग वीथ आईसीटी., अंग्रेजी आईटी म्यागेजिन– पिसीईन्फो, वेव न्युजमा हाम्राकुरा डटकम, र एसएमएसमा रहेका छन् । सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ वटा स्टलहरु रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भईसकेका छन् । नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङको आकर्षणका रुपमा रहनेछ । सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको क्यानले जनाएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यान महासंघको महासचिव विश्वराम बलामी जनकारी दिए ।
साढे तीन लाख घरधनीसँग अनुदान सम्झौता, पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान
काठमाडौं, ३१ साउन । सोमबारसम्म तीन लाख ३९ हजार ४६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस्तै ४९ हजार ७४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ पुगेको छ । नयाँ आव सुरु भएपछि यही साउन २८ गतेदेखि अनुदान सहयोग रकम निकासा गरिएको थियो । भूकम्प अति प्रभावित काठमाडौँ उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा जिल्लामा अनुदान सम्झौताको काम अगाडि बढेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ मध्यसम्म सर्वेक्षण सम्पन्न हुने जनाइएको छ । गाविसमा अनुदान सम्झौता भएपछि त्यसको विवरण जिविसमा पुग्नेछ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था छ । प्राधिकरण, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र त्यस अन्तर्गतका निकाय एवम् महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतका निकाय भूकम्पपीडित जनताको बैंक खातामा रकम उपलब्ध गराउने काममा लागेका छन् । अनुदान सम्झौता र अनुदान वितरणको कार्य स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र महालेखा नियन्त्रकको कार्यालयसँगको सहकार्यमा हुन्छ । घर बनाउनका लागि प्राविधिक सहयोग सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र सो अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यसका लागि गाविस तथा नगरपालिकामा इन्जिनियर परिचालन भएका छन् । पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान भूकम्प गएको १६ महिनापछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पीडितलाई पुःनिर्माण रकम उपलब्ध गराउन एकमहिने विशेष अभियान सुरु गरेको छ । सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेपछि प्राधिकरणले विशेष अभियान सुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । “सरकारको घोषणा र प्राधिकरणको कार्ययोजनालाई पूरा गर्न हामीले आजदेखि एक महिनासम्म विशेष अभियान सुरु गरेका छौंँ, यो अभियान अन्तर्गत सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंँक खातामा पु¥याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनुवाइ गरिनेछ”–उनले भने । विशेष अभियान सफल पार्न प्राधिकरणले आवश्यकता अनुसार साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । अभियानका क्रममा प्राधिकरणको उपक्षेत्रीय कार्यालयमा रहेको जनशक्तिलाई सहयोग गर्न जिल्लामै बसेर काम गर्ने गरी ११ वटै जिल्लामा प्राधिकरणको केन्द्रीय कार्यालयबाट आवश्यकतानुसार थप कर्मचारी खटाइने भएको छ । प्रभावित जिल्लामा भएका काम र गतिविधिको अनुगमन गर्न कार्यकारी समितिका सदस्य, सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवम् अन्य कर्मचारी सहितको घुम्ती टोली बनाएर जिल्ला जिल्लामा पठाइने ज्ञवालीले बताए । भूकम्प अतिप्रभावित जिल्लामा हुने काम र गतिविधिलाई समन्वय, सहजीकरण र अनुगमन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा सम्बद्ध मन्त्रालयका सचिव एवम् केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुखहरु सहितको केन्द्रीय अनुगमन समिति समेत गठन गरिएको छ । विशेष अभियान सञ्चालनमा समस्या देखा परेमा उपक्षेत्रीय कार्यालय र जिल्लास्थित सम्बन्धित कार्यालयले केन्द्रमा गठित अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ । समस्यालाई केन्द्रबाट तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । रासस
सिविआईएलको १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित
काठमाडौं, ३१ साउन । साविक नेशनल इन्भेष्टमेण्ट एण्ड क्यापिटल मार्केट् (सि.वि.आई.एल. क्यापिटल लि.)को आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित भएको छ । उक्त निर्णय सोमबार बसेको कम्पनीको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिविआईएलको लेखापरीक्षकमा सुजन काफ्लेलाई नियुक्त गरेको छ । कम्पनी नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४ अनुसार मर्चेण्ट बैंकिङ्ग व्यवसाय गर्न अनुमति पत्र लिने प्रकृयामा रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सैनिक कल्याणकारी कोषको मौज्दातमा दुई अर्ब ७१ करोड रुपैयाँ वृद्धि
काठमाडौं, ३१ साउन । नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम ३३ अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम ३० अर्ब ३४ करोड ६६ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब ७१ करोड वृद्धि भएको छ । सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी ३७ अर्ब रुपैयाँको हाराहारीमा यथार्थ मौज्दात पुगेको छ । लेखा परीक्षण गर्नुअघि गएको असार मसान्तसम्ममा उक्त कोषमा यथार्थ मौज्दात ३६ अर्ब ५३ करोड ९७ लाख ५५ हजार रुपैयाँ थियो । सैनिक कल्याणकारी कोषको रकम नेपाली सेनाको बहालवाला तथा भूपूको स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा बिमाजस्ता कल्याणकारी कार्यमा खर्च हुँदै आएको छ । कल्याणकारी कोषअन्तर्गत हाल आठ महाविद्यालय, मेडिकल र नर्सिङ कलेज सञ्चालनमा छन् भने पोलिटेक्निक इन्स्टिच्युट पनि सञ्चालनको तरखरमा रहेको छ । कोषबाट बहालवाला तथा भूपूको औषधोपचार, बिमा, आवास, निवृत्तिभरणलगायत शैक्षिक संस्था सञ्चालन गर्न वार्षिक दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने गरेको छ । आम्दानी भने वार्षिक रुपमा दुई अर्ब ७५ करोड रुपैयाँको हाराहारीमा हुँदै आएको छ । सैनिक कल्याणकारी कोषको रकम ‘क’ वर्गका २९ वटा बैंक तथा वित्तीय संस्थानमा रहेको सहायकरथी गौरव तण्डुकले जानकारी दिए । नेपाली सेना शान्तिस्थापनार्थ कार्यका लागि संयुक्त राष्ट्रसङ्घमा सहभागी भएबापत प्राप्त करिब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा संस्थामा रहेको ८२ करोड रुपैयाँ निक्षेपमध्ये अब साँवा २७ करोड ४९ लाख रुपैयाँ असुलउपर गर्न बाँकी रहेको बताइएको छ । शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमको ब्याज, विद्यार्थीको शुल्क, परिवार आवास भाडा, विदेशी मुद्रा सटही प्रिमियम, पेट्रोल पम्पबाट प्राप्त हुने सहयोग, वीरेन्द्र सैनिक र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त हुने शुल्क कोषको नियमित आयस्रोत हुन् । नेपाली सेनाले उक्त कोषबाट भूकम्पपीडित बहालवाला तथा भूपू गरी ४२ हजार ६२१ घरपरिवारलाई दुई अर्ब ४९ करोडभन्दा बढी रुपैयाँ राहत रकम वितरण गरेको थियो । रासस
सिटिजन्स बैंकद्धारा बाल विकास समाजलाई नगद सहयोग
काठमाडौं, ३१ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई पचास हजार रुपैयाँ नगद सहयोग गरेको छ । बैंकले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि उक्त रकम सहयोग गरेको हो । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले ५० हजार रुपैयाँको चेक बाल विकास समाजका महासचिव सुभास गौतमलाई हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं आएको यस बैंकले आगमी दिनहरुमा अझ सशक्त रुपमा निरन्तरता दिने बताएको छ । यसैगरी बैंकले आफ्नो महाबौद्ध र मानभवनमा शाखाहरुबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । साथै देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउनको लागि बैंकले नुवाकोट जिल्लाको देउराली गा.वि.स. मा थप एक वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी आईसिङ्ग तामाङ्गलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोबारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।
डिसहोमका सेवाहरु अब मोबाइल एप र वेभसाइटमा
काठमाडौं, ३१ साउन । डिसहोमले आफ्नो सेवालाई थप सजिलो बनाउनका लागि आफ्नै मोवाइल एप शुरु गरेको छ । यस मोबाइल एप मार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यस एपको मुख्य सेवाहरुमा एप मार्फत रिचार्ज गर्न सकिने सुविधा हो । बजारबाट रिचार्ज कार्ड खरिद गरेर यस एप मार्फत रिचार्ज गर्न सकिन्छ । साथै रिचार्ज कार्ड खरिद गर्न सम्भव नभएका अवस्थामा एससिटिको एटिएम कार्डको कार्ड नम्बर र पिन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका नायब प्रबन्धक कल्याण अधिकारीले जनाए अनुसार ग्राहकहरुले लाइन काटिएमा ३ दिनको लागि लाइन खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा ब्यालेन्सबारे बुझ्न, हप्ता भरिको कार्यक्रम तालिका हेर्न, वितरकहरु संग सम्पर्क गर्न र बिक्रि पछिका सेवा प्राप्त गर्न समेत डिसहोमको मोबाइल एप प्रयोग गर्न सकिने अधिकारीले बताए । डिसहोमका यी सेवाहरु मोबाइल एपका साथ साथै डिसहोमको वेभसाइट www.dishhome.com.np मा समेत प्रयोग गर्न सकिन्छ ।
आगामी हिउँदमा सात घन्टा मात्र विद्युत्भार कटौती कति सम्भव ?
काठमाडौं, ३१ साउन । सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा मन्त्रालयले तयार गरेको सो कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पेस गरिसकिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहालले तत्काल सुधारको कार्ययोजना ल्याउन विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए। उक्त निर्देशनलगत्तै ऊर्जा मन्त्रालयले ऊर्जाको माग बढी हुने समयमा विद्युत्भार कटौतीलाई पाँचदेखि सात घन्टामा सीमित गर्न पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो । तर गोरखा भूकम्पका कारण समस्यामा परेका जलविद्युत् आयोजनाले हालसम्म गति लिन नसकेको, माथिल्लो तामाकोसी जस्ता राष्ट्रिय गौरवका आयोजना दुई वर्ष पर धकेलिएकाले मन्त्रालयले अगाडि सारेको सो कार्ययोजना पूरा हुनेमा आशङ्का पैदा भएको छ । ऊर्जाले गत हिउँदमा त्यस्तै कार्ययोजना अगाडि सारेपनि विद्युत्भार कटौती दैनिक १२ घन्टाभन्दा बढी हुन पुगेको थियो । सगरमाथा सिनो हाइड्रोले निर्माण गरेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’, र २५ मेगावाटको हेवालगायत जलविद्युत् आयोजना आगामी केही महिनाभित्र सम्पन्न हुने चरणमा रहेको छ । यस्तै अन्य केही आयोजनाबाट विद्युत् उत्पादन हुन सके करिब एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आइतबार ऊर्जामन्त्री जनार्दन शर्मा समक्ष ऊर्जा सचिव सुमनप्रसाद शर्माले विद्युत् सङ्कट समाधान गर्ने योजनास्वरुप कार्ययोजना प्रधानमन्त्री दाहाललाई बुझाइएको जानकारी गराएका थिए। उनले भारतबाट विद्युत् आयात गरेर तत्कालको समस्या समाधान गर्ने र स्वदेशमा नै निर्माणको क्रममा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न सहजीकरण गर्ने बताए । विद्युत्भार कटौतीलाई कम गर्नका लागि प्राथमिकता दिएर कार्ययोजना निर्माण गरिएको जानकारी दिँदै उपभोक्तालाई अन्धकारबाट मुक्ति दिने नै मन्त्रालयको मुख्य प्राथमिकता रहेको सचिव शर्माको भनाइ छ । सरकारले ऊर्जामा स्वावलम्बन, ऊर्जा दक्षता अभिवृद्धि, कानुनी तथा संस्थागत संरचना निर्माण तथा सरकारले गत फागुनमा ल्याएको ऊर्जा सङ्कटकाल कार्ययोजना कार्यान्वयनलाई योजनामा विशेष रुपमा समेटिएको जानकारी दिए । ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारणलाइनबाट १२० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । ढल्केबरमा सब–स्टेसन निर्माण सम्पन्न गरेर थप विद्युत् आयात गर्ने योजना अगाडि सारिएको छ । केही महिना पहिले भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकको निर्णयमा समेत भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएको थियो । हाल सो प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सरकारले गत असारसम्म १८० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो तर निजी क्षेत्रका केही आयोजनाबाट मात्रै ३१ मेगावाट विद्युत् उत्पादन भएको थियो । त्यसैगरी सरकारले अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको कटैया–कुशाहा, विरगन्ज–परवानीपुरबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको छ । ती प्रसारण लाइनबाट हाल करिब १५० मेगावाट विद्युत् आयात भइरहेको छ । टनकपुर–महेन्द्रनगरबाट पनि थप ३५ मेगावाट विद्युत् आयात गर्ने ऊर्जाको लक्ष्य छ । हाल सो प्रसारण लाइनबाट करिब ३० मेगावाट विद्युत् आयात भएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवलबाट पश्चिम र लाहानपूर्व विद्युत्भार कटौती मुक्त गर्ने योजनाका साथ काम भइरहेको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेकाअनुसार भारतबाट थप विद्युत् आयात हुँदा विद्युत्भार कटौती कम गर्न सकिन्छ । तर हेटौँडा–ढल्केबर र हेटौँडा– काठमाडौं प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसक्दा भारतबाट आयात गरिएको विद्युत् राजधानी ल्याउन भने समस्या हुने देखिएको छ । ऊर्जामन्त्री शर्माले ऊर्जा सङ्कट होइन, समाधानको उपाय खोज्नतिर आफू लाग्ने बताएका छन् । उनले सङ्कट समाधानका लागि सबै प्रकारका उपाय अवलम्बन गरिने र त्यसका लागि आफू पूर्ण क्षमताका साथ काम गर्ने प्रतिबद्धता जनाएको सन्दर्भमा मुलुकले केही मात्रामा भए पनि त्राण पाउन सक्ने देखिन्छ । रासस
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कैलालीमा
काठमाडौं, ३१ साउन । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा कैलालीमा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले कैलाली जिल्लाको मसुिरया बजारमा सो सेवा शुरू गरेको हो । बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले सोमबार मसुिरया बजारमा आयोजित एक समारोहका बीच यस बैंकको दशौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा शाहीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पारेका छन् । साथै, उनले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि सूर्यप्रसाद पौडेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट कारोबार गरिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।