प्रत्येक निर्वाचन क्षेत्रमा एउटा बैंक शाखा र १० वटा लघुवित्त हुनुपर्ने प्रस्ताव संसदमा, सबै सांसदको समर्थन
काठमाडौंं, २० भदौ । वित्तीय साक्षरताको अभावमा नागरिकले बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसकेकाले सरकारले ग्रामीण क्षेत्रमा बैंकको शाखा तत्काल पुर्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । रुत्तापक्षका सांसद प्रभु साहले व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ग्रामीण क्षेत्रमा बैंकको शाखा तुरुन्त पु¥याउने, प्रत्येक निर्वाचन क्षेत्रमा एक राष्ट्रिय बैंकको शाखा र दशवटा लघुवित्त बैंकको इकाइ खोल्ने, वित्तीय साक्षरता अभिवृद्धि अभियान चलाउने, शाखा खोल्न सम्भव नहुने ठाँउमा शाखा रहित बैंकिङ सेवा सञ्चालन गर्ने पर्ने बताएका छन् । आर्थिक क्षेत्रमा अनुशासन कायम राख्न नसकिएको, अधिकाशं बैंक तथा वित्तीय संस्था राजधानी, जिल्ला सदरमुकाम र सुगम क्षेत्रमा मात्रै क्रियाशिल रहेका कारण ग्रामीण क्षेत्रका जनताले बैंकिङ प्रणलीमा सहज पहुँच पाउन नसकेको सभासद्हरुको गुनासो छ । सांसद साहले ग्रामीण क्षेत्रका जनताले बैंक तथा वित्तीय संस्थाको अभावमा आफ्नो सानो वचतसमेत सिरानीमा राखेर सुत्न बाध्य भएको, रकम आवश्यक पर्दा साहु महाजनकहाँ आफ्नो घर जग्गा रजिष्टे«शन पास गरेर चर्को व्याजदरमा ऋण लिनुपरेको बताए । ग्रामीण जनता साहुमहाजनको शोषणमा परेको, चर्को व्याजमा ऋण लिँदा त्यसले ऋण लिनेको आर्थिक अवस्थामा समेत एकदमै नकारात्मक हुने गरेको बताउँदै उनले सानो पूँजी सङ्कलनबाट ठूलो परिणाममा राष्ट्रिय पूँजी निर्माण गर्न सकिने भएपनि त्यसप्रकारको सम्भावना कमजोर बन्दै गएकोमा चिन्ताव्यक्त गरे । सांसद साहले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कुल ४० प्रतिशत जनता मात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा रहेको र बाँकी रहेका जनता हालसम्म वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्नु दुःखद रहेकोे बताए । सोही प्रस्तावका समर्थक भरतबहादुर खड्काले बैंक तथा वित्तीय संस्थाको अभावमा जनतामा वचत गर्ने बानीको अभाव हुनुका साथै उत्पादनशील पूँजी अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताए । बैंक तथा वित्तीय संस्था सहर र सुगम स्थानमा केन्द्रीत हुँदा त्यसले क्षेत्रीय असन्तुलन पैदा गरेको, ऋण लिन चाहने व्यक्तिले बैंकका कर्मचारीलाई घुस तथा कमिसन दिनुपर्ने बाध्यता रहेको दावी गरे । यस्तै सोही प्रस्तावका समर्थक चुडामणि विक जङ्गलीले ऋण लिन चाहने र वचत गर्ने बानी बसाल्नका लागि पनि नागरिकलाई बैंक तथा वित्तीय संस्थामा सहज पहुँच पु¥याउनुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय संस्थाको म्यापिङ गरी पहुँच नभएको क्षेत्रमा मात्रै बैंक खोल्न स्वीकृति दिनुपर्ने, कृषि क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्ने, बैंकले संकलन गरेको निक्षेपको कम्तीमा ८० प्रतिशत सम्बन्धित क्षेत्रमा नै कर्जा प्रवाह गर्नुपर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्न अभियान नै चलाउनुपर्नेमा जोडदिदैं सांसद जङ्गलीले शाखा खोल्न सम्भव नहुने ठाँउमा शाखा रहित बैंकिङ वा मोबाइल बैंकिङ सञ्चालन गर्नुपर्ने बताए । सो प्रस्तावमाथिको छलफलमा सांसदहरू केशव बडाल, विकास लम्साल, योगेन्द्र तामाङ घिसिङ, परशुराम तामाङ, रामहरि सुवेदी, बुद्धिराम भण्डारी, प्रकाश ज्वाला, वृजेशकुमार गुप्ता, सीता नेपाली, नरसिंह चौधरी, जनकराज जोशी, तारादेवी राई, डिल्लीप्रसाद काफ्ले र मिना पुनले भाग लिदै प्रस्तावको पक्षमा आफ्ना विचार राखेका छन् । उनीहरुले व्यापारिक बैंक तथा वित्तीय संस्था नाफा कमाउने क्षेत्रमा मात्रै केन्द्रीत भएको र ग्रामीण क्षेत्रमा जान अस्वीकार गरेका कारण सरकारले सरकारी संस्थालाई विशेष योजना बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए । जवाफमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच बढाउन सरकारले पहल गरिरहेको र नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत ग्रामीण क्षेत्रमा पु¥याउन जोड दिएको बताए । उनले सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएका बैंक तथा वित्तीय संस्थालाई पुनः स्थापना गर्न सरकार, राष्ट्र बैंक तथा सरोकार भएका निकायले एक आपसमा मिलेर काम गरिरहेको र आगामी दिनमा त्यसको प्रभाव देखिने बताए ।
मेगा बचत योजना ‘नानीमा लागेको बानी’ घोषणाः न्यूनतम बचत, अधिकतम व्याजदर
काठमाडौं, २० भदौ । मेगा बैंक नेपाल बालबालिकालाई बचत गर्ने बानी बसाउन देशभरी अभियान सञ्चालन गर्ने भएको छ । बैंकले ‘नानीमा लागेको बानीः आज बचाउँ–जिन्दगीभरी रमाउँ’ नामक बचत योजना ल्याएको छ । स्कूल तथा कलेज जाने विद्यार्थीहरुलाई लक्षित यो बचत योजना अन्तरगत साथमा जति पैसा छ त्यतिमा बैंक खाता खोल्न सकिने, बैंकले बचत खातामा दिदै आएको मध्ये सबैभन्दा बढी व्याज दिने जनाएको छ । ‘हामी स्कूल तथा कलेजमा गएर विद्यार्थीहरुलाई बचत गर्दाको फाइदाबारे जानकारी दिन्छौं । खल्तीमा जति पैसा छ, त्यति रकम राखेर खाता खोल्न सकिन्छ । पैसा छैन भने शुन्य बचतमा पनि खाता खोल्न सकिन्छ । आफ्नो इन्छाअनुसार नियमित बचत गर्न सकिन्छ’ नयाँ योजना सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने–अहिले वार्षिक ४ प्रतिशत व्याज तोकेका छौं, अरु बचत खातामा दिने उच्चम व्याजदर ‘नानीमा लागेको बानी’ खातामा दिइन्छ ।’ अरुले रोपेको फल खान मात्र सिकेको तर फल दिने बिरुवा रोप्न नजानेको समाजलाई बिरुवा रोप्न सिकाउनु र आफूले रोपेको बिरुवाको फल खुवाउन सिकाउनु पर्ने उनले बताए । यस बचत योजनामा बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सिने अभिनेत्री प्रियाङ्का कार्कीलाई ‘ मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ । ‘हामी स्कूल तथा कलेज वा समुदायमा गएर बचत गर्ने अभियान चलाउछौं । अनिल शाह आउने भनेर मान्छे जम्मा हुँदैनन्, क्रिकेट कप्पान पारस खड्का र सिने स्थार प्रियांका कार्की आउने भनेपछि मानिसहरु जम्मा हुन्छन् । त्यहा हामी गएर मानिसलाई बचत गर्दाको फाइदा सिकाउँछौं, मेगा बैंकमा खाता खोल्न भन्छौ’ शाहले भने । यो योजनाले ९५ प्रतिशत वालबालिकालाई आकर्षित गर्ने उनको भनाई छ । मेगा सेभिङ स्टार तथा क्रिकेट टिमका कप्तान पारसले खुत्रुकेमा हुने बचतलाई बैंकसम्म अपिल गर्ने बताए । ‘म सानो हुँदा दशैंको दक्षिणा संकलन गरेर व्याट किन्थे, त्यतिबेला मलाई बचत गर्ने ज्ञान भएन, अब म नानीबाबुलाई टिका लगाएर दिएको पैसा पनि बैंकमा राख्नुपर्छ भन्ने सन्देश दिन चाहान्छु’ उनले भने । अभिनेतृ कार्कीले मेगा बैंकले ल्याएको नानीमा लागेको बानी बचत योजनाबाट आफू निकै प्रभावित भएको र बालबालिकालाई बचत गर्न सिकाउँदा उनीहरुको भविस्यमा धेरै सहयोग हुने भएकोले यस योजनालाई सफल पार्न लाग्ने बताइन् ।
युटिएललाई पनि युनिफाइड लाइसेन्स, आक्रामक बजार विस्तारको रणनीति
काठमाडौं, २० भदौ । युनाइटेड टेलिकम लिमिटेड(युटिएल)ले पनि युनिफाइड लाइसेन्स लिएको छ । युटिएलले २० करोड रोयल्टी तिरेर आइतबार युनिफाइड सेवा सञ्चालनको लाइसेन्स लिएको हो । प्राधिकरणले २०६९ जेठ १ सार्वजनिक सूचना प्रकाशित गर्दै युनिफाइड लाइसेन्सका लागि आवेदन मागेको थियो । प्राधिकरणले २०६९ चैत ३० गते नै युनिटएललाई ९ सय मेगाहर्जको फ्रिक्वेन्सीमा युनिफाइड लाइसेन्स दिने निर्णय गरेको थियो । तर कम्पनीले रोयल्टी वापतको रकम नतिर्दा युनिफाइड लाइसेन्स लिन सकेको थिएन् । सोही मितिमा युनिफाइड लाइसेन्स दिने निर्णय गरिएको स्मार्टले भने रोयल्टी तिरेर लाइसेन्स लगिसकेको छ । युनिटएलले ४० जिल्लाका ११० शहरमा लिमिटेड मोबिलिटी प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराइरहेको । अब युटिएलले पनि मुलुकभर जीएमएस, सीडीएमए, पीएसटीएन, इन्टरनेशनल टङ टेलिफोन (आइटिटी) लगायतका एकिकृत सेवा सञ्चालन गर्न सक्नेछ । युटिएलमा भारतको ८० र नेपालको २० प्रतिशत लगानी छ । युटिएलमा भारतको महानगर निगम लिमिटेडको ५३ दशमलब ३४ प्रतिशत र टेलिकम्युनिकेसन्स कन्सल्टस् इन्डिया लिमिटेडको २६ दशमलव ६६ प्रतिशत सेयर रहेको छ । युटिएलमा नेपालका तर्फबाट भने नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर स्वामित्व छ । युनिफाइड लाइसेन्स लिएसँगै कम्पनीले आक्रामक रुपमा सेवा तथा बजार विस्तार गर्ने रणनीति बनाएको बताएको छ ।
आर्थिक समृद्धिका लागि सहयोग गर्न अमेरिका तत्पर
काठमाडौं, २० भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजसँग सोमबार भएको भेटमा संविधानको सर्वस्वीकार्यताका लागि आफूले पहल गरिरहेको जानकारी गराएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा सोमबार भएको भेटमा उनले संविधानले निर्दिष्ट गरेको समयसीमाभित्रै सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन गराउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । संविधान जारी भइसकेपछि मुलुकलाई समृद्ध र आर्थिक रुपले समुन्नत बनाउन विदेशी लगानी अपरिहार्य रहेकाले यसतर्फ पहल गरिने बताएका काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो अवसरमा राजदूत टेप्लिजले मुलुकको सबैभन्दा ठूलो दलका सभापति र पूर्वप्रधानमन्त्रीको समेत अनुभव भएकाले संविधान कार्यान्वयन, अन्य राजनीतिक दलसँगको सहमति लगायत विषयमा नेता देउवाको महत्वपूर्ण एवम् नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गरेका थिए । राजदूतले संविधानको उचित कार्यान्वयन तथा नेपालको आर्थिक उन्नति, प्रगति एवम् समृद्धिका लागि अमेरिका हरेक प्रकारको सहयोग उपलब्ध गराउन तत्पर रहेको बताए । रासस
नेपाल एसबिआई बैंकले फेवाताल सफा गर्ने
काठमाडौं, २० भदौ । नेपाल एसबिआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धि समझदारीपत्र सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमकाबीच बैकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागी र पोखरा उपमहानगरपालिका कार्यालयका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले उक्त समझदारीपत्र अदान प्रदान गरेका छन् । समक्षदारीपत्र बमोजिम बैंकले फेवातालको किनार (बाराहीघाट देखि गैह्राको चौतारासम्म) मा हाल निर्माण भएको फुट ट्रयाकमध्ये १०० देखि २०० मिटर क्षेत्र वरिपरी अधिकतम १५ वटा विश्राम स्थल/अवलोकन सेड निर्माण गर्नेछ । साथै, बैंकले सो वरिपरि आकर्षक बगैँचा तयार पार्ने र हरियालीको विकास गर्ने कार्य गर्नेछ । सोही समझदारीपत्र अन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ् टर्मिनल कक्षको समेत निर्मा/विकास गर्ने विज्ञप्तिमा उल्लेख छ । हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यकरण तथा सोको वरपर न.पा.ले तोकेको क्षेत्रफलसम्मको ल्यान्ड स्केपिङ् समेत बैंकले गर्नेछ । संरचना निर्माणका अतिरिक्त बैंकले निर्माण गरेको एवं सौन्दर्यकरण गरेको सम्पुर्ण संरचनाको ५ वर्षसम्स मर्मत संभार गर्ने जिम्मेवारी समेत बैंक स्वयंले निर्वाह गर्नेछ । उपरोक्त कार्यहरु आरम्भ गर्न बैंकलाई आइतबार देखिनै कार्यादेश समेत प्रदान भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत उक्त क्रियाकलापहरु गर्ने भएको हो ।
एभरेष्ट बैंकको ८६औं एटिएम सेवा ललितपुरको गुरुद्धारामा
काठमाडौं, २० भदौ । एभरेष्ट बैंकले ललितपुरको गुरुद्धारा, कुपन्डोलमा आफ्नो ८६औं एटिएम सेवा प्रारम्भ गरेको छ । बैंकले कुपन्डोल, ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो स्थानमा शाखाको उद्घाटन गरेको हो । उक्त सेवाको गुरुद्धारा गुरुनानक सत्सँगका अध्यक्ष प्रितम सिंह र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एकेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरु, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । बैंकले हाल ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेप्से परिसूचक दोहोरो अंकले बढेर १८३८ अंकमा, एक अर्ब ९२ करोडको कारोबार
काठमाडौं, २० भदौ । सोमबार नेप्से परिसूचक १९ दशमलब ७ अंकले बढेर १८३८ दशमलब ९० अंकमा पुगेको छ । सो दिन १४४ कम्पनीको २२ लाख ४७ हजार कित्ता सेयर एक अर्ब ९२ करोड १६ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको २६ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंकको १८ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, कसमस डेभलपमेन्ट बैंक र कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सबैभन्दा बढी बोटलर्स(नेपाल) का लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सोमबार उत्पादनमूलक समूह र बीमा समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । होटल समूह ४९, बैंकिङ् समूह २६, विकास बैंक समूह ११, अन्य समूह १०, हाइड्रोपावर समूह ७ र फाइनान्स समूहको परिसूचक ६ अंकले बढेका छन् । उत्पादनमूलक समूह र बीमा समूहको परिसूचक क्रमशः ३३ र शून्य दशमलब ३८ अंकले घटेका छन् ।
भूकम्पपछिको पुननिर्माणमा बीमा अनिवार्य, बीमा क्षेत्रको बजार विस्तार हुने
काठमाडौं, २० भदौ । भूकम्पपछिको पुननिर्माणका क्रममा बन्ने सबै नीजी तथा सार्वजनिक संरचनाको बीमा अनिवार्य गरिने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै संरचनाको अनिवार्य बीमा गर्न निर्देशन दिएको हो । सोमबार बसेको विकास समितिको बैठकमा रौतहटका सांसद रामकुमार भट्टराईले पुननिर्माणका क्रममा बन्ने सबै खाले भवन तथा संरचनाको बीमा अनिवार्य गर्नुपर्ने आवाज उठाएका थिए । भट्टराईको सोही माग अनुसार विकास समितिले पुननिर्माणका क्रममा बीमालाई अनिवार्य गर्न सरकारलाई निर्देशन दिएको हो । ‘हामी ८ खर्ब भन्दा बढि खर्चेर पुननिर्माणको काम गरिरहेका छौं, त्यसको बीमा गरेर जोखिम हस्तान्तरण गरिनु आवश्यक छ, ताकी भावी पीडिले प्राकृतिक विपत्तिको सामना गर्दा जोखिम हस्तान्तरण होस’, सांसद भट्टरईले भने । समितिक सभापति रबिन्द्र अधिकारीले समितिको निर्देशन पढेर सुनाउँदै भने–‘भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै खाले निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिन्छ ।’ विकास समितिको निर्देशनसँगै बीमा कम्पनीहरुको व्यवासायमा ठुलो मात्रामा वृद्धि हुनेछ । भूकम्पमा पनि करिब सात लाख घर पुर्णरुपले ध्वस्त भएको पछिल्लो सर्वेक्षणले देखाएको छ भने १० हजार सार्वजनिक विद्यालय ध्वस्त भएका छन् । त्यसका अलवा करिब एक हजार स्वास्थ्य संस्था र सैयौं पुरातात्विक सम्पदा पुर्णरुपले क्षति भएका छन् । समितिको निर्देशनसँगै ती सबैको बीमा गराउने बाटो खुलेको छ ।