बसपार्क बनाउन एक रोपनी जग्गा निःशुल्क प्रदान
सोलुखुम्बु, २९ पुस । स्थानीय दूधकुण्ड नगरपालिका- ६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गरेका छन् । सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख पर्ने रु ५१ लाख मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराएका हुन् । नगरपालिकाले हाल जिरो प्वाइन्टको रुपमा प्रयोग गरिरहेको स्थान अत्यन्तै साँघुरो भएकोले खुल्ला स्थानमा जिरो प्वाइन्ट बनाइएकाले आवागमनका लागि सहज भएको छ । नगपालिकाले जग्गादाता श्रेष्ठलाई नगर परिषद्का अवसरमा सम्मान समेत गरेको छ । श्रेष्ठले जग्गा उपलब्ध गराएर बसपार्क निर्माण गर्न सहज भएको नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटराईले बताए । रासस
बचत गर्न नयाँ बैंकमा फाइदा, ऋण लिन पुराना बैंकमा फाइदा
काठमाडौं, २९ पुस । बैंकबाट ऋण लिदै हुनुहुन्छ ? वा आफुसँग भएको पैसा डिपोजिट गर्ने सोँचमा हुनुहुन्छ ? ख्याल गर्नुहाेस्-तपाईका लागि निक्षेप राख्न र ऋण लिन छुट्टा छुट्टै बैंक उपयुक्त हुन सक्छन् । यतिबेला निक्षेप राख्न नयाँ बाणिज्य बैंक उपयुक्त देखिएका छन् । नयाँ बाणिज्य बैंकहरुले उच्च ब्याज दरमा निक्षेप आव्हान गरिरहेका छन् । तपाईले नयाँ बैंकमा मुद्दति निक्षेप राख्नुभयो भने दुई अंकसम्मको ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ । तर तपाईलाई ऋण लिन भने पुराना बाणिज्य बैंक उपयुक्त देखिन्छन् । पुराना बैंकले न्युन ब्याजदरमा ऋण अफर गरिरहेका छन् । यी हुन धेरै ब्याज दिने बैंक अधिकांश नयाँ बैंकले मुद्दति निक्षेपमा उच्च ब्याजदर दिईरहेका छन् । जसमा सिभिल बैंक, जनता बैंक, मेगा बैंक लगायत पर्छन् । यी सबै नयाँ बैंक हुन् । जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । मेघा बैंकले १० प्रतिशत ब्याज नै दिने भनेको छ । त्यस्तै सिभिल बैंकले १११ दिने मुद्दति खातामा ११ दशमलव १ प्रतिशत व्याज दिने योजना अघि सारेको छ । पुराना र स्थापित बैंकहरुले भने निक्षेपकर्तालाई ८ प्रतिशतभन्दा कम व्याज दिदै आएका छन् । ऋण लिन पुराना बैंक पैसा बचत गर्न नयाँ बैंक फाइदा जनक छ । तर ऋण लिन पुराना बैंक बैंकबाट फाइदान हुन्छ । नयाँ बैंकले नयाँ कर्जाको लागि १४/१५ प्रतिशत व्याज लिन थालेका छन् । तर पुराना बैंकले ९ प्रतिशतभन्दा कम व्याजदरमा पनि कर्जा दिईरहेको छन् । पुराना बैंकहरुले एक अंकको ब्याजदरमा ऋण दिइरहेका छन् । यसरी एक अंकको ब्याजदरमा ऋण दिने बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ७ दशमलव २५ प्रतिशतमा घर कर्जा दिदै आएको छ । साथै घर बनाउन कर्जा लिन ग्राहकलाई २० हजार अनुदान समेत दिने स्कीम ल्याएको छ । राष्ट्रिय बाणिज्य बैंकले व्यवसायिक कर्जा साढे ७ देखि ८ प्रतिशतमा दिईरहेको छ भने हाउजिङ तथा रियल स्टेट कर्जा ९ देखि १० प्रतिशतमा दिईरहेको छ । बैंकले साढे ७ प्रतिशत ब्याजदरमा अटो लोन दिईरहेको छ । नेपाल बैंकले पनि न्युन ब्याजदरमा ऋण प्रवाह गरिरहेको छ । बैंकले ९ प्रतिशतमा घर कर्जा दिईरहेको छ भने व्यवसायिक ऋण साढे ८ प्रतिशतमै दिईरहेको छ । नयाँ बैंकले नयाँ कर्जाको व्याज १४/१५ प्रतिशत पुर्याएका छन् । ग्लोबल आईएमई बैंकले शुक्रबार जारी गरेको व्याजदरको सम्बन्धी सूचनामा कर्जाको अधिकतम व्याज १५ दशमलव ५ प्रतिशत पुगेको जनाएको छ । व्याजदर महँगो भएको समयमा बैंकतथा वित्तीय संस्थाहरुले कर्जा प्रोसेशिङ शुल्क १ देखि २ प्रतिशतसम्म लिन थालेका छन् । नयाँ बैंकहरु निक्षेप आकर्षित गर्ने होडबाजीमा लागिरहेका बेला स्थापित तथा पुराना बाणिज्य बैंकहरुले कम ब्याजदरमा धमाधम ऋण प्रवाह गरिरहेका छन् ।
सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त
काठमाडौं, २९ पुस । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आत्रेयलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । आत्रेयले नियुक्त पाएकै दिन देखि कम्पनीको कार्यभार सम्हाल्नेछन् । उनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा आत्रेय हाल इमर्जी नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।
एलजीले ल्यायो ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा
काठमाडौं, २९ पुस । एलजी ब्राण्डले ब्रिङगिङ् रिएल जोए इन योर लाइफ भन्ने ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा ल्याएको छ । अन्य कम्पनी तथा ब्राण्डको तुलनामा उक्त टिभी फरक र अतुलनिय रहेको कम्पनीले जनाएको छ । उक्त टिभीमा ट्रियू करल एकुरेसी, ठूलो साइज, प्रष्टता, मेटालिक डिजाइन जस्ता विभन्न विशेषता रहेको कम्पनीले जनाएको छ । साथै, टिभीको एन्टी सक स्क्रीनमा वास्तविकता तथा एकरुपता पाइने छ भने यसका ३२ र त्यस माथिका सबै मोडलका टिभीहरुमा आइपिइस प्यानलहरु रहेका छन् । इञ्जोय टिभी सेरिजले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै सबै दृष्टिकोणबाट कोलाहल प्रकाश आदीबाट सुरक्षित र स्वतन्त्रता महशुस गराउँदछ । जसले श्रोत र उर्जाको उचित बचत गर्नुका साथै विभिन्न अनौठा र नयाँ नयाँ गेमहरु पनि डाउनलोड या सेटिङ्ग गरेर हेर्न सकिने कम्पनीले जनाएको छ ।
माघे सक्रान्तिको अवसरमा चन्द्रागिरिमा कन्सर्ट, कन्सर्ट अपरान्ह १२ बजेदेखि शुरु
काठमाडौं, २९ पुस । नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा माघे सक्रान्तिको अवसरमा कन्सर्ट हुने भएको छ । कन्सर्टमा मायाको डोरीले, ओमिरी जस्ता गितका चर्चित गायक दिपक बज्रचार्य, चर्चित कमेडियन एवम् जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टुन क्रुज आदिको बेजोड प्रस्तुति रहने छ । माघ १ गते शनिबार अपरान्ह १२ बजे बाट शुरु हुने उक्त कार्यक्रमको व्यवस्थापक तथा संयोजन दिनेश डिसी प्रोडक्सनले गर्ने आयोजकले जनाएका छन् । श्री स्वस्थानी ब्रतकथामा सतिदेवीको निधार पतन भएर उत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्सले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि विभिन्न निःशुल्क खेलको व्यवस्था चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा उपलब्ध छन् । चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने चन्द्रागिरि हिल्सले जनाएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकद्धारा १२९० रुपैयाँ प्रिमियम मूल्यमा सेयर निष्कासन प्रस्ताव
काठमाडौं, २९ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले १२९० रुपैंयाँ प्रिमियम सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले एक सय रुपैंयाँ मूल्य अंकित सेयरमा ११९० रुपैंयाँ प्रिमियम मूल्य थपेर सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । बैंकले २५५८१४० कित्ता प्रिमिय सेयर निष्काशन गर्ने जनाएको छ । बैंकले प्रिमियममा सेयर निष्कासन गरेपछि ३ अर्ब ३० करोड ६ सय रुपैंयाँ पुजी वृद्धि हुनेछ । बैकको बिहिबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्ताव शुक्रबार नै धितोपत्र बोर्डमा पेश गरिसकेको छ । बोर्डले अनुमति दिएपछि बैंकले प्रिमिय मूल्यमा सेयर निष्काशनको प्रक्रिया अघि बढाउनेछ । ८ अर्ब पुँजी पुर्याउनुपर्ने नेपाल राष्ट्र बैंकको निती अनुसार बैंकले प्रिमियममा सेयर निष्काशन गर्न लागेको हो ।
सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक एक्वाएर गर्ने, पूँजी ५ अर्ब रुपैयाँ नाघ्ने
काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । शुक्रबार सम्पन्न उक्त एक्वाएर पश्चात कम्पनीले सानिमा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । उक्त कार्यक्रमको शुभारम्भ सानिमा बैंकको ब्राण्ड प्रवन्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्य भरतकुमार पोखरोल र महेश घिमिरेले गरेका छन् । अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएको कम्पनीले जनाएको छ । सानिमा बैंकका संचालक समितिका सदस्यहरुद्वारा प्राप्ति पश्चात सानिमा बैंकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण बित्तीय सेवा प्रदान गरिने जनाएका छन् । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । साथै, हाल बैंकको शाखा संजाल ४३ वटा तथा एटिएम संख्या ४९ वटा पुगेको बैंकले जनाएको छ ।
आन्तरिक राजस्व विभाग ४ बजेसम्म, सेवाग्राणीको लगि शुक्रबार पनि दिनभर खुला
काठमाडौं २९, पुस । आन्तरिक राजस्व विभाग लाजिम्पाटको कार्यालय आज शुक्रबार पनि ४ बजेसम्म खुला रहने भएको छ । सेवाग्राहीको सुविधालका लागि बैंक तथा नगद काउन्टर दिनभर खुला राखिने भएको छ । करदाताको सुविधाका लागि आन्तरिक राजस्व विभाग अन्तर्गगतका शाखा तथा काउन्टरबाट दिने ४ बजेसम्म राजस्व बुझ्न सकिने सूचना विभागले सार्वजनिक गरेको छ । सेवाग्राहिका लागि शुक्रबार दिनभर दिइने यो सेवाले थप सहजता हुने उल्लेख छ ।