फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने, बोनस सेयरबाट २ अर्ब ५० करोड पुँजी पुर्याइदै
काठमाडौं, २६ भदौ । फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने भएको छ । फेवा विकास बैंकका अध्यक्ष विन्दुकुमार थापा र गण्डकी विकास बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलले शुक्रबार मर्ज सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने मर्जपछि बन्ने बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड हुने छ । नयाँ बैंकको अध्यक्ष फेवा विकास बैंकको अध्यक्ष जगतबहादुर गुरुङ हुने छन् भने प्रमुख कार्यकारी अधिकृत फेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा हुने दुबै विकास बैंकका तर्फबाट आईतबार जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । गत असार मसान्तको वित्तीय विवरणका आधारमा मर्जपछि बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड हुने भएको छ । यी दुई संस्था मर्जपछि राष्ट्रिय स्तरको विकास बैंकका लागि आवश्यक २ अर्ब ५० करोड रुपैयाँ पुँजी बोनस सेयरबाट पुग्ने देखिएको छ । दुइ अाथिर्क वर्षमा यस बैंकले कम्तिमा ९७ कराेड रूपैयाँ बराबरकाे बाेनस सेयर दिने देखिएकाे छ । दुई बैंकको गत आर्थिक वर्षको खुद नाफा जोड्दा ४३ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा समेत बोनस दिएर बैंकले न्यूनतम चुक्ता पुँजी पुर्याउने देखिएको छ । गत असार मसान्तको रिपोर्टका आधारमा मर्जपछि यस बैंकको निक्षेप १७ अर्ब २७ करोड, कर्जा लगानी १४ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि बैंकको शाखा ५० वटा हुने, एटीएम २१ वटा हुने र ग्राहक संख्या २ लाख भन्दा बढी हुनेछ । मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा उदयपुरमा
काठमाडौं, २६ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको हडिया गा.वि.स.मा सञ्चालन गरेको छ । बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी जनताको घर दैलोमै सेवा दिने लक्ष्यका साथ सो स्थानमा उक्त सेवाको शुरु गरेको हो । बैंकको गाईघाट शाखा प्रबन्धक विजय कुमार शाहका अनुसार उक्त सेवा अन्तर्गत त्यस क्षेत्रका जनता तथा विपन्न बर्गलाई बैंकको अत्याधुनिक रिटेल बैकिङ्ग सुविधाहरु उपलब्ध हुने छ । बैंकका अनुसार यो सेवा नेपालको ७५ वटै जिल्लामा नै उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ । यस अन्तर्गत हाल खाता खोल्न, रकम झिक्न, राख्न, बिल भुक्तानी लगायतका सुबिधाहरु उपलब्ध हुनेछन् । यो सेवा अन्तर्गत नेपाल सरकारले प्रदान गर्ने वृद्ध, एकल महिला तथा अपाङ्ग भत्ता समेत वितरण गरिनेछ । यसका साथै यस शाखा रहित बैकिङ्ग सेवाबाट सम्पूर्ण स्थानीय जनता लाभान्वित हुने कुरा पनि शाखा प्रवन्धकले जानकारी दिएका छन् । यो सेवाले दुई चरण प्रमाणिकरणको प्रयोगबाट उच्च सुरक्षा प्रदान गर्दै सजिलो बैंकिङ्ग सेवा ग्राहकका माँझमा पुर्याउन सफल भएको छ । यो सेवा अभिकर्ताको माध्यमबाट सञ्चालन हुने र एजेन्ट डिउ डिलिजेन्स प्रयोग गरी अभिकर्ताको चुनाउ गरिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाका ग्राहकहरुलाई प्रदान गरिएको भिसा डेबिट कार्डबाट यस बैंक तथा नेपाल र भारतमा उपलब्ध भिसा नेटवर्कको एटिएमरपिओएस् बाट पनि सेवा लिन सकिने छ ।
शिक्षामा लगानी बढाउनुपर्दछ– राष्ट्रपति भण्डारी
काठमाडौं, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पका कारण शिक्षा क्षेत्रमा भएको भौतिक क्षति र शिक्षाको बढ्दो मागका कारण सरकारले यस क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शिक्षा क्षेत्रमा आएको नयाँ अवधारणाले सामुदायिक क्याम्पसले पनि शैक्षिक क्षेत्रका चुनौतीको सामाना गरी अघि बढ्नुपरेको बताइन् । राष्ट्रपति भण्डारीले सामुदायिक क्याम्पसको अफ्ठ्यारा र चुनौतीलाई सामना गर्न सरकार र संबद्ध निकायको उचित ध्यान जानुपनर्ने बताउँदै “समग्र शिक्षा प्रणालीले भोग्नुपरेका समस्याको योजनाबद्ध ढङ्गले निराकरण गर्दै शिक्षा क्षेत्रलाई स्वतन्त्र, हस्तक्षेपमुक्त र सर्वसुलभ कसरी बनाउने भन्ने आजको चुनौती हो” भने । सिर्जना र सक्रियताका संवाहक आजका विद्यार्थी राष्ट्रका भोलिका नीति निर्माता र महत्वपूर्ण बौद्धिक सम्पत्तिका रुपमा समेत रहेकाले नयाँ संविधान जारी भइसकेको अवस्थामा दुर्तरत विकास र समाजिक रुपान्तरणमा विद्यार्थीको अहम भूमिका रहने राष्ट्रपति भण्डारीले बताइन् । शिक्षामन्त्री धनीराम पौडेलले संविधानले शिक्षालाई मौलिक अधिकारका रुपमा अङ्गिकार गरेको अवस्थामा शिक्षालाई सर्वसुलभ बनाउने राज्यको दायित्वमाथि सामुदायिक क्याम्पसले ‘होस्टेमा हैसे’ गरेको छ भने। सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री पौडेलले भने, “उच्च शिक्षा सम्बन्धी राष्ट्रिय नीति र छाता कानुन निर्माणको गृहकार्यमा मन्त्रालय जुटेको छ ।” क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईले मुलक निर्माणका लागि शिक्षा आधारभूत विषय भएको उल्लेखगर्दै शिक्षाले विपन्न वर्गलाई सम्पन्न बनाउने काम गरेको बताए । क्याम्पस प्रमुख घमानसिंह खड्काले क्याम्पसका गतिविधिका बारेमा अवगत गराउँदै आर्थिक रुपमा विपन्न विद्यार्थीलाई बानेश्वर क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बिचार व्यक्त गरे । क्याम्पस व्यवस्थापन समितिका सदस्य डा केदार न्यौपानेले सामुदायिक क्याम्पसले भोग्नुपरेको चुनौतीका बारेमा प्रकाश पार्दै स्थानीयवासीले क्याम्पस सञ्चालनका लागि गरेको सहयोगको प्रशंसा गरेका छन् । रजतजयन्तीका अवसरमा क्याम्पस परिसरमा स्तम्भको शिलन्यास गरिनुका साथै रजहाँस स्मारिकाको लोकार्पण गरिएको थियो । रासस
वातावरण संरक्षणमा एनसेलको सहयोग तथा सहकार्य
काठमाडौं, २६ भदौ । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले वातावरण संरक्षणमा योगदान गर्ने उदेश्यका साथ धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको छ । आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको छ, जसले उक्त स्थानको वातावरणीय तथा पर्यावरणिय रुपमा महत्वपूर्ण बनाउन टेवा दिने छ । साथै स्थानिय समुदायलाई यो अभियानमा समावेश गर्दै दिगो पर्यावरण संरक्षणका लागि संरक्षित वन वरपरका विद्यालय, शिक्षकशिक्षिका, अभिभावक र स्थानिय समुदायका सदस्यहरुलाई लक्षित गरी विविध जनचेतनामुलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिएका छन् । सरकारले फागुन २०, २०६९ मा यो धनुषाधाम वनलाई यसको वातावरणीय र एतिहासिक महत्वका आधारमा संरक्षित वन घोषणा गरेको थियो । गैरुकानुनी रुपमा रुख कटान, फँडानी, दाउरा र माटो संकलन र अति चरिचरन लगायतका गतिविधिले संरक्षण कार्यलाई चुनौतिपूर्ण बनाएको थियो । “यस क्षेत्रमा जनचेतना अभिवृद्घि र स्थानिय समुदायलाई जिविकोपार्जनका वैकल्पिक उपाय अत्यावश्यक रहेको परिप्रेक्षमा एनसेलले गरेको वृक्षारोपण र जनचेतनामुलक कार्यक्रमले वातावरण संरक्षणलाई प्रोत्साहन गरेको छ,” मिथिला वाईल्डलाईफ ट्रष्टका अध्यक्ष देव नारायण मण्डलले बताए । ट्रष्टले एनसेलको सहयोगमा जनचेतना अभिवृद्घिका कार्यक्रमहरु संचालन गरेको थियो । यस अन्तर्गत ट्रष्टले गत एक वर्षमा वातावरण संरक्षण सम्बन्धि विविध जनचेतनामुलक गतिविधिहरु जस्तै पर्यावरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता र विद्यालय स्तरमा ईको क्लबको स्थापना गरेको छ । साथै स्थानिय समुदायलाई मिथिला चित्रकला सम्बन्धि तालिम, विद्यालय र अन्य सार्वजनिक स्थानका पर्खालमा मिथिला चित्र बनाउने तथा मिथिला सांस्कृतिक कार्यक्रम गरेको थियो । वक्तृत्वकला, चित्रकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरु धनुषाधाम संरक्षित वनको संरक्षण तथा विकासका लागि चेनता जगाउन आयोजना गरिएको थियो, भने मिथिला चित्रकला तालिम स्थानिय समुदायका सदस्यलाई सीप विकास गर्न सघाउन संचालन गरिएको थियो । तालिमको उदेश्य विषेशत स्थानिय समुदायलाई जिविकोपार्जनका लागि वनमा मात्र आश्रित नभई आफ्नो सीप आयमुलक काममा लगाउन उत्प्ररित गर्नु रहेको छ । एनसेलले संरक्षित वनमा तीन वटा पिकनिक स्थलहरुका लागि आवश्यक आधारभुत भौतिक पुर्वाधार निर्माणमा पनि सहयोग पुर्याएको छ । धनुषाधाम सांस्कृतिक र धार्मिक रुपमा प्रसिद्घ ठाउँ हो जहाँ हरेक वर्ष हजारौको संख्यामा पर्यटकहरु भ्रमणमा आउछन् । स्थानिय समुदायले एनसेलको सहयोगमा निर्मित पुर्वाधारहरुको सदुपयोग गरी आयआर्जनका अवसरहरु सृजना गर्न सक्दछन् । त्यसैगरी, एक हजार वर्षको इतिहास बोकेको मिथिला चित्रकाल सम्बन्धि तालिमले तालिम पाएका व्यक्तिलाई आफुले चित्रकला बनाई त्यसबाट आय आर्जन गर्न सक्ने अवसर प्रदान गरेको छ । चित्रकला प्रतियोगितामा धनुषधाम संरक्षित वन नजिकै बस्ने मुसहर समुदायका महिलाहरु, धनुषाधाम नगरपालिकामा बसोबास गर्ने पिछडिएका परिवारका सदस्यहरुलाई तथा विद्यालयमा गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई मिथिला चित्रकलाको तालिम प्रदान गरिएको हो । “एनसेलको सहयोगले स्थानियबासीलाई वैकल्पिक आय आर्जनको लागि अवसर प्रदान गरेको छ, जसले गर्दा उनीहरुले दिगो वन संरक्षणमा योगदान दिन सक्छन्,” मण्डलले बताए । केही महिना अगाडी नेपाल सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ । “यो उपलब्धिमा एनसेलले यस वन भित्र तारवार सहित गरेको वृक्षारोपणले ठूलो भूमिका खेलेको छ ।” उनले भने । यस देखि बाहेक जनचेतना अभिवृद्घिका गतिविधीहरुलाई निरन्तरता दिनका लागि चार विद्यालयहरुमा ईको क्लबहरु स्थापना गरिएका छन् । मण्डलका अनुसार, यी क्लबहरु रुख, वन जंगल र वन्यजन्तुको प्रकृति र पर्यावरणमा महत्वबारे बुझाउन क्रियाशील छन् । “एनसेल पर्यावरण सम्बद्र्धनमा सँधै प्रतिबद्ध छ । त्यसैले जनचेतना अभिवृद्घि र स्थानिय समुदायलाई सिप विकासमा केहि भएपनि योगदान गर्न सकेकोमा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । उनका अनुसार एक उत्तरदायी कम्पनीका रुपमा एनसेलले वातावरण अनुकुल प्रविधि पनि अङ्गाल्दै आएको छ । एनसेलले हालसम्म आफ्नो सम्पूर्ण नेटवर्कमा ६.१० प्रतिशत पूर्णरुपमा सौर्य उर्जाबाट चल्ने र ७.७६ प्रतिशत सौर्य उर्जा ब्याकअप भएको हाईब्रिड पावर सोलुसन्स्बाट चल्ने टावरहरु संचालन गर्दै आएको छ ।
देवः विकास बैंकको डेपुटी सिइओमा बोहोरा
काठमाडौं, २६ भदौ । देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुख(सिइओ)मा नरेशसिंह बोहोरा नियुक्त भएका छन । विगत १५ वर्ष भन्दा बढी समय देखि बैकिङ क्षेत्रमा कार्यरत बोहरा यसअघि नारायणी नेशनल फाईनान्समा प्रमुख कार्यकारी अधिकृत थिए । उनी प्रमुख कार्यकारी भएका बेला सन् २०१४ मा उत्कृष्ट फाइनान्स कम्पनीको अवार्ड समेत पाएको थियो । नारायणी नेशनललाई सनराईज बैंकले अक्वाएर गरेपछि बोहोराले राजीनामा गरेका थिए । आइतबारदेखि नै बोहोराले देवः विकास बैंकमा कार्यभार सम्हालिसकेका छन् ।
बन्द भएका सरकारी उद्योग पुनः सञ्चालन गरिने – उद्योगमन्त्री जोशी
काठमाडौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले बन्द भएका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न लागेको बताएका छन् । उद्योग मन्त्रालयद्वारा तयार ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री जोशीले विगतमा जेसुकै कारणले बन्द भएको भएपनि अब त्यस्ता उद्योगले पुनर्जीवन पाउने बताए । पहिलो चरणमा नेपाल औषधी लिमिटेडलाई सुचारु गर्न तयारी भएको मन्त्री जोशीले बताए । उनका अनुसार पहिलो चरणमा औषधी लिमिटेडसहित वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो उद्योग जस्ता उद्योगहरु पुनः सञ्चालन गरिनेछ । ‘जेसुकै कारणले बन्द भएको भएपनि त्यहाँ राज्यको ठूलो लगानी छ । त्यसलाई खेर जान नदिन सार्वजनिक नीजि साझेदारी गरेर भएपनि बन्द उद्योग सुचारु गर्छौ ।’, जोशीले भने । मन्त्रालयले तयार पारेको ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ अनुसार कार्य सम्पन्न गर्ने बताउँदै मन्त्री जोशीले साना उद्योगको संरक्षण र ठूला उद्योगको प्रबर्धनमा सरकारको जोड रहने बताए । उनले आफ्नो कार्यकालमा प्रत्येक जनतामा उद्योगप्रति आकर्षण बढाउने, उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताए । औद्योगिकीकरणबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको भन्दै मन्त्री जोशीले उद्योग मन्त्रालयलाई ‘अगुवा मन्त्रालय’ बनाउने घोषणा गरे । ‘उद्योग मन्त्रालय अरु मन्त्रालयको पछि लाग्ने होइन की आर्थिक समृद्धिको सन्दर्भमा आफै लिड गर्ने मन्त्रालय बनाउँछु ।’, उनले भने । जनतासंग उद्यमको योजना मागिने उद्योग मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजना अनुसार ७५ वटै जिल्लामा समुदायमा आधारित उद्योग सञ्चालनका लागि सर्वसाधारणको आशयपत्र मागिने भएको छ । आफूले गर्न चाहेको उद्योगको प्रकृति, स्रोत व्यवस्थापन र त्यसको निरन्तरताका बारेमा मन्त्रालयले आशयपत्र आव्हान गर्ने र आवश्यक सहयोग गर्ने जनाइएको छ । ‘यदि कोही नागरिक उद्योग खोल्न र उद्यमशीलता विकास गर्न ईच्छा राख्छ भने हामी सहयोग गर्छौ । योजनाका आधारमा सिड मनी पनि दिन्छौ, प्रविधि पनि उपलब्ध गराउँछौं ।’, मन्त्री जोशीले भने । महत्वाकांक्षीजस्तो देखिएपनि सो योजनाबाट देशरभका युवा तथा महिलामा नेपालमै उद्यम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने बताए । मन्त्रालयले तयार पारेको कार्ययोजना अनुसार ७५ वटै जिल्लामा ‘उद्यमी मोटिभेटर’ खटाइने भएको छ । उद्यमशीलताका बारेमा जिल्ला तहमै अभियान सञ्चालन गर्न तथा औद्योगिक विकासमा मन्त्रालयलाई सहयोग पु¥याउन सबै जिल्लामा ‘उद्यमी मोटिभेटर’ का रुपमा प्रेरक व्यक्तिलाई खटाइने मन्त्रालयले जनाएको छ । कार्ययोजनामा नीतिगत तथा कानुनी सुधार ,संरचना तथा प्रक्रियागत सुधार, लघु,घरेलु तथा साना उद्योग विकास प्रबद्र्धन तथा औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र स्थापना तथा विस्तार गरी ४ तहको सुधार योजना उल्लेख गरिएको छ ।
समिट माइक्रोफाइनान्सले ४७ प्रतिशत लाभांश दिने
काठमाडौं, २६ भदौ । समिट माइक्रोफाइनान्स डभेलपमेन्ट बैंकले सेयरधनीलाई ४७ दशमलब ३६८४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४५ प्रतिशत बोनस र कर लाभांशको लागि २ दशमलब ३६८४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणा भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ५ करोड रुपैयाँ छ । बोनस सेयर पश्चात कम्पनीको पुँजी २ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।
नेप्से परिसूचक ६ अंकले गिरावट, एक अर्ब १७ करोडको कारोबार
काठमाडौं, २६ भदौ । आइतबार नेप्से परिसूचक ६ दशमलब २४ अंकले घटेर १८१६ दशमलब ८१ अंकमा झरेको छ । बजार खुलेको केही बेरमै १८२८ अंकमा पुगेको परिसूचक बन्द हुँदा घटेर १८१६ मा आएको छ । सो दिन १४५ कम्पनीको १८ लाख ५१ हजार कित्ता सेयर एक अर्ब १७ करोड ७५ लाख रुपैयाँमा कारोबार भएको छ । आइतबार कारोबार भएको ७ समूह मध्ये ४ समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् । होटल समूह ३७, बीमा २२, बैंकिङ् ११ र फाइनान्स समूह १.७ अंकले ओरालो लागेका छन् । हाइड्रोपावर ३०, अन्य समूह ३ र विकास बैंक ०.९१ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी सिद्धार्थ इक्वीटी ओरिन्टेड स्किमका लागानीकर्ताले १० प्रतिशत बढी गुमाएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लि. प्रमोटरका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । आइतबार नेपाल बङ्गलादेश बैंकको ६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।