विकासन्युज

नागार्जुन दरबार मुनी ४ लेनको सुरुङ मार्ग, हलचोकको डाडामा ७ सय मिटर लामो अर्काे सुरुङ

काठमाडौं, २ माघ । पुर्व राजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुनको दरबार मुनी ४ लेनको सुरुङ मार्ग बन्ने भएको छ । बाहिरी चक्रपथ विकास आयोजनाले नागार्जुन दरबार मुनी ३५० मिटर लामो २५ मिटर चौँडाईको सुरुङ मार्ग बनाउन लागेको हो । यो सुरुङ मार्ग पौँयाटार/पुरानो गुहेश्वरीबाट सुरु भएर बोहराटारमा निस्कनेछ । सो सुरु मार्ग भित्र बाहिरी चक्रपथ आयोजनाको ४ लेनको सुबिधा सम्पन्न सडक रहनेछ । ‘नागार्जुन दरबार मुनी ३५० मिटर लामो सुरुङ बन्छ, त्यसमा २५ मिटर चौडाईको ४ लेन सडक रहन्छ’, बाहिरी चक्रपथ विकास आयोजनाका अधिकृत ध्रब सापकोटाले भने । बैजनी रङको बाहिरी चक्रपथ सडक र सुरुङ मार्ग बनाउने भनिएको नागार्जुन पहाड तथा हलचोक डाडा सुरुमा टोखाबाट नेपालटार, बाइपास, बालाजु हुँदै सितापाइलासम्म बाहिरी चक्रपथ लैजाने भनिएको थियो । त्यसो गर्दा बालाजुदेखि सितापाइलासम्म हालको चक्रपथ र बाहिरी चक्रपथ जोडिन्थ्यो । तर सोही क्षेत्रमा बढि सडक जाम हुने गरेको तथ्य उजागर भएपछि त्यसलाई छल्न सुरुङको अवधारणा ल्याएको हो । ‘बालाजुदेखि हलचोकसम्मको सडकमा बढि चाप देखियो, अहिलेकै चक्रपथमा बाहिरी चक्रपथ मिलाउँदा झन थेग्न मुस्किल हुने देखेपछि सुरुङको विकल्प अघि सारिएको हो ।’, सापकोटाले भने । त्यस्तै हलचौकको डाडामा पनि करिब ७०० मिटर लामो अर्काे सुरुङ मार्ग निर्माण हुने भएको छ । त्यसमा पनि २५ मिटर लामो सुरुङ भित्र ४ लेनको सडक बन्नेछ । नैकापको किट्नी डाडामा पनि करिब १५० मिटर लामो अर्काे सुरुङ निर्माण हुनेछ । बाहिरी चक्रपथ आयोजनाले सतुंलदेखि ६ दशमलब ६१८ किलोमिटर खण्डमा नापी नक्सा मिलानको काम गरिरहेको छ । त्यसमा कुल ८ हजार ९ सय ५२ रोपनी जमिन पर्छ । नापी नक्सा एकिन हुने वित्तिकै पाइलट प्रोजेक्टका रुपमा जग्गा अधिग्रहणको तयारी भैरहेको उनले बताए । आयोजनाले सो खण्डको डिपिआर स्विकृतिका लागि मन्त्रालय पठाएको छ र मन्त्रालयले क्याबिनेटमा पेश गर्नेछ । क्याबिनेटले स्विकृत गर्ने वित्तिकै काम अघि बढाउने उनले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन धितोपत्र बोर्डको अनुमति

काठमाडौं, २ माघ । ग्लोबल आइएमई बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैंकलाई अनुमति दिएको हो । उक्त अनुमति पश्चात नेपाल धितोपत्र बोर्डले लागू गरेको आस्वा प्रणाली मार्फत सेयर लगानीकर्ताले माग गरेको सेयर बापत हुन आउने रकम लगानीकर्ताको बैंक खातामा रोक्का हुनेछ । यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम मात्र खातामा रोक्का भई सेयर बाँडफाँडमा परेको रकम कटौती गरि बाँकी रकम खातामा नै सुरक्षित रहिरहने सुविधा लगानीकर्ताले पाउनेछन् । छिटोछरितो र झन्झटमुक्त सेवामा विश्वास गर्दै आएको ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आस्वा प्रणालीमा आवद्ध भएको बैंकले जनाएको छ ।

प्रोफेशनल दियालो विकास बैंक प्राप्ति पछि लक्ष्मी बैंकद्धारा एकिकृत कारोबार शुरु

काठमाडौं, २ माघ । लक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) पश्चात आइतबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । बैंकले लक्ष्मी बैंक लिमिटेडको नामबाट नै एकिकृत कारोबार शुभारम्भ गरेको छ । लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब तीन करोड रुपैयाँ रहेको छ । २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनललाई एक्वायर पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैंयाँ पुग्नेछ । बैंकले एक्वायर पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने बताएको छ । प्रोफेशनल दियालो प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेमा पाचँखाल र भकुन्डेबेसी, सिन्धुपाल, भरतपुर चितवन र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा थपिने बैंकले जनाएको छ । बैंकले हाल ६४ वटा शाखा, २ विस्तार काउन्टर अनि ८० एटिएम मार्फत ग्राहकलाई बैंकिङ् सेवा दिदै आइरहेको छ । केन्द्रिय कार्यालय लक्ष्मी बैंक लिमिटेडको हाल रहेको स्थान हात्तीसार, काठमाडौं नै कायम रहनेछ ।

नेप्से र कारोबार रकम दुबै घट्दा स्ट्याण्डार्ड चाटर्डको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, २ माघ । माघ महिनामा कारोबार भएको पहिलो सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक २ दशमलब १४ अंकले घटेर १४७७ दशमलब ७२ अंकमा झरेको छ । सोही दिन १२२ कम्पनीको ४ लाख ८८ हजार किता सेयर जम्मा २७ करोड ७५ लाख रुपैयाँमा किनबेच भएको छ । पछिल्लो दिनको तुलनामा आइतबार करिब ५ करोड रुपैयाँले कारोबार रकममा गिरावट आएको छ । बजारमा करोबार रकम र नेप्से परिसूचक दुबैमा गिरावट आउँदा पनि स्ट्याण्डार्ड चाटर्ड बैंकको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २ हजार १९७ रुपैयाँ रहेको छ । त्यस्तै, हाम्रो विकास बैंकको सेयर मूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ ।

चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुट, प्रतिटिकट मूल्य १०८ रुपैयाँ मात्र

काठमाडौं, २ माघ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको छ ।  माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वास अनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको कम्पनीले जनाएको छ । माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रुपैयाँमा नै टिकट प्राप्त गर्ने छन् । यस व्यवस्था अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोट स्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने नपाउने कम्पनीले जनाएको छ ।

भूकम्प कम प्रभावित जिल्लाको लगत संकलन कार्य शुरु, थप सय इन्जिनियर अपुग

काठमाडौं, २ माघ । केन्द्रीय तथ्याङ्क विभागले भूकम्प कम प्रभावित जिल्लाको लगत संकलन कार्य शुरु गरको छ । २०७२ वैशाख १२ को भूकम्प र तयसपछिको परकम्पनले नेपाका ३१ जिल्लामा क्षति पुर्याएको थियो । त्यस मध्ये अतिप्रभावित १४जिल्लाको लगत संकलन कार्य यस अघिनै सकिसकेको छ भने बाँकी १७ जिल्लामा भूकम्प प्रभावितको लगत संकलन कार्य शुरु गरको हो । उक्त १७ जिल्लाको लगत संकलन गर्न पाँचसय ४० इन्जिनियर आवश्यक पर्नेमा हाल विभागले करिब तीन सय इन्जिनियरलाई फिल्डमा पठाइसकेको विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले जानकारी दिए । ‘सर्वेक्षणका लागि हामीलाई पाँच सय ४० इन्जिनियरको आवश्यकता छ,’ उनले भने ‘ एक सयलाई भोलि सोमबारदेखि तालिम दिँदै छौं भने अर्को एक सयभन्दा बढी इन्जिनियकर अझैसम्म पाएका छैनौ ।’ आगामी सातासम्म इन्जिनियरहरुलाई फिल्डमा पठाउन नसके लगत संकलन कार्य ढिला हुन सक्छ । सरकारले माघ महिनासम्म भूकम्प प्रभावित सबै जिल्लाको लगत संकलन गर्ने कार्य गरिसक्ने कार्यक्रम बनाएको थियो । ‘तर, आगामी सातासम्म पनि इन्जिनियर पाइएन भने तथ्याङ्क संकलननै ढिला हुन जान्छ ।’ यस अघि भूकम्प प्रभावित क्षेत्रको लगत संकलन गर्दा सरकारले अध्ययन पुरा नगरेका इन्जिनियरका पढ्दै विद्यार्थीलाइ समेत सो कार्यक्रम (लगत संकलन) मा समावेश गरेका थिए । त्यसले गर्दा तथ्याङक संकलनमा समस्या आएपछि अहिले भने डिप्लोमा पास गरेर प्रमाणपत्र पाइसकेका इन्जिनियरलाई मात्र सो कार्यधक्रममा समावेश गर्ने नीति बनाएसँगै इन्जिनियरको अभाव भएको हो । अब अर्को सातासम्म पनि इन्जिनियर नपाएमा पढ्दै गरेका विद्यार्थीलाई भएपनि लगत संकलन कार्यमा समावेश गर्नु पर्ने वाध्यता हुने सुवालको भनाइ छ । सुवालका अनुसार पहिलेको जस्तै ट्यावमा तथ्याङ्क संकलन कार्य गरिने भएकोले कतिपय जिल्लाको लगत आउने कार्य पनि भइरहेको छ । सरकारले यस अघि भू्कम्प अतिप्रभावित १४ जिल्लाको लगत संकलन कार्य गरिसकेको छ । धेरै जसो घरधनीसँग अनुदान सम्झौता गरेर धमाधम पहिलो तथा दोस्रो किस्ता अनुदान वितरण कार्य भइरहेको छ । सबैभन्दा पछि शुरु गरिएको काठमाडौं उपत्यकाको लगत संकलन कार्य पनि सकिएर यहाँ पनि अनुदानको पहिलो किस्ता वितरण कार्य भइरहेको छ । भूकम्प कम प्रभावित जिल्लाहरुः कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, बागलुङ, गुल्मी, पाल्पा, पर्वत, गुल्मी, म्याग्दी, अर्घाखाची, सोलुखुम्बु, संखुवासभा, नवलपरासी, भाजपुर, धनकुटा, खोटाङ

हाम्रो विकास बैंकको सञ्चालकमा जीवन बहादुर श्रेष्ठ चयन

काठमाडौं, २ माघ । हाम्रो विकास बैंकको सञ्चालकमा जीवन बहादुर श्रेष्ठ चयन भएका छन् । पुस २९ गते सम्पन्न बैंकको आठौँ वार्षिक साधारणसभाले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो । श्रेष्ठको कार्यकाल पुस २९ गतेदेखि नै शुरु भएको छ ।

कैलाश विकास बैंकको २५ प्रतिशत बोनस सेयर पारित, अध्यक्षमा राजेन्द्र गिरी चयन

काठमाडौं, २ माघ । कैलाश विकास बैंक लिमिटेडको २५ प्रतिशत बोनस सेयर पारित भएको छ । उक्त प्रस्तावलाई बैंकको २३ औं वार्षिक साधारण सभाले पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७२/०७३ को वासलात तथा सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ । सभाले संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेल गरी जम्मा ६ सदस्यीय संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ । साथै, सोही दिन बसेको बैंक संचालक समितिको बैठकले राजेन्द्र गिरीलाई संचालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । सो मात्राको बोनस पश्चात संस्थाको बोनस सेयर जारी पश्चात चुक्ता पूँजी १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको २० प्रतिशत हकप्रद निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । हालसम्ममा बैंकले १५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १७ वटा एटिएम मेशिन द्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।