विकासन्युज

मतदाता नामावलीमा ५५ जना मात्रै, सिंगो गाउँबाट खस्दैछ जम्मा १७ भोट

  काठमाडौं । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई नासु वा खरिदारस्तरका सहायक कर्मचारी र एक सहयोगीसहितको टोली पुगिसकेको छ। पाँच सयभन्दा कम मतदाता भएकोमा पाँच कर्मचारी पठाउने नियमानुसार उनीहरूलाई खटाइएको हो। दुई स्थानीय सहयोगी कार्यकर्ता राख्नुपर्ने प्रावधान छ। उनीहरूसँग प्रहरी र सशस्त्रको टोली छ भने सेनाले समेत यो क्षेत्रमा गस्ती गरिरहेको छ। मतदानपछि भने मतपेटिकालाई हेलिकप्टरबाट ओसारिनेछ, विगतमा जस्तै। ‘यो क्षेत्रमा एक बस्तीबाट अर्को बस्ती पुग्न एक दिन लाग्ने भएकाले थोरै मतदाता भए पनि बस्तीपिच्छे केन्द्र राखेका छौं,’ मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले भने, ‘सबै मतदाताको अधिकार सुरक्षित गर्न र मतदाताको सुविधालाई ध्यानमा राखेर बस्तीमै मतदान केन्द्र राखिएको हो।’ मात्रै १७ मत भए पनि मताधिकारको कदर गर्दै राज्यले कर्मचारी र सुरक्षाकर्मी मात्रै खटाएको छैन, आवश्यक रकम पनि खर्चिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार याङमामा सुरक्षाकर्मीका लागि बाहेक १ लाख ३९ हजार ४ सय रुपैयाँ खर्च हुनेछ। कर्मचारीको १ लाख २ हजार २ सय, मतदान केन्द्र खर्च १३ हजार ९ सय, परिचयपत्र वितरणका लागि ७ हजार ३ सय र अतिरिक्त ३ हजार रुपैयाँ खर्च हुन्छ। मतपत्र र मतपेटिका बाँध्न प्रयोग गरिने सामग्री, प्लास्टिकलगायत वस्तुमा पनि थप खर्च हुनेछ। सदरमुकाम फुङलिङबाट लगातार हिँडदा तीन दिनमा मात्रै पुगिने याङमामा जस्तै ओलाङचुङगोला, घुन्सा र ग्याब्लामा पनि मतदाता थोरै भए पनि कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन्। ४० मतदाता रहेको ग्याब्लामा १ लाख २९ हजार ६ सय रुपैयाँ खर्च हुने निर्वाचन कार्यालयले जनाएको छ। घुन्सामा १ लाख २६ हजार ४ सय खर्च हुन्छ। यहाँ १ सय २६ मतदाता छन्। ओलाङचुङगोलामा १ लाख ३० हजार खर्च हुन्छ। यहाँ २ सय ७ मतदाता छन्। निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यो क्षेत्रलाई ‘रेड एरिया’ घोषणा गरेकाले धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यी क्षेत्रमा खर्च कम गराउन नियमले मिल्ने गरी त्यही क्षेत्रका कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत बस्नेतले बताए। यो क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भएकाले खर्च अझ धेरै बढ्ने छ। विगतका चुनावमा पनि हेलिकप्टरबाटै ल्याइएको थियो। कान्तिपुर दैनिकबाट ।

विमानस्थलमा चरम लापर्वाही, जाथाभावी प्रस्थान अनुमति दिँदै अध्यागमन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको चरम लापरबाहीका कारण दिनहुँजसो गलत कागजात भएका व्यक्तिले प्रस्थान (डिपार्चर) अनुमति पाएको भेटिएको छ। अध्यागमनका कर्मचारीले असार ७ गते दुबई गएका एक नेपालीको भिसामा नागरिकता ‘भारतीय’ उल्लेख भए पनि प्रस्थान अनुमति दिए। कामको सिलसिलामा दुबई जान लागेका नेपाली नागरिक मनोजकुमार साहको प्रवेशाज्ञामा गल्तीवश ‘भारतीय नागरिक’ उल्लेख भएको थियो। दुबईबाट भिसा आउँदा साहको राष्ट्रियता ‘भारतीय’ उल्लेख थियो। अध्यागमनका कर्मचारीले उनको भिसा र राहदानी नहेरी हचुवाको भरमा साहलाई प्रस्थान अनुमति दिएका थिए। दुबईले साहको भिसा जारी गर्दा गरेको गल्तीलाई अध्यागमनले नसच्याई साहलाई प्रस्थान अनुमति दियो। साहले भिसा लिने क्रममा आफ्नो राष्ट्रियता हेरेनन्। जब उनले अध्यागमनबाट प्रस्थान अनुमति पाए, त्यसबेला मात्र भिसामा आफ्नो राष्ट्रियतामा भारतीय भएको पत्तो पाए। लगत्तै एयर अरेबियामा आफ्नो समस्या राखे र सच्चाएपछि मात्र दुबई गए। ‘नेपाली राहदानीमा राष्ट्रियता भारतीय भएको भिसा लिएर गएको भए साहलाई दुबई विमानस्थलबाटै फर्काइन्थ्यो,’ अध्यागमनका एक अधिकृतले भने। अध्यागमन कर्मचारीले साहको भिसा जाँचक्रममा रोक्नुपथ्र्यो तर सहजै जान दिए। साहलाई मात्र होइन, अध्यागमनका कर्मचारीले अन्य यात्रुलाई समेत जथाभावी प्रस्थान अनुमति दिने गरेका छन्। केही दिनअघि एक भारतीय दम्पतीले प्रयोग गरेको राहदानी र क्यानाडाको प्रवेशाज्ञासमेत नक्कली भएकालाई प्रस्थान अनुमति दिइएको थियो। विमानस्थल अध्यागमनले ती भारतीय दम्पतीले प्रयोग गरेको भारतीय राहदानी मेसिनले ‘रिड’ गरेको भन्दै प्रस्थान अनुमति दिएका हुन्। काठमाडौं विमानस्थलबाट उडे पनि ती भारतीय दम्पतीलाई चीनको ग्वान्जाउ विमानस्थलले राहदानी र भिसा नक्कली भएको भन्दै फिर्ता ९इन्ट्री रिफ्युज० गरेको थियो। ती भारतीय दम्पती अहिले अध्यागमन विभागको हिरासतमा छन्। अध्यागमनका महानिर्देशक गंगाराम गेलालले जथाभावी प्रस्थान अनुमति दिने कर्मचारीलाई छानबिन गर्ने भने पनि अहिलेसम्म गरेका छैनन्। गल्ती गर्ने कर्मचारीलाई कारबाही नहुँदा विमानस्थल अध्यागमनमा लापरबाही झनै बढेको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘विमानस्थलमा अध्यागमन, प्रहरी, नागरिक उड्डयन र एयरलाइन्सका कर्मचारी मानव तस्करको जालोमा परेका छन्। दिनहुँ सेटिङमा मानव तस्करी भइरहेको छ।’ टर्किस एयरबाट शनिबार रुस गएकी चितवनकी शान्ति शर्मालाई मस्को अध्यागमनले केही घन्टा नियन्त्रणमा लिएर फिर्ता ९इन्ट्री रिफ्युज० गरिदिएको छ। अध्यागमन कर्मचारीले शर्माको भिसाको मिति नहेरी हचुवाको भरमा प्रस्थान अनुमति दियो। शर्मा सोमबार बिहान टर्किस एयरको नियमित उडानबाट काठमाडौं ओर्लिन्। भिसाको अवधि सुरु हुनुअघिकै मितिमा मस्को गएकाले उनलाई इन्ट्री रिफ्युज गरिएको हो। उनी सोमबार मात्र रुस जान पाउनेमा दुई दिनअघि शनिबार नै मस्को पुगिन् र त्यहाँको अध्यागमनले फर्काइदियो। उनको भिसा सिंगल इन्ट्री भएकाले उनी फेरि जान पाउँदिनन्।अन्नपूर्ण पोस्टबाट ।

आम्दानीको ५ प्रतिशत भन्दा कममा इन्टरनेट पाइने, डेढ वर्षपछि ३७७ रुपैयाँमै इन्टरनेट

काठमाडौ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा ३ सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ। सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार हाल इन्टरनेट सेवा प्रदायकहरूले करिब १ हजार वा त्यसभन्दा बढी शुल्क लिएर प्रवाह गरिरहेको यो सेवालाई ३७७ रूपैयाँमा झार्नुपर्नेछ। यो व्यवस्था अुनसार इन्टनरेट सेवाप्रदायकले हाल एक हजार रुपैयाँमा प्रदान गरिएको शुल्क नेपालीको बार्षिक राष्टिय आयको ५ प्रतिशत भन्दा कम हुनुपर्ने छ । अन्नपूर्ण पोस्टबाट ।

गैर बैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष तथा नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भारत नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई आइतबार भारतको नयाँ दिल्लीमा सम्बोधन गरेका छन् । भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले गैर बैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कार्यमा सरोकारवाला सबै लाग्नुपर्नेे बताए । कार्यक्रममा बोल्दै ढकालले रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि डेड दशक अगाडिको तुलनामा अहिले निकै सुधार आएको बताए । तर जनचेतनाको अभावले गर्दा भारतमा रहेका नेपालीहरुले अझै पनि अनौपचारिक माध्यममार्फत भारतबाट नेपालमा पैसा पठाउने गरेको बताए । भारतका बिभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसँग मिलेर ग्लोबल आइएमई बैंकले रेमिट्यान्स नेपाल पठाईरहेको जानकारी गराउँदै बैकिंङ् च्यानलमार्फत भारतबाट नेपालमा पैसा पठाउन औपचारिक माध्यमको प्रयोगलाई सम्बद्ध सबैले प्रबद्र्धन गर्नुपर्ने आवस्यकतालाई औँल्याएका छन् । उक्त कार्यक्रमलाई भारतकालागि नेपालका राजदूतदीपकुमार उपाध्याय, नेपालका लागि भारतका पूर्वराजदूतहरु रञ्जित रे तथा के. भी. राजनले सम्बोधन गर्दै भारत नेपाल रेमिट्यान्समा बैकिंङ च्यानलको महत्व माथि प्रकाश पारेका छन् । उक्त कार्यक्रममा भारतका विभिन्न बैंकका प्रतिनिधि तथा भारतमा कार्यरत नेपालीहरुको उपस्थिती रहेको थियो ।

पशुपक्षी बिमाका लागि अनुदान रकम सात करोडले वृद्धि

काठमाडौं । पशुपक्षी विकास मन्त्रालयले कृषकको आकर्षण बढेपछि पशुपक्षीको बिमाका लागि अनुदानबापतको रकम आगामी आव २०७४/०७५ का लागि २५ करोड रुपैयाँ पुर्याएको छ । सोही शीर्षकमा मन्त्रालयले चालु आवमा १८ करोड रुपैयाँ विनियोजन गरेकामा देशभर त्यसको सकारात्मक प्रभाव परेका कारण आगामी आवका लागि रु सात करोडले रकम थप गरिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए । आव २०७२/०७३ मा कृषकलाई पशुपक्षीको बिमामा सहुलियत दिन रु आठ करोड मात्र विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा व्यावसायिक रुपमा पशुपक्षी पालन गर्ने किसानको व्यवसायमा जोखिम घटाउने उद्देश्यले विसं २०६८ मा पशुपक्षीको बिमाको अवधारणा ल्याइएको थियो । सो अनुसार उक्त परियोजनामा सर्वसाधारण नागरिक तथा कृषकको चेतना तथा आकर्षण वृद्धि भएकाले पनि बिमा गर्नेको सङ्ख्या बढेको छ । बिमामा सर्वसाधारण नागरिकबाट पशुपक्षीको मूल्याङ्कन गराई वर्षमा एकपटक निश्चित रकम तिर्नुपर्ने हुन्छ । विभिन्न बिमा कम्पनीसँग समन्वय गरी तिरिएको रकमबाट निश्चित समयावधिभित्र पशुपक्षी मरेमा सम्बन्धित कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनेछ । बिमा प्रिमियम रकमको २५ प्रतिशत पशुपक्षी धनीले तथा ७५ प्रतिशत सरकारले विनियोजन गरेको बिमा रकममध्येबाट प्रिमियम बुझाउने व्यवस्था गरिएको छ । देशका विभिन्न २१ वटा निजी क्षेत्रका बिमा कम्पनीले यस कार्यका लागि जनतालाई बिमा सेवा उपलव्ध गराउने जिम्मा लिएका छन् । रासस

एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार धरान स्थित वि.पि. कोईराला विज्ञान स्वास्थ्य प्रतिष्ठानको परिसरमा ९५० थान बिरुवाको वृक्षारोपण गरेको छ । बैंक र प्रतिष्ठान बिच भएको सम्झौता अनुरुप बैंकले प्रतिष्ठानको परिसरमा प्रतिष्ठानका पदाधिकारीहरु लगायत धरान स्थित उक्त कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संघ संस्थाको सहकार्यमा वृक्षारोपण गरिरहेको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

चितवन मेडिकल कलेजमा कार्यारत कर्मचारी आन्दोलित

काठमाडौं । चितवन मेडिकल कलेजमा कार्यारत १ सय १९ कर्मचारी मध्ये ६७ जना कर्मचारीहरु आन्दोलित भएका छन् । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मुल ईकाई कमिटीकी अध्यक्ष सरस्वती ढकालले २०६६ सालमा तत्कालिन आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच भएको बिगतमा भएको १४ बुँदे सहमती र श्रम कार्यलय हेटौंडाबाट भएको सहमतीको पालना गर्न अस्पताल प्रशासन सहमत नभएको आरोप लगाएका छन् । मजदुर कर्मचारी र अस्पताल प्रशासनबीच २०६४ सालदेखी आफ्ना विभिन्न सेवा सुबिधाको माग गर्दै गरेको आन्दोलनले अझै सार्थकता नपाएको भन्दै भरतपुरमा पत्रकार सम्मेलन गर्दै विगतमा भएका सहमतीहरुको अक्षरस पालना गर्न माग गरिएको छ । साथै , उनले आफुहरुको मागप्रती अस्पताल प्रशासन दत्तचित्त भई नलागे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यता, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ एवंम जिल्ला कमिटीका सचिव इन्द्र लम्सालले कर्मचारीहरुको आन्दोलन तथा मागका विषयमा श्रम अदालत हेंटौडाले गत बैशाख ७ गते अस्पतालमा कार्यरत २ सय ४० दिन काटेका मजदुर कर्मचारीहरुलाई स्थायी गर्न आदेश दिएपनि अस्पताल प्रशासनले अदालतको कदर नगरी कार्यान्वयन गर्नमा हिच्किचाएको आरोप लगाएका छन् । अस्पतालका प्रबन्ध निर्देशक डाक्टर हरिशचन्द्र न्यौपानेले मजदुर कर्मचारीका माग सहमतिमा ल्याइ सम्बोधन गर्नुको सट्टा अस्पतालमा ६७ जना कर्मचारीहरु नै नरहेको र मेडिकल कलेजमा कार्यरत नरहेको भन्ने ब्यहोराका चिठ्ठी जिल्ला प्रशासन कार्यलय चितवन र श्रम अदालत हेटौडामा मुद्धा दायर गरेकाले सहमति हुन नसकेको आरोप कर्मचारीहरुको रहेको छ । चितवन मेडिकल कलेजले थप तीन वटा अत्याधुनिक मेसिन सहित मृगौलाको डाईलेसिस् सेवा सुरु गरेको छ । बिरामीहरुको चापलाई मध्ययनजर गर्दै मेसिन थप गरिएको अस्पतालका वरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. अरुण सेढाईले जानकारी दिए । उनले चितवनमा मृर्गौला परीक्षण गर्ने र सफा गर्ने बिरामीको चापको अनुपातमा मेसिन र दक्ष जनशक्तिको अभाब भईरहेको समयमा अस्पतालले यो सेवालाई छिटो छरितो बनाउनका लागि उच्च प्रबिधिको मेसिन ल्याएर काम गरेको बताए । यस अस्पतालले हाल सम्म २ सय १५ जनाको डाईलेसिस् गरिसकेको बताउँदै अस्पताल प्रशासनका अप्रेशन इन्चार्ज पारस अधिकारी भन्छन्, ‘एउटा मेसिनले एक जनाको मृर्गौला सफा गर्नका लागि यसअधि चार घण्टा लाग्ने गरेको र दिनमा चार जनाको मात्र परीक्षण गर्न सकिन्थ्यो तर अहिले थप तीनवटा मेसिन भित्राएपछि दैनिक ३२ जना लाई सेवा दिन सक्ने गरी क्षमता बिस्तार गरेका छौँ ।’ सरकारले आजिवन निःशुल्क घोषणा गरेको मुटुको रोग, क्यान्सर, स्पाईनल ईन्जुरी, हेडईन्जुरी, अल्जाईमर, आमा सुरक्षा, पाठेघरको अप्रेसन जस्ता रोगमा जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारीस लिएर आउने सबै बिरामीहरुलाई निःशुल्क सेवा समेत दिँदै आएको छ ।

दराज केमु मोबाइल सप्ताह असार १९ गतेदेखि शुरु, मोबाइल खरिदमा ५० प्रतिशत छुट

काठमाडौं । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । असार १९ देखि २३ गतेसम्म तदनुसार जुलाई ३ देखि ७ तारिखसम्म केमुडटकम डटएनपीमा मोबाइल सप्ताह आयोजना हुने भएको छ । पाँच दिनसम्म केमुडटकम डटएनपीमा चल्ने अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मुल्य भन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने छ । सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ । यसका अलावा केमु डटकमडटएनपी बाट मोबाइल सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ । उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए । सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन शपिंग इभेण्टको अपार सफलता पछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो । उक्त मोबाइल सप्ताहमा सामसुंग, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन् । यस अघि आयोजना भएको व्ल्याक फ्राइडे इभेण्टमा केमु डटकम डटएनपीमा लाखौंको संख्यामा अनलाइन भिजिट आएको थियो । यसैको सफलताले आगामी दिनमा पनि अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न आफुहरु उत्साहित भएको प्रबन्ध निर्देशक अमात्यले बताए । मोबाइल सप्ताह अवधिमा केमु डटकमडटएनपी भिजिट गरि आफुलाई आवश्यक पर्ने कुनै पनि मोबाइल तथा अन्य सामग्री सुपथ मूल्य खरिद गर्न सकिने छ । केमु अनलाइन स्टोरका सेवाग्राहीहरुको मायाले नै आजको सफलता प्रप्त गरेको हो । आगामी दिनमा पनि अनलाइन प्लेटफर्मका सेवाग्राहीको उक्त माया पाइरहने अपेक्षा लिइएको छ ।