विकासन्युज

सूर्यविनायक–जगाती सडक अतिक्रमण हटाउन सुरु

  भक्तपुर। सूर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले आजदेखि सूर्यविनायक चोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको छ । वर्षौँदेखि व्यापारीको अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको हो । डिभिजन सडक कार्यालयले पटकपटक सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल र थुपारिएको निर्माण सामाग्री हटाउन अनुरोध गर्दै आएका थिए । उक्त सूचनालाई अटेर गरेपछि गत बिहिबार हटाउन खोज्दा तीन दिन समय मागेका थिए । तीन दिन समय माग गरेपनि छ दिनसम्म नहटाएपछि जगाती क्षेत्रबाट सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार सुरु गरेको हो । अरनिको राजमार्गअन्तर्गत उक्त सडक ८२ फिट मापदण्ड मिचेर व्यापारीले सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि जनप्रतिनिधिको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाइएको हो । सडकमा व्यापारीले वर्षौँदेखि बालुवा, रोडा, ढुङ्गा, डण्डीलगायत निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए । सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदल यात्रीलाई हिँडडुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागिएको वडाध्यक्ष थापाले बताए । रासस

अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्सको प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । महिन्द्रा गाडिहरुका आधिकारिक विक्रेतातथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्स्ले स्थानीयरुपमाप्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममको मुख्य लक्ष्यभनेको महिन्द्रा जेनुइन स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको सहि उपयोग तथा उत्कृष्ट सर्भिसिङ्ग सम्बन्धी सीप विकास गराई उनीहरुलाई प्राविधिक रुपमा सक्षम बनाउनु रहेको छ । जसमार्फत उनीहरुले ग्राहकहरुको आवश्यकतालाई झनै उचित ढंगले समाधान दिन सक्नेछन् । चैतन्यकगलकार (नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका कन्ट्री म्यानेजर), तपस पटनाइक (महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका आफ्टर–सेल्स् कन्ट्री म्यानेजर) तथा वरदान बस्नेत (अग्निइन्कर्पाेरेटेडका असिस्टेन्ट डिरेक्टर) को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  

निर्जीवन बीमा कम्पनीले लघुबीमा कार्यक्रम सञ्चालन गर्ने, दुई लाखसम्मको सम्पत्ति बीमा

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले ‘घ’ वर्गका वित्तीय संस्थासँग मिलेर लघुबीमा कार्यक्रम शुरु गर्ने भएका छन् । विपन्न वर्ग र किसानलाई फाइदा पुर्याउने उद्देश्यले सो लघुवित्त बैंकसँगको सहकार्यमा सो कार्यक्रम गर्न लागिएको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले बताए । ‘निर्जीबन बीमा कम्पनीहरुको तर्फबाट करिब चार करोड रुपैयाँ र बेलायती सहयोग संस्था सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको करिब चार करोड रुपैयाँ गरी करिब ८ करोड रुपैयाँको माइक्रोइन्स्योरेन्स पूल बनाएर लघुबीमा कार्यक्रम सुरु गर्न लागिएको हो,’ उनले भने ‘कार्यक्रमको व्यवस्थापन जिम्मा बिमक संघलाई दिइएको छ ।’ लघुबीमा कार्यक्रमको संचालन लघुवित्त कम्पनीहरुले गर्ने छन् । कृषि विकास बैंकका पूर्व कर्मचारी द्रोण आचार्यलाई लघुबीमा कार्यक्रम सञ्चालन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतको कम्पनीले नियुक्त गरेको छ । पहिलो वर्षका लागि पूल मेनेजरमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छनोट भएको अध्यक्षले बताए । चालु आवमै कार्यक्रम कार्यान्वयनमा लैजाने चापागाइँले बताए । ‘लघुबीमा कार्यक्रम संचालन मोडालिटी तयार भइसकेको छ,’ चापागाइँले भने ‘लघुवित्त कम्पनीका कर्मचारीहरुले लघुबीमा गराउने छन् ।’ यसरी लघुबीमा गराए वापत कम्पनीहरूले २५ प्रतिशत शुल्क पाउने छन् । सो मध्ये १५ प्रतिशत कमिसन र १० प्रतिशत व्यवस्थापन खर्च हुनेछ । कार्यक्रममा दुई लाख रुपैयाँसम्मको सम्पत्तिको बीमा समेटिने छ । यो बीमा कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति वा फर्महरुले शुन्य दशमलव २५ प्रतिशत अर्थात वार्षिक ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । हालसम्म बीमा समितिले लघुबीमा कार्यक्रमको लागि स्वास्थ्य, दुर्घटना, पशु तथा पन्छी, बाली, म्यादी लगायत सात प्रकारका ७ प्रकारका बीमालेख स्वीकृत गरेको अध्यक्षले जानकारी दिए ।

लक्ष्मी बैंकको ३८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई कम्पनीको १६औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सो मात्राको बोनस सेयर पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १०० प्रतिशत हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९ प्रतिशत हुन आउने बैंकले जनाएको छ । सभाका अनुसार प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका शेयरधनीहरु, १०० प्रतिशत हकप्रद शेयरको बाँडफाँडबाट कायम शेयरधनीहरु तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम शेयरधनीहरु समेत उक्त बोनस शेयर पाउन योग्य हुनेछन् । साथै सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा श्रीमति स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित गरेको छ । आ.व. २०७२/७३ मा ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३६ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्व अर्थमन्त्री डा. रामशरण महतले भने-चुडामणि शर्मामाथिको कारवाही न्याय संगत छैन’

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा माथि हचुवाका भरमा कारवाही गरिएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित होटलमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री समेत रहेका डा. महतले कर फस्र्यौट आयोग आँफैमा संवैधानिक आयोग भएकोले सरकारले बाहेक अरु कुनै निकायले आयोग माथि छानबिन गर्न नपाउने दावी गरेका हुन् । उनले भने, ‘कर फस्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले चूनौति दिन मिल्दैन, त्यसैले हचुवाको भरमा यस्तो निर्णय गर्नुहुँदैन् ।’ उनले अघि थपे,‘कर फस्र्यौट आयोग अधिकार सम्पन्न आयोग हो, मापदण्ड अनुसार आयोगले काम गर्ने हो, कानूनी परिधिभित्र रहेर आयोगले र यसका पदाधिकारीहरुले काम गरेका छन् कि छैन त्यो हेर्नुपर्छ, कानून सुधार भविष्यको कुरा हो, कर पूनरावलोकन आयोग बनाईएको छ, अन्र्तराष्ट्रिय अभ्यास पनि पनि यही हो ।’ कार्यक्रमलाई टेलिफोन मार्फत सम्बोधन गरेका डा. महतले आयोगमा प्रस्तुत गरिएका कागजपत्रहरु तथा आयोगको कारबाहीको सिलसिलामा कुनै स्रोतबाट थाहा हुन आएका कुराहरु गोप्य राख्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै भने,‘त्यस्तो कागजपत्रहरु र गोप्य कुराहरु कर निर्धारण वा असुलीको प्रयोजनको निमित्तबाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाण लाग्ने छैन र नेपाल सरकारको अनुमति बिना कुनै अधिकारीले निरिक्षण वा अनुसन्धानको लागि समेत माग गर्न सक्ने छैन ।’ महतले आयोगका पदाधिकारी सबैको बयान नलिई सदस्य सचिव शर्मामाथि एकपक्षीय ढंगले कारबाही गरेकोमा आपत्ति जनाए । उनले भने,‘आयोगका सबै पदाधिकारीहरुको बयान लिनुपर्नेमा, त्यस्तो मौका नदिई आन्तरिक राजश्व विभागका महानिर्देशकलाई मात्रै हिरासतमा लिनु न्यायसंगत छैन् ।’ त्यस्तै पूर्व कर फस्र्यौट आयोगकका अध्यक्ष चण्डी श्रेष्ठले कर फस्र्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको दाबी गरे । उनले भने,‘यो आयोगले गरेका निर्णय उल्टिँदैनन्, करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित होईन, यसरी आयोग विवादमा तानीए लगत्तै सदनले त्यसको बारेमा उचित निर्णय लिनुपर्ने हो तर लिएको छैन् ।’ श्रेष्ठले चुडामणि शर्मामाथि अख्तियारले गलत नियत राखेर यस्तो व्यवहार गरेको आरोप लगाए । उनले अघि भने,‘कानूनी हैसियतमा आयोगले सरकारको अनुमति नलिई अनुशन्धान गर्न पाउँदैन, यदि अख्तियारले सरकारको अनुमति नलिईकन आयोगका सदस्य सचिव शर्मामाथि अनुशन्धान थालेको हो भने गलत भयो, यो गर्न पाईदैन, यो त ऐन तथा कानूनको नै बर्खिलाप हुन्छ, यो केशमा शर्मामाथि कोही पनि बोल्नुभएन, नेताहरु परेको भए तुरुन्त शीर्ष नेताहरु बोल्थे, तर शर्माजी पर्दा यहाँ कोही पनि शीर्ष नेताहरु बोल्नु भएन।’ उनले आयोगका सदस्य सचिव भन्दा अध्यक्ष मुख्य दोषी हुने भएकोले सदस्य सचिवमाथि मात्रै एकलौटी ढंगले अनुशन्धान तथा कारबाही गर्नु उचित नहुने स्पष्ट पारे ।  

वित्तीय क्षेत्रको व्यवस्थापनका लागि बैंक अफ कोरियासँग सहकार्यः राष्ट्र बैंक

काठमाडौं । नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनको कामलाई आधुनिकीकरण गर्न नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका पदाधिकारीबीच सहकार्य गरेर अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंक अफ कोरियासँग सहकार्यबाट नेपाली वित्तीय बजारको अवस्थामा स्तरोन्नती हुने नेपाल राष्ट्र अनुसन्धान विभाग प्रमुख नरवहादुर थापाले बताए । ‘उनीहरूसँगको सहकार्यबाट नेपालको समष्टिगत आर्थिक विकासको व्यवस्थापनका साथै सही ढंगबाट मौद्रिक उपकरणको उपयोग गर्न सकिन्छ ,’ उनले भने । बैंक अफ कोरियाले यस अघि पनि नेपाल राष्ट्र बैंकसँग वित्तीय व्यवस्थापनका लागि प्राविधिक क्षेत्रका सहकार्य गर्दै आएको थियो । नेपालको बैंकिङ प्रणालीलाई आधुनिक बनाउने सम्वन्धमा दुवै बैंकले आवश्यक सुझाव सहितको प्रतिवेदन ६ महिना भित्र तयार पार्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम

काठमाडौं । नेपालमा व्याप्त गरिबीको निवारणका लागि लघु उद्यम उपयुक्त विकल्प हुने जानकारहरुले बताएका छन् । बिभिन्न ४ जिल्लाको ग्रामिण भेगका लघु उद्यमीहरुले तयार पारेका उत्पादनहरुको व्यवसायीक प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन् । घरेलु तथा साना उद्योग विभागका महानिर्देशक सत्रुघन प्रसाद पुडासैनी, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका नायब प्रमुख कार्यकारी निर्देशक तेजसिंह बिष्ट र गरिबी निवारण कोषका सिताराम चौधरीले लघु उद्यमले नै नेपालको गरिबी निवारण सम्भव हुने बताएका हुन् । गोरखा, दाङ, धनुषा र दैलेखमा १५ दिने उद्यमशिलता तालिम सञ्चालन गरेर त्यसमा उत्कृष्ठ भएकाहरुको उत्पादन बजारीकरण गर्ने भन्दै आयोजीत कार्यक्रममा उनीहरुले लघु उद्यम बिना समृद्धि सम्भव नभएको धारणा राखे । कार्यक्रममा दैलेको छालाका उत्पादन, धनुषाको मिथिला आर्ट, दाङको माटाका भाँडा र गोरखाको फेल्टका उत्पादनहरु व्यापारीकरणका लागि राखिएका थिए । स्थानीय नागरिकलाई उत्पादनको प्रक्रियामा सामेल गराएर बजारीकरणमा समेत सघाउने उदेश्यले नेपाल हस्तकला महासंघ, नेपाल सम्पदा संघ र गरिबी निवारण कोषले मिलेर १५ दिने तालिम कार्यक्रम सञ्चालन गरेका थिए । सोही तालिमका उत्कृष्ठ सहभागीले निर्माण गरेका उत्पादनको बजारीकरणका लागि राजधानीमा कार्यक्रम आयोजना गरिएको हो ।

१५०० भुकम्पपिडितमध्ये एकलाई हुन्डाई इओनको उपहार, गाडी खरिदमा शतप्रतिशत नगद फिर्ता

काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाल सरकारद्वारा लक्की ड्र बाट भाग्यशाली घोषित १५०० भुकम्पपिडित मध्येबाट हुन्डाइ इओन गाडीको खरीदमा एक जना ग्राहकलाई शतप्रतिशत रकम फिर्ता योजना घोषणा गरेको छ । सर्वाधिक लोकप्रिय सवारी हुन्डाइ इओन ट्याक्सीको रुपमा हुन्डाइको ह्याट्चब्याक सेग्मेन्ट अन्तर्गत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै हुन्डाइ इओन ट्याक्सी को खरीदमा आकर्षक नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष वारेन्टी, वित्तिय तथा विमा सुविधाका साथसाथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिदिनेछ । वलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री वनावट, पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता आदिले यस हुन्डाइ इओनलाई यात्रीहरुमाझ अझ लोकप्रिय बनाएको कम्पनीले जनाएको छ । भुकम्पपिडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यस योजना मार्फत योगदान दिने प्रयास गरेको छ । हुन्डाईले विभिन्न योजनाहरु ल्याउने गरेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।