विकासन्युज

एनसीसी बैंकको एक्सटेन्सन काउन्टर रुपन्देहीमा पनि

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले रुपन्देहीमा रहेको युनिभर्सल मेडिकल कलेजको परिसरमा एक्स्टेन्सन काउन्टर संचालन गरेको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन सोमबार यस बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौला तथा कलेजका अध्यक्ष रमेश शर्माद्वारा संयुक्त रुपमा गरिएको छ । सो काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी तथा विपे्रषण सेवा उपलब्ध गराइनेछ । यस काउन्टरबाट उक्त कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारीहरु लाभन्वित हुने बैंकले जनाएको छ । यस बैंकले २०७३ आषाढ मसान्त सम्ममा निक्षेप परिचालन ३० अर्ब ३६ करोड रुपैयाँ तथा २४ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले सो अवधिसम्ममा ७० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साथै यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसँग गाभ्ने/गाभिने प्रक्रियाको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । उक्त गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भए पश्चात एनसीसी बैंकको शाखा ९६ वटा पुग्ने बैंकले जनाएको छ ।

कुमारी बैंकले ल्यायो चिप बेसमा आधारित क्रेडिट कार्ड, संसारभर प्रयोग गर्न सकिने

काठमाडौं, २७ भदौ । कुमारी बैंकले चिप बेसमा आधारित क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित संसारका सबै मुलुकमा प्रयोग गर्न सकिने सुबिधा सहितका क्रेडिट कार्ड सुरु गरेको हो । कुमारीले ल्याएको डोमेष्टिक कार्ड नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ । डलरमा सञ्चालन हुने इन्टरनेशनल कार्ड भने संसारका जुनसुकै मुलुकमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । जारी गरिएका नयाँ कार्डमा उच्चस्तरको सुरक्षा सतर्कता तथा जोखिम न्युनिकरणका उपाय प्रयोग गरिएको पनि बैंकले जनाएको छ । यी कार्डहरुबाट क्रेडिट लिमिटको ९० प्रतिशतसम्म रकम झिक्न सकिन्छ । यसअघि नै बैंकले कुमारी भिसा कार्ड प्रयोगमा ल्याइसकेको छ । कुमारी बैंकले उपत्यका भित्र ११ वटा र बाहिर २५ वटा शाखा तथा दुई वटा एक्सटेन्सन काउन्टर र ३६ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ । बैंकको ग्राहक संख्या २ लाख पुगिसकेको छ ।

यस वर्ष धान खेती १० प्रतिशतले वृद्धि, करिब १४ अर्ब रुपैयाँको आयात घट्ने

काठमाडौं, २७ भदौ । कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । धानखेती वृद्धि भएका कारण यस वर्ष उत्पादनमा समेत वृद्धि हुनेछ । गत वर्ष करिब ४३ लाख मेट्रिक टन फलेकामा यस वर्ष ५० लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण गरिएको छ । मन्त्रालयले गरेको प्रक्षेपणअनुसार अहिले वृद्धि हुने धान उत्पादनले करिब १४ अर्ब रुपैयाँको आयात (घट्ने) छ । प्रवक्ता कार्कीका अनुसार हिमाली तथा पहाडी भेगमा पनि धानको उपभोग बढेकाले त्यहाँ उत्पादन हुने आलु, कोदो, फापरलगायत वस्तुलाई स्थानीय तहमा खपत गर्न सकिएमा धानको उत्पादनले राष्ट्रको माग पूरा गर्न सकिने छ । झापालाई धान उत्पादनको विशेष क्षेत्रका रुपमा लिइएको छ । देशको मागलाई पूरा गर्न करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुन आवश्यक रहेकाले यस वर्ष पनि करिब पाँच लाख मेट्रिक टन धान आयात गर्नुपर्ने देखिन्छ । गएको वर्ष मुलुकको मागभन्दा करिब १२ मेट्रिक टन धान कम उत्पादन भएपछि २४ अर्ब रुपैयाँको धान आयात गरिएकामा यस वर्ष मुलुकको माग धान्न करिब १० अर्ब रुपैयाँको धान आयात गर्नुपर्नेछ । रासस

‘जनता कवच बचत खाता’ सञ्चालनमा, १० लाखको दुर्घटना र एक करोडको घर बीमा

काठमाडौं, २७ भदौ । जनता बैंकले ‘जनता कवच बचत’ नामको नयाँ खाता सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा बचत अनुसार १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १ करोड रुपैयाँसम्मको घर बिमा दुबै सित्तैमा बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउने छ । जनता कवच बचत खाताले आम जनतालाई बचत मात्र नभई सुरक्षा समेत प्रदान गर्ने बैंकले विश्वास लिएको छ । बैंकले २०७३ असार मसान्त सम्ममा २४ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस आर्थिक वर्षभित्र बैंकले ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले ३६ वटा शाखाहरु, २९ वटा ए.टि.एम, ५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

हराएको पासपोर्ट एक दिनमै बन्ने

काठमाडौं, २७ भदौ । अबदेखि पासपोर्ट हराएमा पत्रपत्रिका सूचना प्रकाशित नगरी प्रतिलिपी बनाउन सकिने भएको छ । पत्रपत्रिकामा सूचना तथा प्रहरी रिपोर्ट बनाउनु पर्ने व्यवस्थाले सेवा ग्राहीलाई असहजता थपिएको भन्दै राहदानी विभागले सबै झण्झटिला व्यवस्था हटाएको हो । अबदेखि पासपोर्ट हराएमा बिभागमा निवेदन दिए नयाँ बनाउन सकिनेछ । जिल्लास्तरमा भने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा जानकारी गराएर नयाँ पासपोर्ट बनाउन सकिनेछ । त्यसरी दिइएको सूचनालाई विभागले नै प्रहरी समक्षा पुर्याउनेछ । प्रहरीले त्यसरी प्राप्त सूचनलाई इन्टरपोल मार्फत चेक जाँच गर्नेछ । अब हराएको पासपोर्ट एक दिनमै प्राप्त गर्न सकिने पनि बिभागले जनाएको छ । हराएका पासपोर्ट बनाउने प्रक्रियालाई सहज बनाउन बिभागले एक छुट्टै कोठाको व्यवस्था समेत गरेको छ । सबै नेपालीको एमआरपी इन्टरपोल सूचना प्रणालीमा राखेर दोश्रो व्यक्तिले पासपोर्ट प्रयोग गर्ने तथा अपराधिक क्रियाकलापमा संलग्नहरुलाई पक्रन समेत सहज हुने राहदानी बिभागले जनाएको छ ।

गोल्छा अर्गनाईजेसनद्धारा मल्टिब्राण्ड शोरुम ‘स्वीच अन’ संचालनमा

काठमाडौं, २७ भदौ । गोल्छा अर्गनाईजेसनले मल्टिब्राण्ड शोरुम स्वीच अन सञ्चालनमा ल्याएको छ । उक्त स्टोर काठमाडौंको नक्साल, नारायणचौरमा सञ्चालनमा आएको छ । कम्पनीले उपभोक्ताहरुलाई एकै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल उत्पादनहरु उपलब्ध गराउने उदेश्यका साथ उक्त स्थानमा यो स्टोरको शुरु गरेको हो । स्वीच अनमा विभिन्न किसिमका इलेक्ट्रोनिक्स कन्ज्यूमर ड्यूरेबल गुड्स तथा होम अप्लायन्सेसहरु उपलब्ध छन् । सामसंग, हिमस्टार, बजाज इलेक्ट्रिकल, टाइमेक्स, ओस्राम, अहुजा, इण्डोएशियनका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स ( इलेक्ट्रिकल सामाग्रीहरु स्टोरमा उपलब्ध छन् । स्वीच अनका एक प्रतिनिधिले भने, “निकै व्यस्त समयले मानिसको जिवनलाई जटिल बनाएको छ , स्वीच अनले कम्तिमा किनमेललाई सहज बनाउन आफ्नो स्टोरबाट सेवा संचालनमा ल्याएको हो । हाम्रो प्रमुख उद्देश्य भनेको व्यक्तिगत तथा संस्थागत उपभोक्ताहरुलाई उच्च गुणस्तरको हरेक किसिमको सामाग्रीहरु प्रतिस्पर्धि मूल्यमा उपलब्ध गराउनु हो । ”

पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह

काठमाडौं, २७ भदौ । सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह गरेको छ । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्यअगाडि बढाउने तयारी संगै सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो । आपूर्तिमन्त्री दीपक बोहराले साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारको कार्यअगाडि बढाउने नीतिगत निर्णय सरकारले गरिसकेकाले कम्पनीले यो कार्य गर्न सकेमा जिम्मा दिन तयार रहेको जानकारी दिए । उनले भने– “मैले महाप्रबन्धकलाई प्रस्ताव ल्याउन आग्रह गरिसकेको छु, राम्रो प्रस्ताव आएमा सरकारले कम्पनीलाई जिम्मादिन तयार छ । यो सेवाभित्रको नाफामूलक काम हो ।” आपूर्तिमन्त्री बोहराले कम्पनीले वितरण गरिराखेको ग्यास व्यवसायले उपभोक्तामा सकारात्मक प्रभाव पारेको हुँदा अगामी दिनमा ग्यास उत्पादन प्लान्ट नै राख्न कम्पनीलाई निर्देशन दिँदै यसका लागि सरकारले सहयोग समेत गर्ने जानकारी दिए । हाल कम्पनीले विशेषगरी दैनिक उपभोग्यवस्तु नुन, चिनी, चामल, गेडागुडीका अतिरिक्त कृषिका मल, गहुँका बीउ सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा कम्पनीले एक लाख ८० हजार मेट्रिक टन नुन, १५ हजार गहुँका बीउ, ३० हजार मेट्रिक टन चिनी तथा ८५ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरेको थियो । उनले सरकारले भूकम्प प्रभावित १४ जिल्लामा आवास निर्माणका लागि निर्माण सामग्री बैंक स्थापना गर्न लागेको जानकारी दिँदै यसमा कम्पनीलाई सहभागी हुन आग्रह गरेका छन् । बैंकले खासगरी निर्माणमा आवश्यक पर्ने छड, सिमेन्ट लगायतका वस्तु एउटै छानामुनि सुपथ मूल्यमा बिक्री–वितरण गर्नु रहेको मन्त्री बोहराले जानकारी दिए । कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर र महाप्रबन्धक उर्मिला श्रेष्ठले सरकारको नीतिनियममा रही कम्पनीले आम उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोगका वस्तु बिक्री–वितरण गर्दै आएको जानकारी दिए । कम्पनीले शत्प्रतिशत रुपमा सबै जनतालाई आयोडिनयुक्त नुन पुर्याएको नायब महाप्रबन्धक ब्रजेश झाले जानकारी दिए । सो अवसरमा कम्पनीद्वारा स्थापित बालहितकारी पुरस्कार नेपाल बाल सङ्गठन धनगढी जिल्ला शाखालाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि रु ५० हजारसहित प्रमाणपत्र रहेको छ । यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार कम्पनीमा कार्यरत अनुप श्रेष्ठ र काशीन्द्र श्रेष्ठ तथा ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार नवीन्द्रचन्द्र झा, मोहन थापा र लालबहादुर तमाङलाई प्रदान गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनी सञ्चालक समितिका सदस्य एवम् आपूर्ति मन्त्रालयका सहसचिव आनन्दराज रेग्मी र आधिकारीक ट्रेड युनियनका अध्यक्ष मेघराज घिमिरेले भूकम्प र नाकाबन्दीमा कम्पनीले आम उपभोक्तालाई राम्रो सेवा दिएको चर्चा गरेका छन् । हाल कम्पनीले शत्प्रतिशत रुपमा सबै जनतालाई आयोडिनयुक्त नुन सेवा पुर्याएको नायब महाप्रबन्धक ब्रजेश झाले जानकारी दिए ।

एनआइसी एसिया बैंकको २७ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत, १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं, २७ भदौ । एनआइसी एसिया बैंकले प्रस्ताव गरेको २७ दशमलब ३७ प्रतिशत लांभाश राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेको बोनस अनुसार बैंकका सेयरधनीले एक अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् । बैंकले बोनस सेयरपछि १५ प्रतिशत हकप्रद सेयर पनि निष्काशन गर्ने भएको छ । यी सबै प्रस्ताव अनुमोदन गर्न बैंकले असोज १८ गतेका लागि साधारणसभा बोलाएको छ । सोही प्रयोजनको लागि बैंकको आगामी असोज ५ गतेदेखि असोज १८ गते सम्म बुक क्लोज हुने भएको छ ।