सुबिसु क्यान इन्फोटेक २०१७ सम्पन्न, ३ लाखले गरे इन्फोटेकको अवलोकन
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । मेला माघ १३ गतेदेखि ६ दिनसम्म सञ्चालन भएको थियो । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ । प्रदर्शनीको अन्तिम दिन मंगलबार मात्रै ५५ हजार ७ सय १३ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख १० हजार ९८ जनाले इन्फोटेकको अवलोकन गरेका आयोजकले जनाएका छन् । प्रदर्शनीमा सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो । अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उनीहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले इन्फोटेकलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको छ । ई-नेपाल निर्माणलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पुर्याउने इन्फोटेकले जनाएको छ । आयोजकका अनुसार २३औं संस्करणको ईन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा ईन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो । इन्फोटेकमा विशेषगरी मोबाइल ब्राण्डका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण रहेको थियो । ११ भन्दा बढी मोबाइल ब्राण्डले पछिल्ला मोडलका स्मार्टफोनहरु यसै प्रदर्शनीमार्फत् सार्वनजनिक गरेका छन् । सुबिसुले यसै इन्फोटेकमार्फत् आफ्नो एचडी च्यानल पनि सार्वजनिक गरेको छ । प्रदर्शनीमा सहभागी कम्पनीहरुले इन्फोटेक अवधिभर आफ्ना वस्तु र सेवामा विशेष छुट र उपहार योजना ल्याएका थिए । त्यसैगरी नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा विशेष उपस्थिति रहेको थियो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका थिए । साथै हरेक वर्ष हुँदै आइरहेको क्यान आइसिटी कन्फेरेन्सको १७औं संस्करण माघ १६ र १७ गते होटल सोल्टीमा आयोजना गरिएको थियो । यसपटकको संस्करणको विषय ‘दिगो विकासका लागि आइसिटी’ (आइसिटी फोर डी) रहेको थियो । सो विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, आइटी व्यवसायी र व्यवस्थापिक सांसदहरुबीच प्यानल डिस्कसन गराइएको थियो ।
बाफियाले सांसद्लाई निषेध गरेपछि जनता बैंकका अध्यक्षले राजीनामा दिए, नयाँ अध्यक्षमा केशव रायमाझी नियुक्त
काठमाडौं । जनता बैंक नेपालको अध्यक्षमा केशबबहादुर रायमाझी नियुक्त भएका छन् । माघ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । रायमाझी यस बैंकका संस्थापक सञ्चालक हुन् । स्थापनाकाल देखि लगातार उनी सञ्चालक पदमा छन् । धनकुटामा जन्मिएका रायमाझी चाईना व्यापारबाट जम्दै जलविद्युत र बैकिङ क्षेत्र आएका हुन् । उनी लम्जुङमा बन्दै गरेको ४९ मेघावाट क्षमताको पिपुल्स हाईड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् । यसअघि बैंकको अध्यक्षमा उदय नेपाली श्रेष्ठ माघ १४ गते राजीनामा गरेका थिए । उनी एमाले सभासद् पनि हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ ले बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा सञ्चालकमा सांसद बस्न नपाउने व्यवस्था गरेपछि श्रेष्ठले राजीनामा दिएका हुन् । सरकारको पूर्वसचिव समेत रहेका श्रेष्ठ विज्ञ सदस्यको रुपमा यस बैंकको सञ्चालक समितिमा नियुक्त भएका थिए । श्रेष्ठको राजीनामा सँगै जनता बैंकमा २ सञ्चालक पद खाली भएको छ । गत पुसमा बैंकका सञ्चालक गुरुप्रसाद न्यौपानेले राजीनामा दिएका थिए । श्रेष्ठ र न्यौपाने दुबैको पद तत्कालका लागि पूर्ति नहुने अध्यक्ष राममाझीले बताए । ‘त्रिवेणी विकास बैंक जनता बैंकसँग मर्ज हुँदैछ । मर्जपछि साधारणसभाबाट नयाँ सञ्चालक चयन गरिने छ’ अध्यक्ष रायमाझीले भने । आगामी चैत १ गतेसम्ममा मर्ज सकेर एकिकृत कारोबार गर्ने र बैशाखमा हकप्रद सेयर निष्काशन गर्ने लक्ष्यसहित काम भईरहेको उनले बताए । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिदै छ भने त्यसपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ ।
४४ करोडको लागतमा खानेपानी आयोजना सम्पन्न, ५ सय धुरीले पानी उपयोग गर्ने
सिन्धुपाल्चोक। भुकम्पका कारण खानेपानीको मुहानमा समस्या देखिएको सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा करिब ४४ करोड ८२ लाख ३३ रुपैयामा लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ । उक्त सम्पन्न खानेपानी आयोजनाको उद्घाटन खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले गरेका छन् । सो आयोजनाबाट ५ सय धुरीले पानी उपयोग गर्नेछन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद मोहन बस्नेतले स्थानिय जनता, सरकारी निकाय तथा सांसद विकास कोषको सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको बताए । केन्द्रीय सदस्य बस्नेतले यो निर्वाचन क्षेत्रका ३० वटै गाविसमा खानेपानीका साथै सांस्कृतिक भवन तथा पौडी पोखरी सहित बहुउद्देशिय आयोजना संचालन गर्ने बताए । उनले खानेपानी तथा विकासका कार्यक्रममा सरकारी खर्चमा नभएर स्थानिय जनताको समेत सहभागितामा बनेमा आपनत्व महशुस गर्ने बताए । कार्यक्रममा राज्यमन्त्री दिपक खड्काले देशभरको खानेपानी समस्या समाधानका लागि सरकार गम्भिर भएर लागेको बताउदै मुलुकमा खानेपानीका फरक फरक प्रकारका समस्या रहेका छन् । उनले तराईमा आफै प्रकारको समस्या रहेको सहर र पहाडमा अर्कै प्रकारको खानेपानीको समस्या रहेको बताए । मन्त्री खड्काले संविधानमा खानेपानी र सरसफाईलाई मौलीक हकका रुपमा ग्यारेण्टी गरिएकाले सरकारलाई यो संवैधानिक ग्यारेण्टीलाई कार्यान्वयन गर्न सरकार लागि परेको बताए । स्वस्थ्य खानेपानी नागरिकको मौलिक हक भएकाले सरकार त्यो जनताको मौलिक हकको संरक्षण गर्न लाग्ने बताए ।
मंगलबार मात्रै एक करोड ५९ लाख कित्ता हकप्रद र ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । मंगलबार मात्रै एक करोड ५९ लाख १० हजार २४९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ८ करोड २८ लाख ८५ हजार ३१५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार तीन कम्पनीको हकप्रद र दुई कम्पनीको बोनस गरि जम्मा ५ वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो । लक्ष्मी लघुवित्त संस्थाको ११ लाख कित्ता र सूर्या लाइफ इन्स्योरन्सकोे १२ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको १२ लाख ९ हजार कित्ता र प्राइम कमर्सियल बैंकको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ । उता तिनाउ विकास बैंकको ६ लाख ८२ हजार ७४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको २ लाख ३ हजार १७५ कित्ता हकप्रद सूचिकृत भएको छ ।
विश्वव्यापी सार्वजनिक नीति अध्ययन प्रतिष्ठानको सूचीमा ६ नेपाली प्रतिष्ठान सूचिकृत
काठमाडौं । युनिवर्सिटी अफ पेन्सिल्भेनिया स्थित दथिङ्क टयाङ्स् एण्ड सिभिलसोसाइटीज प्रोग्रामले वार्षिक ग्लोबल गो टु थिङ्क टयाङ इन्डेक्स प्रतिवेदन २०१६ प्रकाशित गरेको छ । प्रतिवेदनले १२ नेपाली सार्वजनिक नीति अध्ययन प्रतिष्ठान(थिङ्क टयाङ) लाई मान्यताप्रदान गरेको छ र तीमध्ये ६ वटालाई विभिन्न वर्ग मध्ये ४ वर्गमा स्थान प्रदान गरेको छ । सेन्टर फर इकोनमिक डेभेलपमेन्ट एण्ड ऐड्मिनिस्ट्रेशन, इन्स्टिटूट फर सोसल एण्ड इन्वाइरन्मेन्टल ट्रैन्जिशन, सेन्टर फर नेपाल एण्ड एसियन स्टडीज, नेपाल साउथ एसिया सेन्टर, नेपाल इकोनमिक फोरम र समृद्धि फाउण्डेसन दक्षिण पूर्वी एसिया र पसिफिकको सर्वोत्कृष्ट सार्वजनिक नीति अध्ययन प्रतिष्ठान सूचीमा पर्न सफल भएका छन् । समृद्धि फाउण्डेसन अन्य तीन सूचीमा पनि पर्न सफल भएको छ । यो फाउण्डेसन सर्वोत्कृष्ट स्वदेशी सार्वजनिक आर्थिक नीतिअध्ययन प्रतिष्ठान, पारदर्शिता र सुशासनमा काम गर्ने सार्वजनिक नीति अध्ययन प्रतिष्ठान(विश्वव्यापी) र सर्वोत्कृष्ट निष्पक्ष सार्वजनिक नीति अध्ययन प्रतिष्ठान (विश्वव्यापी) मा सूचिकरण भएको छ । प्रतिवेदनले ४,७५० पत्रकार, नीति निर्माता, सार्वजनिक र निजी दाता संस्थान, र क्षेत्र विशेषज्ञको परामर्शबाट ६,८४६ वटा सार्वजनिक नीति अध्ययन प्रतिष्ठानलाई सूचीमा राखेको छ । प्रतिवेदनमा उल्लेखित वर्ग विभाजन “भौगोलिक क्षेत्र”, “अनुसन्धान क्षेत्र” र “विशेष उपलब्धि”को आधारमा विभाजन गरिएको छ ।
सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक १६ अंकले उकालो, ५२ करोडको सेयर कारोबार
काठमाडौं । केही दिन यता सेयर बजारमा निकै उतारचढाव देखिएको छ । सोमबार ६५ अंकले झरेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले उकालो लागेको छ । त्यस्तै, मंगलबारको सेयर बजारमा पनि उतारचढाव देखिएको छ । सेयर कारोबार शुरु भएको एक घन्टामै नेप्से परिसूचक बढेर १३३४ अंकमा पुगेको थियो । त्यसपछिको करिब आधा घण्टामा फेरि घटेर १२९३ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १६ दशमलब ९० अंकले बढेर १३२६ अंकमा अडेको छ । सो दिन १३७ कम्पनीको १६ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन ५२ करोड ८५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर करोबार भएको छ । बजारमा बीमा र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १०९ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ, उत्पादमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २५, १९ र १३ अंकले उकालो लागेका छन् । बीमा र अन्य समूहको परिसूचक क्रमशः २८ र ०.२९ अंकले ओरालो लागेका छन् । मंगलबार साल्टी होटल र श्री राम मिल्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
भक्सवेगेन एक्स्चेन्ज कार्निभल शुरु, निशुल्क कार- वासदेखी यूरोप भ्रमणसम्म
काठमाडौं । जर्मनीको बहुराष्ट्रिय मोटर निर्माता कम्पनी तथा मोटर कार ब्राण्ड भक्सवेगेनको नेपालकालागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपालले ‘फक्सवेगेन-एक्स्चेन्ज-कार्निभल’ शुरु गरेको छ । यस कार्निभलमा आफूसँग भएका जुनसुकै ब्राण्डका पूराना गाडीहरु नेपालमा उपलब्ध भक्सवेगनको पोलो, भेन्टो, बीटल र टिगुअन सहित सबै मोडलहरुमा एक्स्चेन्ज अफर लागू गरिने छ । कम्पनीले प्रत्येक गाडीको बुकिङ्गमा हरेक दम्पत्तिलाई थाइलेण्ड भ्रमण गराउने तथा एक जनालाई भाग्यशाली चिट्ठाबाट यूरोप भ्रमणको अवसर प्राप्त गराउने छ । कार्निभलमा गाडीको बुकिङ्ग गर्ने ग्राहकहरुलाई पूर्व मिस नेपालद्वारा स्वागत गरि महिलाहरुकालागि निशुल्क सेफ्टी ड्राइभिङ्ग तालिम र एशेसरिज उपलब्ध गराउनुका साथै पुरानो गाडीको मूल्याङ्कनमा अधिकतम मूल्य उपलब्ध गराइने छ । कार्निभलमा अवलोकन गर्ने सम्पूर्ण आगन्तुक महानुभावहरुलाई निशुल्क कार–बस सेवा प्रदान गरिने छ । यसका अतिरिक्त ग्राहकहरुको सुबिधाको लागि फुड-स्टल, जादू कार्यक्रम, एक्स्चेन्ज बोनस र टेस्ट ड्राइभ गर्नेहरुलाई विशेष उपहार उपलब्ध गराइने छ । फक्सवेगेनका गाडीहरुमा दुई वर्ष सम्म असिमित वारेण्टि दिइने हुनाले बजारमा उपलब्ध अन्य कम्पनीका गाडीहरु भन्दा फक्सवेगनका गाडीहरु उपभाभोक्ता-मैत्री रहेको कम्पनीले दावी गर्दै आएको छ । यस कार्निभल यही माघ १५ गतेदेखि २१ गतेसम्म फक्सवेगेनका थापाथली र पानीपोखरी स्थित आधिकारिक बिक्री केन्द्रहरुमा चल्ने छ ।
अनुदान सम्झौताको ९३ प्रतिशत भूकम्प पीडितलाई पहिलो किस्ताको अनुदान रकम वितरण
काठमाडौं । भुकम्प अति प्रभावित १४ जिल्लामा निजी घरहरुको पुनर्निर्माणका लागि कूल अनुदान सम्झौताको ९३ प्रतिशत घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् । निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनी मध्ये माघ १८ गतेसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेका हुन् । सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोक जिल्लामा अनुदान सम्झौता गरेका ७४ हजार ९ सय २४ घरधनीमध्ये ७४ हजार ९ सय १२ ले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । ओखलढुंगामा १८ हजार ३ सय १, नुवाकोटमा ६० हजार ४ सय ७४, रामेछापमा ३९ हजार ७ सय ५९, दोलखामा ४७ हजार ७९ ले अनुदान प्राप्त गरेका छन् । यस्तै गोरखामा ५२ हजार ६ सय ७५, काभ्रेमा ५९ हजार ७ सय ५१, रसुवामा ८ हजार ८ सय ४८, सिन्धुलीमा २६ हजार १ सय ६२, धादिङमा ५२ हजार ९ सय १७ र मकवानपुरमा १९ हजार ९ घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्पन्न गरेका ७१ हजार ६ सय ८३ घरधनी मध्ये ५० हजार २ सय ४३ ले पहिलो किस्ताको अनुदान प्राप्त गरिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । पहिलो किस्ताको अनुदान पाएर मापदण्ड अनुसार घरको जग निर्माण गरेका ७ सय २० घरधनीले दोस्रो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् ।