बलियो घर महँगो हुँदैन, इन्जिनियर्सकाे सहयाेगमा अनावश्यक खर्च कम हुने
काठमाडौं, ११ असोज । नेपालमा घर तथा आवास निर्माण गर्दा त्यति धेरै प्राविधिक पक्षहरुलाई ध्यान दिएको पाइदैन । प्राविधिक पक्षमा ध्यान नपुर्याउँदा यहाँ बन्ने घरहरु जोखिममा पर्ने गरेको छ । २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ठूला ठूला भवनदेखि पुरात्वातिक सम्पदाहरु मासिएपछि भने मानिसमा बलियो घर बनाउनु पर्छ भन्ने चेतना आएको छ । अब घर निर्माण गर्दा प्राविधिकको सल्लाह बिना घर नबनाउने निष्कर्षमा धेरै मानिस पुगेका छन् । मानिसले भूकम्पपछि डराएर अब भुइँतला वा दुई तलासम्मको मात्र घर बनाउने बताएका छन् । घर बनाउनु अघि नै सावधानी अपनाउन सके हामी ठूलो क्षतिबाट बच्न सक्ने नेपाल इन्जिनिरिङ एशोसिएशनका अध्यक्ष धु्रव थापाले बताए । ‘इन्जिनियरको डिजाईज र सल्लाहमा घर निर्माण गर्नुपर्छ, इन्जिनियर्सको सहयोग विना घर बनाउँदा फेरी ठूलो क्षति सक्छ’ उनले भने । ‘थोरै रकम जोगाउनका लागि हामी प्राविधिकको सल्लाह र सुझाव लिदैनौ र कमसल मालवस्तु प्रयोग गरि घर निर्माण गछौं र त्यो नभत्केसम्म मर्मत सम्भार गर्दैनौ’ उनी भन्छन्–‘भूकम्प प्रतिरोधात्मक डिजाइन गर्दैमा निर्माण खर्च बढ्न भन्ने होइन । बरु नचाहिने ठाउँमा खर्च घट्छ ।’ आममानिसमा भूकम्प प्रतिरोधात्मक घर बनाउँदा धेरै खर्च लाग्छ भन्ने गलत धारणा पाईएको उनले बताए । घर जति ठूलो बनाए पनि जग, पिलर आदिमा गुणस्तरीय सामग्री प्रयोग गरी आर्किटेक्ट तथा सिभिल इञ्जिनीयरसँग सल्लाह गरेर भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्ने स्ट्रक्चरल इञ्जिनीयर प्रह्लाद ज्ञवाली बताउँछन् । उनका अनुसार घर बनाउनुअघि जमीनको माटो परीक्षण गराउनुपर्छ । किफायत गर्न कमसल सामग्री प्रयोग गर्नु नै जोखिम बढाउनु हो । इन्जियियर्सहरुका अनुसार नक्सामा दुई तलाको डिजाइन गराउने र पछि आफ्नै हिसाबले थप्ने, जमिनमुनिबाट पानी बोरिङ गर्ने कार्यले घर कम्जोर हुन्छ । भवन निर्माणको प्रयोजनअनुसार स्ट्रक्चरल डिजाइन गरेर घर निर्माण गर्ने सामग्री (सिमेण्ट, इँटा, बालुवा, गिट्टी, डण्डी आदि)को गुणस्तर परीक्षण गराउनुपर्छ । आर्किटेक्ट नवीन श्रेष्ठका अनुसार नेपालमा गएकोे भूकम्पमा काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा पुराना, माटाले बनाइएका र कमजोर घरहरू बढी क्षतिग्रस्त भएका छन् । गोंगबु तथा बालाजु क्षेत्रमा भत्किएका नयाँ घरहरूको सन्दर्भमा उनले भने, ‘कालो माटो भएकाले उक्त क्षेत्रका घरहरु भत्किएका हुन् । उक्त जमीन घर निर्माणभन्दा पनि खेतीका लागि योग्य छ,’ उनले भने । ठूल्ठूला भवन माटो परीक्षण गराएर बनाइएकाले सिमेण्ट चर्किएका वा बाहिरी भाग मात्र बिग्रिएका छन्, पिल्लर बाङ्गिएको वा भत्किएको त्यति पाइँदैन । नेपालका पुरातात्विक महत्वका धरोहर नष्ट हुनुमा समयमै उचित मर्मत–सम्भार नगरिनु प्रमुख कारण रहेको इञ्जिनीयरहरू बताउँछन् । सामान्यतया २५ देखि ३० वर्षमा एकपटक यस्ता धरोहरहरूको मर्मत–सम्भार गरिने प्रचलन छ । तर, नेपालमा सयौं वर्षसम्म पनि यस्ता धरोहर मर्मत गरेको पाइँदैन । पाटन दरबार स्क्वायरमा जुन–जुन मन्दिर मर्मत–सम्भार तथा पुनर्निर्माण गरिएको छ, तिनमा खासै क्षति भएको छैन । उपत्यकाका तीनओटै दरबार स्क्वायरका मर्मत–सम्भार नभएका मठ–मन्दिर, पाटी र सत्तलहरू भत्किएका छन् । नयाँ घर बनाउँदा अपनाउनु पर्ने सावधानीहरु भूकम्प प्रतिरोधक घर बनाउँदा दायाँ–बायाँ तथा तल–माथि जाने भूकम्पलाई ध्यान दिनुपर्छ । भूकम्प प्रतिरोधक घर बनाउन बिल्डिङको मास गोल्डेन रेशियो हुनुपर्ने ज्ञवाली बताँउछन् । बिल्डिङ सिलिण्डर शेपमा नबनाई बढाउने हो भने त्यही रेशियोमा एरिया पनि बढाउनुपर्छ । ‘घरको पूरै भाग एकआपसमा टाइअप हुनुपर्छ,’ उनले भने, ‘एकअर्कामा राम्रोसँग कनेक्ट भयो भने भूकम्पबाट त्यति डराउनुपर्दैन ।’ रेक्ट्याङ्गल, राउण्ड तथा स्क्वायर शेपका घर भूकम्प प्रतिरोधक मानिने उनको भनाइ छ । यसबाहेक अरू शेप भने ज्वाइण्ट छुट्टयाएर बनाउन सकिन्छ, जसले घरलाई सुरक्षित गर्छ । घरको तला थप्दा बिल्डिङ कर्नरहरू टाइअप हुनुपर्छ । मासलाई पिरामिड स्टाइलबाट तलको भागमा लोड बढी र माथिल्लो भागमा लोड घटाउँदै लैजानुपर्छ । वाल सिष्टमका घरमा कर्नरबाट कम्तीमा पनि २ फिट छोडेकै हुनुपर्छ । ओपनिङ सकभर २५ देखि ५० प्रतिशत राख्दा राम्रो हुने ज्ञवालीले बताए । तर, ५० प्रतिशतभन्दा बढाउनु उपयुक्त हुँदैन । कर्नर वालमा टाइअप गर्नुपर्छ । वाल लामो भयो भने बीचमा अर्काे वालले सपोर्ट गरेको हुनुपर्छ । घर बढाउन खोज्दा फरक–फरक घर छ भने अग्लो र सानो घरको टाइअप छुट्टै गर्नुपर्छ, अन्यथा भूकम्पले हल्लियो भने ठूलोको धक्का सानोमा पर्न सक्छ । भूकम्प प्रतिरोधात्मक घरका दृष्टिले हाम्रा पुराना मल्लकालीन घर उदाहरणीय मानिन्छन् । ती घर भूकम्पबाट बचाउने गरी डिजाइन गरिएको ज्ञवालीले बताए । पहिलेका घर तथा मन्दिरमुनिको वाल ठूलो हुँदै माथि सानो अर्थात् पिरामिड हुन्छन् भने घरको बीचमा चोक पनि यसैलाई ध्यानमा राखी बनाइएको देखिन्छ । घरमा टुँडाल राखिनुको कारण पनि भूकम्पबाट बचाउनु हो । ठाउँ–ठाउँमा टाइअपका लागि चुकुलहरू राखिएका हुन्छन् । झ्यालको माथि काठका टाई बिम राख्नु पनि भूकम्पबाट जोगिने उपाय हो ।
मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै, मूल्य १५ हजारदेखि ३० हजारसम्म
पर्वत, ११ असोज । नेपालीको महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । प्रत्येक वर्ष दसैं तिहारको अघि जस्तै यस वर्ष पनि दसैं तिहारका लागि मुस्ताङ जिल्लाबाट भेडा च्याङ्ग्रा बहिरिएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, तनहुँलगायतका जिल्लामा भेडा च्याङ्ग्रा बिक्री हुने गरेका छन् । हिमाली भेगमा हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम १५ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिए । विगतका वर्षमा तिब्बतबाट समेत भेडा, च्याङ्ग्रा आउने गरेको भएपनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताए । गत वर्षको तुलनामा यस वर्ष भेडा च्याङ्ग्राको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष १५ हजार रुपैयाँमा च्याङ्ग्रा बिक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारीले मुस्ताङमै २० हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । बर्सेनि बडादसैंका लागि चीनबाट समेत आउने भेडा च्याङ्ग्रा यसपटक आउन नसकेपछि अभाव हुने देखिएको छ । रासस
मायोज चाउचाउ बीमा भुक्तानी विवादमा नेपाल इन्स्योरेन्स पनि तानियो, १ करोड ८६ लाख भुक्तानी विवादमा
काठमाडौं, ११ असोज । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गैरकानुनी रुपमा भुक्तानी दिएको भनिएको मायोज चाउचाउ बीमा दाबी भुक्तानी प्रकरणको विवादमा नेपाल इन्स्योरेन्स कम्पनी पनि तानिएको छ । एभरेष्टले मायोजको फ्याकुल्टेटिभ बीमा नेपाल इन्स्योरेन्समा गरेको र एभरेष्टले मायोजलाई दिएको भुक्तानी विवादमा परेपछि रोकिएको दाबी भुक्तानी नेपाल इन्स्योरेन्सले दिएपछि विवाद पुन बल्झेको हो । नेपाल इन्स्योरेन्स संचालक समितिले निर्णय गरेर एभरेष्टको सो फ्याकुल्टेटिभ बीमा दाबी रोक्ने निर्णय गरेको थियो । तर पछि पुन नेपाल इन्स्योरेन्सको संचालक समितिले नै निर्णय गरेर एभरेष्टलाई १ करोड ८६ लाख रुपैयाँ भुक्तानी दिएको छ । यो भुक्तानी गैरकानुनी भएको र संचालक समितिले गलत मनसाय राखेर भुक्तानी दिएको भन्दै सो निर्णय विरुद्ध बीमा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दुई कम्पनीविचको कारोवार भएकोले बीमा समितिले हेर्ने नमिल्ने समितिका एक पदाधिकारीले बताए । ‘यो विशुद्ध दुइटा कम्पनी विचको कारोवार हो, यसमा समितिले हेर्न मिल्ने देखिएको छैन, तैपनि हामीहरु थप अध्ययन गरिरहेका छौं,’ समितिका एक पदाधिकारीले भने । समितिले मायोज चाउचाउलाई बीमा दाबी भुक्तानी गर्दा गैरकानुनी प्रक्रिया अपनाइएको भन्दै बीमा समितिले सो कम्पनीलाई समस्याग्रस्त घोषणा गरेर ब्यवस्थापन आफैले हस्तक्षेप गरेको थियो । यस्तै सो निर्णय प्रकरणमा सहभागी भएको भन्दै एभरेष्टको संचालक समितिका तत्कालिन अध्यक्ष राजेन्द्र खेतान, प्रमुख कार्यकारी अधिकृत केबलकृष्ण श्रेष्ठ सहितका ब्यक्तिहरुलाई कारवाही गरेको थियो । मायोज चाउचाउ राजेन्द्र खेतान अध्यक्ष रहेको कम्पनीको उत्पादन हो भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रबद्र्धक सेयरमा अधिक हिस्सा खेतानकै थियो । सो चाउचाउको बनेपामा रहेको गोदाममा आगलागी भएर क्षति पुगेको भन्दै एभरेष्टले बीमा दाबी भुक्तानी गरेको थियो । तर मायोजको बीमा शुल्क प्राप्त नभएकोले उदारो बीमा गरिएको र त्यस्तो उधारो बीमामा दाबी भुक्तानी गर्न नमिल्ने भन्दै समितिले एभरेष्टमाथि कारवाही गरेको थियो । बीमा समितिको यस्तो कार्य लगत्तै नेपाल इन्स्योरेन्सले फ्याकुल्टेटिभ बीमाको भुक्तानी रोकेको थियो । तर केही समय अगाडि मात्रै नेपाल इन्स्योरेन्सको संचालक समितिले नै निर्णय गरेको सो भुक्तानी दिएको स्रोतले जानकारी दिएको छ ।
चोकोफन नयाँ आकार र प्याकेजिङमा, मिठोसँगै रमाईलो पनि
काठमाडाैं, ११ असाेज । सुजल फुड्स प्रालिले सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड ‘चोकोफन’को नयाँ आकार र प्याकेजिङ्गका साथ बजार प्रवद्र्धनको नयाँ अभियान शुुरु गरेको छ । “हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै” भन्ने सन्देश बोकेको नयाँबजार प्रवद्र्धन अभियान चोकोफोनको मिठो स्वादमा रमाउदै हुर्कदै गरेका बालबालिकाहरुप्रति लक्षित गरिएको छ । साथै, चोकोफनसँग रमाउँदाको पल आफ्नो बाल्यकालको सबैभन्दा रमाइलो पलहरु मध्ये एक हो भन्ने सोच भएकाहरु प्रति पनि सो अभियान लक्षित छ । चोकोफन नयाँ ग्लिटरी डिजाइन तथा अत्याधुनिक टेक्नोलोजीको मेटालिक र होलोग्राम ¥यापरका साथ बजारमा आएको छ । उक्त नयाँ प्याकले चोकफोनसँग जुडेको बाल्यकालको उमङ्ग, खुसीयाली तथा रमाइलो जिन्दगीको भावलाई अपनाएको छ भने आफ्नो नयाँ स्टाइलिश र ट्रेण्डी डिजाइनका साथ सबैको मन जित्ने विश्वास कम्पनीले लिएको छ । वर्षाैंदेखि चोकोफनलाई मायादिँदै आएका बालबालिकाहरुलाई उक्त नयाँ प्याकले झन् उत्साह पस्कने कम्पनीको विश्वास छ । उक्त अभियान अन्तर्गतको टेलिभिजन विज्ञापनले पनि यिनै हुर्किदै गरेका बालबालिकाहरुको चोकोफनसँग जुडेका भावनाहरु तथा उनीहरुको सम्पूर्ण बाल्यकाललाई झल्काएको छ । यही दृश्यलाई कम्पनीले पत्रपत्रिका तथा होेर्डिङ्ग विज्ञापनमा पनि उतारेको छ । चोकोफनले आफ्नो तीन तहको क्रन्ची–क्रिस्पीवेफर, चकलेट क्रिम तथा स्वादिलो बाक्लो चकलेट मार्पmत नेपालमा स्वादका पारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको छ । लक्ष्मी ग्रुपको अन्तरगतको सुजल फुड्स नेपालकै सबैभन्दा ठूलो कन्फेक्स्नरी उत्पादक कम्पनी हो । आईएसओ २२०००ः२००५ अन्र्तराष्ट्रि«य मापदण्ड प्राप्त सुजल फुड्सले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ । कम्पनीको उत्पादनहरु चाकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्याण्डीम्यान, फ्रेसो र लभ बर्ड्स वर्षौदेखि उपभोक्ताहरुले मन पराउँदै आएका छन् ।
पर्यटन प्रवद्र्धन गर्न काठमाडौंबाट बुलेट राइडर सोलुखुम्बु प्रस्थान
काठमाडौं, ११ असोज । सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह मंगलबार काठमाडौंबाट प्रस्थान गरेको छ । २३ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्ने छ । मंगलबार आयोजित एक कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट २०१६ आकांक्षा भट्टराईले सो समूहलाई विदाई गरेका छन् । नासा बुलेट क्लबका महासचिव राम साहले रोड लिडरको रुपमा सो समूहको नेतृत्व गरेका छन् । सो अवसरमा सांसद उप्रेतीले नेपाली युवाहरु विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले धानिरहेको देशमा पर्यटन प्रवद्र्धनबाट पनि देशलाई फाइदा पु¥याउन सकिन्छ भन्ने उदाहरण बुलेट राइडले प्रस्तुत गरको बताए । विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको उक्त बुलेट राइडले करिब २ सय ३५ किलोमिटरको दुरी पार गर्नेछ । मौसमले साथ दिएमा सगरमाथा क्षेत्रको अवलोकन गरी फर्किन कार्यक्रम रहेको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त बुलेट राइड कार्यक्रमको आयोजना गरिएको हो ।
माइक्रोम्याक्सको क्यिू फो सिक्स टू नेपाली बजारमा, मूल्य १२ हजार रुपैयाँ मात्र
काठमाडौं, ११ असोज । विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति क्यिू फो सिक्स टू (क्यानभास फाइभ लाइट) नेपाली बजारमा ल्याएको छ । उक्त क्यिू फो सिक्स टूमा विशेष किसिमको प्रोसेर रहेको छ । यो १.० जिगा हर्ज कार्ड–कोर प्रोसेसरद्धारा सञ्चालित छ र यसमा १६ जिबी रोम रहेको छ । यस फोनमा ५.० एचडी डिस्प्ले र २ हजार महको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसमा ८ एमबी हाइ रिजोलुसन अटोफोकस रियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीका लागि रहेको छ । यसमा ८ एमपी प्राइमेरी र ५ एमपी र ५ एमपी फन्र्ट क्यामेरा जडित भएबमे हुाम ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको कम्पनीले जनाएको छ । उक्त मोबाइलमा २ जिबी र्याम, १६ जिबी रोम र थप ३२ जिबी एक्सपेन्डएबल एसडी कार्ड प्रयोग गर्न सकिने छ । यो फोनमा शक्तिशाली २ हजार माँको व्याट्री रहेको छ । साथै यसमा डियूल र हाइव्रिडड सिम स्लट भएको डियूल र हाइव्रिड सिम सल्ट भएको थ्री जि र फो जि नेटवर्कलाई पनि सर्पोट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् । हाल बजारमा यसको मूल्य १२ हजार एकसय रुपैयाँ रहेको छ । यो स्मार्टफोनमा कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन् भन्ने कम्पनीको विश्वास रहेको छ ।
निगमले ठूला जहाज खरिद प्रक्रिया सुरु गर्यो
काठमाडौँ, ११ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि आज बोलपत्र (टेन्डर) आह्वान गरेको छ । आगामी १८ महिनाभित्र जहाज खरिद गर्नेगरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए । ‘दुई ठूला जहाज खरिद प्रक्रियाका लागि ४५ दिने टेन्डर आह्वान गरिएको छ, एक वर्षमा एउटा र छ महिनामा अर्को जहाज खरिद गर्छौं,’ उनले भने । सेवा विस्तार र गुणस्तरका लागि निगम अब पूर्णरुपमा लागेको उनको भनाइ छ । सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरबस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना रहेको निगमले जनाएको छ । निगमको बोलपत्रअनुसार २५ अर्बमा दुई वटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको छ प्रतिविमान दुई वटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिएको छ । त्यस्तै निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटमा ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म विजनेस क्लास, २–४–२ फम्र्याटमा ३० देखि ३६ इन्चसम्मको पिच भएका इकोनोमी क्लासका सिटसहित जम्मा २५० देखि २८० सम्म सिट हुनुपर्नेछ । निगमलाई जहाज किन्न आवश्यक पर्ने ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तयार भएका छन् भने अर्थमन्त्रालयले ऋणका लागि जमानत बस्न स्वीकृति दिइसकेको छ । रासस
बेरोजगारीदर घटाउन र नेपाली समाजको सेफ्टी भल्बको भूमिकामा बैदेशिक रोजगारी, राष्ट्र बैंकले फेला पार्यो १२ महत्वपूर्ण नतिजा
काठमाडौं, ११ असोज । बैदेशिक रोजगारीले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य फेला परेको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले बैदेशिक रोजगारीको कारण गरिब नेपालीको घरपरिवार चलेको, शिक्षा, स्वास्थ जस्ता मानव विकास सुचकांकमा सुधार भएको, देशको लागि आवश्यक विदेशी मुद्राको जोहो भएको जस्ता तथ्य अध्ययनले देखाएको छ । सो अध्ययनले प्रकाश पारेको पहिलो तथा महत्वपूर्ण नतिजा नीतिगत तथा संस्थागत व्यवस्था जस्ता संरचनागत सुधारले नेपालको वैदेशिक रोजगारीको विकासमा खेलेको भूमिका हो । वि.सं. २०४२ मा वैदेशिक रोजगार ऐन जारी भए पश्चात् नेपालमा वैदेशिक रोजगारी सम्बन्धी नीतिगत तथा संस्थागत प्रयास थालनी भएको हो । वैदेशिक रोजगारीको महत्वलाई आत्मसात् गरी आठौँ योजना (२०४९–५४) देखि वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूको खोजी गर्ने प्रक्रियालाई महत्व दिन थालिएको हो । वि.सं. २०५४ फागुन १ गतेदेखि सर्वसाधारण नेपालीलाई जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानी बनाउने सुविधा सुरु गरे पश्चात् ग्रामीण क्षेत्रका नेपाली समेत वैदेशिक रोजगारमा जाने क्रम तीव्र बन्यो । यसै क्रममा वि.सं. २०५६ मा राष्ट्रिय श्रम नीति, वि.सं. २०६४ मा वैदेशिक रोजगार ऐनमा संशोधन र २०६५ मा वैदेशिक रोजगार विभागको स्थापना जस्ता संरचनागत सुधारले वैदेशिक रोजगारमा जान नेपालीलाई थप सहजीकरण ग¥यो । नेपालले मुलुकबाहिर कामको खोजीमा जानको लागि ११० मुलुकहरू खुल्ला गरेको छ भने हाल १०३३ मेनपावर कम्पनीहरूले इजाजत लिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका छन् । वैदेशिक रोजगारीले नेपालमा बेरोजगारीदर घटाउन र नेपाली समाजको लागि सेफ्टी भल्बको भूमिका खेलेको तथ्य प्रकाशमा ल्याउनु यस अध्ययनको दोस्रो महत्वपूर्ण नतिजा रहेको छ । उपर्युक्त संस्थागत व्यवस्थाका कारण आ.व. २०५०/५१ देखि आ.व. २०७१/७२ सम्ममा ३९ लाख २७ हजार नेपाली रोजगारीका लागि मुलुकबाहिर जान सम्भव भएको छ । यसको परिणामस्वरूप आ.व. २०५०/५१ मा विप्रेषण आप्रवाह रु. २ अर्ब १५ करोड रहेकोमा आ.व. २०७१/७२ मा रु. ६ खर्ब १७ अर्ब रह्यो जसको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९ प्रतिशत हुन आउँछ । अध्ययनले देखाएको तेस्रो महत्वपूर्ण नतिजा भनेको विप्रेषण सम्बन्धमा विश्वसँग नेपालको सापेक्षित स्थान हो । विप्रेषण रकमको हिसाबले विश्वमा नेपाल २३ औं स्थानमा छ । आ.व. २०५०/५१ देखि आ.व. २०७१/७२ सम्म कामको खोजीमा मुलुकबाहिर गएका ३९ लाख २७ हजार कामदार सङ्ख्याको नेपालको कुल जनसङ्ख्यासँगको अनुपात करिब १४ प्रतिशत हुन आउँछ । यो अनुपातको आधारमा कामको खोजीमा विदेश गएको जनसङ्ख्या विश्वमा लेवनानपछि नेपालको दोस्रो ठूलो देखिन्छ । कुल गार्हस्थ्य उत्पादनसँग विप्रेषण आप्रवाहको अनुपातको हिसाबले नेपाल विश्वमा तेस्रो स्थानमा छ । चौथो महत्वपूर्ण नतिजा विदेशमा काम गर्ने नेपालीले पठाउने गरेको वार्षिक औसत विप्रेषण रकम हो, जुन यस अध्ययनले रु. ५ लाख ३२ हजार रहेको देखाएको छ । उक्त रकमलाई मासिक रूपमा प्रस्तुत गर्दा रु. ४४ हजार ३३३ हुन आउँछ, जुन औसत नेपालीको लागि आकर्षक रकम हो । पाँचौँ, यस अध्ययनले मेनपावर कम्पनीहरूबाट खाडी मुलुक तथा मलेसियामा वैदेशिक रोजगारमा गएका बहुसङ्ख्यकले औपचारिक माध्यमबाट तर भारत, कोरिया लगायत विकसित मुलुकमा गएकाहरूले अनौपचारिक माध्यमबाट रकम पठाउने गरेको देखाएको छ । यस अध्ययनले ९०.९ प्रतिशत विप्रेषण रेमिट कम्पनी लगायत बैंक तथा वित्तीय संस्थाबाट र ५.९ प्रतिशत हुण्डी मार्पmत् नेपाल भित्रिने देखाएको छ । छैटौँ, वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरू मध्ये खाडी मुलुकहरूमा ५६.९ प्रतिशत, मलेसियामा २६.६ प्रतिशत, विकसित मुलुकतर्पm ८.१ प्रतिशत र भारतमा ४.४ प्रतिशत नेपालीहरू कामको खोजीमा जाने गरेको अध्ययनले देखाएको नतिजा हो । सातौँ, स्थलगत सर्वेक्षणमा समेटिएका मध्ये ८०.८ प्रतिशत घरपरिवारको विप्रेषण बाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८.८ प्रतिशत घर परिवारले उपभोग खर्चको लागि विप्रेषण आयमा पूर्ण रूपमा भर पर्नुपर्ने देखिएबाट वैदेशिक रोजगारीले गरिबी न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका हो । विप्रेषणबाट प्राप्त आम्दानीका कारण नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको अनुपात क्रमशः घट्दै गएको छ । मुलुकको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हाल विदेशी विप्रेषण रहेको छ । साथै, नेपालमा शिक्षा–स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा सुधार आउनुको प्रमुख कारण पनि विप्रेषण आय नै देखिएको छ । आठौँ, वैदेशिक रोजगारीमा गएका १८.८ प्रतिशत घरपरिवारको आम्दानी विप्रेषण मात्र रहेको सन्दर्भमा गन्तव्य मुलुकको रोजगारीमा कुनै व्यवधान आएमा ती घरपरिवारको गरिबीको दर पनि बढ्ने देखिन्छ । यस किसिमको जोखिमलाई नेपालले नीति निर्माण मार्पmत बेलैमा सम्बोधन गर्नु आवश्यक छ । नवौँ, विप्रेषण आयको प्रयोग ऋण तिर्न २५.३ प्रतिशत, दैनिक उपयोगको लागि २३.९ प्रतिशत, शिक्षा, स्वास्थ्यमा ९.७ प्रतिशत, सामाजिक कार्यको लागि ३ प्रतिशत, उत्पादनमूलकमा १.१ प्रतिशत र बचत कार्यको लागि २८ प्रतिशत हुने अध्ययनले देखाएको छ । आ.व. २०५०÷५१ मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य बचत अनुपात १४.६ प्रतिशत भन्दा अलिकति माथि १६.८ प्रतिशत रहेको तुलनामा आ.व. २०७१÷७२ मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य बचत अनुपात ११.४ प्रतिशत भन्दा उल्लेख्य ४४.६ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिन्छ । दशौँ, वैदेशिक रोजगारीका लागि जाने घरपरिवार मध्ये ६४.१ प्रतिशत घरमुलीको र ३६.६ प्रतिशत वैदेशिक रोजगारीमा जाने व्यक्तिको बैंक खाता रहेको देखिन्छ । यस तथ्याङ्कबाट वैदेशिक रोजगारीका लागि गएका व्यक्तिहरु मध्ये करिब दुई तिहाई बैंकिङ्ग सञ्जालमा नसमेटिएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने व्यक्ति वा उसको परिवारको कुनै एक व्यक्तिको नाममा बैंक खाता खोलेको हुनुपर्ने प्रावधान वा केही प्रोत्साहनको व्यवस्था मात्र गर्न सकिए वित्तीय समावेशी कार्यलाई अझ विस्तार गर्न सकिने देखिन्छ । एघारौँ, वैदेशिक रोजगारीको लागि लाग्ने खर्चको स्रोत मध्ये साहु–महाजन/व्यापारीबाट ५२ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट ६.३ प्रतिशत रहेको देखिएको सन्दर्भमा वित्तीय पहुँच अभिवृद्धिका लागि अभैm अनुकूल नीतिगत व्यवस्था गर्नु आवश्यक देखिएको छ । बाह्रौँ, विप्रेषण आय प्राप्त गर्ने घरपरिवारले कामभन्दा फुर्सद रोज्ने गरेको देखिएकोले विप्रेषण आप्रवाहले कुल गार्हस्थ्य उत्पादन अभिवृद्धिमा प्रतिकूल प्रभाव पारेको देखिन्छ । यो प्रवृत्ति रोक्न र घरपरिवारका सदस्यलाई आय आर्जन गतिविधिमा संलग्न गराई विप्रेषण आप्रवाहलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता देखिन्छ । यसो हुन सके दीर्घकालीन गरिबी न्यूनीकरण गर्न मद्दत मिल्ने र राष्ट्रिय उत्पादन अभिवृद्धिमा यस्ता परिवारको समेत योगदान पुग्ने देखिन्छ । विप्रेषण रकम उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्देश्यले आ.व. २०६६/६७ देखि नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गर्न थालेको भए पनि सोप्रति वैदेशिक रोजगारीमा जानेको आकर्षण न्यून रहेको देखिन्छ । यसरी उठाइएको रकम नेपाल सरकारले जलविद्युत लगायत कुनै विशेष क्षेत्रमा लगानी गर्ने उद्देश्य राखी परिचालन गरेमा वैदेशिक रोजगारीमा जानेहरूले पनि गर्व गर्ने र उनीहरुको सेयर सहभागिताका कारण आय आर्जन अभिवृद्धि हुन सक्ने भएकाले आगामी दिनमा नेपाल सरकारले खास परियोजनामा लगानी गर्ने उद्देश्य राखी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने नीतिगत व्यवस्था गर्नु उपयुक्त हुन्छ ।