विकासन्युज

भूकम्प पीडितलाई तीन लाख अनुदान दिने औपचारिक निर्णय, दसैंअघि पहिलो किस्ता रकम बाँडिसक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १० असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प पीडित जनताले घर पुनर्निर्माणका लागि पाउने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न सातौं बैठकले पहिलो किस्तामा ५० हजार र बाँकी दुई किस्तामा दुई लाख पचास हजार रुपैयाँ गरी तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो । तेस्रो किस्ताको रकम मध्येबाट २५ हजार रुपैयाँ शौचालय, बायोग्याँस र सोलरका लागि प्रयोग गर्ने गरी उपलब्ध गराउने निर्णय भएको छ । बैठकले प्राधिकरणको आर्थिक वर्ष २०७३/७४ को बजेट तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । त्यस्तै प्राधिकरणको संगठनात्मक संरचना र कार्य प्रणालीको पुनरावलोकन र जनशक्ति व्यवस्थापनका सम्बन्धमा थप छलफल गर्ने निर्णय गरेको छ । बैठकमा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय स्तरमा रहेका उपक्षेत्रीय कार्यालयहरुलाई जिल्ला समन्वय समितिको सचिवालयमा परिणत गरी पुनर्निर्माणको अनुगमन लगायतका समग्र काममा जिल्ला समन्वय समितिलाई थप प्रभावकारी बनाउन, उपत्यकामा तत्काल अनुदान सम्झौता अघि बढाउन र बाँकी जिल्लामा लाभग्राही सर्भेक्षण गर्न कार्ययोजना अनुसार काम गर्न निर्देशन दिएका छन् । उनले बैठकमा उठाएइका विषयका सम्बन्धमा थप गृहकार्य गरी आगामी दश दिनभित्र प्राधिकरणको परामर्श परिषद्को बैठक र एक महिनाभित्र निर्देशक समितिको बैठक राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले पुनर्निर्माणका कामहरुलाई सबै मिलेर अघि बढाउनका लागि नै परामर्श परिषद् र निर्देशक समितिमा विपक्षी दलका नेता राख्ने व्यवस्था गरिएको जानकारी गराए । यस्तै असोज २१ गतेसम्ममा (दसैं अघि) प्राविधिक समस्या नभएका र अनुदान सम्झौता सम्पन्न भइसकेका घरधनीहरुलाई प्राथमिकतामा साथ अनुदान रकम उपलब्ध गराउन पनि उनले सम्बन्धित सबैलाई निर्देशन दिएको प्राधिकरणमा प्रबक्ता रामप्रसाद थपलिया जानकारी दिए ।

सानिमा क्यापिटलको नयाँ कार्यालय काठमाडौंको नक्सालमा

काठमाडौं, १० असोज । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले नारायणचौर, नक्साल स्थित कार्यालयको उद्घाटन गरेको छ । बैंकद्धारा आयोजित एक समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्वेस्डर मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका हुन् । सोहि अवसरमा धितोपत्र बोर्डका अध्यक्षले सानिमा क्यापिटलको उत्तरोत्तर प्रगतिको शुुभकामना ब्यक्त गरेका थिए ।त्यसै गरि प्रमुख अथिती कलाकारहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले वधाई तथा शुुभ कामना ब्यक्त गरेका छन् । साथै, सर्वसाधारणमा मर्चेण्ट बैंकिङ्गले प्रदान गर्ने सेवा तथा सुुविधाहरुको वारेमा जन–चेतना अभिवृद्धि गर्दै समग्र धितोपत्र वजारको वारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बुम रेमिट्यान्सको एजेन्टमा फरवार्ड कम्युनिटी र काँक्रेविहार नियुक्त

काठमाडौं, १० असोज । बुम रेमिट्यान्स प्रा.लीले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था र काँक्रेविहार बिकास बैकलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १७०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिष्णुमान श्रेष्ठ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले र काँक्रेविहार बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कर्णबहादर सिन्जालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

एभरेष्ट बैंकद्वारा रत्न राज्य विद्यालयलाई शद्ध पिउने पानी वितरण

काठमाडौं, १० असोज । एभरेष्ट बैंकले बानेश्वरको रत्न राज्य उच्च माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी सेवा हस्तान्तरण गरेको छ । उक्त सेवाको उद्घाटन भूतपूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा पूर्व मन्त्री, सभासदहरु, पन्जाव नेशनल बैंक तथा एभरेष्ट बैंकका उच्च पदस्त अधिकारीहरुको उपस्थीति थियो । एभरेष्ट बैंक सामाजिक उत्तरदायित्व प्रति सम्बेदनशिल रहेको छ । साथै यस अन्तरगत बृहत जनहितका लागि बिशेषत राम्रो स्वास्थ्य, गुणस्तरीय शिक्षा, जनचेतना, पूर्वाधार लगायतका क्षेत्रमा योगदान गर्दै आएको छ । साथै बैंकले विद्यालयहरुलाई कम्प्यूटर, उपकरणहरु तथा अन्य आवश्यक सामाग्री समेत प्रदान गर्दै आएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेसको दशैँ तिहार योजनामा काठमाडौँमा ४ आना घडेरी

काठमाडौं, १० असोज । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ(तिहारको अवसरमा ‘सिटी बनाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ नामक उपहार योजना ल्याएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । यस्तै हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन पनि प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले भने, ‘हामीले विगतमा गाडी तथा मोटरसाइकलजस्ता उपहार दिँदै आएका थियौँ । तर यो वर्षको दसैँ(तिहारलाई मध्यनजर गर्दै जग्गा नै दिने निर्णय गरेका हौँ ।’ घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकहरूको सपनाको कदर गर्दै जग्गा नै दिन लागिएको उनले बताए ।

दिल्लीबाट काठमाडौं आउँदै गरेको एयरवसको आकस्मिक अवतरण, सबै यात्रुहरू सुरक्षित

काठमाडौं, १० असोज । नेपाल वायुसेवा निगमको दिल्लीबाट काठमाडौं आउँदै गरेको २०५ उडान नम्बरको एयरबस काठमाडौं बिमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं विमास्थल नजिकैको १२ हजार ५०० फिटमा उडान गरिहेको यो जहाजको ककपीटमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार जहाज आकस्मिक आवतरण गरेकोले जहाज तथा विमानस्थलको निरीक्षणका लागि एक घण्टा विमानस्थल बन्द गरिएको हो । निगमको यो जहाज पूर्ण क्षमतामा यात्रु बोकेर दिल्लीबाट काठमाडौं आएको थियो । यो जहाज दिउँसो ३ बजेर २७ मिनेटमा आकस्मिक अवतरण गरेको थियाे । त्यसपछि एयरपोर्टमा फुल इमर्जेन्सी घोषणा गरेर तीन बजेर ४० मिनेटमा प्लेनलाई ल्याण्ड गरिएको ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार करिब आधा घण्टा जति एयरपोर्टलाई बन्द गरी इमर्जेन्सी अवस्थामा राखेर सम्पूर्ण तयारी हालतमा राखिएको थियो। एम्वुलेन्स, हवाइ सुरक्षा लगायत अन्य सुरक्षाको बन्दोवस्त पूर्ण रुपमा तयार राखिएको उनले जानकारी दिए। तीन बजेर ५६ मिनेटसम्म एयरपोर्ट बन्द गरिएको थियो। सो समयमा कुनैपनि हवाइ उडान र अवतरणको काम नभएको ठाकुरले बताए। अहिले एयरपोर्ट नियमित अवस्थामा चलेको छ। जहाज आकस्मिक अवतरण गरेका कारण विमानस्थल कार्यालयले संभावित जोखिम न्युनिकरणका लागि दमकलसहितका सम्पूर्ण आकस्मिक उद्धारका सामग्री तयारी अवस्थामा राखेको छ । जहाज सुरक्षित अवतरण गरेकोले यात्रु सुरक्षित रहेको र विमानस्थलको अवस्था पनि सामान्य रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

परिसूचक २६ अंकले उक्लियो, सबै समूहमा हरियाली, एभरेष्टको २२ करोडको कारोबार

काठमाडौं, १० असोज । धेरै दिन पछि सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलब ४६ अंकले बढेर १७५७ अंकमा पुगेको छ । सो दिन १३२ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर करिब एक अर्ब बढी रुपैयाँमा किनबेच भएको छ । सो दिन कारोबार भएका ७ बटै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै होटल, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ५४, ३१ र २१ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको २२ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्र्त, नेपाल बङ्गलादेश बैंकको १० करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नादी ग्रुप पावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले करिब ५ प्रतिशत गुमाएका छन् ।

सेल्फीप्रेमीका लागि जेडटिइ एस ७ नेपाली बजारमा, मूल्य २६ हजार ५ सय रुपैयाँ

काठमाडौं, १० असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा उपलब्ध गराएको छ । कम्पनीले दशैँ क्यास ब्याक अफरसहित ब्लेड एस ७ सार्वजनिक गरेको हो । उक्त ब्लेड एस ७ मा ५ इन्च को फूल एचडी डिस्प्ले रहेको छ । ४४१ पिक्सेल डेन्सिटी भएकाले फोनको पिक्चर गुणस्तर आकर्षक रहेको छ । साथै, फोनको अगाडि र पछाडि दुबैभागमा कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहेको कम्पनीले बताएको छ । फोनको क्यामेरा र यसमा प्रयोग भएका कम्पोनेन्टहरु हुन् । ब्लेड एस ७ को अगाडि र पछाडि दुबैपट्टि १३/१३ मेगपिक्सलको क्यामेरा प्रयोग गरिएको छ । पछाडिको क्यामेरामा फ्लाससहित लेजर अटो फोकसको प्रयोग गरिएको छ जुन एप्पलको आइफोनमा प्रयोग हुन्छ । यस लेजर अटोफोकसको मद्दतले फोटो जुम गर्दा क्यामेरा स्टेबल हुनुका साथै सफा फोटो आउँदछ । यसैगरी, सेल्फी फोटोप्रमीहरुको लागि पनि यो फोन एक उत्कृष्ट रोजाई बन्नेछ । एलइडी फ्लाससहित १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा भएकाले प्रयोगकर्ताले आकर्षक र नेचुरल सेल्फी फोटोको मज्जा लिन पाउने छन् । क्यामेराका अन्य फिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् । स्मार्टफोनमा ३ जिबी र्याम र ३२ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर १२८ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टमा चल्ने यस फोनमा अक्टा कोर १.५ गिगाहर्ज स्नाप्ड्रागन ६१५ प्रोसेसरको प्रयोग भएकाले फोन दु्रत गतिमा चल्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । होम बटनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । ब्लेड एस ७ का अन्य फिचरहरुमा डुअल सिम, एफएम रेडियाे लगायत छन् । स्मार्टफोनको बजार मूल्य २६ हजार ५ सय रुपैयाँ रहेको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड एस ७ को खरिदमा २ हजार दशै क्यास ब्याक अफर दिइएको छ । यसरी खरिदकर्ताले २४ हजार ५ सय रुपैयाँमै यो स्मार्टफोन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।