१६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी, कहाँ कहाँ जडान हुँदै ?
खोटाङ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रीजी सहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको टेलिकमले यसै चालु आर्थिक वर्षभित्र जिल्लाका थप १४ स्थानमा पनि टेलिफोन टावर जडान गर्ने तयारी गरेको हो । टेलिफोन टावर जडान गर्न भौतिक तथा प्राविधिक अध्ययन भइसकेको र सामान पनि ल्याउन थालिएको टेलिकमका प्रमुख भरोसी साहले जानकारी दिए । “सदरमुकाम दिक्तेलकै केही क्षेत्र र जिल्लाका धेरै ठाउँबाट मोबाइलले राम्रो काम नगरेको जनगुनासो आएको छ,” उनले भने, “टेलिफोन टावर जडान गरेपछि सेवाग्राहीको सबै समस्या समाधान हुन्छ ।” टेलिकमले दिक्तेलको दुई ठाउँका साथै बाहुनीडाँडा, बाम्राङ, बराहपोखरी, खार्पा, बतासे, सप्तेश्वर, बुइपा, फेदी, रतन्छा, सल्ले, स-छितापोखरी, सावाकटहरे, सिम्पानी र काहुले गाविसमा टावर जडान गर्नेछ । टेलिफोन टावरका लागि आवश्यक उपकरण ल्याउने काम भइरहेको टेलिकमले जनाएको छ । त्यसो त खोटाङ पहिलेको भन्दा सञ्चार सुविधामा अग्रस्थानमा आएको छ । यसअघि जिल्लामा तीनसय ५० थान ल्यान्डलाइन टेलिफोन र केही सङ्ख्यामा मोबाइल सेवा सञ्चालनमा आएको जिल्लामा अहिले करिब दुई हजारको हाराहारीमा ल्यान्डलाइन टेलिफोन विस्तार गरिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, ऐँसेलुखर्क र खोटाङबजारमा ल्यान्डलाइन टेलिफोन विस्तार भइसकेको छ । जिल्लामा लाखौँको सङ्ख्यामा नमस्ते र स्काई फोन चलाउने सेवाग्राही छन् । टेलिकमबाट मात्रै ४१ हजार तीनसय ४२ थान जिएसएम सेवाअन्तर्गत नमस्ते मोबाइलको सिम वितरण गरिएको र १० हजार दुईसय ४८ वटा सिडिएमए र स्काई फोनको कार्ड वितरण गरिएको जनाइएको छ । इन्टरनेट सेवाअन्तर्गत जिल्लामा दुईसय ६६ ल्यान्डलाइन टेलिफोनमार्फत उपभोक्ताले एडिएसएल सेवा सञ्चालन गरिरहेका छन् । रासस
सनराइज बैंकले शुरु गर्यो चिपमा आधारित इएमभी कार्ड
काठमाडौं । सनराइज बैंकले चिपमा आधारित इएमभी कार्डहरुको शुरुवात गरेको छ । बैंकले विद्युतिय कारोवारको सुरक्षाप्रति सजग रही हाल प्रयोगमा रहेका कार्डहरुलाई थप सुरक्षित पार्दै उक्त कार्डहरु प्रचलनमा ल्याएको हो । साथै ग्राहकहरुलाई थप सुविधा दिने उद्धेश्यले चिपमा आधारित क्रेडिट कार्ड तथा विदेश जाने व्यक्तिहरुलाई लक्षित गर्दै विदेशी मुद्राको प्रिपेड कार्डहरु समेत प्रचलनमा ल्याएको छ । विद्युतिय कारोबारबाट सृजना हुने जोखिमलाई न्यूनिकरण गर्नको निमित्त हाल चल्तिमा रहेका म्याग्नेटि स्ट्रिप कार्डहरुलाई अन्तराष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुसार चिपमा आधारित इएमभि कार्डमा क्रमशः प्रतिस्थापन गर्दै जाने बैंकले जनाएको छ । बैंकको हाल ६७ शाखा, ७२ एटिएम, १३ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा एक्स्टेन्सन काउन्टरहरु रहेका छन् ।
हिमालय एअरलाईन्सले शुरु गर्यो काठमाडौं-क्वालालम्पुर-काठमाडौं नयाँ उडान, हप्तामा ५ दिन सञ्चालन हुने
काठमाडौं । नेपाल-चीनको सँयुक्त लगानीमा सच्चालित हिमालय एअरलाईन्सले आफ्नो तेस्रो गन्तव्य काठमाडौं-क्वालालम्पुर-काठमाडौं मार्गको नयाँ उडान शुरु गरेको छ । शुरुवातसँगै एअरलाईन्स शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहा र कोलम्बो पछिको गन्तव्य क्बालालम्पुर प्रस्थान गरेको हो । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका मन्त्री जीवनबहादुर शाही, सह-सचिव बुद्धिसागर लामिछाने, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीद्वारा उडान सेवाको उद्घाटन गरिएको थियो । मलेसियन दुतावासको चार्ज दि एफिअर अहमद फादिल पनि क्वालालम्पुर उडानमा सहभागी थिए । उद्घाटन उडानबारे टिप्पणी गर्दै प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने, “हिमालय एअरलाईन्सले निरन्तर यसको गन्तव्य बढाउदै छ । हामीलाई विश्वास छ, क्वालालम्पुरको प्रारम्भिक उडानमै शतप्रतिशत भरिभराउ र अग्रिम बुकिङ्गले हामीलाई यस उडान मार्गले सफलता पाउने रुपमा आत्मविश्वास दिलाएको छ ।” हप्ताको पाँच दिन उडान गर्ने एअरलाईन्सले काठमाडौं-क्वालालम्पुर-काठमाडौंको लागी शुरुवाती टिकटदर २५ हजार ३७५ (राउण्ड ट्रिप)कायम गरेको छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन । “यीदुई शहरहरु जोडिएकोमा हामीगर्व गर्छाै र विश्व समुदायमा यो मार्गलाई सक्षम बनाउन सकेसम्म तप्पर रहने छौ ।” कम्पनीका उपाध्यक्षले बताए । एअरलाईन्सले कार्निभल ट्राभल एसडिएन बिएचडिलाई मलेसियाको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछ । काठमाडौं–क्वालालाम्पुरः उडान समयतालिका –(माघ २८ देखि लागू)
कर्जा नियन्त्रणले सवारी साधनको व्यापार २० प्रतिशतले घट्न सक्ने, अर्थतन्त्र संकूचनतिर जाँदै
काठमाडौं । सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जा ‘अटोलोन’ नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिएपछि सवारी साधनको व्यापारमा करिव २० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । सवारी कर्जा नियन्त्रणलाई अर्थतन्त्र संकूचनतिर लैजाने पहिलो कदमको रुपमा हेरिन लागेएको छ । सवारी साधन खरिदको लागि कर्जा प्रवाह नगर्ने राष्ट्र बैंकको नीति हो र बैंकहरुले सोहीअनुसार निर्णय गरेको भए त्यो गलत हुने नेपाल अटोमोवाईल डिलर्स एशोसिएशन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् । ‘‘आधिकारीक निर्णय आएको छैन । समाचारमा आए जस्तै अटो लोन नियन्त्रण गरिन लागेको हो भने ‘रोग एउटा, उपचार अर्को’ हुनेछ’’ श्रेष्ठले भने । अटोलोन नियन्त्रण गरिएमा अटोमोवाइल्सको करिब २० प्रतिशतले खस्कने नाडाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल बताउँछन् । ‘९८ प्रतिशत उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सवारी किन्ने गरेका छन्’ दाहाल भन्छन्-‘कर्जा नियन्त्रण हुने हो भने मोटर साईकलदेखि हेवि इक्वीप्टमेन्ट सम्मको आयात खस्कन सक्छ ।’ सवारी साधन किन्दा बैंक तथा वित्तीय संस्थाले तिनै साधनलाई धितोको रुपमा लिएर मूल्यको ८० प्रतिशत कर्जा लगानी गर्छन् । नेपालमा मात्र होइन, विश्वभरनै बैंकहरुले सवारी खरिदको लागि कर्जा प्रवाह गर्छन् । सवारी कर्जालाई बैंकहरुले सुरक्षीत लगानीको रुपमा लिन्छन् । ट्रक टिपर, एक्टाभेटर, डेजर, लोडर जस्ता सामाग्री उत्पादन र विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धीत भएकोले त्यस्ता साधनमा पनि कर्जा नियन्त्रण गरिएमा त्यो ठूलो गल्ती हुने उनले बताए । ‘अटोलोन उठेन भन्ने पनि छैन, बैंकहरुले सीमा भन्दा बढी यस क्षेत्रमा लगानी गरे भन्ने पनि छैन’ दाहाल भन्छन्-‘सरकारले पूँजीगत खर्च गर्न नसक्दा समस्या आएको देखिन्छ । सरकारले पूँजीगत खर्च बढाउने हो भने सबै समस्या हल हुने थियो ।’ आर्थिक संकट आउँदा अमेरिका, चीन, जापान जस्ता विकशित देशका सरकारले खर्च वृद्धिलाई प्राथमिकतामा राखेको उदाहरण दिदै नेपाल सरकार, राष्ट्र बैंकले खर्च नियन्त्रण गर्ने नीति लिए भने आर्थिक वृद्धि संकूचित हुन सक्ने उनले बताए । सरकारको राजश्वमा करिव ३० प्रतिशत अटोमोवाइल्स सेक्टरको योगदान रहेको बताउँदै नाडाका महासचिव कृष्णप्रसाद दुलाल भन्छन-‘अटोलोन नियन्त्रण गरियो यो क्षेत्रको व्यापार मात्र खस्कदैन, सरकारको राजश्व पनि घट्नेछ, बैंक तथा बीमाको नाफा पनि घट्नेछ, आर्थिक वृद्धिलाई नै असर गर्नेछ ।’
बीमक संघको नेतृत्व सर्वसहमत चयन, अध्यक्षमा पुनः विजयबहादुर शाह
विजयबहादुर शाह काठमाडौं । नेपाल बीमक संघको नेतृत्व सर्वसहमतिमा चयन भएको छ । अध्यक्षमा विजयबहादुर शाह पुनः निर्वाचित भएका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको उपाध्यक्ष प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विके महर्जन, महासचिव एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठ, कोषाध्यक्ष सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैद्यबार भएका छन् । कार्यसमिति सदस्यहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकीकुँवर क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान चुनिएका छन् । जीवन बीमा कम्पनीको तर्फबाट एक जना उपाध्यक्ष र दुई जना सदस्य भने टुंगो लाग्न बाँकी छ । जीवन बीमा कम्पनीहरुले पनि आफ्नो तर्फको प्रतिनिधि सर्वसहमतिमा छान्ने बताएका छन् । विधानअनुसार संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । संघको १५ औं साधारणसभाको कार्यक्रम आज भएपनि नेतृत्व चयनको विषयमा हिजै सहमति जुटेको हो । नयाँ नेतृत्वकोबारे औपचारिक घोषणा आज साँझ मात्र हुनेछ ।
नेपाल लाईफ र कम्यूनिटी फरवार्डको सेयर बाँडफाँड फागुन १३ गते भित्र गर्नुपर्ने, ऋण लिएर लगानी आवेदन गर्नेलाई व्याजमा राहात
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सलाई फागुन १३ भित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य (तरलता) अभावलाई सम्बोधन गर्न भन्दै बोर्डले ती कम्पनीहरुलाई शेयर बाँडफाँडको अवधि छोट्याउन निर्देशन दिएको छ। बोर्डले तरलता अभावको असर शेयरको दोस्रो बजारमा समेत देखिएको भन्दै छिटो बाँडफाँड गर्न निर्देशन दिएको हो। नेपाल लाइफ इन्स्योरेन्सले फर्दर पब्लिक अफरिङ (एफपिओ) र कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सले साधारण सेयर निष्काशन गरेकोमा ती दुई संस्थाको सेयर आवेदनसँगै ५५ अर्ब भन्दा बढी रकम थन्किएर बसेको छ । साविकमा दुई महिना भित्र बाँडफाँड गर्नु पर्ने नेपाल लाइफलाई बोर्डले निश्कासनको ४० दिन भित्र बाँडफाँड गरि सक्न बोर्डले निर्देशन दिएको छ। जस अनुसार कम्पनीले अब दुई साता भित्र बाँडफाँड गरि सक्नु पर्नेछ। निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई छिटो बाँडफाँड सम्पन्न गर्न बोर्डले निर्देशन दिएको हो। नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपिओ निश्कासन गर्दा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। यस्तै साबिकमा ५० दिनको बाँडफाँड अवधि रहेको कम्युनिटी फर्वार्डलाई बोर्डले ३० दिनभित्र बाँडफाँड गरि सक्न निर्देशन दिएको छ। कम्पनीको निश्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टले पनि अब दुई सातामा बाँडफाँड सम्पन्न गर्नु पर्नेछ। यो ब्यवस्थाले करिब तीन लाख ७० हजार लगानीकर्ताको ५५ अर्ब रुपैयाँ भन्दा बढी फिर्ता हुने बोर्डले जनाएको छ। बाेर्डकाे याे निर्देशनले बैंकबाट ऋण लिएर लगानी गर्ने लगानीकर्तालार्इ व्याजमा राहात मिल्ने भएकाे छ ।
४८ देशसँग नेपालको अन्तराष्ट्रिय व्यापार नाफामाः के निर्यात हुन्छ अमेरिका, बेलायत, सुडान, सोमालिया र कंगोमा ?
काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ६ महिनाको वैदेशिक व्यापारमा ४३० अर्ब घाटा व्यहोरेको छ । यसले नेपालको वैदेशिक व्यापारमा घाटाको ठुलो तस्विर देखाउँछ तर बिभिन्न ४८ वटा मुलुकसँगको वैदेशिक व्यापारमा भने नेपालले नाफा गरेको छ । यसरी नाफा गरिएका मुलुकहरुमा संयुक्त राज्य अमेरिका, बेलायतदेखि द्धन्द्धग्रस्त मुलुक सुडान, सोमालिया, कंगो र सिरिया लगायत रहेका छन् । गत आर्थिक बर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालले ४८ वटा मुलुकसँग वैदेशिक व्यापारमा एक अर्ब ६२ करोड नाफा गरेको छ । नेपालले सो एक बर्षमा ती मुलुकमा १२ अर्ब ८० करोडको निर्यात गरेर ११ अर्ब १७ करोड रुपैंयाँको आयात गरेको हो । नेपालले अमेरिकामा मात्रै ९ अर्ब ३४ करोडको निर्यात गरेको छ । अमेरिकाबाट भने ८ अर्ब ७० करोडको आयात गरेको छ । त्यस्तै, बेलायतमा २ अर्ब ८५ करोड निर्यात गरेर २ अर्ब २१ करोडको आयात गरेको छ । नेपालले रुवाण्डा, ताजिकिस्तान, गुयम, फ्रेञ्च साउदर्न टेरिटोरिज, लिसेस्टाइन, फ्रेञ्च गुयना, लाओस, बर्मुडा, अजरबैजान, अर्मेनियाँ, लिबिया, अल्जेरिया, उज्वेकिस्तान र पश्चिम साहारामा निर्यात मात्रै गरेको छ । यी देशमा नेपालबाट ५६ लाख रुपैंयाँका समान निर्यात भएका हुन् । यी हुन नेपालले वैदेशिक व्यापारमा नाफा गरेका मुलुकहरु बेलायत, अमेरिका, नर्वे, अफगानिस्तान, इरान, अमेरिकन सामोअ, भेनेजुयला, स्लोभेनिया, न्यु क्लेडोनिया, आइसल्याण्ड, माली, मोनाको, पोर्चुगल, इस्टोनियाँ, नाइजेरिया, पुर्वी टिमोर, बहामास, पानामा, टोकेलाउ, रुवाण्डा, मरिसस, जमैका, ताजकिस्तान, गुडेलोप, सियरा लियोनी, निकारागुआ, गुयम, लिथुवानियाँ, सुडान, मंगोलिया, फ्रेञ्च साउदर्न टेरिटोरीज, लिसेस्टाइन, फ्रेञ्च गुयना, मोल्डोभा, लाओस, काजकिस्तान, बर्मुडा, युगाण्डा, कंगो, अर्मेनिया, लिबिया, फोरइजल्याण्ड, सिरिया, माल्दिभ्स, अल्जेरिया, उज्वेकिस्तान, पश्चिम साहारा छन् ।
कैलाश विकास बैंकको हकप्रद सेयर निष्कासन, फागुन ६ देखि आवेदन दिन पाइने
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले पाँच सेयर बराबर एक ( ५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो विकास बैंकले १ अर्ब ५८ करोड रुपैयाँको चुक्ता पूँजीमा ३१ करोड ६० लाख पूँजी थप गर्ने गरी हकप्रद निष्कासन गरेको हो । यसको हकप्रद सेयरमा आवेदन दिन यही पुस १३ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार गरिरहेका सेयरधनीले मात्रै पाउने छन् । उक्त सेयरको लागि सर्वसाधारणले आगामी फागुन ६ गतेदेखि आवेदन दिन पाउने बैंकले जनाएको छ । ग्लोवल आईएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक रहेको यो बैंकको हकप्रद सेयर आवेदन दिन ग्लोवल आईएमई बैंक क्यापिटल लिमिटेड राष्ट्रिय नाच घर र बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने उल्लेख छ ।