जेसीबीको ‘अपरेटर मिट’ इटहरीमा, जेसीबीका मेसिनको प्रयोग सम्वन्धि जानकारी
काठमाडौं । नेपालका लागि जेसीबी कन्स्ट्रक्स एन्ड हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले बिहीबार इटहरीमा ‘अपरेटर मिट’ आयोजना गरेको छ । हेभि इक्विपमेन्टका अपरेटरहरुलाई जेसीबीका मेसिनको प्रयोग र हेरचाह कसरी गर्ने भन्ने सिकाउन एमएडब्लुले यो कार्यक्रम आयोजना गरेको हो । इटहरी र आसपासका क्षेत्रका ३५ जना अपरेटरहरुले सहभागिता जनाएको ‘अपरेटर मिट’मा जेसीबीका इन्जिनियर तथा विज्ञहरुले मेसिनको पाटपूर्जाबारे जानकारी दिनुका साथै मेसिनलाई बिग्रनबाट बचाउन अपनाउनुपर्ने सावधानीबारे सचेत पारिएको थियो । ‘यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अपरेटरहरुलाई मेसिनको हेरचाह र मर्मतबारे शिक्षा दिनु हो,’ एमएडब्लु अर्थमुभर्सका मार्केटिङ म्यानेजर सञ्जिव देउजाले भने, ‘यसले अपरेटर र मेसिन मालिक दुवैलाई फाइदा पुर्याउने अपेक्षा हामीले लिएका छौं । यसले मेसिनको आयु बढाउन पनि मद्दत पुर्याउनेछ ।’ कार्यक्रममा अपरेटरहरुलाई मेसिन बिग्रनबाट बचाउन र बिग्रिहाले के गर्ने भन्नेबारे पनि जानकारी गराइएको थियो । विशेषज्ञहरुले मेसिनमा जेन्युइन पार्टस्को महत्वबारे पनि बताएका थिए । ‘अपरेटर मिट’मा चिकित्सकहरुले अपरेटरको स्वास्थ्य परीक्षण समेत गरेका थिए । एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो । जेसीबी ललितपुरको धोबीघाटमा आवस्थित छ र यहाँ दुई सय ६० कर्मचारी कार्यरत छ । नेपालको निर्माण तथा हेभि इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५५ प्रतिशतभन्दा बढी रहेको छ ।
गणतन्त्र दिवसमा ११ करोड २७ लाखको पदक तथा बिभुषण !
काठमाडौं । नेपाल सरकारले समाजका बिभिन्न क्षेत्रमा योगदान गरेकाहरुलाई प्रत्येक बर्षको जेठ १५ गते बिभिन्न मानपदवी, अलंकार र पदकले सम्मान गर्दै आएको छ । २०६४ साल जेठ १५ गते मुलुक गणतन्त्र घोषणा भएपछि यो क्रम सुरु भएको थियो । त्यस अघि प्रजातन्त्र दिवसका दिन समाजमा योगदान गर्नेहरुलाई विभुषित गरिँदै आएको थियो । सरकारले गृह मन्त्रालयको सिफारिसमा प्रत्येक बर्ष सयौंलाई त्यस्तो मानपदवी, अलंकार र पदक दिन्छ । तर यस्तो मानपदवी, आलंकार र पदक निर्माणका लागि राज्यले ठुलै धनराशी खर्च गर्दै आएको छ । चालु आर्थिक बर्षमा मात्रै सरकारले पदक तथा विभुषण निर्माणका लागि भनेर ११ करोड २७ लाख रुपैंयाँ बजेट उपलब्ध गराएको छ । अर्थ सचिव शान्तराज सुवेदीका अनुसार सो रकम बजेटमा कहीँ पनि राखिएको छैन् । त्यसका लागि आवश्यक पर्ने रकम बर्षेनी अर्थ मन्त्रालयले रकमान्तर गरेर उपलब्ध गराउँदै आएको छ । ‘गृह मन्त्रालयले दिने विभुषणका लागि बजेट राख्ने चलन रहेनछ, यसपाली ११ करोड २७ लाख रुपैंयाँ रकमान्तर गरेर उपलब्ध गराएका छौं’, अर्थ सचिव शान्तराज सुवेदीले भने । गृह मन्त्रालयका अनुसार त्यस्ता बिभुषणका लागि बर्षेनी १० देखि १५ करोड खर्च हुने गरेको छ । मन्त्रालयले फागुन १५ देखि सिफारिसका लागि देशभरका कार्यालयहरुमा पत्राचार गर्छ । आएका निवेदनका आधारमा मन्त्रालयको छनौट समितिले चयन गरेर मन्त्रि परिषदमा पेश गर्ने व्यवस्था छ । मन्त्रि परिषदले पास गरेपछि जेठ १५ गते त्यस्ता विभुषणको घोषणासँगै प्रधान गरिन्छ । मानपदवी अलंकार तथा पदक प्रदान गर्न विभुषण ऐन २०६४ का अनुसार ४ वटा मानपदवी, ९ वटा अलंकार र १३ वटा पदक रहेका छन् । नेपाल रत्न मानपदवी, राष्ट्र गौरव मानपदवी, राष्ट्रदिप मानपदवी छन । त्यस्तै ९ वटा अलंकारमा राष्ट्र यशोवद्र्धन, परम पौरख भास्कार अलंकार, नेपाल प्रताव शुभुषण अलंकार, नेपाल सेवा प्रविण अलंकार, अति पौरख भास्कार अलंकार, समाज सेवा रत्न अलंकार, महापौरख भास्कर अलंकार, नेपाल प्रताप भुषण अलंकार छन् । त्यस्तै, १३ वटा पदकमा लोक श्री पदक, राष्ट्र सेवा पदक, सत्कार्य पदक, समाज सेवा पदक, शिक्षा ज्योति पदक, सगरमाथा पदक, सुकिर्त पदक, विरता पदक, सौर्य पदक, प्राकृतिक प्रकोप पिडितोद्धार पदक, विकासरत्न पदक, शान्ति पदक र विज्ञान पदक रहेका छन् ।
भ्यालेनटाइनको अवसरमा बिजी मलमा शुरु भयो ‘विग डिस्काउन्ट विन्टर सेल’
काठमाडौं । गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलमा ‘विग सेल डिस्काउन्ट विन्टर सेल’ योजना शुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात भ्यालेनटाइनको सन्दर्भ पारेर ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना संचालनमा ल्याएको जानकारी दिएको छ । यो योजना फ्रेबरी १० देखी २७ सम्म संचालनमा आउनेछ । जसमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए । योजना अवधिभर ग्राहकहरुले भ्यालेनटाइन डेकोरको साथमा सपिङको आनन्द लिन सक्नेछन् भने निशुल्क फेस पेन्टिङ, जोडि फोटो सुट समेत गराउन सक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए । मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ । ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने तिमल्सिनाले बताए । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् । साथै ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना अवधिभर विभिन्न समूहले मनोरञ्जनात्मक तथा सांगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्नेछन् ।
आइएलएफसीओको साधारणसभा फागुन २२ गते, फागुन ७ गतेदेखि १५ दिन बुक क्लोज
काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारणसभा फागुन २२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी फागुन ७ गतेदेखि २२ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।
सनराइज बैंक र एनआईडिसी क्यापिटल मार्केट्सबीच एकिकृत कारोबार शुरु
काठमाडौं । सनराइज बैंक लिमिटेडले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्त (एक्विजिसन) पश्चात शुक्रबारदेखि एकीकृत कारोवार शुरु गरेको छ । उक्त एकीकृत कारोबार सम्झौतामा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र एन.आई.डि.सी. क्यापिटल मार्केट्सका अध्यक्ष सुरेन्द्र थापाले हस्तान्तरण गरेका छन् । उक्त कारोवारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले गरेका छन् । गभर्नर डा. नेपालले सनराइज बैंकले एन.आई.डि.सी. क्यापिटललाई प्राप्त गरि एकीकृत कारोवार शुरु गरेकोमा शुभकामना दिएका छन् । साथै, उक्त एकीकरणबाट सनराइज बैंक थप सशक्त भइ मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य गर्न सक्षम भई ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्ने बैंकले प्रतिवद्धता गरेको छ । उद्घाटन समारोहका सभापति सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल सरकारको लगानी रहेको कर्मचारी संचयकोष, बिमा संस्थान जस्ता ५ वटा सरकारी निकाय संस्थापक रहेको कम्पनीलाई एकीकरण गर्न पाउँदा हर्ष प्रकट गर्दै यस पछि बैंकले ६८ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न पाउने जानकारी दिएका छन् । हाल बैंकको चुक्ता पूँजी करिब ५ अर्व ४५ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्व ९ करोड रुपैयाँ पुग्ने दुगडले बताए । आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्व रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने प्रतिबद्धता गरेका छन् । एन.आई.डि.सी. क्यापिटलका शाखा कार्यालय, कमलपोखरीमा समेत छुट्टै कार्यक्रमको आयोजना गरि सो स्थानमा बैंकको ६८औं शाखा कार्यालय स्थापना गरेको छ । त्यसै गरि एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष सुरेन्द्र थापाले फाइनान्स कम्पनीलाई सानो दायरामा बस्नु भन्दा सनराइज बैंक “क” वर्गको संस्था संग समाहित हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । सनराइज बैंक आगामी पाँच वर्ष भित्र ठूला दश बैंकभित्र पार्ने गरि “हामी संग संगै” भन्ने हातेमालोको सिद्धान्त अंगिकार गरि अघि बढिरहेको छ । उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।
आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ- ऊर्जा मन्त्रालय
काठमाडौं । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको अध्ययन गर्दा साधन, स्रोत र पैसाको समेत बचत हुने भन्दै ऊर्जाले विदेश जाने काम नगर्न आग्रह गरेको थियो । तर नलसिंहगाड विकास समितिका पदाधिकारीले भने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम गरिरहेको परामर्शदाता कम्पनीले नै खर्च व्योहोर्ने भन्दै भ्रमण गर्दा उपयुक्त हुने जनाएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको नाममा अध्ययन गर्ने भए माथिल्लो तामाकोसी जान आफूले निर्देशन दिएको जानकारी दिए । “मेरो, ऊर्जा सचिवको समेत भ्रमण दलमा नाम राखेर प्रस्ताव आएको थियो । मैले, मेरो र सचिवज्यूको नाम भने काटिदिए । आयोजनाका अन्य पदाधिकारीलाई पनि विदेश जाने भन्दा स्वदेशमा नै निर्माण भइरहेका आयोजनामा अध्ययन गर्न भनेको छु,” मन्त्री शर्माले भने । आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले भने नेपाल सरकारलाई कुनै पनि आर्थिक भार पर्ने गरी आफूहरुले विदेश भ्रमण गर्न नलागेको बताए । विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा भएको सम्झौता बमोजिम नै भ्रमणको मनोनयन भएको र त्यसमा कुनै पनि खर्च सरकारको नपर्ने उनको भनाइ छ । आयोजनाका पदाधिकारीले भने अमेरिकाको क्यालिफोनिर्याको भ्रमण गर्न चाहेको थियो । तर सो स्थानमा हाल हिँउ परिरहेको भन्दै अष्ट्रेलिया जाने कार्यक्रम बनाएको हो । कुल ४१० मेगावाट क्षमताको सो आयोजनालाई प्राविधिक रुपमा समेत सवल र शसक्त बनाउने लक्ष्यका साथ भ्रमणको कार्यक्रम बनाइएको कार्यकारी निर्देशक कुँवरको भनाइ छ । भ्रमणको प्रस्ताव मात्रै तयार भएको जानकारी दिँदै कार्यकारी निर्देशक कुँवरले अर्थ मन्त्रालयले स्वीकृति नदिँदासम्म भ्रमण हुननसक्ने बताए। भ्रमणदलमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, आयोजनाका अध्यक्ष शेरबहादुर शाही, कार्यकारी निर्देशक कुँवरलगायत सहभागी हुने गरी प्रस्ताव गरिएको छ । प्राविधिक क्षमता अध्ययन गर्ने शीर्षकमा आयोजना विकास समितिसँग रु दुई करोड बजेट रहेको छ । आयोजनाको हाल डिपीआर काम अगाडि बढिरहेको छ । आगामी वर्षभित्र डिपिआर तयार गरेर निर्माणमा जाने योजनामा नलसिंहगाड आयोजना विकास समितिले जनाएको छ । आयोजनाको पहुँचमार्ग, कर्मचारी आवास गृह तथा मुआब्जा वितरणको कार्य हाल जारी छ । राष्ट्रिय गौरवको आयोजना बनाउन प्रस्ताव जाजरकोटमा आयोजना स्थल रहेको सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । ऊर्जामन्त्री शर्माले स्थानीयवासी, राजनीतिक दल तथा सरोकार भएका सबै निकायको आग्रहअनुसार नै राष्ट्रिय गौरवको आयोजना बनाउने सम्बन्धी प्रस्ताव गरेका छन् । आयोजनालाई राष्ट्रिय गौरवको बनाउन सकिए कार्यान्वयनमा लैजान सहज हुने आयोजनाको बुझाइ रहेको छ । “मन्त्रीज्यूले एकदमै महत्व दिएर आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरेको छ । आशा छ सबैको सहयोग भए सहज हुन्छ,” कुँवरले भने । रासस
कुशकुमार जोशी नयाँ शक्तिमा प्रवेश, बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार नियुक्त
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी नयाँ शक्तिमा प्रवेश गरेका छन् । जोशीलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टारईले आफ्नो अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन् । भट्टराईले जोशीलाई निजी क्षेत्रका तर्फबाट अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. भट्टराई र जोशीको पहिले देखिनै राम्रो सम्बन्ध रहेको थियो । भट्टराई प्रधानमन्त्री हुँदै नै नेपाल पुर्वाधार विकास कम्पनीले काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको अनुमति पाएको थियो । त्यतिबेला जोशी सुरुङ मार्ग बनाउने नेपाल पुर्वाधार विकास कम्पनीको अध्यक्ष थिए । पछिल्लो समय व्यवसायीक संकटका बेलामा संरक्षणका लागि राजनीतिक पार्टी प्रवेश गर्ने लहर चलेको छ । त्यसकै एक ज्वलन्त उदाहरणका रुपमा जोशीले नयाँ शक्ति पार्टी रोजेका हुन् ।
नेपालको उर्जा क्षेत्रमा लगानी गर्न बंगलादेश इच्छुक, विद्युत व्यापार सम्झौताको प्रतिक्षा
काठमाडौं । बंगलादेशकी नेपालका लागि राजदुत मास्फी बिन्टे साम्सले नेपालमको उर्जा क्षेत्रमा एक अर्बको लगानी गर्न इच्छुक रहेको बताएकी छिन् । भारतसँग उर्जा व्यापार कायम रहेको बंगलादेशले निकट भविष्यमा नेपालसँग उर्जा सम्झौता गर्नसक्ने उनले बताइन् । उर्जा विकास परिषधले आयोजना बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै साम्सले बंगलादेशको वर्षै पिच्छे बढ्दो अर्थतन्त्रलागि उर्जा क्षेत्रमा लागनी अपरिहार्य रहेको उल्लेख गर्दै नेपालबाट उर्जा खरिद गर्न बंगलादेश तयार रहेको बताइन् । उनले भनिन्, ‘हामी नेपालबाट उर्जा आयात गर्ने विषयमा अध्ययन गरिरहेका छौं।’ बंगलादेशको औषत माग १५ हजार मेगावाट छ । सन् २०३० मा यसको माग ३५ हजार मेगावाट पुग्ने अनुमान गरेको छ । उक्त मागलाई धान्नका लागि पनि बंगलादेशले तयारी गरिरहेको साम्सले बताएकी छिन् । ‘हामी उर्जाको भोका छौं’, उनले भनिन्, ‘ हामीले छिमेकी मुलुक भुटान र नेपालमा उर्जाका क्षेत्रमा लगानी गर्ने सोच बनाएका छौं ।’ नेपालसँग उर्जा व्यापार सम्झौता (पिटिए) गरेपछि भारतकै बाटो हुँदै बंगलादेशमा विद्युत बेच्ने विकल्प पाउने पनि उनले बताईन् । बंगलादेशको अर्थतन्त्र तिव्र गतिमा विकास भैरहेकाले उसका लागि विभिन्न मुलुकसँगको व्यापार अनिवार्य रहेको र नेपालसँग त्यस्तो व्यापारका लागि तयार रहेको उनको भनाई थियो । बंगलादेशको उर्जा क्षेत्रमा उर्जा विकास बोर्ड, वितरण प्राधिकरण, प्रसारण लाइन प्राधिकरण र ग्रामिण विद्युतियकरण विभाग रहेको उनले जानकारी दिइन् । बंगलादेशका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्न चाहेको बताउँदै साम्ले दुई देशबिचको सम्बन्ध विस्तार हुँदै आपसी हित प्रवर्द्धनमा सघाउन पुग्ने धारणा पनि राखिन । ‘नेपालले बिमस्टेकको बैठक बेलाउन लागेको छ, त्यसमा हाम्रा प्रधानमन्त्री पनि नेपाल आउनेछन र त्यसमा हामीले उर्जा, पारवाहन र आर्थिक विकासका एजेण्डालाई प्राथमिकता दिनछौं’, साम्सले भनिन् । उर्जा विकास परिषदका अध्यक्षका सुजित आचार्यले पनि नेपाल र बंगलादेशबिच हुने उर्जा व्यापार सम्झौताले दुबै देशलाई लाभ हुने बताए । नेपालमा ११ हजार नदिनाला रहेको र धेरैमा जलविद्युत उत्पादन आरम्भ भएकाले नेपाल र बंगलादेशबिच पिटिए गरेर दिर्घकालिन लाभ लिन सकिनेमा उनको जोड थियो । उनले दोश्रो उर्जा सम्मेलन सन २०१७ को सेप्टेम्बरमा आयोजना गर्न लागेको जानकारी पनि दिएका थिए । हाल नेपालले हिउँदमा भारतबाट ठुलो मात्रामा विद्युत खरिद गरिरहेको छ भने बर्षायाममा धेरै भएको विद्युत भारतलाई बेचिरहेको छ ।