विकासन्युज

जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई साउन ६ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने

कठमाडौं ।कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने भएको छ ।  सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई यूल्लेन्स स्कुललेअमेरिका भ्रमणमा लैजान लागेको हो । यूलेन्स स्कूलमा अध्ययनरत ४२  विद्यार्थीहरुलाई जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा लेजाने बताईएको छ । भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिंटन डिसी लगायत स्थानको भ्रमण गराउने जानकारी उक्त जारि प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृती जान्ने अवसर प्रदान गर्ने गरेको बताइएको छ । विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथ सोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाटर, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवलोकन गर्ने जानकारी दिइएको छ । ओशो ट्राभल्ससंगको सहकार्यमा सन् २०१७ का लागि विश्वकै सर्वोत्कृष्ट एयरलाइन घोषित कतार एयरवेज मार्फत भ्रमण दल अमेरिका घुम्ने एयरवेजले जनाएको  छ । कतार एयरवेजसंग आफ्ना विद्यार्थीलाई नयाँ स्थान र नयाँ ज्ञानका लागि भ्रमणमा लाने क्रममा स्मरणिय एन फ्लाइट प्रदान गर्न पाउँदा यूल्लेन्स स्कूल अत्यन्त प्रशन्न रहेको विद्यालयले जानकरी दिएको छ । कतार एयरवेजले न्यू योर्क, एट्लान्टा, वासिंटन डीसी, बोस्टन, सिकागो, हुस्टन, डल्लास, मियामी, लस एन्जेलस, फिलाडेल्फिया गरी १० शहरमा दैनिक उडान भर्ने गरेको एयरवेजले जनाइएको छ ।    

तीन कम्पनीको चार करोड ७८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?

काठमाडौं । आइतबार विभिन्न तीन वाणिज्य तथा विकास बैंकको चार करोड ७८ लाख ६४ हजार ८४३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्सेमा) सूचिकृत भएको छ । नेप्सेमा तीन कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा एक कम्पनीको बोनस र बाँकी दुई कम्पनीको हकप्रद सेयर थपिएको छ । नेरुडे लघुवित्त विकास बैंकको ३ लाख ६० हजार बोनस सेयर थपिएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ३ करोड २० लाख ७३ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । साथै, नेपाल बैंकको पनि १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

आइएसओ प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय

काठमाडौं। राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ । राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । विभागमा आइतबार आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताए । परराष्ट्रमन्त्री महराले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिए । “विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्त रुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ”, परिवर्तनशील समयअनुरुप विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीन विकासलाई आत्मसात् गर्दै काम गर्नुपर्ने अहिलेको खाँचो औँल्याउँदै उनले भए । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । परराष्ट्र सचिव शंकरदास वैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य सरकारी नियकालाई पनि प्रेरणा मिलेको विचार व्यक्त गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु नेपालका निम्ति प्रतिष्ठाको विषय भएको बताउँदै त्यसलाई कायम राख्न विभागलाई अनुरोध गरे । विभागका महानिर्देशक रामकाजी खड्काले सेवा प्रवाहमा विभाग दत्तचित्त भएर लागेको भन्दै अझ स्तरीय एवं गुणस्तरयुक्त सेवा जनतालाई उपलब्ध गराउन आफू नेतृत्वको कार्यालय दृढ रहेको बताए। रासस

औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने

भद्रपुर । स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट झापाको भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने प्रतिबद्धता जाहेर गरेका छन् । संवाद समूह झापाद्वारा आज आयोजित ‘विजयी प्रतिनिधिसँगको जिम्मेवारी, जनअपेक्षा, प्राथमिकता चुनौती, समस्या र समाधान’ विषयको एकदिने छलफल कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठले समग्र नगरको स्तरोन्नतिका लागि सडक विस्तारलाई बढी प्राथमिकतामा राखिएको बताए । उहाँले चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालको स्तरोन्नति, प्राङ्गारिक कृषि उत्पादन, बालमैत्री वडा कार्यालय र भन्सार कार्यलयको व्यवस्थापनलगायत विषयलाई आफूले जति सक्दो छिटो अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । नगर उपप्रमुख चन्द्राकुमारी श्रेष्ठले समाजमा रहेको हिंसा न्यूनीकरण गर्न आफ्नो प्राथमिकता रहेको जानकारी दिए । रासस

नेप्से सामान्य अंकले घट्दा एक अर्ब बढीको कारोबार, तीन कम्पनीको सेयर मूल्य ९% बढीले वृद्धि

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ । दिनभर उतारचढाव आएको सेयर बजारमा एक अर्ब चार करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो दिन १५१ कम्पनीको १५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यस्तै, कुबेर मर्चेन्ट एण्ड फाइनान्स र हिमालय जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ९.७० र ९.२० प्रतिशत कमाएका छन् । आइतबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल र विकास बैंक समूहको परिसूचक हरिया भएका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

नाच्न गाउन सिपालु जमुना तीज गीत नेपाली बजारमा

काठमाडौं । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसर पारेर निमिसा त्रिपाठि र नरेश बि सिले नाच्न गाउन सिपालु जमुना गिति संग्रह  बजारमा ल्याएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस “धुवा सरि फैलेछ कुरोत, यता तिर्खा लागेको धेरै भो “भन्ने गीतबाट चर्चा कमाएका गीतकार यादब लम्सालले तीज गित लेखेका हुन् । संगीत नरेश बि.सिले भरेका छ्न भने स्वोर निमिशा त्रिपाठी र नरेश बि सि उनी आफैं रहेका छन् । धुर्ब हिमाली र अन्जली अधिकारिको अभिनय रहेको गीतमा डिजिटल प्राली को प्रस्तुति म्युजिक नेपाल बाट बजारमा आएको छ ।  

नेपाली हस्तकलाका सामान निर्यातमा वृद्धि, करिब पाँच अर्ब रुपैयाँको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ मा चार अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । आव ०७२/०७३ को तुलनामा २०७३/०७४ मा चार करोड मूल्य बढी कारोबार भएको थियो । आव २०७२/०७३ मा रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार ५२४ विदेशमा निर्यात भएको थियो । गत वर्षमा भूकम्पका कारण केही कमी बिक्री भए पनि यो वर्ष भने बढेको हो । नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो । नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको हस्तकलामध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा भएको छ । अमेरिकामा रु एक अर्ब ५६ करोड चीनमा रु ६७ करोड ४७ लाख, जर्मनीमा रु ४३ करोड ७१ लाख, जापानमा रु ३५ करोड मूल्य बराबरको हस्तकलाका सामान निकासी भएको छ । महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मी अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएका कारण अत्यधिक व्यापार भएको बताउछन् । “ महासंघबाट निर्यात हुने हस्तकलामध्ये सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ”– महानिर्देशक रेग्मीले भने । प्रदर्शनका लागि लैजाने हस्तकलाका सामानमा महासंघवाट निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्रलाई, केन्द्रबाट त्रिभूवन अन्तराष्ट्रिय भन्सार कार्यालयलाई पत्र लेखेपछि मात्र लान पाइने व्यवस्था भए पनि अहिले केन्द्रले बन्द गरेका कारण प्रदर्शनका लागि विदेश लाने सामानमा समस्या परेको उनले बताए । महासंघबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चिन, भारतलगायत ६० भन्दाबढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ । आव ०७३र०७४ विदेश निर्यात भएको हस्तकलामध्ये फेल्ट, धातुजन्य, हातेकागज, ऊनीलगायत हस्तकलाका सामान धेरै छ । नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० संघ छन् । जिल्लागत संघ बाग्लुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा र भक्तपुर जिल्लाका हुन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायतका उद्योग आबद्ध छन् । महासंघका अध्यक्ष धर्मराज शाक्य फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा धेरै माग हुने गरेको बताउछन् । उनले परम्परागत हस्तकलाभन्दा नवोदित हस्तकला विदेशमा बढी माग हुने गरेको उल्लेख गरेका छन् । परम्परागत हस्तकलामा काष्ठकला, प्रस्तरकला, धातुकलालगायतका छन् भने नवोदितमा फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला पर्दछन् । लघु, घरेलु तथा साना उद्योग विकास समितिका सहकार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगर हस्तकलाका सामग्रीको विकास र विस्तारका लागि परम्परागत सीपमा आधारित हस्तकला विकास र प्रवद्र्धनका लागि सीपमूलक तालीम र उपयुक्त प्रविधि प्रदान गरिएको बताए । उनले उत्पादित हस्तकलाको बजारीकरण तथा औद्योगिक प्रदर्शनका लागि नेपाल हस्तकला महासंघसँग सहकार्य भइरहेको उल्लेख गरेका छन् । महासंघमा एक हजार ५०० व्यवसायी आबद्ध भए पनि हाल २०० देखि ४०० व्यापारीले मात्र हस्तकला नियममित रुपमा निर्यात गर्दै आइरहेको महासङ्घले जनाएको छ । रासस