नेपाली हस्तकलाका सामान निर्यातमा वृद्धि, करिब पाँच अर्ब रुपैयाँको कारोबार

<p>काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ मा चार अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । आव ०७२/०७३ को तुलनामा २०७३/०७४ मा चार करोड मूल्य बढी कारोबार भएको थियो । आव २०७२/०७३ मा रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार ५२४ विदेशमा निर्यात भएको थियो । गत वर्षमा भूकम्पका [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ मा चार अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । आव ०७२/०७३ को तुलनामा २०७३/०७४ मा चार करोड मूल्य बढी कारोबार भएको थियो । आव २०७२/०७३ मा रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार ५२४ विदेशमा निर्यात भएको थियो । गत वर्षमा भूकम्पका कारण केही कमी बिक्री भए पनि यो वर्ष भने बढेको हो ।

नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो ।

नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको हस्तकलामध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा भएको छ । अमेरिकामा रु एक अर्ब ५६ करोड चीनमा रु ६७ करोड ४७ लाख, जर्मनीमा रु ४३ करोड ७१ लाख, जापानमा रु ३५ करोड मूल्य बराबरको हस्तकलाका सामान निकासी भएको छ ।

महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मी अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएका कारण अत्यधिक व्यापार भएको बताउछन् । “ महासंघबाट निर्यात हुने हस्तकलामध्ये सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ”– महानिर्देशक रेग्मीले भने ।

प्रदर्शनका लागि लैजाने हस्तकलाका सामानमा महासंघवाट निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्रलाई, केन्द्रबाट त्रिभूवन अन्तराष्ट्रिय भन्सार कार्यालयलाई पत्र लेखेपछि मात्र लान पाइने व्यवस्था भए पनि अहिले केन्द्रले बन्द गरेका कारण प्रदर्शनका लागि विदेश लाने सामानमा समस्या परेको उनले बताए ।

महासंघबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चिन, भारतलगायत ६० भन्दाबढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ ।

आव ०७३र०७४ विदेश निर्यात भएको हस्तकलामध्ये फेल्ट, धातुजन्य, हातेकागज, ऊनीलगायत हस्तकलाका सामान धेरै छ । नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० संघ छन् । जिल्लागत संघ बाग्लुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा र भक्तपुर जिल्लाका हुन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायतका उद्योग आबद्ध छन् ।

महासंघका अध्यक्ष धर्मराज शाक्य फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा धेरै माग हुने गरेको बताउछन् । उनले परम्परागत हस्तकलाभन्दा नवोदित हस्तकला विदेशमा बढी माग हुने गरेको उल्लेख गरेका छन् ।

परम्परागत हस्तकलामा काष्ठकला, प्रस्तरकला, धातुकलालगायतका छन् भने नवोदितमा फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला पर्दछन् । लघु, घरेलु तथा साना उद्योग विकास समितिका सहकार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगर हस्तकलाका सामग्रीको विकास र विस्तारका लागि परम्परागत सीपमा आधारित हस्तकला विकास र प्रवद्र्धनका लागि सीपमूलक तालीम र उपयुक्त प्रविधि प्रदान गरिएको बताए ।

उनले उत्पादित हस्तकलाको बजारीकरण तथा औद्योगिक प्रदर्शनका लागि नेपाल हस्तकला महासंघसँग सहकार्य भइरहेको उल्लेख गरेका छन् । महासंघमा एक हजार ५०० व्यवसायी आबद्ध भए पनि हाल २०० देखि ४०० व्यापारीले मात्र हस्तकला नियममित रुपमा निर्यात गर्दै आइरहेको महासङ्घले जनाएको छ । रासस

Share News