शाहले सम्हाले नेपाल इन्स्योरेन्सको सिईओ पदभार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को पद विजय बहादुर शाहले समालेका छन् । चार्टड एकाउन्टेन्ट शाहले सोमबारदेखि यस कम्पनीको सिईओको पदभार ग्रहण गरेका हुन् । शाहले यसअघि पनि बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरिसकेका छन् । २०१५ सालमा बर्दिया जिल्लाको गुलरियामा जन्मेका शाहले सन १९८८मा चार्टर्ड एकाउन्टेन्टको अध्ययन पुरा गरेका हुन् । नेपाल बिमक संघको २ कार्यकाल अध्यक्ष रहिसकेका शाह एसिया र अफ्रिकाका विकास शील राष्ट्रहरुमा कार्यरत बीमा तथा पुनर्विमा कम्पनीहरुको सदस्य रहेको एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स कम्पनी इन डेभलपिङ कन्ट्रिज(एआईआरडिएस)को उपाध्यक्ष हुन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । शाहको कार्यकाल ४ वर्षको हुनेछ ।
प्रभु बैंकको नयाँ शाखा गुर्जुधारामा सञ्चालन
काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको गुर्जुधारामा स्थापना गरी सञ्चालनमा ल्याएको छ । सभासद राजेन्द्र कुमार के.सी.ले एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको हो । उक्त शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत, कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एशिया बैंकद्धारा अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त बाटिकामा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको हो । साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टार्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जस्मा करीब १५० जना रक्तदाताले रक्तदान गरि सहयोग गरे । बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।
एनएमबि बैंकले शुरु गर्यो एनएमबि एकेडेमी
काठमाडौं । एनएमबि बैंकले आ.व. २०७४/७५ को शुरुवात् सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । यस एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु रहेको छ । एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पुर्याउने रहेको छ । उक्त एकेडेमीको उद्घाटनका अवसरमा बैंकका कार्यकारी अधिकृत सुनील के.सी.ले भने, ‘यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो बैंक हो । एनएमबि एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ ।’
साढे १० अर्बको लागतमा भेरी ड्राइभर्सन सुरुङमार्ग खनिदै, आयोजना सम्पन्न पछि साढे ४ अर्ब फाइदा हुने
काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा सूचिकृत भेरी ड्राइभर्सनको सुरुङ निर्माण कार्य आगामी कार्तिकबाट शुरु हुने भएको छ । सुरुङ निर्माण गर्न१० अर्ब ५६ करोड रुपैयाँ अनुमान गरिएको छ । सुर्खेतको हात्ती खालदेखि चिप्लेसम्म ४ दशमलव २ डायमिटर (ब्यास) को १२ दशमलव २ किलोमिटर सुरुङ आधुनिक टीबीएमबाट खनिने आयोजनले बताएको छ । आयोजनामा मेसिन जडान गर्नकालागि १ सय ५० मिटर सुरूङ खन्ने काम सकिएको छ । सिँचाइ सुविधासँगै सरकारले आयोजनाबाट बिजुली उत्पादन गर्ने योजना सरकारले बनाएको हो । ४८ मेगावाट विद्युतसमेत उत्पादन गर्ने योजना सहित २०६८/६९ मा शुरु गरिएको आयोजना निर्माणपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर खेति योग्य जमिनमा सिँचाइ सेवा पुग्ने छ । उत्पादित बिजुलीले सुर्खेत, बाँके, बर्दिया लगायत जिल्ला पूर्ण लाभान्वितहुने अपेक्षा छ । आयोजना निर्माण पछि बिजुलीबाट वार्षिक २ अर्ब र कृषिबाट साढे २ अर्ब रुपैयाँ फाइदा पुग्ने अनुमान गरिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए । आयोजना तीन चरणमा निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । पहिलो चरणमा १२ किलोमिटर सुरुङ खन्ने, दोस्रो चरणमा ४८ मेगावाटको बिजुलीनिकाली राष्ट्रिय प्रसारण लाइनमाजडान गर्ने र तेस्रो चरणमा सिँचाइको लागि काम गर्ने बताएको छ । सुर्खेतको रामघाटको चिप्लेमाबाँधबाँधेर भेरी नदीको पानीलाई बबई नदीमामिसाएर सिँचाइ र विद्युत् उत्पादन गरिने छ । आधुनिक टनेल बोरिङ मेसिन (टीबीएम) ल्याएर ‘फिटिङ’ गरेपछि सुरुङ गर्ने काम शुरु गर्ने आयोजनाको योजना छ । उहाँकाअनुसार यो मेशिन नेपालमै पहिलो पटक भित्र्याउन लागिएको हो । टीबीएमका पार्टपूर्जाचीनतथा अमेरिकामा तयार पारिएको हो । उक्त पार्टपूर्जा सम्बन्धित आयोजनामा लगेर जडान गरिएको छ । मेशिन नेपाल ल्याएपछि फिटिङ गर्न दुई महिना लाग्ने भएकोले सुरुङ निर्माण शुरु गर्न समय लाग्ने देखिएको हो । आयोजनाले विद्युत् गृह निर्माणका लागि अध्ययन गरिरहेको छ । आर्थिक वर्ष २०७४/७५ माअध्ययन सकेर ठेक्काप्रक्रिया सुरू गर्ने बस्नेतले जानकारी दिए । ६ किलोमिटर सुरूङ खनेपछि बल्लविद्युत् गृह तथा हेडवर्कसनिर्माण कार्य सुरू हुनेछ । यी सबै कार्य गर्न थप ५ अर्ब रुपैयाँलाग्ने अनुमान गरिएको छ । आयोजनाबाट प्रभावित सुर्खेत र बर्दियाका ८ गाविसमाअहिलेसम्म सिँचाइ पोखरी र पाइप ओछ्याउने काम पूरा भइसकेको छ । सुर्खेतका दहचौर, गुमी, लेकफर्सा, मेहलकुना, मैनतडा, छिन्चु, रामघाट र बर्दियाको बेलवागाविस आयोजनाबाट प्रभावितहुने अध्ययनले देखाएको छ । यी गाविसमा सिँचाइ पोखरी, सोलार लिफ्ट सिँचाइ प्रणालीको काम भइरहेको आयोजनाले जानकारी दिएको छ । सुर्खेत र सल्यानका प्रभावित २६ गाविसमा सिँचाइ पुर्याउने लक्ष्यले भेरी-बबई डाइभर्सनले सहायक आयोजनाका रुपमा ‘भेरी करिडोर आयोजना’ सञ्चालन गरेको छ । ती क्षेत्रका खेती योग्य जमिनमा सिँचाइ पुर्याउन सोलार लिफ्ट, इलेक्ट्रिकल लिफ्ट र सहत सिँचाइ कार्यक्रम सञ्चालन भएको छ ।आयोजनले स्थानीय बासिन्दाको कृषि उत्पादन बढाउन ‘रेन वाटर हार्र्भेिस्टङ’को योजनासमेत अघि बढाइएको छ । पानी संकलन गर्न हजार लिटरको ट्यांकी निर्माण गरी नयाँ प्रविधिबाट सिँचाइ पुर्याउने योजना छ । पूर्वप्रधानमन्त्री सुशील कोइरालाले अयोजनाको शिलान्यास गरेका थिए । आयोजना २०७७/७८ मा सम्पन्न गरिसक्ने सरकारको योजना छ ।
शतप्रतिशत हकप्रद सेयर पश्चात अरुण फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार अरुण फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको शतप्रतिशत(१००%) हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १३० रुपैयाँ रहने छ ।
रत्नपार्क र महाराजगञ्ज तार रहित बनेपछि ९० हजार स्मार्ट मिटर जडान गरिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज क्षेत्रको तार भूमिगत गरेपछि ९० हजार स्मार्ट मिटर जडान गरिने तयारी गरेको छ । उपत्यकाको वितरण तथा प्रसारण प्रणाली सुधार गर्न प्राधिकरणले यस्तो योजना अघि सारेको हो । उपत्यकालाई तार रहित बनाउने योजना अनुसार पहिलो चरणमा महाराजगन्जको काम अघि बढाउन लागेको हो । सो योजना अन्तर्गत महाराजगन्ज क्षेत्रको वितरण प्रणाली भूमिगत बनाउन प्राधिकरणले बोलपत्र (ठेक्का) आह्वान गरेको छ । उपत्यकाका तिनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको वितरण प्रणाली तार रहित बनाउने योजना अनुसार पहिलो चरणमा महाराजगन्जको काम अघि बढाउन लागेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । पहिलो चरणमा उक्त क्षेत्रको ११ केभी र ४ सय भोल्ट लाइन भूमिगत गर्ने उनको भनाइ छ । विद्यमान प्रणाली भन्दा भूमिगत वितरण प्रणाली खर्चिलो हुने भएकाले शुरुमा मुख्य मुख्य सडक लक्षित गरिएको हो । आइतबार महाराजगञ्ज क्षेत्रको तार भुमिगत गर्ने योजना सहित प्राधिरकणले ६० दिने सूचना निकालेको हो । उक्त क्षेत्रमा विद्युत चुहावट कमगर्ने ट्रान्सफर्मर समेत जडान गरिनेछ । साथै, साउन अन्त्यसम्म रत्नपार्कको वितरण प्रणाली भूमिगत बनाउन तथा स्मार्ट मिटर जडान गर्न पनि ठेक्का गरिने प्राधिकरणको योजना छ । रत्नपार्क र महारागन्ज क्षेत्र भूमिगत भएपछि ९० हजार स्मार्ट मिटर जडान गर्ने प्राधिरणले बताएको छ । उपत्यकाको वितरण तथा प्रसारण प्रणाली सुधार गर्न एशिलायी विकास बैंक (एडीबी) ले १८ अर्ब ५४ करोड रुपैयाँ ऋण सहयोग गरेको छ ।
वायुसेवा निगमको बोइङ किन्न ७ कम्पनी इच्छुक, ५ अर्ब पर्ने जहाज १२ देखि १६ करोड रुपैयाँमा बिक्री हुँदै
काठमाडौं । नेपाल वायुसेवा निगमले ९एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ आपसी समझदारीमा विक्री गर्ने भएको छ । निगमले २ पटकसम्म न्युनतम १७ करोड रुपैयाँ मूल्यांकन गरेर जहाज विक्री गर्ने तयारी गरेको थियो । उक्त मूल्य राखेर सार्वजनिक प्रस्ताव माग गर्दा एउटा पनि आवेदन नपरेको बोइङ किन्न अहिले भने संस्था, कम्पनी र व्यक्तिगतसम्मको सात वटा आवेदन परेको छ । निगमले आपसी छलफलबाट जहाज विक्री गर्ने भनेपछि दुइ साताको समय दिएर मागेको आपसी छलफलबाट विक्री गर्ने प्रस्तावमा भने नेपालकै वायुसेवा कम्पनीदेखि विदेशीसम्मले आवेदन दिएको वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो प्रस्तावमा १२ करोडदेखि १६ करोड रुपैयाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले आवेदन दिएका छन् । आवेदन दिएका कम्पनीलाई आगमी एक साताभित्रै आपसी छलफलमा आउन पनि निगमले सूचना जारी गरिसकेको छ । उक्त समय अब जम्मा चारदिन मात्रै बाँकी रहेको छ । यस अवधिमा सबैजसोले आफ्नो प्रस्तावमाथि छलफल गर्ने भएको पनि उल्लेख छ । निगमले दिएको जानकारी अनुसार आपसी छलफलबाट जहाज किन्न नेपालकै एक अमेरिकी र एक इजरायली कम्पनीले आवेदन दिएका छन् । सात वटा आवेदनमध्ये बाँकी नेपाली कम्पनीकै परेको छ । बीबी एयरवेज र हिमालयन एभिएसनले पनि प्रस्ताव पेश गरेका छन् । वायुसेवा निगमका अनुसार जहाज किन्न आवेदन दिनेमा अमेरिकाको एभिएसन सिस्टम इंक, नेपालकै हिमालय एभिएसन कन्सल्यान्ट, टीबीआई ग्रुप नेपाल, जनार्दन मान डंगोल, बीबी एयरवेज, अनु मानन्धर, एपीएस एयरपोर्ट सभिस एण्ड सप्लाईज इजरायलले आवदेन दिएको पनि उल्लेख छ । यसअघि मागिएको १७ करोड न्युनतमको मूल्य राखेर दिनुपर्ने प्रस्तावमा १२० दिनको बैंक ग्यारेन्टी राख्नुपर्ने सर्तले आवेदन नपरेको हुनसक्ने अनुमान निगमको छ । निगमका अनुसार आपसी छलफलबाट जहाज लैजान र जुन पक्ष सफल हुन्छ उसैले पाउने पनि उल्लेख छ । सकेसम्म धेरै मूल्य प्रस्ताव गर्नेलाई नै जहाज दिने प्रयास हुने पनि निगमको भनाइ छ । निगमको यो जहाज मर्मत खर्च अधिक लाग्ने भएपछि बनाएर बेच्ने भन्दा विक्री गर्ने र नयाँ थप गर्ने योजना बनाएको छ । निगमले हाल सोही सिट क्षमतको जहाज खरिद गर्दा कम्तिमा ५ अर्ब रुपैयाँ पर्छ । कवाडीमा विक्री हुँदा भने सोही जहाजलाई १६ करोड रुपैयाँसम्ममा नै विक्री गनुपर्ने भएको छ । निगमसँग साढे २ दशक पूराना २ वटा यस्तो जहाज मध्ये एउटा भने उडामै रहेको छ । एउटा मात्रै विक्री गर्न लागिएको हो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा अर्को २ वटा एयरवसको ए३२० नामक जहाज छ । यो बाहेक निगमले आगामी एक वर्ष भित्रमै थप २ वटा वाइडवडि नामक लामो दुरीमा उडा गर्न सक्ने क्षमतको जहाज ल्याउँदै छ ।