नेपाल एसबिआई बैंकले ६७ हजार कित्ता एफपिओका लागि माग्यो अनुमति
काठमाडौं, २१ असोज । नेपाल एसबिआई बैंक लिमिटेडले ६७ हजार ७ सय ६७ कित्ता एफपिओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले एफपिओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । नेपाल एसबिआई बैंकले असोज १८ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनएमबी क्यापिटल मार्फत सो मात्रामा एफपिओ जारी गर्न अनुमति मागेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैंयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३३ करोड नाफा कमाएको थियो । जगेडा कोषमा ३ अर्ब ९ करोड रुपैंयाँ रहेको बैंकले आफ्नो पुँजी वृद्धिको योजना अनुसार एफपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो । हाल बैंक सेयर मुल्य प्रति कित्ता १९३५ रुपैंयामा कारोबार भैरहेको छ ।
नयाँ नोटका लागि राष्ट्र बैंकमा लाइन, बाटोमा फलाफाल
नयाँ नोट लैजानुस् , एक हजार साट्दा ५० रुपैयाँ मात्र हो । कुन कुन नोट कति कतिको चाहिन्छ आवश्यता अनुसार लैजान सक्नु हुन्छ । धेरै लान्छु अलि कम गरिदिनुस् न । अदि बढी भयो, दश हजारको लैजान्छु क्या । हाम्रो दरनै त्यहि हो । चार सयसम्ममा मिलाई निनुस् न । हुँदैन । त्यसो भए चार सय ५० रुपैयाँमा दिनुुस् न हुन्न् । पैसा साट्न सजिलो छैन । एक जनालाई दुई ब्यान्डलका दरले मात्र दिन्छ । दिननै माया मार्नु पर्छ । त्यो रेट त धेरै र ठूला नोट लानेलाई हो । नत्र, सय कडा पाँच लाग्छ । माथिको संवाद रत्नपार्कमा नयाँ नोट साट्ने खुद्रे व्यापारी र ग्राहकहरुबीचको हो । रत्नपार्क, सुन्धारा, नेपाल वायुसेवा निगम अगाडीको माइक्रोबस रोक्ने स्थानमा सजिलै देख्न पाइन्छ। यी मौसमी व्यापारीहरुले अहिले दिनमै एक लाख रुपैयाँ भन्दा बढीका नयाँ नोटहरु साट्ने बताउँछन् । बजारमा केही पैसा बढी तिरे सजिलै नयाँ नोट प्राप्त गर्न सकिन्छ । तर, नेपाल राष्ट्र बैंकमा नयाँ नोट साट्नका लागि लाइन बसेमा दिनै माया मार्नुपर्ने वाध्यता छ । त्यो पनि पँहुचवालाले नयाँ नोटको लागि नत धाएर राष्ट्र बैंकमा नोट साट्नका लागि लाइन बस्नु पर्छ न त बढी पैसा तिरेर नै लिनुपर्छ । उनीहरुको घरमा सजिलै चाहिएको जति नोट आइपुग्छ । राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट दिन थालेको दिन असोज १६ गते उपभोक्ताहरुको भिडमै राष्ट्र बैंक परिषरमै फायरिङसम्म भयो । त्यहाँ फायरिङ गरेर पहुँचवालाले पालो मिच्न पाइन भनी पदको दुरुपयोग गरे । निजी बैंकलाई राष्ट्र बैंकले यस अघिनै नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो । सो अवधिमा बैंकहरुले करिब साढे ३ अर्बभन्दा माथिनै नयाँ नोट पनि साटे । त्यो साटिएको नोट कुनै बैंकहरुसँग पनि आफ्ना ग्राहकलाई साट्नका लागि छैन । बैंक कर्मचारी, उनका आफन्त तथा पहुँचवालालाई दिँदैमा सकिएको छ । केही बैंकले आफ्ना ग्राहकलाई नोट साटिदिए पनि पर्याप्त भने छैन । प्राय ग्राहकहरु रित्तो हाल फर्कनु परेको छ । राष्ट्र बैंकले व्यवहारिक पक्षलाई नबुझ्दा उपभोक्ताले दुःख पाएको ग्लोवल नेपाल राष्ट्र बैंकमा नोट साट्न गएका चोभारका रामबाबु केसीले बताए । ‘यदि राष्ट्र बैंकले ग्राहकको सङख्या अनुसार नयाँ नोटको व्यवस्था गरिदिएको भए निजी बैंक पनि ग्राहकलाई नोट बाड्न वाध्य हुन्थे,’ उनले भने ‘ग्राहकले पनि सहजै नयाँ नोट पाउथे, लाइन बसी सहनु पर्ने थिएन । निनी बैंकहरुले आफूहरुसँग नयाँ नोट सकिएको राष्ट्र बैंकबाट ल्याउन सके दिन्छौं भनी उपभोक्ताहरुलाई आश्वसन दिँदै आएका छन् । विश्व डिजिटल प्रविधिको प्रयोगबाट क्लिक गरेकै भरमा सम्पूर्ण काम फत्य गर्न थालिसके भने हामी भने अझै पनि नयाँ नोट साट्नका लागि घण्टौ लाइन बस्दैछा्रै । नयाँ नोट साट्न आउने ग्राहकलाई सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भगवान दाहालले भने ‘अब नोट साटेर दक्षिणा दिने नभइ मोबाइल बैकिङ सुविधामा जानुपर्छ, सहज र सरल पद्धती डिजिटल प्रविधिको प्रयोगबाट प्राप्त हुने सेवा सुविधालार्य विस्तार गर्दै लैजानुपर्छ ।’ राष्ट्र बैंकले बजारमा पठाउने भनेको करिब ७ अर्ब नोट दशैंको टिकाको प्रयोगमा मात्र लेजान पाएको भए आम उपभोक्ताले सास्ती पाउने थिएनन् ।
दशैंको मौका छोपी हिमालयन डिष्टीलरीले ल्यायो नयाँ ह्वीस्की ‘रोयल ट्रेजर’
काठमाडौं, २१ असोज । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ । हिमालयन डिष्टीलरी भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित एक संस्था हो । हिमालयनले यसअघि प्रिमियम ह्वीस्कीका दुई ब्राण्ड सिग्राम्स् रोयल स्ट्याग र सिग्राम्स् ब्लेण्डर्स प्राइडको नेपालमा उत्पादन एवम् त्यसको विक्रि वितरण समेत गरिसकेको छ । न्यून मुल्य वर्गमा परिचित ह्वीस्की ‘गोल्डेन ओक’ र हिमालयन अयलाः (परम्परागत नेवारी मदिरा) यसै कम्पनीद्वारा उत्पादित नेपाली बजारमा नाम चलेका मदिरा हुन् । रोयल ट्रेजरले ‘बहुमुल्य स्कटीश जौ र नेपालमै उत्कृष्टरुपले छनौट गरिएको ‘ग्रेन स्पिरीट’ को अद्वीतिय मिश्रण’ भनीे लेबलमा आफूलाई व्याख्या गरेको छ । स्वादमा अत्यन्तै उत्कृष्ट यस ह्वीस्कीलाई ध्यानपूर्वक तयार पारिएको छ । कम्पनीका अनुसार बजारमा ७५० मिलिलिटरको बोतलमा पाइने उक्त ह्वीस्कीको मूल्य १२०० रुपैयाँ रहेको छ । त्यसैगरि ३५० मि.लि.र १८० मि.लि.को बोतलमा उपलब्ध हुने रोयल ट्रेजरको मुल्य क्रमशः ६०० र ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
सानिमा बैंकले सूचना लुकायो, नखुल्ने वेवसाइटमा सूचना राखेको दावी
काठमाडौं, २१ असोज । सर्बसाधारण समूहको १ लाख ६८ हजार ५३१ कित्ता सेयर बोलबकोलमा बिक्री बारे सानिमा बैंकले सूचना लुकाएको छ । बैंकले उक्त सेयर असोज १७ गते बाँडफाँड भएको जनाएको छ । सेयर बाँडफाँड प्रक्रिया अपारदर्शी भएको एक आवेदकले बताए । बैंकले यस सम्बन्धि बास्तविक जानकारी दिन नमानेको ती आवेदकको दावी छ । बैंकले शुक्रबार कारोबार दैनिक पत्रिकामा सूचना जारी गरेर सेयर बाँडफाँड भएको जनाएको छ । उक्त सूचनामा धधध।कबलष्mब।अबउष्तब िमा हेर्नु भनिएको छ । तर उक्त वेवसाईट खुलेको छैन । नखुल्ले साईटमा सूचना राखेको बहाना बनाएर बैंकले सूचना लुकाएको ती सेयरधनीको गुनासो छ । यसबारे बैंकसँग सम्पर्क गर्दा प्रविधिक समस्या आएकोले वेवसाईट नखुलेको बताए ।
प्रभु इन्स्योरेन्सले १७ प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि
काठमाडौं, २१ असोज । प्रभु इन्स्योरेन्स लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले कात्तिक १२ गते हुने २१ औं बार्षिक साधारण सभामा १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि बढाएको हो । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले कमाएको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिन लागिएको हो । यसैबिच प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो पुँजी वृद्धि गरेर एक अर्ब पुर्याउने प्रस्ताव समेत सोही साधारण सभाबाट पारित गराउने भएको छ । पुँजी वृद्धिका लागि प्रभुले दुई कित्ता बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल प्रभु इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ३२ करोड ९० लाख रुपैंयाँ रहेको छ ।
कृषि विकास बैंकको १ करोड ९६ लाख कित्ता हकप्रद सेयर आयो, ७०० रुपैयाँको सेयर १०० मा किन्न पाइने
काठमाडौं, २१ असोज । कृषि बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड, ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकले २ बराबर १ को अनुपानका हकप्रद सेयर जारी गरेको हो । कृषि विकास बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । बैंकले हकप्रद सेयरमा प्रिमियम नराखी प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन गरेको छ । हाल यो बैंकको सेयर प्रतिकित्ता ७०० सय रुपैयाँ भन्दा बढीमा कारोबार भईरहेको छ ।
अरुण काबेलीको ३० कित्ता आइपिओ कात्तिक ९ देखि
काठमाडौं, २१ असोज । अरुण काबेली पावरले सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरेर ९ कात्तिकदेखि साधारण सेयर निस्कासन खुल्ला गर्ने जानकारी दिएको छ । सो पावरको इस्यू म्यानेजर सिद्धार्थ क्यापिटल हो । कम्पनीले सर्बसाधारणको लागि छुट्टयाएको सेयर निस्कासन बन्द छिटोमा १२ कात्तिक र ढिलोमा २३ कात्तिकमा हुनेछ । सो कम्पनीको सेयर कम्तिमा ५० कित्ता र बढीमा १५ हजार कित्ताको लागि निवेदन दिन पाइनेछ । कम्पनीमा ७० प्रतिशत प्रमोटर सेयर लगानी छ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत सेयर यसअघि नै निस्कासन गरिसकिएको छ । बाँकी रहेको २० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको हो । सो पावर कम्पनीको अधिकृत पूजी १ अर्ब ५० करोड रुपैयाँ छ । आयोजना स्थल पाँचथर र ताप्लेजुङ जिल्लाको थर्पु, नागी, थुम्बेदिन र साब्लाङ गाविसमा पर्छ । सो आयोजनावाट बार्षिक १४ करोड १७ लाख ४६ हजार ४ सय ७० किलोवाट घण्ट विद्युत उत्पादन हुनेछ । यसरी उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई बर्षायाममा प्रतिकिलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र हिउदाका दिनहरुमा प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ८० पैसाको दरले विक्री गर्ने सम्झौता प्राधिकरणसँग भइसकेको छ । यस्तो मूल्य आर्थिक बर्ष २०७३/७४ लाई आधार बर्ष मानी त्यसपछिका प्रत्येक आर्थिक बर्षमा बार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्य बढाउने सम्झौता प्राधिकरण र आयोजनाको विचमा भएको छ । सो आयाजना बनाउनको लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २५ मेगावाट क्षमताको सो आयोजना प्रतिमेगावाट १६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा हाल १ हजार ९ सय १३ जना प्रमोटर र १४ हजार ६ सय ७३ जना आयोजना प्रभावित क्षेत्रका सेयरधनी छन् । कम्पनीलाई इक्रा नेपालले ४ प्लस रेटिङ दिएको छ । सो कम्पनीको साधारण सेयरको लागि आवेदन दिन सिद्धार्थ क्यापिटलको कार्यालय, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु र अरुण काबेली पावर लिमिटेडको कार्यालयमा सम्पर्क गर्नुपर्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
सिद्धार्थ बैंकको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन, ११०० रुपैयाँको सेयर १०० मा किन्न पाइने
काठमाडौं, २१ असोज । सिद्धार्थ बैंकले सर्बसाधारण सेयरधनीको लागि ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ११ गतेदेखि मंसिर १५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकले ४ बराबर १ को अनुपानका हकप्रद सेयर जारी गरेको हो । सिद्धार्थ बैंकको १०० कित्ता सेयर हुनेले २५ कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । बैंकले हकप्रद सेयरमा प्रिमियम नराखी प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन गरेको छ । हाल यो बैंकको सेयर प्रतिकित्ता ११ सय रुपैयाँ भन्दा बढीमा कारोबार भईरहेको छ । हाल बैंकले सेयर पुँजी ३ अर्ब २ करोड २० लाख रुपैयाँ रहेकोमा हकप्रद सेयर जारी पछि सेयर पुँजी ३ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ ।