विकासन्युज

भारतीय राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

पोखरा, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण र सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समिति एकजुट भई आ–आफ्नो जिम्मेवारी अनुसार कामलाई तीव्रता दिएका छन् । क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार उपसमितिले तोकिएको जिम्मेवारीलाई विहिवार बेलुकासम्म सम्पन्न गर्ने गरी क्रियाशील बनेका छन् । सुरक्षा सम्बन्धी आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको बताउँदै उनले राष्ट्रपति मुखर्जीको अगामी कात्तिक १९ गते हुने पोखराको भ्रमणका लागि सवारी आवागमनको पूर्व अभ्यास विहिवार गर्न लागिएको जानकारी दिए । राष्ट्रपति मुखर्जीको आगमनलाई लक्षित गरी पोखरामा विभिन्न ठाउँमा स्वागतद्वार निर्माण, सरसफाइ सौन्दर्यीकरणका काम भइरहेको पनि क्षेत्रीय प्रशासक बरालले जानकारी दिए । राष्ट्रपति मुखर्जीको भ्रमणलाई लक्षित गरी बिग्रेभत्केका सडकको मर्मत गरिएको छ भने विभिन्न नौ ठाउँमा स्वागतद्वार राख्न लागिएकोमा सात ठाउँको स्वागतद्वार निर्माण सम्पन्न भइसकेको पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताए । उनले राष्ट्रपति मुखर्जीको सवारी हुने मुख्य मार्गमा त्यहाँका स्थानीयवासी समेतको सहकार्यमा सरसफाइ कार्य पनि अघि बढाइएको बताए । राष्ट्रपति मुखर्जीको सम्मानमा स्थानीयवासीले पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मका बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने कार्यक्रम रहेका छन् । स्वागत व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठका अनुसार पोखरा विमानस्थलदेखि राष्ट्रपति मुखर्जी जाने रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म उनको सम्मानमा विभिन्न जातजातीबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिने कार्यक्रम छ । स्वागतका लागि सम्बन्धित टोल तथा समुदायमा आवश्यक पत्राचार भइसकेको जानकारी दिँदै उनले राष्ट्रपति मुखर्जीको सम्मानमा स्वस्तीवाचनका लागि लेखनाथ नगरपालिका क्षेत्रबाट समेत बटुकहरुको उपस्थिति गराइने भएको जानकारी दिए । प्राप्त कार्यक्रम अनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम छ । विमानस्थलबाट केही समय आराम गर्नका लागि पोखरा ग्रान्ड होटलमा जाने र अपरान्ह ३ः०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले जानकारी दिए । रासस

ऋण खोजेर लघुजलविद्युत् आयोजना पुनःनिर्माण, चार लाख रुपैयाँ लगानी

गोरखा, १७ कात्तिक । गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन् । पाँच/पाँच हजार रुपैयाँका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए । अठार महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा क्षति पुर्याएको थियो । ऋण खोजेको पैसाले आयोजना मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भएपछि गाउँ उज्यालो भएको गुरुङको भनाइ छ । उक्त विद्युत् लापु गाविसको वडा नं २, ५ र ९ वडाका १०० टहरोमा जडान गरिएको हो । विद्युत् सुचारु भएपछि गाउँले खुसी छन् । कुटानीपिसानी गर्न, रेडियो सुन्न, टिभी हेर्न र टेलिफोनका टावर सञ्चालनमा सजिलो भएको छ । त्यस्तै उज्यालोमा बसेर विद्यार्थीले पढ्न पाएका छन् । विद्युत् अवरुद्ध हुँदा मट्टितेल बाल्नुपर्ने बाध्यता थियो भने केही गाउँलेले सल्लाको दियालो बाल्ने गरेका थिए । चार लाख रुपैयाँ लगानी गरी विद्युत् आयोजनाको मर्मत गरिएको हो । जिविस गोरखासँग आयोजना मर्मतका लागि बजेटको माग गरिए पनि नपाएपछि गाउँलेले आफैँ आयोजनाको मर्मत गरेका हुन् । भूकम्पले क्षति पु¥याएका ३० भन्दा बढी लघुजलविद्युत् आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । रासस

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत

काठमाडौं, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहेएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरिन्। राष्ट्रपति भण्डारीले उनलाई पुष्पगुच्छाले स्वागत गरेकि हुन्। नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित थिए । भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो । विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गर्दै छन् । राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका छन् ।

चक्रपथभित्र ‘अघोषित कर्फ्यू’, सडक वरपरका घरको झ्याल ढोका समेत बन्द, मुखर्जीको सुरक्षार्थ नेपाली सेनाको हवाइ गस्ती

काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज साढे १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । उनको आगमनका क्रममा आज काठमाडौंको सवारी आवागमन प्रभावित मात्र नभइ एक प्रकारको अघोषित कफ्र्यू लागेको जस्तै हुने भएको छ । दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना छैन भने नेपाली सेनाले हवाइ गस्ती गर्ने तथा सडक छेउका झ्याल ढोका समेत बन्द गर्न लगाइएको छ । ११ः३० बजेदेखि २ बजेसम्मका लागि सवारी हुने बाटोको झ्याल ढोका समेत बन्द गर्न आदेश आएको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् ।   भारतीय राष्ट्रपति प्रणम मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी गाडी चल्न नदिने र सर्वसाधारण समेत हिड्न नपाउने भएपछि चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिएको छ । उनको साथमा भारतका उच्च पदस्थ अधिकारी पनि आउँने कार्यक्रम रहेको छ । ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाउँदै सर्वसाधारणलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको छ । ट्राफ्रिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका समयमा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ । मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनसहित डिजिटल सम्पर्क विच्छेद हुनेछ । सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ ।  त्यस्तै मुखर्जी नेपाल आउँदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल करिब ५० मिनेट बन्द गरिएकाे छ । मध्यान्ह १२ः१० बजेदेखि १ बजेसम्म आन्तरिक र वाह्य दुबै उडान पुरै बन्द गरिएको छ । मुखर्जीको सुरक्षामा मुखर्जी आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोकिएको छ । विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गर्ने बताएको छ । त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने भएपनि त्रिभुवन विमानस्थलले ‘नोटाम’ अवधी थपिनसक्ने समेत बताएको छ । राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छिन् ।

रानी जमरा आयोजना समयमै पूरा नहुने, मुक्त कमैयाको बासोवास स्थान्तरण र रुख कटानमा ढिलाई

धनगढी, १७ कात्तिक । आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण समयमै पूरा नहुने देखिएको छ । मुक्त कमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूल नहरको रेखाङ्कनमा परेकाले उनीहरुलाई स्थानान्तरण गरी व्यवस्थापन गर्नुपर्ने तथा नहरको रेखाङ्कन गरिएको क्षेत्रका रुख कटानी प्रक्रियामा ढिलाइ भएका कारण समयमै सो आयोजना निर्माण पूरा हुन नसक्ने देखिएको हो । आयोजनाका इन्जिनियर प्रकाशराज सत्यालका अनुसार कर्णाली मुहान भएको उक्त आयोजनाको निर्माण कार्य हालसम्म ६० प्रतिशत मात्र पूरा भएको छ । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको सो आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण कार्य पूरा भएको छ । इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूल नहर तथा ‘सेटलिङ्क बेसिन’ निर्माण कार्य करिब ७० प्रतिशत पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहर, तथा पावर हाउस निर्माण कार्य भइरहेको छ । लम्कीतर्फको नयाँ शाखा नहर निर्माणका लागि प्रक्रिया अघि बढाइएको इन्जिनियर सत्यालले बताए । कटासेदेखि मोहनासम्म फिडर नहर, शाखा पुनःनिर्माण तथा सडकमा ग्राभेलको काम निर्माणाधीन छ । सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धको लक्ष्य रहेको छ । “हालसम्म २१ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भएको छ, बाँकी भागमा निर्माण कार्य जारी छ ,” उनले भने । मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुन लागेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको छ । आयोजना निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा गाविसको करिब २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । अयोजना निर्माणको कुल खर्च सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदानसहित १२ अर्ब ६३ करोड २१ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रपति प्रणव मुखर्जीकाे भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैन-परराष्ट्र मन्त्री महत

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गर्दै छन् । राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म गर्ने सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । मुखर्जी अाउने दिन सार्वजिनक विदा दिएर जनस्तरबाट चर्काे अालाेचना खेपेकाे सरकारले यस प्रमणकाे तयारी कस्ताे गरेकाे छ ? के के विषयमा नयाँ सन्धि सम्भाैता हुदैछन् ?  १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा कस्ताे असर पार्छ ? भारतले गत वर्षमात्र करिब ६ महिना लामाे नाकाबन्दी  गरेर नेपालीकाे मुटुमा परेकाे चाेट याे भ्रमणले निकाे बनाउँछ ? प्रस्तुत छ नेपालका परराष्ट्र  मन्त्री डा. प्रकाशशरण महतसँग यिनै विषयमा गरिएकाे कुराकानी । भारतीय राष्ट्रपतिको भ्रमणको मुख्य कार्यक्रम के के छन्, त्यसको तयारी कस्तो छ ? लामो समयपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट नेपालको सद्भावना भ्रमण हुनु सकारात्मक भएकाले यसलाई हामीले उच्च महत्व दिएका छौं । राष्ट्रपति मुखर्जी विमानस्थलमा अवतरण गरेपछि त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वागत हुनेछ । त्यसपछि उहाँ सिधै राष्ट्रपति भवन शीतलनिवास जानुहुनेछ । त्यहाँ राष्ट्रपतिसँग भेटवार्ता हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीबाट पशुपति मन्दिरमा पूजाअर्चना, काठमाडौं विश्वविद्यालयको कार्यक्रम, काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने नागरिक अभिनन्दन, राष्ट्रपति र प्रधानमन्त्रीले उहाँको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सरिक हुनेलगायत कार्यक्रम छन् । साथै, राष्ट्रपति मुखर्जीसँग उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक राजनीतिक दलका नेताले शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले जनकपुरको भ्रमण गरी त्यहाँस्थित रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्नुहुनेछ भने त्यहाँ जनकपुरबासीले उहाँको नागरिक अभिनन्दन गर्नेछन् । त्यसैगरी, पोखराको भ्रमण गरी त्यहाँस्थित भारतीय पेन्सन क्याम्पमा आयोजना हुने कार्यक्रममा सहभागी भएर राष्ट्रपति मुखर्जी स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति मुखर्जीको भ्रमण एवम् सवारी व्यवस्थापन, सुरक्षालगायत आवश्यक सबै तयारी पूरा भएका छन् । भारतका राष्ट्राध्यक्षको भ्रमण भएकोले सुरक्षा संवेदनशीलतालाई विशेष महत्व दिएर उच्च प्राथमिकताका साथ तयारी भएको छ । यस भ्रमणको मूल सन्देश के हुन्छ ? यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्छ । एउटा भ्रमणले सबै लक्ष्य पूरा हुन्छन् भन्ने होइन । विभिन्न चरण पार गर्दै हामी यो स्थानमा आईपुगेका छौं । मलाई विश्वास छ, यसले विगतमा देखिएका तिक्ततालाई मेटाएर नयाँ चरणमा सम्बन्ध अघि बढाउन मद्दत गर्छ । राष्ट्राध्यक्षको भ्रमण भएकाले अरु कार्यकारी प्रमखको जस्तो द्विपक्षीय संयुक्त वक्तव्य जारी गर्ने र दुई देशको बीचमा सम्झौता, समझदारी हुँदैनन् । मुलतः यो भ्रमण दुई देशबीचको सद्भाव प्रवद्र्धनमा केन्द्रित हुने भएकाले यसबाट उच्चस्तरको विश्वास आर्जन हुने र यसले आपसी सद्भाव विकास गर्दै अझ उच्चतहमा एकअर्कालाई बुझ्ने तथा पारस्परिक भावनालाई सम्मान गर्ने आधारहरु सिर्जना हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको स्वरुप पनि यस भ्रमणले तय गर्नेछ । ऐतिहासिक एवम् कूटनीतिकरुपमा यो भ्रमणको सान्दर्भिकता र महत्वलाई कसरी लिनुहुन्छ ? हामीले मुलुकको परराष्ट्र नीतिलाई कूटनीतिक तवरले नै हेर्नुपर्छ । समस्या उत्पन्न भए त्यसलाई कूटनीतिक माध्यमबाटै समाधान खोज्नुको विकल्प छैन । हामीले मुलतः दुई ठूला छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ । कूटनीतिलाई हाम्रो आन्तरिक राजनीतिसँग जोडेर हेर्न हुँदैन । आन्तरिक विषयवस्तुमा राजनीतिक दलले आपसमा बहस गर्नुपर्छ, आ–आफ्ना तर्क पेश गरौंला तर परराष्ट्र नीतिलाई आन्तरिक राजनीतिको परिपूरण गर्ने हतियारका रुपमा प्रयोग गर्न हुँदैन । मूलभूतरुपमा कूटनीतिक टेबलमा आफ्ना राष्ट्रिय स्वार्थ र आवश्यकताका विषयमा हामीले गहन गृहकार्यसहित स्पष्टरुपमा आफ्ना कुरा प्रस्तुत गर्ने गरेका छौं । भारत भ्रमणमा जाँदा हामीले त्यस्ता विषयमा आफ्ना कुरा स्पष्टरुपमा राखेका छौं । परराष्ट्रमन्त्रीका रुपमा मैले प्रधानमन्त्रीको भ्रमण अघि भारतमा भएका कार्यक्रममा ती विषय उठाएको छु । नेपाल ठूलो सैन्य तथा आर्थिक शक्ति होइन । हाम्रो पावर भनेको ‘पस्र्युएसनको पावर’ हो । हामीले आफ्ना कुरालाई तर्क र आधारसहित प्रस्तुत गर्ने र सहयोगका लागि आग्रह गर्ने हो । यो सरकार गठन भएपछि म चारपटक भारत गएँ, आफ्ना कुरा ठोस ढङ्गबाट राखेको छु । डुबानको समस्या, कतिपय पुराना सन्धि सम्झौताको कार्यान्वयन नभएका विषय, गण्डक सिँचाइको विषय नउठेको लामो समय भएको थियो । त्यो विषयले प्रवेश पाएको छ । त्यसका कारण कूटनीतिक बाटोबाट हामीले आफ्ना कुरालाई राख्नुपर्छ । त्यसकारण तर्कसङ्गतरुपमा आफ्ना कुरा राख्ने हो भने नतिजा आउँछ भन्ने मलाई विश्वास लागेको छ । भारतका राष्ट्रपतिको यो भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ विकसित पार्ने आधारशिलाको रुपमा हामीले लिएका छौं । यो भ्रमणले विगतका (नाकाबन्दीसहित) तिक्ततालाई समाप्त पार्न मद्दत पुग्ने विश्वास मलाई लागेको छ । केही समयअघि नेपाल–भारत सिमानामा उत्पन्न अवरोध र अन्य समयमा भएका कूटनीतिक चिसोपनलाई हटाउन यो भ्रमण सफल हुन्छ ? हामीले विगतका कुरामात्र गरेर समस्याको समाधान निस्कँदैन । समस्याहरु टेबलमा राख्ने र त्यसको यथार्थ विश्लेषणको आधारमा समाधान खोज्ने प्रयास भएको छ । मन्त्रिस्तरीय बैठकमा अधिकांश विषयलाई हामीले छलफल गरेका छौं । विगतमा भारतबाट मात्रै कुरा आउँछ भन्ने थियो तर अहिले हामीले धेरै विषय भारतसमक्ष राखेका छौं । यसपटक भारतीय पक्षबाट हामीले उठाएका कुरा राम्रोसँग सुनिएको छ । हाम्रा चासोका विषयलाई गम्भीरतापूर्वक लिइएको छ । यो सकारात्मक विषय हो । राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई उत्तरको छिमेकी चीनलगायत मुलुकबाट हुने उच्चस्तरीय भ्रमणको सुरुवात मान्न सकिन्छ ? भारत र चीनका आ–आफ्नै विशेषता छन् । आफ्नो सम्बन्ध जुनजुन देशसँग जस्तो छ त्यसैमा केन्द्रित रहेर हामीले काम गर्नुपर्छ । त्यसपछि मात्र परिणाम आउँछ । हामीले विशेषगरी दुई छिमेकी देशसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौँ । अन्य मित्रराष्ट्रले नेपाललाई सहयोग गरिरहेका छन्, उनीहरुसँग पनि सम्बन्धका विभिन्न विषयवस्तु र आयामहरु छन् । त्यसकै आधारमा सम्बन्धलाई विकसित गर्ने हो । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा चीनका राष्ट्रपतिसँग भेटवार्ता हुँदा पनि मैले नेपालका राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई स्पष्टरुपमा राखेको छु । दुई देशको सम्बन्धलाई विकसित गर्न चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण भएको छ । उहाँले नेपालको भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँ चाँडै यहाँ आउने कुरो छ । चीनसँग भएका समझदारी र सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा पनि गम्भीररुपमा छलफल भएको छ । हामी तिनलाई कार्यान्वयन गर्न क्रियाशील हुन्छौं । राष्ट्रपतिसँगको भेटघाटमा केही सम्झौतामा हस्ताक्षर हुने पनि कार्यक्रम छ ? त्यस्तो कार्यक्रम छैन । भारतका राष्ट्रपतिले सहयोगका विषयमा घोषणा गर्न चाहनुभयो भने केही आउन सक्छ, तर यो भ्रमण विशुद्ध सद्भावना भ्रमण नै हो । यसमा कुनै खास सहयोगका क्षेत्रमा हस्ताक्षर हुँदैन । विशेषगरी दुई देशबीचको सम्बन्ध विस्तार गर्ने र सद्भाव बढाउनमा नै वार्ता केन्द्रित हुन्छ । भ्रमणलाई फलदायी बनाउन के गर्न सकिन्छ ? यो भ्रमणलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुनु उपयुक्त होइन । हामीले यसलाई सद्भाव र मित्रता सरकारी तहमा भन्दा पनि जनस्तरमै प्रस्तुत गर्नुपर्छ । हामी नेपाली पाहुनाको सत्कारका लागि संसारमै परिचित छौं, त्यो पहिचानलाई कायम राख्नुपर्छ । कुनै विषयलाई राजनीतिकरण गर्नु हुँदैन । यो भ्रमण राष्ट्रको प्रतिष्ठासँग गाँसिएको छ, त्यसलाई सबैले ख्याल गर्नुपर्छ । तपाईले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र नीतिलाई कसरी सञ्चालन गर्ने सोच बनाउनु भएको छ ? परराष्ट्रनीति समग्रमा राष्ट्रको नीति हो । यसलाई कुनै पार्टीको रुपमा व्याख्या नगरी सबैको सल्लाह सुझाव लिने र सहयोग गर्ने साझा नीतिका रुपमा विकास गर्नुपर्छ । त्यसका लागि विदेश नीतिको विस्तृत पुनरावलोकन गरेर अन्तक्र्रियात्मक सहभागितामार्फत सुस्पष्ट साझा राष्ट्रिय धारणा विकसित गर्न हामी प्रयासरत छाँै । मुलुकको विदेशनीतिलाई सघाउने ‘थिङ्क ट्यांक’को आवश्यकता छ जसले विभिन्न विषयमा ठोस अनुसन्धानका आधारमा सुझाव एवम् सल्लाह परराष्ट्र मन्त्रालयलाई दिन सकोस् । परराष्ट्र मामिलाको अध्ययन प्रतिष्ठान त छ त्यसले अपेक्षानुसार काम गर्न सकेको छैन । यसलाई नयाँ रुपमा विकास गर्नुपर्छ । अहिले लाखौं नेपाली विदेशमा रोजगारीमा रहेकाले विदेशका हाम्रा मिसनलाई सशक्त बनाउँदै नेपाली कामदारको सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सक्रियतामार्फत राम्रो उपस्थिति देखाउने हो । शान्ति सेनालगायत विषयमा नेपालको योगदानअनुसारको हैसियत प्राप्त गर्ने विषयमा पनि हाम्रो ध्यान गएको छ । जापान, युरोपेली मुलुक र अमेरिकासँगको सम्बन्धलाई बढी फलदायी बनाउने विषय पनि हाम्रो प्राथमिकतामा छन् । रासस

इन्टरनेट सपिङमा बढ्दो जोखिम, ह्याकरको निशानामा क्रेडिटकार्ड

अनलाईन सपिङमा ह्याकरहरुको जोखिम बढेको एक अध्ययनले देखाएको छ। यदि तपाइँ अनलाइन सपिंग गर्नुहुन्छ भने सावधान हुनुहोस् । र, हुनसक्छ की ह्याकरले तपाइँले गरेको अनलाइन सपिंगका बेला तपाइँको क्रेडिट कार्डको डाटा समेत चोरिरहेको हुनसक्छ । एक शोधबाट यो पत्ता लागेको छ की अनलाइन शपिंग गराउने झण्डै ६ हजार वेबसाइटले ग्राहकको क्रेडिट कार्डको जानकारीहरु चोरी गरी त्यसको गलत प्रयोग गर्ने गरेका छन् । डच डेभलपर विलियम डी ग्रूटका अनुसार प्रयोगकर्ताको क्रेडिट कार्डको कोड नम्बर साइबर अपराधीद्धारा विभिन्न वेबसाइटहरुमा प्रकाशित समेत गर्ने गरिएको छ । उनका अनुसार झण्डै ५ हजार ९२५ वटा यस्ता वेबसाइट पत्ता लागेका छन् जसले प्रयोगकर्ताका डाटा चोरी गर्दछन् । डी ग्रूट डच इ कमर्श साइट बाइट डट एनएलका सहसस्थापक समेत हुन् । उनले ब्लगस्पटमा भनेका छन् की ह्याकरहरुले सबैभन्दा बढि प्रयोग गरिने अनलाइन सपिंग साइटलाई आफ्नो निशाना बनाउने गर्दछन् । जब ह्याकरहरुले ती वेबसाइटहरुमा आफ्ना मार्ग बनाउँदछन् तब उनीहरुले ती साइटबाट प्रयोगकर्ताको क्रेडिट कार्ड तथा कारोबार सम्बन्धी विभिन्न जानकारी चोरी गर्दछन् । त्यसरी चोरी गरिएका क्रेडिट कार्डका डाटा प्रतिकार्ड ३० डलरको हिसाबले वेब मार्केटमा बेचिदिन्छन् । शोका क्रममा उनले चोरी गरिएका फरक फरक ९ प्रकारका कोड पत्ता लगाएका छन् । जसमा फरक फरक ह्याकर समूह संलग्न रहेका छन् । ग्रूटका अनुसार डाटा चोरीको चंगूलमा कार निर्माता कम्पनी, फेसन कम्पनी तथा सरकारी वेबसाइटहरु समेत पर्ने गरेका छन् । अनलाइन सपिंगका कारण सिर्जना हुने ह्याकिंग तथा डाटा चोरी जस्ता समस्या आउन नदिनका लागि आधिकारिक तथा विश्वसनीय साइटबाट मात्र सपिंग तथा भुक्तानी गर्नुपर्ने सुझाव उनको छ । साथै त्यस्ता साइटहरुलाई आफ्ना संवेदनशील सूचनाहरु दिनुअघि त्यसको प्रयोजन तथा परिणामको बारेमा सोँचविचार गर्नु अत्यावश्यक हुन्छ ।

मुस्ताङबाट २३ करोडको स्याउ बिक्री

मुस्ताङ, १४ कात्तिक । हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपैयाँको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै आठ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए । “गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले ४४ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरेका छौँ”, योजना अधिकृत गुरुङले भने “अझै स्याउ टिप्ने क्रम जारी छ ।” अहिलेसम्म तीन हजार २०० मेट्रिक टन स्याउ बाहिरिएको उनले बताए । कृषकले लगाएको स्याउ ठेकेदारले हचुवाका भरमा पहिल्यै खरिद गर्ने चलन छ । साउनमै ठेक्कामा बिक्री गरेर कृषकले पैसा बुझिसकेका हुन्छन् । पोखरा, धादिङ, काठमाडौँका व्यापारी आएर होलसेल मूल्यमै बारीबाट स्याउ टिपेर लाने गरेका छन् । “हामीले पहिल्यै ठेक्कामा दिन्छौँ, घाटा नाफा व्यापारीको कुरा हो” मार्फा–९ का कृषक प्रेमबहादुर तामाङले भने, “यसपालि मैले डेढ करोडमा ठेक्का दिएको हुँ । असिना परेर बोटमा पातलो दाना लाग्यो, हिउँ खासै नपरेकोले उत्पादन घटेको छ ।” मुस्ताङी स्याउ निकै स्वादिलो हुने भएकाले पोखरा, काठमाडौँ लगायतका प्रमुख सहरमा व्यापारीले पु¥याउने गरेका छन् । यस वर्ष मुस्ताङका बगैँचाबाट कृषकले ठेक्कामा व्यापारीलाई स्याउ बिक्री गर्दा रु ७० देखि ८० प्रतिकिलो थोक मूल्य परेको छ । जिल्लाको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाउँमा अत्यधिक स्याउ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस