विकासन्युज

गलैंचा निकासीकर्ता संघको १२औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल गलैंचा निकासीकर्ता संघको १२औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन बाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले गरेका छन् । साथै, मन्त्री विश्वकर्माले उत्कृष्ट गलैंचा निर्यातकर्ताहरुलाई सम्मान प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले निर्यात व्यवसायीहरुले सरकारले निकासीमा नगद प्रोत्साहन नबढाएको गुनासोका सम्बन्धमा बसेर छलफल गरी बढाउन सकिने बताए । उनले उपलब्धी हासिल गर्न पुरानो शैली बदलेर नयाँ तरीका अपनाउनु पर्छ भने । साथै, अन्तर्राष्ट्रिय बजारले खोजेको नयाँ डिजाइन, रङ्ग आदिका बारेमा हामीले परिबर्तन गर्न नसकेर नेपालीहरु पछि परेको आसंका व्यक्त गरे । उनले निर्यातकर्ताहरुलाई आफ्नो निर्यातलाई अभिलेखी करण गरी बास्तबिक मूल्य तोकी निर्यात गर्न अनुरोध गरे । उनले व्यवसायीहरुलाई निर्यात बढाउन के के आबश्यक पर्छ र सरकारले के गर्न जरुरी छ भन्ने सम्बन्धमा आफूलाई सुझाब दिन आग्रह गरेका छन् । मन्त्री विश्वकर्माले चीन तर्फ भएको गलैंचा निकासीको तथ्याड्ढले नदेखाएको बताए । चीनसंगको निर्यात व्यापारमा बैकिङ्ग प्रणाली मार्फत भुक्तानी प्राप्त गर्ने झण्झटीलो हुने गर्नाले पनि निकासी व्यापारको आंकडा जति देखिनु पर्ने हो सो नदेखिएको हो उनले भने । नेपाली गलैंचाबाट प्राप्त प्रत्यक्ष वा अप्रत्यक्ष आयले देशको बजेट घाटालाई अझ बढी बृद्धि हुन दिनबाट कही हदसम्म रोकेको छ,”उनले भने । कार्यक्रमका अध्यक्ष अनुप बहादुर मल्लले नेपाली गलैंचालाई प्रबद्र्धन गर्न अन्तर्राष्ट्रिय गलैंचा मेलाहरुमा सहभागी हुन निर्यातकर्ताहरुलाई छिमेकी मुलुकका सरकारहरुले दिएका सुबिधा सरह दिनु पर्ने बताए । उनले सरकारले ऐन कानूनहरु नीजि क्षेत्र मैत्रीहुनु पर्ने नीजि क्षेत्रका सुझाबहरुलाई पुरा गर्न नयाँ व्यवस्थाहरु नगरेको होइन तर पुराना ऐन नियममा भएका बाध्यकारी व्यवस्थाहरुलाई चाहिं यथावत राख्नाले नयाँ व्यवस्थाको कार्यन्वयन हुन नसकेको बताए । “हामीले दक्षजनशक्ति रोजगारीका लागि बिदेशिने क्रमले गलैंचा क्षेत्रमा मजदुर अभाबका कारण ढुक्क भएर अर्डर लिने अबस्था नभएकाले जनशक्ति तयार पार्न बजेटको व्यबस्थागर्न सुझाब दिंदै आएको फलस्वरुप बाणिज्य मन्त्रालयले यस बर्षको बजेटमा तालीमकालागि बजेट बिनियोजन गराएको छ” मल्लले भने । कार्यक्रममा प्रमुख अतिथि बाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माको भनाइ अनुसार संयुक्त राज्य अमेरिकाले नेपाली गलैंचालाई बिना भन्सार अमेरिकी बजारमा प्रबेश गर्ने सुबिधा प्रदान गरेकोमा संघले अमेरिकी सरकारलाई प्रशंसा पत्र दिएको थियो । उक्त प्रशंसा पत्र अमेरिकी राजदुताबासका आर्थिक तथा व्यवसायिक अधिकृत केभिन सि. प्राइसले प्रमुख अतिथिबाट ग्रहण गरेको जानकारी दिएका छन् ।  

नेसनल हाइड्रो पावरको २० औं साधारण सभा, सात जना पदाधीकारी निर्विरोध

काठमाडौं । विवादका कारण लामो समयदेखि हुन नसकेको नेसनल हाइड्रोपावर २० औं साधारण सभा भएको छ । कम्पनीले सञ्चालक र सेयरधनी कम्पनीबिच वित्तिय पारदर्शीताबारे विवादका कारण ६ वर्षदेखि बस्न नसकेको साधारण सभा मंगलबार आयोजना गरेको हो । उक्त साधारणसभामा भएको बोर्डको निर्वाचनमा सात जना निर्विरोध चयन भएका छन् । कुमार पाण्डे, बासुदेव गौतम, विश्वेश्वर सुवेदी, सोमनाथ सापकोटा, एलसन श्रेष्ठ, नवराज नेपाल र सुशिला कुमारी शर्मा निर्विरोध चयन भएका छन् । यस अघि संचालकका लागि नौ जनाले दाबी गरेका थिए । साधारणसभामा रोकिएको आर्थिक वर्षका सवै बार्षिक प्रतिवेदनमाथि पनि छलफल गरी पारित गरिएको छ । बोर्डका अध्यक्ष कुमार पाण्डेले भने, ‘लामो समयको विवादपछि आज साधारणसभा भएको छ । यसले आर्थिक वर्ष २०७३/७४ को लागि पनि बाटो खुलेको छ ।’    

फष्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस दिने

काठमाडौं । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात उक्त लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

मंगलबार नेपाल चीनबिच छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । नेपाल र चीनबीच आज तीनवटा सम्झौतामा हस्ताक्षर हुने भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण अनि नेपालमा चिनियाँ लगानी भित्र्याउने सम्बन्धी छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर हुने भएको हो । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा यी सम्झौता हुन लागेका हुन् । यस्तै चीनको राज्य परिषदका उपप्रधानमन्त्री याङले हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्ने कार्यक्रम छ । नौतले दरबार चीनको सहयोगमा जिर्णोद्धार हुन लागेको हो । नेपाल सरकारको निमन्त्रणामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका याङले मंगलबार नै राजनीतिक भेटघाट पनि सुरु गर्नेछन् । उनले मंगलबार उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भने बुधबार भेट गर्ने कार्यक्रम रहेको छ ।

सुजुकीको विशेष सेवा केन्द्र जोरपाटीमा

काठमाडौं । राजधानीकोे जोरपाटीमा ट्याक्सी धनीलाई लक्षित गर्दै सुजुकी सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुजुकी ट्याक्सीका धनीलाई पूर्ण सुविधा सहित सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको । अत्याधुनिक प्रविधि सुसज्जित समस्या सहजै पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविध सेवा केन्द्रमा उपलब्ध रहको छ । ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशत सम्मको छुटपनि उपलब्ध गराएको जानकारी दिइएको छ ।    

प्रहरी र पुननिर्माण प्राधिकरणले ५ हजारलाई जागिर दिने, मंगलबारदेखि भर्ना खुल्यो

काठमाडौं । सरकारी निकायले एकैदिन झण्डै ५ हजार जनालाई रोजगारी दिन भर्ना खुला गरेका छन् । दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रहरी जवानदेखि प्रहरी निरीक्षक सम्मका लागि ३ हजार ७०९ र राष्ट्रिय पुननिर्माण प्राधिकरणले इन्जिनियर, सवओभरसियर गरी १ हजार १०१ प्राविधिक गरी ४ हजार ८१० जनालाई रोजगारी दिने भर्ना खुला गरेका हुन् । सशस्त्र प्रहरीले विभिन्न तहका लागि २ हजार ५ सय र जनपद प्रहरीले १ हजार २०९ जना मागेका हुन । सशस्त्रले खुला, समावेशी, अमर र अशक्त प्रहरीका परिवारलाई समेत गरी कुल २ हजार ३ सय जवान मागेको छ । यस्तै सशस्त्र प्रहरी परिचर अर्थात भान्छेमा १०५, कपाल काट्ने २५, सूचिकार १५, चर्मकर्मी २० र कुचिकार ३५ जना मागेको छ । सशस्त्रमा दरखास्त बुझाउने अन्तिम मिति भदौ २८ गते कार्यालय समयसम्म तोकिएको छ । नेपाल प्रहरीले प्रहरी ९१ जना प्रहरी निरीक्षक, ३१४ जना सहायक प्रहरी निरीक्षक र ७६७ जना जवानका लागि नयाँ भर्ना खुला गरेको छ । यस्तै प्राविधिकतर्फ ९७ जना मागेको छ । दरखास्त फारम भदौ ५ देखि असोज २ गतेसम्म लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लामा भवन र अन्य संरचनाको पुननिर्माणको काम गर्न प्राधिकरणले करारमा इन्जिनियर मागेको हो । राजपत्र अंकित तृतिय श्रेणीका लागि सिभिल इन्जिनियर वा विल्डिङ एन्ड आर्कटेक्टमा स्नातक तह उत्तिर्ण गरेका ३७२, सव–इन्जिनियर प्रविणता प्रमाणतह उतिर्ण गरेका ३९१ र सिभिल इन्जिनियरिङ विषयमा प्राविधिक वा एसएलसी सरह उतिर्ण गरेका ३३६ जना प्राविधिक मागेको छ । तलव सुविधा सरकारको प्रचलित बमोजिम रहने र कार्यसम्पादनका आधारमा ५० प्रतिशत र भौगलिक क्षेत्रका आधारमा २५ प्रतिशतसम्म थप गर्न सकिने प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न प्राधिकरणले भनेको छ ।  

लाभग्राही सुचिमा नपरेका भूकम्प पीडीतका घरहरु जाँच्न पुनः इन्जिनियर खटाइँदै

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले लाभग्राही सुचिमा नपरेका भुकम्पपीडीतका घरहरु इन्जिनियर खटाई पुनः जाँच गर्ने भएको छ । प्रभावित क्षेत्रमा साउन २६ गतेदेखि भदौ ३१ गतेसम्म इन्जिनियरहरु खटाउने भएको हो । प्राधिकरणबाट खटिएका इन्जिनियरहरुबाट भत्केको घरको छुट तथा पुनःजाँच सर्वेक्षण गराई अनुदान दिइने हुँदा सहभागी हुन पीडीतहरुलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणले आहवान गरेको छ । गुनासो तथा दर्ता नगरेका घरधुरीले समेत नजिकैको वडा, गाउँपालीका वा नगरपालीकमा यथाशिघ्र गुनासो तथा दर्ता गराउन प्राधिकरणले ध्यानाकर्षण गराएको छ । थप जानकारीका लागि प्राधिकरणको टोल फ्रि नम्बर १६६००१७२००० वा ९८०१५७२१११ मा वा जिल्ला स्थित राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।  

पुननिर्माण प्राधिकरणले माग्यो ११ सय इन्जिनियर, १५ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा भौतिक संरचना निर्माणका लागि १ हजार १०१ प्राविधिक मागेको छ । भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लामा भवन र अन्य संरचनाको पुननिर्माणको काम गर्न प्राधिकरणले करारमा इन्जिनियर मागेको हो । राजपत्र अंकित तृतिय श्रेणीका लागि सिभिल इन्जिनियर वा विल्डिङ एन्ड आर्कटेक्टमा स्नातक तह उत्तिर्ण गरेका ३७२, सव–इन्जिनियर प्रविणता प्रमाणतह उतिर्ण गरेका ३९१ र सिभिल इन्जिनियरिङ विषयमा प्राविधिक वा एसएलसी सरह उतिर्ण गरेका ३३६ जना प्राविधिक मागेको छ । तलव सुविधा सरकारको प्रचलित बमोजिम रहने र कार्यसम्पादनका आधारमा ५० प्रतिशत र भौगलिक क्षेत्रका आधारमा २५ प्रतिशतसम्म थप गर्न सकिने प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न प्राधिकरणले भनेको छ । प्राधिकरणका अनुसार भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, नुवाकोट, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, रसुवा, रामेछाप, धादिङ, भुक्तपुर, ओखलढुङा, काठमाडौ, ललितपुर, भक्तपुरमा खटाउने तयारी गरेको छ । यस्तै छनौट हुने प्राविधिकले मकवानुपर, लम्जुङ, अर्घाखाँची, नवलपरासी, बाग्लुङ, म्याग्दी, भोजपुर, धनकुटा, कास्की, पर्वत, स्याङजा, खोटाङ, तनहुँ, चितवन, सोलुखुम्बु, गुल्मी र पाल्पा रहेका छन् । प्राविधिकको अभाव भएपछि घर लगायत अन्य सार्वजनिक भवनको पुननिर्माण हुन नसकेपछि प्राधिकरणले ठुलो संख्यामा इन्जिनियर नियुक्त गर्न लागेको हो । लिखित र अन्तरवार्ता दुबै हुने छ ।