विद्युत् चोरीको आरोपमा चार पक्राउ
बनेपा, ३ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । प्रहरीसहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय सामानसहित उनीहरुलाई बिहीबार काभ्रेपलाञ्चोकको देउपुर क्षेत्रबाट पक्राउ गरिएको शाखा प्रमुख नवलकिशोर गोइतले जानकारी दिए । पक्राउ पर्नेमा देउपुरका ३० वर्षीय बलराम खड्का, सोही ठाउँका अर्जुन विक, कमल चौलागाईं र अर्जुन ढकाल रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको छ । उनीहरुबाट फ्रिज, मोर्टर, टिभीलगायतका सामानसमेत बरामद गरिएको छ । पक्राउ परेकाले प्रयोग गरेको विद्युत् भार पहिचान भएपछि उनीहरुलाई जरिवाना तिराइने उनले बताए । शाखा प्रमुख गोइतले जिल्लाभर विद्युत् चुहावटका लागि प्रहरीसहित विद्युत्का कर्मचारी परिचालन भएको जानकारी दिँदै निगरानी बढाउने र विद्युत् चुहावटमा संलग्नलाई पक्राउ गर्ने योजना छ भने । यसैबीच काठमाडौँ विश्वविद्यालय उपकुलपतिको कार्यकक्षमा भएको तोडफोडमा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौँमा अस्थायी बसोबास गर्ने अर्घाखाँची, ठाडा गाविस–७ बस्ने सुशील खनाललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । रासस
सुकुम्बासी समस्या सधैका लागि समाधान हुन्छ : मन्त्री पाण्डे
चितवन, ३ मङ्सिर । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । ऐन निर्माण गरी सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्न सकिन्छ, उनले शुक्रबार चितवनका पत्रकारहरुसँग कुराकारी गर्दै भने– “एक महिनाभित्रमा ऐन निर्माण गरेर सधैका लागि सुकुम्वासी समस्या समाधान गर्ने गृह कार्यमा सरकार लागेको छ ।” मन्त्री पाण्डेले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई बासस्थानको व्यवस्था मिलाउन सरकार गम्भीर रहेको चर्चागर्दै सुकुम्बासी समस्या समाधानका लागि सरकारलाई सबै दलको सहयोग चाहिएको छ बताए । माडि बाँदरझुलाका सुकुम्बासीलाई जिल्लाको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने काम सुरु गरिएको उल्लेखगर्दै उहाँले जिल्लाका ऐलानी जग्गाको अध्ययन गर्न मालपोत कार्यालय भरतपुरका अधिकृत हरिकृष्ण सुवेदीको संयोजकत्वमा सरकारले एक समिति गठन गरिएको जानकारी दिए । मन्त्री पाण्डेले जिल्लाका ६५ स्थानका ऐलानी जग्गाको अवस्थाका बारेमा अध्ययन गरेर १० दिनभित्रमा समितिले प्रतिवेदन बुझाउने र सो को आधारमा त्यहाँका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने बताए । रासस
बैंक नहुँदा राहदानी जारी हुन सकेन, राहदानीको रकम जम्मा गर्न दुईदिन हिडेर सदरमुकाम
बैतडी, ३ मङ्सिर । बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण बैंक नहुदा राहदानी सेवा लिनबाट बञ्चित भएका छन् । सो क्षेत्रमा राहदानी सेवा दिने असार पहिलो साता हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट रा बैंक नहुदा राहदानी जारी हुन सकेन । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण दुई दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता हट्न सकेको छैन । असार ६ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि राहदानीको काम गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । “पुरचौँडी हाटमा कुनै पनि बैंक छैनन्, रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सकिँदैन”, भने , “यसका लागि सर्वसाधारण सदरमुकाममा नै पुग्नुपर्छ ।” हाललाई इलाका प्रशासन कार्यालयवाट सिफारिस बनाएर जिल्ला प्रसासनबाट जारी गर्ने गरेको जानकारी गराउँदै राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताए । इलाका प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजात लगायतका सेवा दिनुका साथै स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमन लगायतका कामसमेत गरिरहेको छ । कार्यालय स्थापनापश्चात् राहदानीबाहेक अन्य सेवा प्रदान गरिँदै आएकाले पुरचौँडी क्षेत्रका हाट, मल्लादेही, कोटिला, तल्लादेही, मठैराज, भूमिराज, विजयपुर, न्वादेउ, महादेवस्थान, भटना, कुवाकोट गाविसका झन्डै ६० हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । रासस
राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे विदामा, एक महिनापछि अनिवार्य अवकाश पाउँदै
काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशिक तथा नियमन विभाग प्रमुख शिवनाथ पाण्डे आजदेखि विदामा बसेका छन् । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा अबको एक महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन् । राष्ट्र बैंकमा ३० वर्ष काम गरेको आधारमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था छ । पछिल्लो समयमा पुरानो व्यवस्था परिवर्तन गरेर ५८ वर्ष उमेर उमेर पुगेपछि मात्र अनिवार्य अवकाश हुने व्यवस्था गर्नु पर्ने आवाज राष्ट्र बैंक भित्र उठिरहेको छ । तर यस विषयमा राष्ट्र बैंकभित्रै चर्को विवाद रहेकाेले सञ्चालक समितिले यस विषयमा निर्णय लिन सकेको छैन । पाण्डे राष्ट्र बैंकभित्र कार्यसम्पादन क्षमता राम्रो भएको र स्वच्छ छवि भएको प्रशासकको रुपमा चिनिन्छन् । ५२ वर्षको उमेरमा उनले अवकाश पाएका छन् । ३० वर्षे कार्यकालका अाधारमा कार्यकारी निर्देशक त्रिलाेचन पंकेनीले पनि केही महिनापछि अबकाश पाउँदैछन् ।
नेपाली देशमा काम नपाएर कालापहाड पुग्छन्, भारतीय नेपाल आउँछन्
वीरगन्ज, ३ मङ्सिर । सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको सङ्ख्या धेरै भएपनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा सजिलैसँग व्यापार गरी आर्थिक लाभ लिने गरेका छन् । भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जाब, दिल्ली लगायतका ठाउँमा पुग्ने नेपाली कामदार त्यहाँ खेतीपाती, सडकको काम तथा नोकरी गर्ने गरेका छन् भने भारतीय नागरिकका लागि नेपाली बजार सुलभ व्यवसाय गरिने थलोका रुपमा विकसित हुने गरेको छ । सीमावर्ती भारतीय बजार तथा गाउँबाट दैनिक एक हजारभन्दा बढी भारतीय वीरगन्जबजारमा आई किराना पसल, चिया पसल, खाजा पसल, तरकारी व्यापार लगायतका व्यवसाय गरी साँझपख मोटो रकम लिई आफ्नो घर भारत फर्किने गरेको उनीहरुको दिनचर्या रहेको छ । भारतीय व्यापारीले दैनिक १० लाखभन्दा बढीको व्यापार गरेका छन् भने नेपाली कडा परिश्रम गर्न कालापहाड जाने गरेका छन् । कामको खोजीमा कालापहाड जाने भनी पर्सा, बारा, रौतहट, मकवापुर, चितवन लगायतका ग्रामीण क्षेत्रका युवा भारत जाने गरेका छन् भने भारतका विभिन्न ठाउँमा करिब ६ महिना काम गरी स्वदेश फर्किने गर्दछन् । तर सीमापारि भारतबाट आउने फुट्कर व्यापारीले विभिन्न मौसम अनुसारको व्यापार गरी आर्थिक लाभ लिँदै आएका छन् । उनीहरु फुट्कर व्यापारबाहेक सिकर्मी, डकर्मी, सिरक, डसना बनाउनाका साथै ढुङ्गा, माटोका काम, घर बनाउने, रङ लगाउने जस्ता काम गर्दछन् । “कामको खोजीमा भारत कालापहाड जानुभन्दा आफ्नै देशमा सुन फलाउन सकिन्छ”, मीनाबजारका व्यापारी माधवप्रसाद गुप्ता भन्छन्–“विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना चुहाएर मनग्य आम्दानी गर्न सकिन्छ ।” सीमापारि भारतबाट कामको खोजीमा वीरगन्ज आउने कामदार व्यापार गर्नुका साथै यहाँका कलकारखानामा समेत काम गर्ने गरेका छन् । यहाँ आधाजसो काम गर्ने त भारतीय नै छन् । मीना बजारका अर्का व्यापारी वीरेन्द्रप्रसाद साह भन्नुहुन्छ, “भारतीय सजिलो तरिकाले वीरगन्जमा आएर व्यापार गर्छन् तर नेपाली कामका लागि कालापहाड जानु दुखद हो । ती व्यापारी वीरगन्जका कुनाकाप्चा, टोलगल्लीमा गई सिरक, डसना बनाउने र आर्थिक लाभ लिने गर्छन् तर नेपाली भने अन्यत्र जान्छन् । आफ्नो गाउँसहरमा मिहेनत गरी सुन फलाउन सकिन्छ ।” रासस
वायुसेवा निगमको जहाज राख्न चीनले चार अर्ब खर्चेर ह्याङगर बनाइदिने, डिजाइन र जहाज राख्ने क्षमता तय
काठमाडौं ३, मंसिर । नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न र जहाज राख्नको लागि चीनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङगर बनाइदिने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सरकारी सम्झौतापछि चिनियाँ जहाज ल्याउनेपर्ने भएपछि चीनले निगमका लागि एउटा ह्याङगर नै बनाइदिने भएको छ । त्रिभुवन विमानस्थलमा बनाइदिने विमानको मर्मत संभाव गर्न र जहाज राख्न प्रयोग हुने यस्तो ह्याङगरको क्षमता भने वाइडवडिकाका एक, न्यारोबडिका दुई र आन्तरिक उडानका जहाज भने एकैपटकी तीन चारवटा अट्नेसम्म हुने वायुसेवा निगमको इन्जिनियरिङ विभागले जानकारी दिएको छ । विमानस्थमा रहेको निगमको ह्यांगरको फाइल तस्बिर निगमले चिनियाँ जहाज बारम्बार विग्रिरहेन र मर्मत खर्च अधिक हुने तथा चिनियाँ पक्षको असहयोग भएको गुनासोपछि एक वर्ष अगाडि गरेको यस्तो प्रस्तावलाई पुनः अगाडि सारिएको वायुसेवा निगमका एक इन्जिनियरले बताए । उनका अनुसार चीनले अनुदानमा बनाइदिने यस्तो ह्याङगर नेपाली चार अर्ब रुपैयाँसम्म खर्च गरेर अध्याधुनिक बनाइदिने प्रस्ताव गरेको छ । चीनको स्वार्थ नेपालमा जोडिदै गएको र जहाज लिने प्रक्रिया लामो समयसम्म अल्झिएकोले पनि अहिले चार करोड डलरको जहाजका पाटपूर्जा काठमाडौंमा नै उपलवब्ध गराउनेसहितको नयाँ प्रस्ताव आएको निगमको भनाइ छ । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार चिनियाँ पक्षले निर्देशक तथा महाप्रवन्धकतहमा मात्रै कुराकानी गरेकोले आफूलाई चिनियाँ जहाज र यसको कुने पक्षको बारेमा पनि जानकारी नभएको बताए । उनले यस विषयमा चाइनिजले पहिले पनि प्रताव गरेको र तथा पहिलो प्रतिवेदनमै भएकोसम्म जानरकारी रहेको बताए । थप जानकारी दिने आधिकार भने आफूलाई नभएको प्रतिक्रिया दिए । निगम स्रोतका अनुसार दुईवटा चिनियाँ जहाज आगामी पुस भित्र आउने तय भएको छ । बाँकी दुईवटा पनि केही महिनामा आउने भएकोले निगमले चीनसँग भएको स्पेयर्स पाट्स, ह्यांगर बनाउने प्रस्तावको पूर्ण विवरण सार्वजनिक गर्न चाहेका छैनन् । चीनले बनाइदिने यस्तो ह्याङगरपछि वायुसेवा निमगलाई आफ्ना आन्तरिक उडानका जहाज तथा अन्तर्राष्ट्रिय उडानका जहाजको इन्जिनबाहेकको मर्मत काठमाडौंमा नै हुन सक्ने उल्लेख छ । निजी वायुसेवासँग अत्याधुनिक जहाज विमान मर्मत केन्द्र नेपालमा निजी वायुसेवा कम्पनी बुद्ध एयरसँग मात्रै अत्याधुनिक जहाज मर्मत केन्द्र रहेको छ । बुद्ध एयरले चार वर्षदेखि संचालनमा ल्याएको जहाज मर्मत तथा संभारलाई हाल अन्तर्राष्ट्रिय जहाज पनि मर्मत गर्न सक्ने क्षमतामा पुर्याएको छ । बुद्धले एटीआर र बीचक्र्याफ्टका जहाजको मर्मत नेपालमा नै गर्न थालेको छ । बुद्धको सेवालाई चित्त बुझाई विदेशी वायुसेवाले पनि नेपालमा नै जहाज मर्मतको रुची देखाउन थालेको उल्लेख छ । बुद्धसँग भएको जहाजकै प्रकृतिका जहाज बुद्धले मर्मत गर्न थालेको छ ।
त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, ३ मंसिर । त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले मंसिर २४ गतेलाई साधारणसभा भरतपुरमा बोलाएको छ । हाल बैंकको चुक्ता पुँजी ८२ रुपैयाँ छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । हकप्रद सेयर आवदेन मंसिर २७ गतेसम्मको लागि खुला रहेको छ । हकप्रद सेयर बाँडफाँड पछि बैंकको चुक्ता पुँजी १२४ करोड रुपैयाँ हुनेछ । बैंकले १९ प्रतिशतका दरले १५ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । त्यसपछि बैंकको चुक्ता पुँजी करिव १ अर्ब ४० करोड रुपैयाँ हुनेछ । याे बैंक जनता बैंकमा मर्ज हुँदैछ ।
सेवा विकास बैंकको ५१ लाख कित्ता हकप्रद सेयर निष्कासन, मंसिर २३ देखि सेयर आवेदन दिन पाइने
काठमाडौं ३, मंसिर । सेवा विकास बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले यही मंसिर २३ गतेबाट निष्कासन खुला गरेको एक सय अंकित रुपैयाँका एक सयेर बराबार १ दशमलव २ को अनुपातमा सेयर निस्कासन गरेको छ । यो बैंकले ४२ करोड ५५ लाख ५५ हजार दुई सय को चुक्ता पँुजीमा १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने सुचना सार्वजनिक गरेको छ । आगामी पुस २७ गतेसम्म यसको हकप्रद सेयरको आवेदन दिन पाइने छ । यो बैंकको गत असोज १९ गतेसम्मका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउने छ । यो बैंकको सेयर विक्री प्रवन्धक एनएमबी क्यापटिल लिमिटेड हो ।