विकासन्युज

रोजगारदाक कम्पनीले पासपोर्ट श्रमिकलाई नै फिर्ता दिन साउदीको निर्देशन, नदिए ६० हजार जरिवाना

काठमाडौं । साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी (पासपोर्ट) फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकारमा दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ । साउदीको श्रम कानुनअनुसार कामदारको राहदानी रोजगारदाता कम्पनी (स्पोन्सर) ले राख्न पाउँदैन । साउदीस्थित नेपाली दूतावासमा कम्पनीले राहदानी जफत गरेको र आफूहरु घर फिर्न नसकेको भन्दै दैनिक ४० भन्दा बढी उजुरी पर्ने गरेको छ । कम्पनीले साउदी पुगेलगत्तै विमानस्थलबाटै राहदानी र उनीहरुका रोजगार करारपत्र समेत राखिदिने गरेको छ । कान्तिपुर दैनिकबाट ।

प्रमकाे चीनभ्रमणको उपलब्धी स्थानीय चुनावमा १४ करोड सहयोग प्रतिवद्धता मात्रै

काठमाडौं । स्थानीय तह चुनावका लागि चीन सरकारले साढे १४ करोड रुपैया बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्थानीय चुनावमा ९ मिलियन चिनियाँ युआन (करिब १४ करोड ४० लाख रुपैया) सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । यसअघि नेपालको तीनदिने भ्रमणको क्रममा चिनीयाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङले नेपाली सेनालाई ५० करोड रुपैयाँ बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेका छन् । राष्ट्रपति जिनपिङले नयाँ सहायता घोषणा गरेका हुन् । कारोबार दैनिकबाट ।

डि.एम. फाउन्डेशनले दियो बुढानिलकण्ठका विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । नेपालको एक अग्रणी कम्पनी आइएमएस ग्रुपको सामाजिक उत्तरदायित्व पहल अन्तर्गतको कम्पनी डि.एम. फाउन्डेशनले बुढानिलकण्ठ स्कुलका पाँच उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरुको शैक्षिक विकास तथा उनीहरुलाई जीवनमा सफल हुन हरेक सम्भव अवसरहरु प्रदान गर्न यो पहल गरिएको कम्पनीको भनाइ छ । कम्पनीको तर्फबाटबाट डि.एम्. फाउन्डेशनका निर्देशक जेनिसा दिकेश मल्होत्राद्वारा उक्त छात्रवृत्ति विद्यार्थीहरुमा हस्तान्तरण भएको थियो । समाजमा सकारात्मक प्रभाव पर्ने गरी केही फरक गर्ने भन्ने मूल उद्देश्य बोकेको डि.एम्. फाउन्डेशन सधैं नै हरेक जीवनहरुलाई सहज बनाई तथा मानव क्षमता बढाई एउटा उत्कृष्ट समुदायको निर्माण गर्न कार्यरत छ । कम्पनीका विगतका कार्यक्रमहरु जस्तै “शेयर ब्लड, शेयर लाइफ” रक्तदान कार्यक्रमबाट पनि यो कुरा प्रस्ट हुन गएको छ । यस छात्रवृत्ति कार्यक्रम मार्फत पनि कम्पनीले यस किसिमका अभियानहरु ल्याईरहने आफ्नो उत्साह जताएकोछ भने भविष्यमा पनि यस्ता कार्र्यक्रमहरु गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

मंगलबार ५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ६/६ महिनामा ब्याज पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋण पत्र २०९६ नामको सो ऋणपत्र आम नेपाली नागरिकदेखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाले खरिद गर्न सक्नेछन् । मंगलबार बोलकबोल गरिएको ऋणपत्रको निष्काशन बुधबार हुनेछ । ०८६ सालमा साँवा फिर्ता हुने ऋणपत्रको ब्याज भने ६/ ६ महिनामा प्राप्त हुनेछ । न्युनतम ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म मात्रै बोलकबोल गर्न पाइने छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, निर्वाचनका लागि नौ मिलियन युयान सहयोग

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दी पिपुलमा सोमबार भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताए । उनका अनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले विसं २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए । यस उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै उनले नेपाल र नेपाली जनता ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताएका थिए। नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रूपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताए। करिब ३५ मिनेट भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ दिएका छन्। चीनका राष्ट्रपति जिनफिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैँले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–चीनको तातोपानी नाका सञ्चालन तथा अन्य नाका सञ्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सञ्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिए । चीनका राष्ट्रपति जिनफिङसँगको छलफल सोचेभन्दा महत्वपूर्ण भएको प्रधानमन्त्री दाहालले जवाफ दिएका छन् । उनका अनुसार नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैँ नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, रेल्वे र नाका खोल्नेजस्ता विषयमा चासोका साथ प्रस्तुत भएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । रासस

२५ करोडको विदेशी कागती नेपाली भान्छामा, के गर्छन् २ तिहाई जनता ?

काठमाडौं । नेपाल दुई तिहाई जनता कृषिमा संलग्न भएको मुलुक हो । तर पनि चामल, तरकारी र फलफुल लगायतका कृषि उपजकै आयातमा बर्षेनी १० औं अरब खर्च भैरहेको छ । चामल, तरकारी र फलफुल त प्राथमिक आवश्यकताका उपज नै भए । तर नेपालले कागतीको आयातमै बर्षेनी करोडौं खर्चिरहेको छ र यो श्रृंखला बढिरहेको पनि छ । नेपालले आर्थिक बर्ष २०७२/७३ मा मात्रै २५ करोड ६७ लाख रुपैंयाँको कागती आयात गरेको छ । यो आँकडा पाँच बर्ष अघिको भन्दा ३४० दशमलब ३० प्रतिशतले बढि हो । पाँच बर्ष अघि अर्थात आव २०६८/६९ मा ५ करोड ८३ लाख मूल्य बराबरको कागती आयात भएको थियो । तर पाँच बर्षको अन्तरालमा त्यो आँकडा १९ करोड ८४ लाखले बढेर २५ करोड ६७ लाख पुगेको हो । आव २०७१/७२ मा २४ करोड २६ लाख रुपैंयाँको कागति आयात भएको देखिन्छ । जुन अघिल्लो आवमा १७ करोड ४८ लाख थियो । आव २०६९/७० मा यो मात्रामा ९ करोड ६ लाख मात्रै थियो । किनकी एक बर्षमै ५ अर्ब ८ करोड रुपैंयाँ बराबरको आलु नेपाल भित्रिएको छ । जुन तपाई हाम्रै भान्छामा प्रयोग भैरहेको हुन सक्छ । गत आर्थिक बर्ष २०७२र७३ मा मात्रै ५ अर्ब ८ करोड मुल्य बराबरको विदेशी आलु नेपालीका भान्छामा पुगेका छन् । यसरी नेपालीका भान्छामा विदेशी आलु भित्रिने क्रम पनि बर्षेनी वृद्धि भैरहेको छ । पाँच बर्ष अघि नेपालीले २ अर्ब १५ करोडको आलु खाएका थिए । तर पाँच बर्षपछि त्यो १३६ दशमलब २७ प्रतिशतले बढेर ५ अर्ब ८ करोड पुगेको छ ।आव २०७२/७३ मा मात्रै ५ अर्ब ८ करोड रुपैंयाँ बराबरको आलु नेपाल भित्रिएको थियो । त्यस्तै, सोही आर्थिक बर्षमा ६४ करोड १० लाख ६९ हजार ४ सय ६० रुपैंयाँको विदेशी खुर्सानी नेपाल भित्रिएको थियो । सो मूल्य बराबरको ८ लाख ६४ हजार १ सय ४१ किलो खुर्सानी नेपाल भित्रिएको हो । नेपालमा आलु, खुर्सानी, व्याजसँगै कागतिको आयात पनि निरन्तर बढिरहेको देखिन्छ । दुई तिहाई जनता कृषि पेशामा आवद्ध भएको मुलुकमा यति ठुलो मात्रामा कृषि उपज आयात हुनुले अम्भिर संकट उन्मुख अर्थतन्त्रको संकेत गर्दछ ।

अब सरकारकै लगानीमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माण हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ । भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक/एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो । पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमुनाका रुपमा कार्यक्रम अघि सार्न लागिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए । “सय वर्षअघि चुरे पहाड छिचोल्ने ६० मिटरको सुरुङ मार्ग बनेको थियो, त्यो विकास हुन सकेन, अब ढिलै भए पनि सरकारी स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माण सुरु हुन्छ” – उनले भने । माइतीघर–त्रिपुरेश्वर एक किमी ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ । मन्त्रालयले एक हजार २५ किमीको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन सुरु गरेको छ । पहिलो चरणमा एसियाली विकास बैंकको रु २५ अर्ब सहयोगमा नारायणघाट–बुटवल खण्डलाई चार लेन बनाउने कार्य सुरु भएको हो । रासस

होटल व्यवसायमा सात अर्बभन्दा बढी लगानी, दैनिक एक करोड बढीको कारोबार

नेपालगन्ज। मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज होटल व्यवसायका लागि उर्वरभूमि बन्दै गएको छ । द्वन्द्वकालीन अवस्थामा धर्मराएका यहाँका होटल व्यवसायमा यहाँका होटल व्यवसायमा पछिल्लो आँकडाअनुसार रु सात अर्बभन्दा बढी लगानी भएको छ । दैनिक करिब रु एक करोडभन्दा बढीको कारोबार हुने यस क्षेत्रका होटल व्यवसाय पर्यटन व्यवसायको आधारस्तम्भका रुपमा समेत विकसित हुदै गएको पाइन्छ । मध्य तथा सुदूरपश्चिमाञ्चलमा सञ्चालित करिब दुई हजार होटलमध्ये बाँके जिल्लामा मात्र साना–ठूला गरी ९०० भन्दा बढी होटल सञ्चालनमा रहेको र प्राय सबैले राम्रो कारोबार गरिरहेका छन् । होटल अर्गनाइजेसन, बाँके शाखाका अध्यक्ष निमबहादुर थापाका अनुसार शान्ति सुरक्षामा आएको सुधारले पर्यटकको वृद्धिसँगै यहाँ ठूला अनि सुविधासम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको हो । यस क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेका स्थानलाई समेत व्यवस्थित बनाउनुपर्ने र सडक तथा यातायातलाई विस्तार गर्न सरकारी चाँसो हुनुपर्ने व्यवसायीको माग छ । अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । यस क्षेत्रको पर्यटन व्यवसायमा सघाउ पु¥याउने उद्देश्यले पर्यटनको सम्भावना बोकेका, राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, स्वर्गद्वारी, वाटरपार्क, महेन्द्रपार्क, रानीतलाउ, शुक्लाफाँटा वन्यजन्तु आरक्षणलगायत यस क्षेत्रमा सञ्चालिन पनि होमस्टेलाई व्यवस्थित गर्नुपर्नेमा व्यवसायीहरु जोड दिन्छन् । नेपालगन्जमा आउने भारतीयमध्ये केही बर्दिया राष्ट्रिय निकुञ्जलगायत पर्यटकीय क्षेत्रमा अवलोकन भ्रमणमा पनि जाने भएकाले पर्यटन व्यवसायलाई पनि टेवा पुगेको छ । नेपालगन्जमा अहिले उच्चस्तरका होटल पनि खुल्ने क्रम बढिरहेको छ । यहा सञ्चालितमध्ये स्नेह, बाटिका, पिस प्लाजा, सेन्टर प्लाजा, सिद्धार्थ भ्यू, किचनहट, मारती नन्दन, इन्द्रेणी, मयुर, दरबार होटल सुविधा सम्पन्नभित्र पर्छन् । अहिले यहाँ होटल सोल्टीसमेत निर्माण भइरहेको छ । “वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख आधार होटल व्यवसाय पनि भएकाले यहाँका होटललाई पर्यटकीय दृष्टिकोणले समेत व्यवस्थापन गर्दै लान सकियो भने होटल व्यवसायको भविष्य उज्ज्वल देखिन्छ” – होटल अर्गनाइजेसन बाँकेका अध्यक्ष थापाको तर्क छ । रासस