विकासन्युज

नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवा अमेरिकन डलरसहित पक्राउ

काठमाडौं। नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६०० अमेरिकन डलरसहित आइतबार राति १०.४५ बजे पक्राउ परेका छन् । नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौं–दुवई उडानका लागि विमानस्थल जाने क्रममा जाँच गर्दा उक्त रकम फेला परेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले जानकारी दिए। अवालले हातमा बोक्ने झोलामा उक्त रकम राखेर एयरपोर्टभित्र छिर्न लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनले छोरीलाई लगिदिनका लागि उक्त रकम बोकेको प्रहरीसमक्ष बताएका छन् । अवालेलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ । रासस

ज्योति विकास बैंकले पायो ‘वेष्ट इन्टरप्राइज अवार्ड’

काठमाडौं । ज्योति विकास बैंकले ‘वेष्ट इन्टरप्राइज अवार्ड’ प्राप्त गर्न सफल भएको छ । बैंकलाई उक्त अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो । हालै लण्डनमा सम्पन्न एउटा अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकलाई नेपालको बैंकिंग क्षेत्रको उत्कृष्ठ संस्था घोषित गरिएको थियो । साथै, सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअर द्वारा सम्मान गरिएको छ । यो समारोह लण्डन स्थित इन्स्टीच्युट अफ डाइरेक्टर्स, युरोपियन बिजनेस एसेम्बलीले संयुक्त रुपमा आयोजना गरेका थिए । यस समारोहमा नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी थिए । तिनमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, अफगानिस्तान, मलेशिया, मेक्सिको, बेलायत समेत थिए । सहभागी संस्थाहरुमा युनाइटेड बैंक अफ इन्डिया, अजिजी बैंक अफगानिस्तान, नोम्पेन्ह वाटर सप्लाई अथरिटी कम्बोडिया, युनिभर्सिटी अफ योर्क, डिवाई पाटिल युनिभर्सिटी इन्डिया, ओपन युनिभर्सिटी अफ स्वीटजरलैण्ड समेत थिए ।

विश्वको पहिलो पानीजहाज सुरुङ् मार्ग बन्दै, समुन्द्रको ८० लाख टन चट्टान विष्फोट गरि हटाइने

काठमाडौं । आँधी हुरी आइरहने समुद्री इलाका छल्न चट्टानी प्रयद्विप मुन्तिर सुरुङ मार्ग निर्माण गर्ने योजना नर्बेले अगाडि सारेको छ । स्टाड प्रायद्विप नजिकैको नर्वेली तटमा ठूला छाल र आँधी हुरीहरु आइरहेन्छ । तर पानी जहाजको सुरक्षा र तीनको गति बढाउन त्यहाँ एक महन्वकांक्षी समाधानको उपाय अघि सारिएको छ । त्यहाँको चट्टानी प्रायद्विपको मुन्तिर ‘विश्वको पहिलो पानीजहाज सुरुङ’ खनिने छ । यो सुरुङले उथलपुथल युक्त समुद्री इलाका छलेर दुई फियोडेका शान्त समुद्रलाई जोड्ने छ । पानी जहाजको निम्ति नहर मार्ग पहिले पनि बनाईएका हुन् । तर नर्वे सरकारले भनेको छ यो यस किसिमको पहिलो सुरुङ मार्ग हो । बीबीसीका अनुसार यसको निर्माण गर्न इञ्जिनियरहरुले अनुमानित ८० लाख टन चट्टान विष्फोन गरि हटाउनुपर्छ । उनीहरुले १७०० मिटर लामो उक्त सुरुङ मार्ग निर्माण कार्य सन् २०२३ सम्ममा सम्पन्न गर्ने आशमा छन् ।

गर्जाङ उपत्यका हाइड्रो पावरले ६ लाख कित्ता सेयर निष्काशन गर्दै, विद्युत उत्पादन यहि वैशाखबाटै

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावरले ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । प्रति सेयर एक सयका दरले हाइड्रोपावरले ६ करोडको साधारण सेयर निष्कासन गर्न लागेको हाइड्रोपावरका प्रमोटर तथा सञ्चालक माणिकरत्न शाक्यले बताए । कुल २० करोड पुँजी रहेको उक्त हाइड्रोपावरमा १४ करोड रुपैयाँको प्रमोटर सेयर रहेको छ । पावर कम्पनीले उक्त पूँजीमध्ये ६ करोडको साधारण सेयर यहि बैशाखभित्र निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले २ लाख कित्ता सेयर स्थानीयलाई दिने छ भने वाँकी चार लाख कित्ता सेयर सर्वसाधारणका लागि यहि वैशाखभित्र निष्कासन गर्ने तयारी गरेको छ । धितोपत्र बोर्ड (सेवोन) बाट सेयर निष्कासनको अनुमति आउने वित्तिकै ४ लाख कित्ता सेयर निष्कासन गर्ने शाक्यले बताए । ‘अहिले हामी सेवोनबाट सेयर  निष्कासनका लागि अनुमति लिने क्रममा रहेका छौ,’ अनुमति पाउने वित्तिकै सेयर निष्कासन हुने छ । रामेछापको चुचुरे गाउँपालिकाको चाके खोलाबाट शुन्य दशमलव ८३ मेगावाट विद्युत उत्पादन गर्न लागिएको शाक्यले बताए ।  उनका अनुसार आयोजना निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाले यहि वैशाखबाट व्यवसायिक उत्पादन शुरु गर्नेछ । प्रति मेगावाट १७ करोड रुपैयाँको लागतमा उक्त आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । आयोजनाले अबको दुई वर्षभित्र क्यासक्याबिङमार्फत अन्य स्थानमा पावर हाउसहरू निर्माण गरेर विद्युत क्षमता अभिबृद्धि गर्ने योजना बनाएको छ ।  उक्त कार्य सम्पन्न भएपछि विद्युत उत्पादन क्षमता बढेर पाँच दशमलव ३ मेगावाट पुग्ने छ । आयोजना आफैले १२ किलो मिटर प्रसारण लाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको छ ।

यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा

काठमाडौं । यति ब्रुअरीले नेपाली बियरप्रेमीहरु माझ दुई नयाँ बियरहरु प्रस्तुत गरेको छ । कम्पनीले आइतबार क्लब ट्वेन्टी-फाइभ, टंगालवुडमा आयोजित एक कार्यक्रम मार्फत “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी नयाँ बियररुले नेपाली बियर उपभोक्ताहरुलाई निकै प्रत्येक्षित विकल्प तथा थप आकर्षण प्रदान गर्ने छ । अनावरण सँगै अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पब्हरुमा सर्वत्र उपलब्ध हुने कम्पनीले जनाएको छ । अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो-क्यालोरी अर्थात् कम क्यालोरी भएको बियर हो । जुन “हाइ अन फन, लो अन क्यालोरी” भन्ने मूख्य सन्देश लिई बजारमा आएको छ । यस बियरले “स्वाद” लाई प्राथमिकता दिँदै उपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको “फिट्नेश” मा पनि ध्यान दिएको छ । नयाँ वर्षको आगमनसँगै प्रस्तुत गरिएकोयस बियरले सबै बियरप्रेमीहरु माझ एक फरक र ताजा विकल्प ल्याई नेपालको बियर बजारको परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५ प्रतिशत सम्म बढि समयको लागि “ब्रिउ” गरिएको छ । सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २० प्रतिशत र कार्ब ३४ प्रतिशत कम रहेको छ । कार्यक्रममा बोल्दै कम्पनीका जेनेरल म्यानेजर (सेल्स् तथा मार्केटिङ्ग), अरुण के.सी. ले भने – “अर्ना लाइटको अनावरण हाल उपभोक्ताहरुमा देखिएको एक स्वस्थ जीवनशैलीको चाहना तथा बियरको रोजाईमा आएको परिवर्तनका कारण भएको हो । त्यसैले अर्ना लाइटले बियर बजारमा एक फरक पृष्ठ सुरु गर्न गइरहेको छ जसले उपभोक्तहरुलाई उनिहरुले खोजि रहेको फरक विकल्प तथा बियर क्याटेगोरीमा एक भेराइटी प्रस्तुत गर्नेछ, त्यो पनि स्वादमा कुनै पनि किसिमको सम्झौता नगरी । समय आएको छ एउटा यस्तो बियरको मजा लिने जुन उनिहरुको जीवनशैलीमा एकदमै उपयुक्त छ – अर्ना लाइट ।” अर्ना लाइट बियरको लन्च एक वृहत बजार व्यवस्थापन क्याम्पेनसँगै हुनेछ । साथै अन्य विभिन्न स्याम्पलिङ्ग एक्टिभेसनहरु मार्फत पनि बढि भन्दा बढि उपभोक्ताहरु माझ यसको सन्देश पुर्याइनेछ । उक्त कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । “चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने निश्चित छ । अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो । यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६ प्रतिशत र ६.५ प्रतिशत अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

उद्योग वाणिज्य महासंघको साधारणसभा शुरु, भोली निर्वाचन

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघले आफ्नौं ५१औं वार्षिक साधारणसभा तथा निर्वाचनमा भाग लिन देशभरको उद्योगी व्यवसायीका नेताहरु राजधानी काठमाडौंमा भेला भएको छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको साधारणसभामा महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ तथा एशोसिएट सदस्यका प्रतिनिधिको रुपमा एक हजार भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीति परिवर्तनपछि आर्थिक परिपर्तन शुरु भएको बताए । चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी रहने प्रष्ट देखिएको चर्चा गर्दै आगामी दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताए । उच्चदरको आर्थिक वृद्धिका लागि सरकार र नीति क्षेत्रबीच समन्वय र सहकार्य गरिने बताउँदै सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने बताए । निजी क्षेत्रको स्वदेशी तथा विदेशी लगानी वृद्धिले मात्र दुई अंकको आर्थिक वृद्धि हुने उनले बताए । उनले संघीयता र संविधानको कार्यान्वयनमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । संघीयतामा दोहोर करको भार पर्छ कि भन्ने चिन्त नगर्न उनले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले महासंघको अध्यक्षमा महिला नेतृत्व आएको भन्दै खुसी व्यक्त गरे । राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश लगायतका महत्वपूणं पदमा महिला नेतृत्व समालेको बेला निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको अध्यक्षमा पनि महिला नेतृत्व आउनुले नेपाली महिलासँग नेतृत्व क्षमता छ पुष्टी भएको उनले बताए । महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रको एकतामा जोड दिए । महासंघले आज उद्योग दिवस बनाउँदै वार्षिक साधारणसभाको सबै काम सम्मन्न गर्दैछ भने भोली नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ । महासंघले ५१ औं स्थापना दिवसको अवसरमा महासंघमा पूर्व विनोद चौधरीलाई विशेष सम्मान गरेको छ । सचिवलय सुधारमा महत्वपूर्ण काम गरेको भन्दै चौधरीलाई सम्मान गरेको हो । चौधरी अध्यक्ष भएको बेलामा नेपाल उद्योग वाणिज्य महासंघको मुख्यालय भवन बनेको थियो । दोस्रो कार्यकालको लागि निर्वाचनमा पराजित भएपछि चौधरी महासंघको गतिविधिमा सहभागी हुन छाडेका थिए । उनको नेतृत्वमा नेपाल उद्योग परिसंघ स्थापना भएपछि महासंघ र परिसंघबीच लामो समय कुटुतापूर्ण सम्बन्ध भएको थियो । महासंघले विभिन्न क्षेत्रमा सफल व्यवसायीहरु विरेन्द्र बहादुर बस्नेत, कैलाश सिरोहिया, कर्ण शाक्य,  हिमालयन शमशेर राणा, रुद्रराज पाण्डे, स्वः रामलाल गोल्छा, स्वः लक्ष्मणबाबु श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै, सेवातर्फ महत्वपूर्ण योगदान गरेबाफत कुलमान घिसिङ, अनुराधा कोइराला, सन्दुक रोइत, सुरेशराज शर्मालाई सम्मान गरेको छ ।

सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०५९ रुपैयाँ

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १०१३ रुपैयाँ रहने भएको छ ।

तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध

रुकुम । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फोन अवरुद्ध भएपछि सेवाग्राहीलाई एकअर्कामा सम्पर्क गर्न समस्या भएको छ । फोन सेवा अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि सर्वसाधारण आफँै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिकाका स्थानीयवासी गोरखबहादुर केसीले बताउनुभयो । चट्याङका कारण रिपिटर स्टेसनमा रेडियो उपकरण जलेर पूर्णरुपले क्षति भएको र मर्मतका लागि प्राविधिक टोली नेपालगन्जबाट सम्बन्धित ठाउँमा गइसकेकाले अबको केही दिनपछि फोन सेवा सुरु हुने बताइएको छ । हिमाली क्षेत्रमा हिमपात भएका कारण मर्मतका लागि केही समय लाग्ने नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जले जानकारी दिएको छ । रासस