विकासन्युज

‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेता घोषित, क-कसले पाए आई-२० र क्रेटा गाडी

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । तीनकुने स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार हस्तान्तरण गरेका हुन् । यस अफर अन्तर्गत, कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज, नयाँ बजार, काठमाडौंले हुन्डाई इलाईट आई२० प्राप्त गरेका छन् । साथै कुपन नम्बर १७६८ का श्री नेत्र बहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गरे । साथै, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक/एक थान हुन्डाई इलाईट आई२० र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेका थिए । सो योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गते सम्म लागु गरिएको थियो ।

तिनाउ डेभलपमेन्ट बैंकलाई ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १०ः३.५ अर्थात् ३५ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ११ लाख ९४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ११ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यूकेएड सक्षम र माछापुच्छ्रे बैंकबीच साझेदारी, सेवाबाट वञ्चितलाई सरल लघुकर्जा दिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच एक साझेदारीमा हस्ताक्षर भएको छ । सोमबार भएको उक्त साझेदारी अन्तर्गत नेपालभरका चौध वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त हस्ताक्षर कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित भोहरा लगायतका दुवै संस्थाका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चलविकास क्षेत्रको धादिङ जिल्ला गरी सातजिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा विन्दुहरू स्थापना गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले भने, “परियोजनाको ३ वर्षे समयावधिमा  बैंकले आफ्ना शाखा रहित बैंकिङ सेवाविन्दुहरू र समर्पित सम्बन्धप्रबन्ध (रिलेशनशिप म्यानेजर) मार्फतबाट ९,००० भन्दा बढी हितग्राहीहरूलाई सेवा पुर्याउने लक्ष्य लिएको छ । यसको अतिरिक्त, हाम्रो वित्तीय साक्षरताअभियानको माध्यमबाट १३,००० हितग्राही सम्म पुग्ने लक्ष्य लिएका छौं ।” त्यसैगरी, सक्षमका टोलीप्रमुख बलजित भोहराले भने, “दुर्गम ग्रामीण क्षेत्रहरूमा औपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीय व्यक्तिहरू स्थानीय ऋणदाताहरू अत्यन्त उच्चदरमा ऋण लिन बाध्य भएका छन् र उक्त ऋण दाताहरूले ऋण तिर्न नसक्दा ऋण लिने व्यक्तिहरूको शोषण गर्दै आएको पाइन्छ । तसर्थ, हामीलाई विश्वास छ कि हाम्रो यस साझेदारीले यस्ता समस्याहरूको सम्बोधन गर्नेछ र देशमा सेवाबाट वञ्चित रहेका जनसंख्यालाई सेवा प्रदान गर्नेछ ।” साथै, उनले लघुवित्त सेवाविस्तारको लागि समर्पित सम्बन्धप्रबन्धकहरू परिचालन गरे पश्चात हामीले निर्धारण गरेका लक्ष्यहरू छिट्टै नै प्राप्त हुने बताएका छन् ।

महासंघले समस्या देखाएर मात्र हुँदैन, समाधान पनि दिन सक्नुपर्छ-शिव घिमिरे

शिवप्रसाद घिमिरे, बस्तुगततर्फका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य बन्न यसअघि म दुई पटक चुनाबमा उठे । एक पटक बराबर मत आयो, चिठ्ठामा मैले हारेँ । एक पटक १ मत कम भएर हारेँ । अहिले तेस्रो पटक चुनाव उठ्दैछु । सम्भव भएसम्म घर वा अफिसमा भेटेर, सम्भव नभएको अवस्थामा फोनबाट ९९ वटै बस्तुगत संघका अध्यक्षहरुलाई भेटेको छु । सबैले भोट दिन्छु भन्नुभएको छ । बस्तुगतमा १४ जनालाई भोट दिन पाइन्छ, १४ मध्ये एउटा तपाई छुटाउँदिन भनेर सबैले भन्नुभएको छ । ‘तपाईलाई दिन नमिल्ने भयो कसैले पनि भनेका छैनन् ।’ बस्तुगत संघ भनेको विषयगत विज्ञहरुले नेतृत्व गरेका संस्था हुन् । यस क्षेत्रको मतदाताले मलाई, म संलग्न पेट्रोलियम व्यवसायको महत्वलाई बुझेका छन् । सवा खर्ब पेट्रोलियम पदार्थको आयात हुन्छ, यसको महत्व सबैले बुझेका छन् र यो क्षेत्रलाई उपेक्षा गरिदैन भन्ने मलाई लाग्छ । कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, जलविद्युत लगायत क्षेत्रमा म संलग्न छु र म आफै संलग्न बस्तुगत संघ नै १५ वटा छन् । महासंघ भनेको सरकार र निजी क्षेत्रबीच पुलको काम गर्ने संस्था हो । आर्थिक समृद्धिको लागि राज्यतर्फबाट नीतिगत रुपमा धेरै काम गर्नुपर्छ । महासंघको सचिवालयले दिने सेवा प्रर्याप्त छैन । महासंघमा सदस्यता नपाएका संस्थाहरु पनि धेरै छन् । समस्या पहिल्याउनु एउटा पाटो हो, समस्या समाधान तर्फ काम गर्नु अर्को पाटो हो । महासंघले समस्या चित्रण गर्दै आएको छ तर समाधान दिन सकेको छैन । हामीले विज्ञहरुको सहयोगमा समाधान दिनुपर्छ । हरेक क्षेत्रमा कलेक्टिभ लेबीमा क्षेत्रगत विज्ञ राखेर योजनावद्ध रुपमा धेरै काम गर्न सकिन्छ । यसले लगानीकर्तालाई धेरै राहात मिल्ने छ । कुरामा मात्र आर्थिक क्रान्तिका गरेर हुँदैन, काम गर्नुपर्छ । राजनीतिक नेतालाई मात्र गाली गरेर हुँदैन । आफूले आफ्ना लागि मात्र काम गरेर हँदैन । सामूहिक हितको काम गर्न, लगानीमैत्री नीति निर्माणमा सहयोग गर्न महासंघले धेरै काम गर्नसक्छ । मुलुकको लागि राम्रो काम गर्न चाहानेको लागि महासंघ धेरै राम्रो प्लेटफर्म हो । हाम्रो टिम पनि राम्रो छ । किशोर प्रधान महासंघमा लामो समय काम गरेर खारिएको उद्यमी हुनुहुन्छ, बस्तुगतर्फ शंकर पाण्डे सिनियर व्यक्तित्व, निर्यातको क्षेत्रमा धेरै काम गरेको व्यक्ति हुनुहुन्छ । निर्माण क्षेत्रमा सफल व्यवसायी सकुन्तलाल हिराचत, अर्थतन्त्र धानेको बैदेशिक रोजगार व्यवसायी, कृषि, उर्जा, सञ्चार क्षेत्रका साथीहरु हाम्रो टिममा छ । विश्वास छ, मलगायत हाम्रो टिमले निर्वाचन जित्छ ।

नयाँ बर्ष २०७४ मा ‘आहा दामन’

काठमाडौं । दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टले नयाँ बर्षको अवसरमा ‘आहा दामन’ अफर ल्याएको छ । बैशाख एक महिना भरि लागु हुने ‘आहा दामन’ अफर रिसोर्टले २०६८ सालदेखि सुरु गरेको थियो । यो अफरका अनुसार एक जनाले २०७४ रुपैंयाँ(कर बाहेक)मा एक रातको बास, ब्रेकफास्ट, डिनर र लञ्चको सुबिधा पाउनेछन् । न्युनतम २ जनाको समुह हुनुपर्नेछ । पाँच बर्ष भन्दा कम उमेरका बालबालिकालाई शुल्क लाग्ने छैन भने पाँच देखि १२ बर्ष उमेरका बालबालिकालाई ५० प्रतिशत छुटको सुबिधा पनि रहेको छ । तर उनीहरुले कोठा भने सेयर गर्नुपर्नेछ । सो शुल्कमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस चार्ज भने जोडिनेछ । २५०० मिटरको उचाईमा रहेको एभरेष्ट पानोरमा रिसोर्टबाट संसारका १० अग्ला हिमालमध्ये नेपालमा रहेका ८ वटाको अवलोकन गर्न सकिन्छ । ३६० डिग्रीको कोणबाट सगरमाथा, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, धवलागीरी, कञ्चनजंघा लगायतका हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ । रिसोर्टमा ३० वटा सुबिधा सम्पन्न कोठा रहेका छन्, जसमा स्वदेशी तथा विदेशी पर्यटकले लक्जरीको अनुभव सहित समय कटाउन सक्नेछन् । ७० रोपनी जमिनमा फैलिएको रिसोर्टमा सोना बाथ, चिल्ड्रेन पार्क, टेबल टेनिस कोर्ट, डिस्को तथा ५० जना क्षमताको कन्फ्रेन्स हलको सुबिधा सहित इण्डियन कन्टिनेण्टल र नेपाली खानाको स्वाद लिन सकिन्छ । रिसोर्टमा बर्षेनी १० हजार स्वदेशी तथा विदेशी पर्यटक आउछन् । तीमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत विदेशी हुने गरेको रिसोर्टका कार्यकारी निर्देशक सुदेश गौतम क्षेत्रीले बताए ।‘कुनै बेला ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपाली आउँथे अहिले अवस्था फेरिएको छ, ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी आउँछन’, गौतम क्षेत्रीले भने । रिसोर्टले काठमाडौंबाट दामन जान चाहनेहरुका लागि यातायातको व्यवस्था पनि गरेको छ । सुदेश गौतम नै प्रबन्ध निर्देशक रहेको इजी ट्रिप प्रालीले काठमाडौं–दामन–काठमाडौंका लागि सुबिधा सम्पन्न सवारी साधनको व्यवस्था मिलाउँछ । २५ बर्ष अघि टेण्ट टाँगेर सुरु गरिएको एभरेष्ट पानोरमा रिसोर्टले यतिबेला बर्षेनी १० हजार पर्यटकलाई सेवा दिन सक्ने पुर्वाधार र ब्राण्ड इमेज बनाउन सकेकोमा कार्यकारी निर्देशक गौतम क्षेत्री आफैं दंग पर्छन् । ‘२५ बर्ष अघि टेण्ट टाँगेर यसको सुरुवात भएको थियो अहिले यो पुर्वाधार र गुडविल कमाउन सफल भएका छौं’, क्षेत्रीले भने ।

सोमबार १२० कम्पनीको सेयर मूल्यमा वृद्धि, १७ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । सोमबारको सेयर बजारमा कुल १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सोमबारको कमाउनेमध्ये ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनबी इन्स्योरेन्स कम्पनी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका हुन् । १० प्रतिशत कमाउने ६ कम्पनी                                                              करिब १० प्रतिशत कमाउने ११ कम्पनी त्यस्तै, ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी (अर्थात करिब १० प्रतिशत) कमाएका छन् । नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ९ दशमलब ९९ प्रतिशत कमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

आस्वाको सेवा शुल्क ६० प्रतिशत घट्यो, लगानीकर्तालाई राहत

काठमाडौं । नेपाल धितोपत्र बोर्ड आस्वा प्रणालीको सेवा शुल्कमा ६० प्रतिशत कटौती गरेको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी) २०७३, मा दोस्रो संशोधन गर्दै ६० प्रतिशत शुल्क घटाएको हो । यस अघि लगानीकर्ताले अधिकतम २५० रुपैंयाँसम्म सेवा शुल्क तिर्दै आएका थिए । अब लगानीकर्ताले अधिकतम एक सय रुपैंयाँ मात्रै सेवा शुल्क तिर्नु पर्नेछ । आस्वाको सेवा शुल्क महंगो भएको गुनासो आएपछि बोर्डले घटाउने निर्णय गरेको हो । त्यस्तै अब निष्कासन तथा विक्री प्रवन्धकले पनि १० रुपैंयाँ पाउने नयाँ व्यवस्था गरेको छ । बोर्डमा बुझाउनु पर्ने ३ प्रतिशत सेवा शुल्क पनि हटाएको छ । आस्वा प्रणालीको क्षेत्र विस्तार गरी सरकारी स्वामित्व रहेको वाणिज्य बैंकलाई सहभागी गराउँदै ७५ वटै जिल्लाबाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने व्यवस्था पनि बोर्डले अघि सारेको छ । बोर्डले माघ १ गतेदेखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागू गरेको थियो । त्यसपछि सार्वजनिक निष्काशन गरेका तीन वटा संगठित संस्थाहरुमा ६० प्रतिशत आवेदन आस्वा प्रणालीबाट भएको थियो । बोर्डले सम्वन्धित बैंक वा वित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने पनि जनाएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले उकालो, एक अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार सामान्य अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले उकालो लागेकोे छ । सोमबार परिसूचक २४ दशमलब ६२ अंकले उकालो लागेर १६७६ दशमलब २२ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सोमबारको सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिन एक अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबारको तुलनामा ४० करोड ९७ लाख रुपैयाँ बढी हो । सोमबार १४४ कम्पनीको २९ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबारको बजारमा पनि नेपाल बैंक लि. को सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको १३ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा एक रुपैयाँले घटी हो । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ रहेको थियो । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य ११८० रुपैयाँ रहेको छ । बजारमा कारोबार भएका ८ वटा समूह सूचक मध्ये अन्य समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २०१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, डेभलपमेन्ट बैंक, हाइड्रो र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले बढेका छन् । उता अन्य समूहको परिसूचक भने १.७४ अंकले ओरालो लागेको छ ।