विकासन्युज

बैंकर्स र व्यवसायीबीच संघर्ष, दुबै पक्ष सडकमा

१८ फागुन/वार्षिक विदा सकिएपछि कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय फागुन १७ गते बैंकमा हाजिर हुनुपथ्र्यो । तर उनी उपस्थित भएनन् । जवकी उनी पाँच दिन प्रहरी खोरमा बसेर १५ गते साँझ छुटेका थिए । उपाध्ययलाई प्रहरीले छोड्नुभन्दा केही घण्टाअघि मात्र बैंक सञ्चालक समितिको बैठकले घर विदामा बसेका कार्यकारी प्रमुख उपाध्यायको आचरण खराव देखिएको र बैंकको छविमा नकारात्मक असर परेको भन्दै निलम्वन गरेको थियो । यद्यपी उनलाई स्पष्टीकरणको मौका दिने बैंकको निर्णय छ । ‘उनी बैंकमा उपस्थिति हुने सम्भावना कम छ’–सञ्चालक समितिका एक सदस्यले भने–‘उपस्थित भईहाले भनेपनि भने पनि उनलाई बैंकले सफाई दिने आधार हामीले देखेका छैनौं ।’ उनी कुमारी बैंकमा मात्र होइन, अब बैकिङ क्षेत्रमा फर्कने सम्भावना ज्यादै लगभग शुन्य नै छ । गेष्ट हाउसमा गएर गैरकानुनी रुपमा यौन सम्पर्क गरेको प्रहरीको आरोप छ । तर उपाध्ययका आफन्तले बैंकका ऋणिले योजनाबद्ध रुपमा फसाएको आरोप लगाउँछन् । उनीहरुको भनाई समस्याग्रस्त व्यवसायी सुधीर बस्नेततर्फ लक्षित देखिन्छ । घरजग्गा व्यवसायी सुधीर बस्नेत टाट पल्टिएर सडकमा पुगेको केहि समयमा नै उनीसँग विगतमा राम्रो कारोवार गरिरहेका केहि बैंकर पनि सडकमा पुगेका छन् । पहिला असाध्यै राम्रो सम्बन्ध भएका र पछिल्लो समय बस्नेतसँग सम्बन्ध विग्रिएका बैंकरमध्ये केहि भूमिगत भएका छन् भने केहिलाई अपत्यारिलो अभियोग लागेर सडकमा पुगेका छन् । समयमै कर्जाको सावा व्याज नतिरेको भनेर बस्नेतलाई पहिलोपटक सार्वजनिक सूचना प्रकाशित गर्ने बैंक तत्कालिन किष्ट बैंक थियो । सो बैंकका तत्कालिन प्रबन्ध संचालक कमप्रसाद ज्ञवाली र बस्नेतको सम्बन्ध निकै राम्रो थियो । ज्ञवालीकै विषेश सहयोगमा बस्नेतले तत्कालिन किष्ट बैंकवाट १३ करोड रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । अहिले तत्कालिन किष्ट बैंकका तत्कालिन प्रबन्ध संचालक ज्ञवाली बैंकिङ कसुरको अभियोगमा भूमिगत छन् । बस्नेतसँग पहिला राम्रो सम्बन्ध भएका र पछि बिग्रेका अर्का बैंकर ग्राण्ड बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुधीर खत्री हुन् । उनको बैंकले बस्नेतलाई २ करोड ८० लाख रुपैयाँ व्यक्तिगत कर्जा पनि दिएको थियो । ग्राण्ड बैंककै नेतृत्वमा बस्नेतको कम्पनी अग्नि एयरलाईन्सलाई ५५ करोड रुपैयाँ कर्जा दिईएको थियो । जुन कर्जा अझै उठेको छैन । पछि बस्नेत र खत्रीको सम्बन्ध विग्रियो । ग्राण्डले बस्नेतलाई कर्जा नतिरेको भन्दै कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्यो । पछिल्लो समय राष्ट्र बैंककै अनुसन्धानले तत्कालिन सिइओ खत्री र व्यवसायी बस्नेतबीचको कारोबार शंकास्प्रद देखियो । खत्रीले ग्राण्ड बैंकबाट राजीनामा दिनुप-यो । नेपाल बैंकर्स संघको उपाध्यक्ष समेत भएका खत्री अहिले बैकिङ फाँटमा सक्रिय देखिदैनन् । यस्तै पछिल्लो समयमा कुमारी बैंकका सिइओ उदयकृष्ण उपाध्यायको अनौठो अभियोगमा जागिर गएको छ । उपाध्यायलाई प्रहरीले कोटेश्वरको एक रेष्टुरेन्टमा यौनक्रियामा संलग्न भएकै अवस्थामा समातेर सार्वजनिक अपराध ऐन अनुसार कारवाही चलाएपछि उनको जागिर गएको हो । बैंक संचालक समितिले उनलाई सिइओबाट निलम्बन गरेको छ । बैंकको सिइओको जिम्मेवारी दिएको व्यक्ति कुनै बेश्याघरबाट पक्राउ परेपछि उनको सामाजिक हैसियत लगभग सकिएको अनुमान गर्नेहरु पनि छन् । कुमारी बैंकले बस्नेतका विभिन्न आयोजनाहरुमा २० करोड ३६ लाख रुपैयाँ कर्जा दिएको थियो । बस्नेतले सावा व्याजको किस्ता समयमै नतिरेपछि कुमारी बैंकले पनि बस्नेतलाई कालो सूचीमा राखेर कर्जा असुली प्रक्रिया अगाडि बढाएको थियो । कुमारीबाट यो कार्यको नेतृत्व सिइओ उपाध्यायले नै गरेका थिए । बस्नेतले कर्जा लिएका अरु बैंक पनि छन् । उनलाई कर्जा दिने सबै बैंकले उनलाई कालोसूचीमा राखेर कर्जा असुली प्रक्रिया अगाडि बढाइ सकेका छन् । बस्नेतले आफूलाई अप्ठेरो पार्ने बैंकरहरुलाई योजनाबद्ध रुपमा फसाएको विश्लेषण पनि हुन थलेको छ । बस्नेतले एकपछि अर्को बैंकर्सलाई फसाए भनेर निष्कर्षमा पुग्ने आधारहरु छैनन् तर उनको आशु लाग्यो वा यो संयोग मात्रै हो ? उनीसँग कारोवार बिग्रेका बैंकर्सहरु झनै चिन्तित भएको पाईन्छ । ज्ञवाली, खत्री, उपाध्ययले व्यक्तिगत भेटघाटमा आफूहरु विरुद्ध बैंकका केही ऋणिहरु लागेको बताउँदै आएका थिए । कुन कुन बैंकसँग कति कर्जा लिएका थिए बस्नेतले ? बस्नेतले १४ वटा बैंकबाट १ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका थिए । उनको कम्पनी कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा पाँचवटा बैंकले ७० करोड रुपैयाँ कर्जा लगानी दिएका छन् । कोहीनूरमा राष्ट्रिय वाणिज्य बैंकले २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकले २० करोड ४६ लाख, कुमारी बैंकले ७ करोड ३६ लाख, सिद्धार्थ बैंकले ६ करोड १५ र नबिल बैंकले १४ करोड ६ लाख रुपैयाँ कर्जा दिएको छ । त्यसैगरी ओरियन्टल बिल्डर्सका नाममा बैंकहरुको ३४ करोड रुपैयाँ कर्जा छ । ओरेन्टियल विल्डर्समा एनआईसी एसिया बैंकले २० करोड १ लाख, सिटिजन बैंक इन्टरनेसनलले ११ करोड ६९ लाख र राष्ट्रिय वाणिज्य बैंकको २ करोड १५ लाख रुपैयाँ कर्जा छ । यस्तै बस्नेतले आफ्नो व्यक्तिगत नाममा पनि कर्जा लिएका छन् । उनल तत्कालिन किष्ट बैंकबाट १३ करोड, लुम्बिनी बैंकबाट ६ करोड ९३ लाख, ग्राण्ड बैंकबाट २ करोड ८० लाख, एनसीसी बैंकबाट १ करोड रुपैयाँ कर्जा लिएका थिए । सेन्चुरी बैंकले नितू थापाको नाममा बस्नेतलाई १० लाख रुपैयाँ कर्जा कर्जा दिएको छ । त्यसैगरी आयुषा बिल्डर्सका नाममा कुमारी र ग्राण्ड बैंकबाट बस्नेतले २१ करोड कर्जा लिएका छन् । जसमा कुमारीको १३ करोड र ग्राण्डको ७ करोड ९२ लाख रुपैयाँ लगानी छ । त्यसैगरी रेसिडेल डेभलपर्सको नाममा बस्नेतले प्राइम कमर्शियल बैंकबाट ११ करोड ५० लाख रुपैयाँ लिएका छन् भने सेञ्चुरी बैंकबाट बीबी नेपाल ट्रेड कन्सर्नका नाममा साढे ३ करोड रुपैयाँ कर्जा दिएका छन् । बस्नेतको दिपाज बिजनेस कन्सर्नका नाममा सिभिल बैंकबाट ३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

संस्थापक लगानीकर्तालाई अछुतको व्यवहार भैराखेकोछ-अम्बिकाप्रसाद पौडेल

        अम्बिकाप्रसाद पौडेल अध्यक्ष एनबी इन्सुरेन्स कम्पनी लिमिटेड[divider] तपाईको नेतृत्वमा एनबी इन्स्योरेन्समा सञ्चालक समिति बनेको एक महिना बित्न लाग्यो, सञ्चालन किन नभएको ? कम्पनीको सञ्चालक समिति गठन भएको छ । आर्थिक क्रियाकलाप भने केही पनि अगाडि बढाएका छैनौं । कम्पनीको विगत तीन आर्थिक वर्षदेखि लेखापरीक्षण भएको छैन । चार वर्षदेखि वार्षिक साधारण सभा भएको छैन । हामी पहिले अडिट गरौं, नयाँ डीडीए गरौं, कम्तिमा माथिल्लो तहको कर्मचारी व्यवस्था पनि गरौं र त्यसपछि मात्र व्यवसायिक काम शुरु गरौं भन्ने सोचेका छौं । अहिले त हामीले बाँकी रहेका दाबी भुक्तानी गरिरहेका छौं । पुराना मुख्य समस्याहरु टुङ्गाएर नयाँ व्यवस्थापन टिमले यसलाई अगाडि बढाउनेछ । कम्पनी कहिलेदेखि सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ? नयाँ वर्ष २०७२ सालमा हामी बीमा क्षेत्र क्षेत्रलाई नयाँ उपहार दिनेछौं । एउटा कोमामा रहेको कम्पनीले पुनर्जन्म लियो भन्ने सन्देश लगानीकर्ता तथा यस क्षेत्रलाई दिनेछौं । ढिलोमा बैशाख एक गते सञ्चालनमा आउनेछौं । हामी नयाँ वर्ष २०७२ सालको शुरुवातदेखि नै हामी कम्पनी ‘स्मुथली’ रन गर्छौ । आजको मितिमा एनबी इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ? कम्पनीमा सर्वसाधारण र संस्थापक गरेर १४ करोड रुपैयाँको चुक्तापूँजी छ । कम्पनीको डीडीएको प्रारम्भिक तथ्यांक हेर्ने हो भने १५ करोड रुपैयाँ दायित्व रहेको देखिन्छ । अहिले सरसर्ती हेर्दा प्रतिसेयर नेटवर्थ नकारात्मक नै छ । बीमा समितिले गरेको ड्यु डेलिजेन्स रिपोर्ट प्रतिसेयर प्रति सेयर पाँच रुपैयाँ नेगेटिभ नेटवर्थ भएको कम्पनीमा प्रतिसेयर ८५ रुपैया तिरेर किन्नुको कारण के हो ? कम्पनीको सम्पत्तिभन्दा दायित्व बढि भइसकेको अवस्थामा संस्थालाई सञ्चालन गर्न दिइरहेमा थप समस्या आउने देखेर बीमा समितिले कम्पनीको कारोबार पुरै बन्द गरेको हो । बीमा समितिको कम्पनीले गरेको ड्यु डेलिजेन्स अडिट रिर्पोट अनुसार दायित्व बढि देखिए पनि शंस्कास्पद देखिएका दायित्व समेत गणाना भएका छन् भने लिनुपर्ने शंस्कास्पद भुक्तानीहरु कुनै पनि गणना भएको छैन । लेखा सिद्धान्त अनुसार नै हो यो । तरपनि हामीले पनि त्यहा केही पैसा उठाउन सकौउला, कम्पनीमा रहँदा कसैले जघन्यै अपराध गरेका रहेछन भनेपनि त क्षतिपूर्ती लिन सक्ने अवस्था आउला नि । त्यही रकम पनि उठ्ला भन्ने हाम्रो अपेक्षा हो । हाम्रो बुझाइ र हेराईमा एनबी इन्स्योरेन्स भनेको एउटा स्थापित भइसकेको कम्पनी हो । कम्पनीको आफ्नो कर्मचारी, शाखा, राम्रो नराम्रो जे भएपनि गुडविल पनि छ । नयाँ कम्पनी खोल्नुभन्दा छिटोछरितो तरिकाले यस कम्पनीलाई एउटा ट्रयाकमा ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास हो । अर्काे महत्वपुर्ण कुरा, बीमा समितिले विगत लामो समयदेखि नयाँ बीमा कम्पनीको लागि अनुमति दिइरहेको छैन । यस्तोमा कतै न कतैबाट बीमा क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने उदेश्यले पनि यो उपयुक्त विकल्प लागेर गरेका हौं । कम्पनीको गुडविलको पनि कुरा गर्नुभयो, के तपाईहरु एनबी इन्स्योरेन्स कै नाम बाट कम्पनी चलाउँदै हुनुहुन्छ वा नाम परिवर्तन गर्ने सोच छ ? सबै थोक नामले नै मात्र गर्छ भन्नेमा हामी विश्वास गर्दैनौं । एनबी इन्स्यारेन्सको नाम उही रहेपनि यो कम्पनी अर्काे समूहले सञ्चालन गरेको छ भन्ने सन्देश बजारमा गइरहेको पनि छ, जान्छ पनि । त्यस्तै, बीमा क्षेत्रमा कारोबार गर्ने ठुला–ठुला ग्राहक, हाउसहरुले हाम्रो उपस्तिथि थहा पाइसकेका पनि छन् । सासाना बिजनेशले एनबी वा गैरएनबी भनेर त्यती धेरै मान्यता राख्छ भन्ने मलाई लाग्दैन । तथापी नाम कै कुरामा पनि प्रक्रियागत कुरा हुन्छ । कसैले त्यति कै चहादैमा हुदैन । त्यसैले आम लगानीकर्ता सबैबाट नाम परिवर्तन गरौं भन्ने प्रस्ताव आएमा जाने छौं । तर तत्कालै नाम परिवर्तन गर्नुपर्छ भन्ने हामीले सोचेका छैनौं । कम्पनीको प्राथमिकता के के हुन् ? पहिलो प्राथमिकता नेपालको ऐन नियमको परिपालन गर्नु हो । हामी त्यसैले पूँजी संरचनालाई प्राथमिकतामा राखिरहेका छौं । कम्पनीको नेटवर्थ नेगेटिभ भएपनि कम्पनीमा ९९ प्रतिशत संस्थापकले कल इन एड्भान्समा रकम जम्मा गरिसकेका छन् । नेपालको पुँजीबजार यस्तो उदाहरण यसअघि स्थापित भए जस्तो हामीलाई लाग्दैन । अहिले हामीसंग १० करोड रुपैयाँ रहेको छ । हाम्रो अडिट प्रक्रिया अगाडि बढिसकेको छ, हामीले भुक्तानी तथा राफसाफ अगाडि बढाइ रहेका छौं । हामी जुन दिन व्यवसाय गर्ने हिसाबले सार्वजनिक हुन्छौं, त्यो दिन भएका कामहरु पनि देखाउन सक्ने अवस्थामा आउछौं । पुरानो समस्या सल्टाउनु र नयाँ व्यस्थापन टिम बनाएर राम्ररी काम गर्ने वातावरण बनाउनु पहिलो प्राथमिकता हो । कम्पनीको सेयर दोस्रो बजारमा कहिलेदेखि कारोबारमा आउला, कतिमा कारोबार होला ? हामीले गर्न लागेको डीडीएको प्रतिवेदन आइसकेपछि र सञ्चालन शुरु गरेसंगै नेप्सेमा कारोबारको लागि ओवेदन गर्ने छौं । सम्भवतः जेठसम्म सेयर कारोबार शुरु गर्न अवोदन दिनेछौं । हामी संस्थापकहरुले १० बराबर आठ अनुपातमा हकप्रद सेयर बराबर रकम पनि राखिसकेका छौं । एनबी समूहको पनि हकप्रद हामीले खरिद गरेका छौं । सर्वसाधारणमा पनि यही अनुपातमा हकप्रद सेयर जारी गर्छौ । हामीले यसको पुनर्बीमाको हिस्सामा पनि लगानी बढाउनु छ । नेप्सेमा सूचिकृत भएपछि कतिमा कारोबार हुन्छ भनेर मैले बोलेभने नेप्सेले मलाई स्पष्टीकरण लिने छ । त्यसैले यो विषयमा बोल्न चाहान्न । माथिल्लो व्यवस्थापनका कर्मचारी नियुक्ति प्रक्रिया कहा पुगेको छ ? हामीहरुलाई बिभिन्न आवेदन प्राप्त भएको छ । हामी सम्भवतः यही फागुन भित्रमा नियुक्त गरिसक्छौं । यस कम्पनीका कतिसमयमा प्रतिफल पाउँने प्रक्षेपण गर्नुभएको छ ? हामीहरुले हेर्दा दुई वर्षभित्र (आर्थिक बर्ष २०७२/७३) भित्रमा नेगेटिभ नेटवर्थलाई कम्तिमा पोजिटिभ बनाउछौं भन्ने लक्ष्य लिएका छौं । तपाई हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक पनि हुनुहुन्छ । यो कम्पनीले भने कुन कुन क्षेत्रमा लगानी गरेको छ ? हाम्रो करिब ९० करोड रुपैयाँ बराबरको कुल लगानी छ । त्यसमध्ये १५ प्रतिशत रियलस्टेट क्षेत्रमा छ । एनबी इन्स्योरेन्स, दोर्दी लगायत हाइड्रोपावर जस्ता दीर्घकालिन क्षेत्रमा पनि केही लगानी छ । बाँकी भने सेयरमा लगानी गरेका छौं । बिशेषगरी बीमा, बैंक, विकास बैंक र वित्त कम्पनीको सेयरमा लगानी गरेका छौं । बीमा कम्पनीहरुमा नेपाल लाइफ, नेशनल लाइफमा छ । नेपाल लाइफमा हाम्रो ५०/६० हजार कित्ता बराबर रहेको छ । अन्य लाइफ र नन लाइफमा पनि छ । बैंकहरुमा भने प्राय सबैमा छ । रकमको हिसाबले हेर्दा नविल, एभेरेष्ट लगायत ठूला बैंकहरुमा छ तर सेयर संख्याको आधारमा सानामा धेरै देखिन्छ । लघुवित्त कम्पनीहरुमा लगानी गर्नुभएको छैन ? लघुवित्तमा लगानी छैन । बीमा कम्पनीमा हामीले अन्य क्षेत्रभन्दा धेरै कमाइ गर्यौं । हामीले बीमा कम्पनी छ सात सय मै किनेका थियौं, त्यसो त संस्था नै लघुवित्त भनेको जस्तो नि रह्यो । त्यस्तै बैंकहरुको प्रतिफलसंग तुलना गर्दा लघुवित्तमा लगानी उचित देखिएन । त्यसैले त्यस क्षेत्रमा लगानी गरेनौं । लघुवित्त कम्पनीहरुको मूल्य त अहिले निकै बढेको छ , लगानी गनुपर्ने रहेछ जस्तो लागेको छैन ? म बजारमा कुन वेभ आएको छ भन्नेमा त्यति विश्वास गर्दिन । हामी प्राविधिक, आधारभुत र मनोवैज्ञानिक विश्लेषण गर्छाै । यो क्षेत्रमा मनोवैज्ञानिक रुपमा वृद्धि भएको हो । बीमा पनि कहिले काँही यस्तै देखिन्छ । खासमा यो माग र आपूर्तिको कारणले मूल्य बढेको हो । ‘माग र आपूर्ति’ ले आएको कुरामा हामी त्यति विश्वास गर्दैनौं । जस्तो कुनै जगमा आधा पानी राखेर छल्काइदियो भने पनि पानीको सतह माथी आएको देखिन्छ । तर जब पानी छछल्किन छोड्छ पुरानै अवस्थामा आउँछ । त्यसैले माग र आपुर्तिमा खेलेर बढाइएको सेयरमा पछि लाग्नु हुँदैन । तर बोनस सेयरकै आशामा लगानीकर्ताहरुले बीमा र लघुवित्तमा लगानी गरिरहेका पनि देखिन्छन त ? बीमा क्षेत्रमा हेर्ने हो भने दैनिक रुपमा वृद्धि छ । बीमा कम्पनीहरु खोलिने क्रम रोकिएको छ । बजार बढिरहदा बीमा कम्पनी संख्या बढेको छैन । त्यसैले बीमा कम्पनीको वृद्धि २०/२५ प्रतिशतसम्म छ । त्यसको बजारको वृद्धि अझ बढी हुन्छ । लघुवित्त तर्फ समस्या चुनौति के छन् भने लगालग नयाँ लघुवित्त कम्पनीहरु आइरहेका छन । कम्पनी बढेको छ, तर व्यवसाय संकुचित हुदैछ । वाणिज्य बैंकहरु आफैले एसएमई भनेर ५० हजार रुपैयाँ सम्मको कर्जा दिन्छन् जिल्ला जिल्लामा । विकास बैंक, वित्त कम्पनीले समेत साना तथा मझौला कर्जा बढाइरहेका छन । यस क्षेत्रमा कर्जा विस्तारमा डुब्लिकेशनको धेरै कुराहरु आइरहेको छ । कम्पनीहरुको उदेश्यभन्दा बाहिर रहेको लुप होलबाट कमाइरहेका छन । त्यसैले भोलीको सम्भावना कम होला भनेर लगानी नगरेका हो । अल्पकालमा लगानी गर्ने उदेश्यले सामूहिक लगानी कोष जस्ताले पनि यी कम्पनीका सेयर खरिद गरिरहेका देखिन्छन् । तरपनि अल्पकालमा लगानी गर्ने सेयर त तत्काल बिक्री गर्न सकिने ‘लिक्विड’ हुनुपर्दछ । यी क्षेत्रको सेयर ‘हाइली लिक्विड’ हुनुपर्छ । तर यो क्षेत्रको सेयर सिजनेवल देखिन्छ । तपाईले चाहेको समयमा बिक्री गरेर निस्कन हुन समस्या छ । मलाई अल्पकालमा ठूलो परिमाणमा यस्ता सेयरमा लगानी गर्न हुन्छ भन्ने नलागेर हो । केही लगानी भने गरेका छौं । संस्थापक सेयर र सर्वसाधारण सेयरमा विभिन्न विभेद छ त्यसलाई कसरी हेर्नुभएको छ ? यो विभेद हुनुहुदैनथ्यो भन्ने मेरो बुझाइ हो । संस्थापक सेयरमा एउटा निश्चित समयपछि खुला गरिनुपर्छ । संस्थापक संस्था जन्माउने आमा हो । बच्चा नहुर्किउन्जेलसम्म जसरी आमाबाबुको दायित्व हुन्छ, कम्पनीको पनि त्यस्तै हो । तर बच्चा परिपक्व भएपछि छोरालाई च्यापेर राख्नु पर्छ भन्ने जस्तै विभेद संस्थापक सेयरमा छ । संस्थापकलाई निश्चित अवधिपछि सेयर किनबेचमा खुकुलो बनाइदिनु पर्दथ्यो । अर्काे कुरा तपाईले लगानी गर्ने पनि त्यही सय रुपैयाँ हो भने संस्थापक लगानीकर्ताले गर्ने पनि उही । प्रवद्र्धक र साधारण सेयरबारे अन्तराष्ट्रिय अभ्यास कस्तो छ ? प्राय सबैजसो देशमा निश्चित समयअवधि पछि संस्थापक सेयर माथिको बन्धन फुक्का गरिन्छ । यस्तो अवधिपछि सर्वसाधारण र संस्थापक सेयरबीचको अन्तर नै रहदैन । मैले नेपालको लागि सुझाउन पर्यो भने यस्तो वर्गिकरणको अवधि पाँच वर्षको उचित मान्छु । यदी यसभन्दा लामो समय राख्ने हो भने पनि चरणबद्ध रुपमा निश्चित प्रतिशत संस्थापक सेयरलाई फुक्का गर्दै जाने छुट दिनुपर्छ । हुनसक्छ, दायित्व लगायतका विषयमा त्यही अनुसार चरणबद्ध रुपमा परिवर्तन गर्दै लैजानु पर्दछ । तर कारोबार मूल्य र रकममा नै विभेद गरिनु हुदैन । हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रमोटर सेयरमा लगानी गरेको छ कि छैन ? हामीले संस्थापक सेयरमा भन्दा सर्वसाधारण सेयरमा नै बढी लगानी गरिरहेको हुन्छ । मैले चाहेर पनि संस्थापक सेयर किन्न सक्दिन । बाफियाले पनि तीन बर्षसम्म नाफामा गएको कम्पनीले मात्र बैंक तथा वित्तीय संस्थाको सेयर किन्न सक्ने व्यवस्था गरेको छ । मेरो इन्भेष्टमेन्ट कम्पनी यो बीचको एक बर्षमा नोक्सानमा गयो भने पनि सेयर किन्न पाउँदिन । यदी कुनै कम्पनीले १० हजार मात्र रुपैयाँ कमायो भने पनि उसले सेयर खरिद गर्न सक्ने तर मेरो कम्पनीले नोक्सानमा गएपछिको अर्काे वर्ष नै एक करोड कमाए भनेपनि किन्न नपाउने ? यस्तो नियम व्यवहारिक भएन । संस्थापक सेयरधनीका मुुख्य पीडा के के हुन् ? पहिलो समस्या सेयर खरिद बिक्री नै नहुनु हो । संस्थापक सेयरधनी आफैले खरिदकर्ता खोज्नु पर्ने हुन्छ । बजारमा कुनै पनि ब्रोकरले खरिद कर्ता खोजि दिदैनन् । दुनियाँका कुनै पनि देशमा कर्जा तथा स्वआर्जनले संस्थापक सेयर खरिद गर्न पाइन्छ, यहाँ कर्जा लिएर संस्थापक सेयर खरिद गर्न नै पाइदैन । संस्थापक सेयरको सूचीकरण मै विभेद छ । व्यवस्थापनमा बस्ने संस्थापकलाई त ठिकै होला, अन्यलाई अछुत नै मानेको छ । अन्यलाई कम्पनीहरुले बार्षिक साधारण सभामा पनि बोलाउँछ, बोलाउँदैन त्यतिकै पिडा, सेयर बेच्न गयो मूल्य आधा भन्छ । खरिद गर्ने मान्छे आफैले खोज्नुपर्छ । लाभांशमा एक रुपता छ र चित्त बझाउन सकिरहेका छन् ।

बीमा कम्पनीमा सीईओ अभाव, सञ्चालकलाई चाहिएको आज्ञाकारी कि दक्ष

१७ फागुन/योग्यता अनुसारको जनशक्ति बजारमा नभेटिएको कारण बीमा कम्पनीहरु प्रमुख विहिन बन्न पुगेको कम्पनीहरुले बताउँदै आएपनि यसभन्दा फरक कारण पनि रहेको देखिन्छ । बीमा समितिले जारी गरेको बीमकको संस्थापक सुशासन सम्बन्धि निर्देशिका २०६९ मा बीमा कम्पनीको प्रमुख हुन स्नातकोत्तर गरेको, कानुनी रुपमा गठन भएको संस्थाको व्यवस्थापकको रुपमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, प्रमुख हुनेले बीमा क्षेत्रमा दुई बर्ष काम गरेको अनुभव अनिवार्य गरेको छ । कम्पनीहरुले यही व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका छन । तर कतिपय बीमा कम्पनीका प्रवद्र्धकहरुले आफ्नो अनुकुलका प्रमुख कार्यकारी नपाउँदा कायममुकायमको भरमा कम्पनी छोडेको देखिन्छन । सात बर्षमा पाँचजना प्रमुख फेरिएको सूर्यालाइफ इन्स्योरेन्स कम्पनी पनि यसैको एउटा उदाहरण हो । कम्पनीले गएको पुस ३० गते अन्तिम पटक प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सूचना जारी गरेको थियो । तर यसपटक पनि कम्पनीले योग्य व्यक्ति नपाएको भन्दै कसैलाई छनोट गरेन । कम्पनी गत असोजदेखि प्रमुख विहीन छ । यस्तै कारण देखाउँदै सिद्धार्थ इन्स्योरेन्सले पनि महप्रबन्धकको नियुक्ति गरेको छैन । ‘बीमा समितिको संस्थागत सुशासन विनियमावलि अनुसारको योग्यता भएका व्यक्ति नभेटिएको होइन, तर योग्यता मात्र पुगेर भएन नि, उनीहरुमा क्षमता पनि त हुनुप¥यो’ कम्पनीका अध्यक्ष मनोज केडियाले भने । सिद्धार्थ इन्स्योरेन्सले पछिल्लो पटक महाप्रबन्धकको आवश्यकता सम्बन्धि सुचना प्रकासित गर्दा करिब आठ जनाले आवेदन दिएका थिए । कम्पनीले ‘बिदाको दिन पारेर’ ती मध्ये चार जनालाई अन्तरवार्तामा बोलाएपनि सक्षम नभएको भन्दै कसैलाई पनि छनौट गरेन । २०७० चैतदेखि कम्पनीको नेतृत्व कायममुकायम महाप्रबन्धकको रुपमा विरेन्द्र बैदवार क्षत्रीले गरिरहेका छन् । केही कम्पनीले भने प्रमुखको खोजीको लागि निकै लामो समयदेखि सार्वजनिक सूचना समेत जारी गरेका छैनन् । प्रमुख विहीन भएर पनि सूचना जारी नगर्नेमा एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् । अग्नि बीमामा भएको दाबीपछि बीमा समितिको कारवाहीमा समेत परिसकेको एभरेष्ट इन्स्योरेन्स करिब एक बर्षदेखि प्रमुख विहीन छ । गत बर्ष फागुनदेखि कम्पनीको नेतृत्व कायममुकायम सहायक महाप्रबन्धक प्रदिप मोहन धौभडेलले गरिरहेका छन । ठुला लगानीकर्ता राजेन्द्र कुमार खेतान र निरन्जन कुमार टिवरेवाला बीचको विवादमा अल्झिरहेको कम्पनीले हालसम्म महाप्रबन्धकको लागि सुचना जारी गरेको छैन । करिब १९ महिनादेखि नेको इन्स्योरेन्सको नेतृत्व विश्व तिमिलाले गरिरहेका छन । तिमिला कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेको छ । प्रिमियर इन्स्योरेन्ससंग मर्जर गर्ने पक्कापक्की भएपछि उनी अघिका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले राजिनामा गरेका थिए । कम्पनीले हालसम्म प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सुचना जारी नगरेको अधिकृत तिमिलाले जानकारी दिए । गुराँस लाइफ इन्स्योरेन्समा करिब तीन बर्षदेखि प्रमुख छैन । कम्पनीले दुई बर्षयता प्रमुखको माग गर्दै सार्वजनिक सूचना पनि जारी गरेको देखिदैन । हाल कम्पनीको नेतृत्व कायमुकायमको रुपमा नारायण कुमार भट्राईले गरिरहेका छन् । कम्पनीहरुले प्रमुखको खोजीको लागि सुचनै जारी नगर्ने, जारी गरेकाले पनि ‘पपेट’ प्रमुखको खोजी गर्नुले कम्पनीहरु प्रमुख विहीन रहेको बीमा समिति स्रोत बताउछ । ‘पारिवारिक ग्रिपमा रहेका कम्पनीहरुले आफु अनुकुलका प्रमुख नपाएको कारण समितिको व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका हुन्,’ ती स्रोतले भने । उनले समितिले तेकेको योग्यता पुगेको व्यक्ति बजारमा पर्याप्त रहेको बताए । ‘बीमा विज्ञको रुपमा समेत चिनिएका पुरुषोत्तम सुवेदी, बीमा संस्थानका पुर्वकर्मचारीहरु शिवबहादुर श्रेष्ठ, शालिकराम पराजुली र शैलेन्द्र श्रेष्ठ, सूर्यालाइफका पुर्व महाप्रबन्धक गोपाल घिमिरे जस्ता योग्यता पुगेका धेरै खाली बसिरहेका छन, कम्पनीहरुले चहानुपर्छ,’ ती स्रोतले स्पष्ट पारे । हाल युनाइटेड इन्स्योरेन्स, एलायन्स इन्स्योरेन्स प्रमुख विहीन हुने अवस्थामा छ । त्यस्तै, एनबी इन्स्योरेन्स पनि हाल प्रमुख विहीन छ । हाल यी तीनै कम्पनीले सार्वजनिक सुचना गरेर प्रमुखको माग गरेका छन । एनबी इन्स्योरेन्सले प्रमुख छनौटको अन्तिम तयारी गरिसकेको छ । कम्पनीले यही फागुनमा प्रमुख पाउने भएको छ । त्यस्तै, छ महिनादेखि नेपाल इन्स्योरेन्समा कायममुकायमको रुपमा रहेका चन्द्रसिंह साउदलाई कम्पनीले महाप्रबन्धकमा नियुक्त गरेको छ ।

कुमारी बैंकले सीईओ उपाध्यायलाई निलम्बन गर्यो, निमित्त सीईओ राजीव गिरी

१४ फागुन/कुमारी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)उदयकृष्ण उपाध्यायलाई निलम्बन गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओ उपाध्यायलाई निलम्बन गरी निमित्त सिईओको जिम्मेवारी राजीव गिरीलाई दिएको छ । विदामा बसेका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको आचरण खराव देखिएकोले तत्काल निलम्बन गर्नु परेको बैंकका एक सञ्चालकले बताए । उनी बैंकमा हाजिर भएपछि प्रष्टीकरण लिने लगायत आवश्यक कारवाही हुने उनले बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यय वार्षिक विदा अन्तरतग फागुन एकदेखि १५ गतेसम्मका लागि छुट्टीमा बसेका थिए । फागुन ११ गते महानगरीय प्रहरी वृत तिनकुनेले कोटेश्वरको एक गेष्ट हाउसबाट पक्राउ गरी थुनामा राखिएरहेको छ । ‘पहिला उहाँ अपहरणमा परेको भन्ने जानकारी आएको थियो । खोज्दै जाँदा उहाँलाई प्रहरीले पक्राउ गरेको रहेछ । त्यो पनि गलत आचरणको विषय जोडिएर आयो’–ती सञ्चालकले भने–‘प्रहरीले सार्वजनिक अपराधको आरोप लगाएर मुद्दा हाल्ने तयारी गरिरहेको व्यक्तिलाई बैंकको मुख्य पदमा कायम राख्न सकिदैन ।’ ‘उहाँको आचरणबारे गम्भिर समाचार प्रकाशित भएका छन् । बैंकको छवि उहाँको आचारणसँग जोडिएर आएको छ । त्यसैले तत्कालका लागि निलम्बन गरेका, उहाँ आएपछि स्पष्टीकरणको मौका दिनेछौं’ ती सञ्चालकले भने–‘उहाँले सफाई दिनसक्नुभयो भने पुर्नवहाली हुन्छ, मनासिव प्रमाण दिनसक्नुभएन भने आवश्यक कारवाही हुनेछ ।’ उपाध्यायलाई प्रहरी कार्यलयले तिनकुनेमा थुनामा राखेको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका गिरी सोही बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १० महिनाअघि मात्र कुमारी बैंकमा प्रवेश गरेका हुन् । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा २५ बर्षको अनुभव संगालेका छन् ।

क्यान महासंघलाई जोगाउन मेरो नेतृत्व आवश्यक छ

२०५१ सालदेखि नेपालको सुचना प्रबिधीका क्षेत्रमा लागेका बिनोद ढकाल क्यानको वर्तमान कार्यसमितीम अध्यक्ष छन् । क्यानलाई महासंघ बनाउने अभियानको मुल नेतृत्व गरेका ढकाल क्यान महासंघको प्रथम साधारण सभाबाट अध्यक्ष बन्ने दौडमा छन् । क्यानको सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष बनेका ढकाल महासंघको प्रथम अध्यक्ष बन्ने दौडमा सामेल भैरहेका बेला बिकासन्युज डटकमले गरेको कुराकानी ।     तपाइँको उम्मेदवारी केका लागि ? म क्यान नेपालको वहालवाला अध्यक्ष हुँ । दशकौं देखि क्यानलाई महासंघ बनाउने अभियान जारी थियो । मेरो अथक प्रयास र नेतृत्वमा क्यान महासंघका रुपमा दर्ता भएको छ । अरुले बर्षाै प्रयास गर्दा पनि नसकेको काम मेरो प्रयासमा सम्पन्न भएको छ । क्यानको इतिहासमा र नेपालको आइसीटीको क्षेत्रमा यो नै अहिलेसम्मको सबै भन्दा ठुलो उपलब्धि हो । क्यानलाई महासंघ बनाउने काम लाग्दा लाग्दै अन्य महत्वपुर्ण कामहरु गर्न सकिएको थिएन् । अब महासंघको नेतृत्वमा बसेर ती कामहरु गर्ने सोच बनाएको छु । क्यानलाई मेरो खाँजो र मेरो योगदानको कदर पनि हुनु पर्छ । मैले अझै क्यानलाई धेरै योगदान दिन सक्छु त्यसैले पनि उम्मेदवार बनेको हुँ । मसँग क्यानलाई अझै गतिशितल र शसक्त बनाउने योजना छ । तपाईका एजेण्डाहरु के के हुन् ? आईसीटी क्षेत्रलाई उद्योगका रुपमा बिकास गराउने, क्यानको छविलाई सुधार्ने, ऐन कानुनमा सापेक्ष परिवर्तनका लागि दबाव सञ्चालन गर्ने, क्यानका संगठनलाई चुस्त दुरुस्त बनाउने, नेपाललाई सुचना प्रबिधीको हाईवेमा अग्रसर गराउने अनि नेपाली आईसीटी विज्ञहरुलाई दक्ष बनाउने मेरा एजेण्डाहरु हुन् । जित्ने आधारहरु के के हुन् ? मैले क्यानमा गरेको मेहनत र दिएको उपलब्धि नै मेरो जित्ने आधार हुन् । क्यानलाई महासंघ बनाएर ऐतिहासिक सफलता दिलाएको छु । यो मेरो र मेरो कार्यसमितीका साथीहरुको साथ, सहयोग र समर्थनको फल हो । यस बाहेक जिल्लाहरुबाट पनि राम्रो साथ पाईरहेको छु । काठमाडौंमा मेरो बिशेष पकड छ, क्यानको वर्तमान कार्यसमितीमा मेरो पक्षमा स्पष्ट बहुमत छ । क्यानलाई माया गर्नेहरुले, क्यानको हित चिताउनेहरुले बिनोद ढकाललाई अध्यक्ष बनाउँछन् । क्यान महासंघका लागि आगामी योजना के के छन् ? हामी क्यानका लागि मरिमेटेर लागि पर्दै आएका छौं । जीवनको उर्जावान र महत्वपूर्ण समय क्यानकै लागि सुम्पिएका छौं । क्यानको उन्नती र प्रगतिमा नै सिंगो मुलुक र मेरो व्यक्तिगत जिवनले पनि सार्थकता पाउने छ । क्यानलाई शसक्त बनाउने, नेपालको आईसीटी क्षेत्रको बिकास, विस्तार र प्रवद्र्धन गर्ने, जनताका पहुँचमा आईसीटी पु¥याउने योजना छन् । ति सबै योजनालाई कार्यान्वयन गर्नका लागि अध्यक्षमा विजयी हुनु आवश्यक छ । क्यानको सुनौलो भविष्यका लागि मेरो समुहलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु । तपाईँले फर्जि मत मार्फत क्यान कब्जा गर्न खोजेको आरोप छ नी ? त्यो त आरोपका लागि आरोप मात्रै हो । सदस्यको टुङगो लगाउने समितीमा उहाँहरुको पनि संलग्नता छ । उहाँहरुको सहमति बिना कुनै पनि काम अघि बढाएको छैन् । सदस्यताको टुङगो पनि दुबै समुहले मिलेर गरेका हौं अनि कसरी फर्जिको कुरा आउँछ । त्यो त बिरोध गर्ने बहाना मात्रै हो ।

सामसङ सिडिएमए आयो, एकै पटक एक अर्बको मोबाइल अर्डर

१५ फागुन । सामसङ मोबाइलले सिडिएम र जीएसएम सिमकार्ड प्रयोग गर्न मिल्ने ‘सामसङ ग्यालेक्सी एस फोर’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । सामसङ मोबाइलका लागि नेपालको आधिकारीक बिक्रेता इन्टेग्रेटिड मोबिलिटी सर्भिस(आईएमएस)ले नेपालमै पहिलो पटक सिडिएमए र जिएसएम नेटवर्क सहितको स्मार्ट फोन भित्र्याएको हो । आईएमएस र नेपाल टेलिकमले सामसङ कम्पनीलाई बिशेष अनुरोध गर्दै नेपालका लागि सिडिएमए स्मार्ट फोन निर्माण गर्न लगाएका हुन् । सामसङ कम्पनीले तीन बर्ष पहिले नै बन्द गरेको सिडिएमए मोबाइलको उत्पादन नेपाली बजारको मागलाई सम्बोधन गर्दै पुनः निर्माण गरेको हो । १२ हजार मुल्य पर्ने ग्यालेक्सी एस फोरमा सिडिएम र जीएसएमको दुबै सिमकार्ड प्रयोग गर्न सकिन्छ । नेपालका ग्रामीण क्षेत्रमा स्मार्ट फोनको सुबिधा विस्तार गर्ने योजनासहित सिडिएमए स्मार्ट फोन ल्याएको आईएमएसका अध्यक्ष दिपक मलहोत्राले बताए । नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए फोनको माग अत्याधिक रहेको र स्मार्ट फोनको सिरिजमा सिडिएमए मोबाइल उपलब्ध नरहेकाले सामसङले त्यस्तो प्रयास गरेको उनले बताए । नयाँ फोनबाट गाउँ गाउँमा इन्टरनेतको सुबिधा पुग्ने उनले बताएका थिए । एकै पटक एक अर्बको फोन अर्डर आईएमएस प्रालिले एकै पटक एक अर्बको मोबाइल अर्डर एक अर्बको मोबाइल सेट अर्डर गरेको छ । कम्पनीले सिडिएमए र जीएसएम सर्भिस सहितको सामसङ ग्यालेक्सी एस फोर मोबाइल एकै पटक एक अर्ब ८० करोड मुल्य बराबरको अर्डर गरेको हो । १८ महिनाका अर्थात डेढ बर्षमा बेच्ने लक्ष्यसहित आईएमएसले ९० हजार सिडिएमए स्मार्ट फोनको अर्डर गरेको कम्पनीका निर्देशक डिकेश मलहोत्राले बताए । प्रतिसेट १२ हजार मुल्य पर्ने ९० हजार सेट मोबाइल फोनको कुल मुल्य एक अर्ब ८ करोड हुन्छ । नेपालको हिमाली, पहाडी तथा ग्रामीण क्षेत्रमा सिडिएमए फोनको अत्याधिक प्रयोग हुने गरेको छ । सोही बजारलाई मध्यनजर गर्दै कम्पनीले ठूलो मात्रामा फोन अर्डर गरेको हो । ‘नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए मोबाइलको राम्रो बजार छ, त्यसकै लागि सामसङका स्मार्ट फोन भित्र्याएका हौं’–निर्देशक मलहोत्राले भने । के के छन् त ग्यालेक्सी एस फोरमा ? सिडिएम र जीएसएम सिमकार्ड लाग्ने यो मोबाइलमा ३ एमपी रिअर क्यामेरा, ४ जिबीको इन्टर्नल तथा ६४ जिबीको एक्सपाण्डेबल मेमोरी र ५१२ को ¥याम रहेको छ । यसमा १.२ गिगाहर्जको ड्युअल कोर प्रोसेसरका साथमा १५०० एमएएचको ब्याट्री रहेको छ । गाउँगाउँमा इन्टरनेट सहितको सिडिएमए फोन सामसङ सिडिएमए फोनको सार्वजनिक गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले गाउँ गाउँमा इन्टरनेट सहितको सिडिएमए फोन पुग्ने बताए । उनले नेपालका पहाडी तथा दुर्गम क्षेत्रमा सिडिएमए सेवाको बजार राम्रो रहेको बताउँदै अब त्यसका प्रयोगकर्ताहरुले समेत इन्टरनेटको सुबिधा प्रयोग गर्न सक्ने बताए । टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले सिडिएमए सेवामा ८ गिगाबाईटको इन्टरनेट क्षमता भएपनि हालसम्म १ गिगाबाईट समेत प्रयोग नभएको जानकारी दिएका थिए । उनले सामसङको सिडिएमए स्मार्ट फोनले गाउँगाउँका जनतामा इन्टरनेटको पहुँच विस्तार गर्ने दावी गरेका थिए ।

लुम्विनी इन्स्योरेन्समा पहिरो गयो, सीईओ र डेपुटी सीईओले पनि खुट्टा उचाले

१४ फागुन/लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट एकपछि अर्को गर्दै कर्मचारीले छोडिरहेका छन् । हालसालै एक दर्जन कर्मचारीले लुम्बिनी छोडेर युनाईटेड इन्स्योरेन्स प्रवेश गरेका छन् भने प्रमुख कार्यकारी अधिकृत शेखर बराल र सहायक प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले पनि अन्य कम्पनीमा जान खुट्टा उचालेका छन् । स्रोतका केन्द्रीय कार्यलयबाट कम्तिमा पाँच जना कर्मचारीले छाडेका छन् । यादव पाठक, सविना महर्जन, लक्ष्मण पराजुली, दीपक खत्री लगायतले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेड इन्स्योरेन्समा प्रवेश गरेका हुन् । त्यस्तै, ठमेल शाखाका अर्का एक कर्मचारी पनि लुम्बिनी छोडेर युनाईटेड गएका छन् । त्यस्तै, धनगढी शाखा प्रमुख राकेश कर्माचार्यसहित ४ जनाले लुम्बिनी इन्स्योरेन्स छोडेर युनाईटेड इन्स्योरेन्स गएका छन् । उक्त ब्रान्चका सुरक्षाकर्मी र सहायक एक कर्मचारी बाहेक सबै युनाईटेड गएका हुन् । कम्पनीको ब्राण्ड इमेजले भन्दा कर्मचारीको मिहेनत र सम्वन्धमा आधारित बीमा बजारमा ब्रान्चका मुख्य मान्छेहरुले एकैपटक छाडेपछि उक्त शाखाको व्यापार नराम्ररी प्रभावित भएको छ । त्यस्तै हेटौडाबाट बद्री अधिकारीसहित दुई जनाले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेडमा हाजिर भएका छन् । लुम्बिनी इन्स्योरेन्सकै नेपालगञ्ज शाखाका रमेश पण्डित युनाईटेड गएका छन् । मध्यम र तल्लो तहका कर्मचारीको पहिरो चलिरहेको बेलामा, उच्च तहका व्यवस्थापक पनि कम्पनी छोड्न खुट्टा उचालेर बसेको स्रोतले बतायो । केन्द्रीय कार्यलयका वित्त प्रमुख गणेश कापरले राजीनामा गरि घरमा बसेका छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठ कम्पनी छोड्ने मनस्थितिका साथ उपयुक्त अवसरको खोजीमा लागेका छन् । उनले पुर्नजन्म पाउँदै गरेको एनवी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा आवेदन गरेको स्रोतले बतायो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि युनाईटेड इन्स्योरेन्समा जान लागेको बताईएको छ । युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरविक्रम रायमाझीले दिएको राजीनामा फागुन एकदेखि लागू गरि स्वीकृत भईसकेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयमा बराल र युनाईटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष शर्माबीच भेटवार्ता भईसकेको स्रोतले बतायो । तर बरालले विकासन्युजसँग कुरा गर्दै आफूले युनाईटेड इन्स्योरेन्समा जाने तयारी नगरेको बताए । उनले लुम्बिनी इन्स्योरेन्स तत्काल छोड्ने सम्भावना नभएको बताए । स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत बराल र कम्पनी सञ्चालक समिति सदस्य चिन्तामणि भट्टराईबीच बढ्दो टसलले पनि बराललाई काम गर्न अप्ठ्यारो परेको छ । फागुन २५ हुन गईरहेको लुम्बिनी इन्स्योरेन्सको १० औं साधारसभा सम्पन्न भएपछि बरालले कम्पनी छोड्न सक्ने अडकलबाजी लुम्बिनी इन्स्योरेन्स भित्रै भईरहेको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन भित्र बस्ने हो भने युनाईटेड इन्स्योरेन्समा बरालले मासिक १ लाख ५७ हजार पाँच सय रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने छैनन् । जवकी उनले लुम्बिनी इन्स्योरेन्समा मासिक एक लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै पाउँदै आएका छन् ।

खाना खादै गर्दा समातेको कुमारीका सिइओको बयान, प्रहरी भन्छ -होइन

१४ फागुन । महानगरीय प्रहरी प्रभाग बानेश्वरमा रहेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले आफू खाना खान थकाली रेष्टुरेन्ट गएको समयमा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । उनले प्रहरीलाई सो बयान दिएर अनावश्यक दुख नदिन भन्दै चाढो रिहाइ गर्न पनि माग गरेका छन् । ‘थकाली खाना खानको लागि गएको समयमा प्रहरीले मलाई पक्राउ गरेको भन्ने बयान दिनुभएको छ,’ महानगरीय प्रहरी प्रभाग बानेश्वरका एक अधिकारीले भने– पदीय मर्यादा पनि विचार गर्नुपर्ने भएकोले मिलाएर चाढै छोड्ने तयारी गर्दैछौं । प्रहरीले उनलाई ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टवाट पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रुपमा पक्राउको कारण खुलाएको छैन । उनको साथमा अर्काे एक जना पनि भएको प्रहरीको दाबी छ । ‘उहाँले जस्तो दाबी गरिरहनु भएको छ, त्यो हुदैहोइन,’ ती प्रहरी अधिकारीले भने– हामीले प्रमाण सहित नै भेटेको भएपनि उहाँको पदीय मर्यादा पनि विचार गर्नुपर्ने अवस्था आएको छ । उपाध्यायलाई चाढै रिहा गरिने प्रहरीको भनाइ छ ।