विकासन्युज

ऋण माग्दा रित्तो हात, तरलता अभावले १ करोडभन्दा माथि ऋण छैन

काठमाडौं १७, मंसिर । बैंकहरुले एक करोड रुपैयाँभन्दा बढी ऋण लिन आउनेलाई रकम नभएको भन्दै रित्तो हात फर्काउने गरेका छन् ।  लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकले ठूलो ऋण दिन छाडेका हुन् । ऋणको माग बढेको र निक्षेप संकलन सोही अनुपातमा हुन नसकेपछि बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन्। ठूलो ऋण माग्न आउनेलाई दिन सकिदैँन भन्ने स्थिति आएको छ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने। सरकारसँग रहेकको २ खर्ब रुपैयाँ खर्च नगरेका कारण यस्तो अवस्था आएको हो । चालू आवको विनियोजित विकास बजेट बुधबारसम्ममा जम्मा ६ प्रतिशत अर्थात १८ अर्ब ५५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । नागरिक दैनिकबाट

सुन प्रतितोल ५४ हजार, गत चैतयता ८ महिनाकै सस्तो

काठमाडौं १७, मंसिर । पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायताकै सस्तो भएको छ। विहीबारका लागि तोकिएको छापनवाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ। यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ५४ हजार रुपैयाँ मूल्य ८ देखि ९ महिनायताकै सबभन्दा कम हो, शाक्यले भने । गत चैतमा मात्रै सनुको मूल्य कम अंकमा झरेको थियो । नागरिक दैनिकबाट ।

फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी, एकै व्यक्तिले ३० जनालाई ठगे

काठमाडौं १७, मंसिर । फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो समय ३० जनाभन्दा धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ ।ठगिनेमध्ये धेरै उनका गर्लफ्रेन्डनिकट व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसरी नै उनले एक दशकदेखि ठग्दै आएका थिए । भारतको लखनउमा बस्ने पोखरेलले गर्लफ्रेन्ड र आफ्ना विश्वासपात्र व्यक्तिमार्फत पैसा उठाउने गरेका थिए । गर्लफ्रेन्ड र आफन्तलाई समेत झुक्याएर उनले विदेश जान खोज्ने तथा सरकारी जागिर खाने व्यक्तिलाई खोज्न लगाउने गरेको प्रहरीले जनाएको छ । पोखरेलले कतिपय अवस्थामा उनीहरुमार्फत नै पैसा लिने र कतिपय अवस्थामा आफ्नो बैंक खातामा पैसा हाल्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एटिएममार्फत भारतमै बसेर उनले पैसा निकाल्ने गरेका थिए । परिचय लुकाउन हिमालयन बैंकमा नक्कली नागरिकताका आधारमा मनोज रिजालको नाममा पोखरेलले खाता खोलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । नयाँ पत्रिका दैनिकबाट ।

बूढीगण्डकी आयोजना कार्यालयमा झडप, स्थानीयवासी घाइते

गोरखा : गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि विहिवार झडप भएको छ। बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो। प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो। कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन्। सो झडपमा केही स्थानीयवासी सामान्य घाइते भएको बताइएको छ। सिउरेनीटार क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। घ्याल्चोक, दर्बुङ, फुजेललगायत विभिन्न १५ गाविसका प्रभावित जनता मुआब्जा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु कार्यालयमा ताला लगाउन सिउरेनीटार पुगेको स्थानीय हरि सिम्खडाले बताए।

ब्राजिलियन फुटवल टिम चढेको जहाज इन्धनको अभावमा विमान दुर्घटना तथ्य सार्वजनिक

कोलम्बिया। गत मङ्गलबार कोलम्बियाको पहाडी इलाकामा ब्राजिलियन फुटवल खेलाडि चढेको विमान दुर्घटना इन्धन अभावको कारण भएको अनुसन्धानले पत्ता लागेको छ । ‘ककपिट भ्वाइस रिकर्डर’ रिकर्ड भएअनुसार  दुर्घटना तेल अभावको कारण भएको तथ्य फेला परेको कोलम्बियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । दुर्घटना हुनु अगाडी विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सुचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएको बताइएको छ । कोलम्बियाका सञ्चार माध्यमहरुले बुधबार जनाएनुसार मेडेलिननजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले ‘यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,’ भनेका थिए । दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडीहरु र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो । यस दुर्घटनालाई खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ ।

एप्पलले अागामी सेप्टेम्वरमा नयाँ आईफोनका ८ सार्वजनिक गर्ने, तयार पार्यो नयाँ ढाँचा

वासिङ्टन। एप्पलले आगामी वर्ष १० औं वार्षिकोत्सवका अवसरमा उसको नयाँ प्रडक्टका रुपमा अाइफोन ८  ल्याउने भएको छ। सो आईफोनका लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ। अागामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको सो अाइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने रहेको कम्पनीले जनाएको छ। अमेरिको पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीको योजनामा रहेका ढाँचामध्ये कर्भड स्क्रिन पनि छ । एप्पलका वितरकले राम्रो रिजोलुसनसहितको पातलो स्क्रिनको आईफोन ल्याउन आग्रह गर्दै आएका छन्। यो विशेषता सामसङको ग्यालेक्सी एजमा पनि रहेको जर्नलले जानकारी दिएको छ । उच्च कोटीको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ। भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको अाइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ।

डोनाल्ड ट्रम्पले अब व्यावासाय नगर्ने, भने ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ मा रहन्न

अमेरिका। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  व्यवसायबाट आफू अलग रहने बताएका छन्। व्यवसाय र सरकार चलाउनमा स्वार्थ्य वाझिने भएका कारण व्याव‍सायवाट अलग हुने घोषणा गरेका छन्। ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गरेका हुन्। उनले ट्विट गरेका छन्- ’डिसेम्बर १५ का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकुँ।’ उनले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन्। केहीगरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ट्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन्।

लगानीकर्ताले आस्वा प्रणालीबाट लिन सक्ने पाँच फाइदाहरु र यसबाट लाभ लिने तरिका

नेपालको पूँजीबजारलाई सुधार गर्दै जाने क्रममा नेपाल धितोपत्र बोर्डले हाल सालै ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ र ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३’ जारी गरेको छ । बोर्डले २०७३ माघदेखि धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ लागू हुने जनाएको छ । उक्त निर्देशिका लागू भए पश्चात धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा (एप्लिकेशन सर्पाेटेड वाइ ब्लक एमाउन्ट) प्रणाली शुरुवात हुनेछ । यो व्यवस्था पश्चात पूँजीबजारको प्राथमिक निष्काशनमा गुणात्मक परिवर्तन हुनेछ । आस्वा प्रणाली के हो ? यो प्रणाली अन्तर्गत लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा खरिद कसरी गर्नुपर्छ ? धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ मा के के व्यवस्था गरिएको छ ? धेरै लगानीकर्ताको उत्सुकताको विषय भएको छ । धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३, अन्तर्गत धितोपत्र खरिद कार्यको हाल भैरहेको व्यवस्थालाई पूर्ण रुपमा रूपान्तरण गरिएको छ । विश्वको धेरै देशमा प्रचलनमा आइसकेको आस्वा प्रणालीको नेपालमा लागू गर्न लागिएको मोडल भने भारतको सेक्युरिटीज एक्सचेञ्जले तयार पारेको मोडल हो । आस्वा प्रणालीका फाइदाहरु १.बैंक खाताबाट रकम कट्टी यो प्रणालीमा धितोपत्र सार्वजनिक निष्काशन क्रममा लगानीकर्ताले आवेदन दिन चाहेको कित्ता बराबरको रकमलाई लगानीकर्ता कै खातामा रोक्का गर्न लगाएर, धितोपत्र खरिदको आवेदन दिनुपर्ने हुन्छ । निष्काशन तथा बिक्री प्रबन्धकले लगानीकर्ताको विवरण प्रशोधन गरेर धितोपत्र बाँडफाँट गरे पश्चात आवेदक लगानीकर्तालाई बाँडफाँट गरिए बराबरको रकम मात्र लगानीकर्ताको खाताबाट कट्टा गरी बाँंकी रकम उक्त खातामा रोक्का फुकुवा गरिन्छ । २.लाईन बस्नु पर्दैन निर्देशिकामा उल्लेखित व्यवस्थाअनुसार यस प्रणालीमा धितोपत्रको खरिद आवेदन दरखास्त संकलनका लागि बैंक वा वित्तीय संस्थाले विध्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सकिने छ । जसले गर्दा आवेदन बुझाउन घण्टौ लाइन बस्नुपर्ने बाध्यताको एक किसिमले अन्त्य गरिदिएको छ । ३. सेयर लिन जानु पर्दैन २०७३ माघबाट नै देश भरिका लगानीकर्ताले प्राथमिक शेयर निष्काशनको क्रममा अनिवार्य रुपमा हितग्राही खाता (डिम्याट) नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । जसले गर्दा आस्वा प्रणाली अन्तरगत आवेदन दिइएका सम्पूर्ण आवेदकको विवरण सीडीएस एण्ड क्लियरिङको प्रणाली अनुसार रुजु गरिने भएकाले बाँडफाँट गरिएका धितोपत्र सबै सोझैं अभौंतिक रुपमा लगानीकर्ताको हितग्राही खातामा जम्मा हुन्छ । आफूलाई परेको सेयर लिन लगानीकर्ता निश्काशन तथा बिक्री प्रबन्धककोमा जानु पर्दैन । ४. पैसा फिर्ता लिन जानु पर्दैन प्राथमिक सेयर निष्काशनको क्रममा लगानीकर्ताले आवदेन गरेजति सेयर पर्दैन । आवेदन अनुसार नपरेको सेयरको रकम फिर्ता लिन लगानीकर्ता आवेदन बुझाएको ठाउँमा जानुपर्ने वाध्यता थियो । आस्वा प्रणाली लागू भएपछि आवेदनको क्रममा नपरेको रकम चेक मार्फत फिर्ता लिन र प्रमाणपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । नपरेको सेयरको रकम बैंक खातामा स्वत फूकुवा हुन्छ । ५. कम खर्च र समयको बचत धितोपत्रको प्राथमिक निष्काशनको क्रममा हाल निष्काशन तथा बिक्री प्रबन्धकलाई चेक प्रशोधन गर्न, संकलित रकम नेपाल राष्ट्र बैंकको खातामा स्थानान्त्रण र फिर्ता गर्न, धितोपत्र बाँंडफाँट पश्चात फिर्ता भुक्तानी पूर्जा र चेकको छपाई गर्न लामो समय लाग्ने गरेकोमा उक्त कुनै पनि कार्य गर्नु नपर्ने भएकाले धितोपत्र बाँंडफाँटमा हाललाग्दै आएको समय भन्दा निक्कै छोटो समयमा नै धितोपत्रको बाँंडफाँट हुन सक्छ । प्राथामिक निष्काशनको क्रममा लामो समयसम्म ठूलो पूँजी होल्ड हुने गरेकोमा सो समय समेत छोट्टिन जानेछ । विध्यामान प्रणाली अनुसार प्राथमिक निष्काशनको लागत उच्च रहेको अवश्थामा आस्वा प्रणाली शुरु भए पश्चात निष्काशन तथा बिक्री प्रबन्धकको विविध कार्य छोट्टिन जाने हुनाले लागत घट्न जाने निश्चित छ । हाल लगानीकर्ताबाट संकलित रकममा प्राप्त ब्याजको ८०५ रकम लगानीकर्तालाई नै दिनुपर्ने प्रावधानमा आस्वा प्रणालीमा लगानीकर्ताले आफ्नो खातामा भएको रकमको सम्पूर्ण ब्याज आफैले प्राप्त गर्ने छन् । बैंक तथा वित्तीय संस्थामा रहेको खाता सम्बन्धित खातावालाले मात्र रोक्का गर्न पाउने हुँदा यो प्रणालीले छद्मभेषी लगानीकर्ताहरुलाई निरुत्साहित गर्दछ । लाभ लिने तरिका धितोपत्रबोर्डले हालसालै धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ बमोजिम दरखास्त संकलन कार्य गर्न इच्छुक बैंक वा वित्तीय संस्थालाई अनुमतिपत्रको आवेदन पेश गर्नका लागि आव्हान गरेको छ । नेपाल राष्ट्र बैंकबाट “क” वा “ख”वर्गको इजाजतपत्र प्राप्त गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजीकायम गरेको, प्रति शेयर चुक्तापूँजी भन्दाप्रति शेयर नेटवर्थ बढी भएको, कम्तीमा पाँचवर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको, निष्कृय कर्जा पाँच प्रतिशतभन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भए त्यसको फुकुवा भएको तीनवर्ष पूरा भएको, काठमाण्डौं उपत्यका भित्र कम्तीमा चारवटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन केन्द्रको रुपमा बोर्डको अनुमति लिएर कार्य गर्न सक्नेछन । लगानीकर्ताको खाता रहेको बैंक वा वित्तीय संस्थाले उक्त अनुमति नलिएको वा अनुमति लिन आवश्यक मापदण्ड पूरा नगरेको अवश्थामा आस्वा प्रणाली अन्तर्गत आवेदन दिन, दरखास्त संकलन केन्द्रको रुपमा कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा लगानीकर्ताले खाता खोल्नु पर्ने हुन्छ । तत्कालको लागि भने लगानीकर्ताले पुरानै प्रणाली अनुसार नगद वा चेक बुझाएर पनि आवेदन दिनपाउने छन् । आस्वा प्रणालीको लागि हाल भरिदै आएको भन्दा अलग्गै किसिमको खरिद आवेदन फारम बोर्डले तयार पारेको छ, जसलाई निर्देशिकाको अनुसूची ४ मा राखिएको छ । यो दरखास्त फारममा आवेदकले फोटो टास्नुपर्ने बाध्यताको पनि अन्त्य गरिएको छ । उक्त फारम भरेर दरखास्त संकलन केन्द्रको रुपमा काम गर्ने आफ्नो खाता भएको बैंक वा वित्तीय संस्थामा लगेर बुझाउनु पर्ने हुन्छ । जुनकार्य बिध्युतिय प्रणाली (अनलाईन सिस्टम) बाट पनि सम्पन्न गर्न सकिन्छ । तर त्यस्तो सेवा संकलन केन्द्रको कार्य गर्ने सबै बैंक वा वित्तीय संस्था प्रदान नगर्न पनि सक्छन । यद्दापी आस्वा संगैको अनलाईन सिस्टमले गर्दा प्राथमिक निष्काशन एक नयाँ युगमा प्रवेश गरेको मान्न सकिन्छ । धितोपत्र बोर्डद्धारा जारी प्रेस विज्ञप्ती अनुसार हाल’क’ र ’ख’वर्गका बैंक वा वित्तीय संस्थालाई मात्र आस्वा प्रणालीमा समावेश गर्ने र यसको सफल कार्यान्वयन पश्चात दायरा बृद्दी गरी ‘ग’ वर्गका वित्तीय संस्थाहरुले समेत अनुमति लिई संकलन केन्द्रको कार्य गरी आस्वा प्रणालीमा जोडिन सक्छन् । उक्त समयसम्मका लागि बोर्डबाट संकलन केन्द्रको अनुमति लिन नचाहने वा लिन अयोग्य र सबै ‘ग’ वर्गका वित्तीय संस्थामा खाता हुने लगानीकर्ताले आस्वा प्रणाली अन्तर्गत आवेदन दिन बैकल्पिक खाताको व्यबस्था गर्नु पर्ने हुन्छ । साथै आस्वा प्रणाली अन्तर्गत लगानी गर्न चाहाने लगानीकर्ताले केही निश्चित सेवा शुल्क दरखास्त संकलन केन्द्रको रुपमा कार्य गर्ने बैंक वा वित्तीय संस्थालाई बुझाउनु पर्ने हुन्छ । यी सबैका बाबजुद पनि आस्वा प्रणाली अन्तर्गत लगानीकर्ताले परिवर्तनको महसुस गर्न सक्ने कुरा धेरै हुनेछन । जसरी फुल डि–मेटेरलाइज्ड (पूर्ण अभौतिक) शेयरको मात्र कारोबार गत वर्षको माघबाट हुनथाल्यो र धितोपत्रको दोश्रो बजारको रुपान्तरण भएको आभाष भयो, त्यसरी नै आस्वा प्रणालीको कार्यान्वयनको यो संक्रमणकाल (ट्रान्जिसशन फेज) को समाप्ति पश्चात लगानीकर्ताले नेपालको धितोपत्रको प्रथामिक बजारको रुपान्तरण भएको महसुश गर्नेछन् ।