विकासन्युज

नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि भर्ना खुलायो, असोज २४ सम्म आवेदन दिनुपर्ने

काठमाडौं । नेपाली सेनाले १५० जना अधिकृतका लागि जागिर खुलाएको छ । सेनाको जंगी अड्डाले अधिकृत क्याडेटमा १३ जना महिला, २२ जना आदिवासी जनजाती, १९ मधेशी, १० जना दलित, ३ जना पिछडिएको क्षेत्र र खुलातर्फ ८३ जनाका लागि जागिर खुलाएको छ । भदौ २७ देखि असोज २५ गतेसम्म जागिरका लागि निवेदन दिनुपर्ने अड्डाले जानकारी दिएको छ । प्रमाणपत्र योग्यता पुग्नेको उमेर न्युनतम १८ देखि २१ र स्नातक पास गरेकाको उमेर बढीमा २४ वर्ष हुनुपर्ने छ ।

मंगलबारबाट नयाँ १० को नोट चलनचल्तिमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याएको छ । बैंकले मंगलबारदेखि साविकको आकार तथा रंगमा ल्याउन लागेको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

जनरल फाइनान्सको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । जनरल फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशतका दरले १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १५ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पु¥याउनु पर्ने वाध्यकारी अवस्था आएपछि हकप्रद सेयर निष्कासन गरेको हो । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको फाइनान्स नयाँ लगानीकर्ताको प्रवेशपछि पुनः सञ्चालनमा आएको छ ।

एनआईसी एसियाले होम लोन योजना ल्यायो

काठमाडौं । तपाई घर बनाउन वा किन्न पैसा छैन, अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले आकर्षक ब्याज दरमा प्रिमियम होम लोन योजना ल्याएको छ । हामी साथ दिने छौ तपाइको सम्पन्नतामा पुरा हुनेछ तपाइको घर सपना भन्ने नाराकासाथ बैंकले होम लोन योजना ल्याएको छ । बैंकले ब्याज दर भने खुलाएको छैन् ।

नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बेच्दै, न्युनतम् मूल्य ३ हजार ५०

काठमाडौं । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ । सोमबार कोषको सेयर प्रतिकित्ता ३ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो । सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक व्यक्ति सहभागी हुन नपाउने बैंकले जानकारी दिएको छ । ३ हजार ५० रुपैयाँ भन्दा कम मूल्य पेश गर्नेलाई बोलकबोलको मूल्यमा सहभागी नगराइने बैंकले जनाएको छ । बोलकबोलमा भाग लिनेले न्युनतम् १० हजार कित्ता प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र असोज २४ गते खोलिने बैंकले जनाएको छ ।

नेपाल ग्रामीण विकास बैंकको एफपीओ बिक्री खुला, १ सय मा पाइने, न्युनतम् ५० कित्ता भर्नुपर्ने

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ । एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ । चुक्तापुँजी बढाउन बैंकले एफपीओ निष्कासन गरेको हो ।

सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने

काठमाडौं । सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने गरी स्वर्णिम बचत योजना ल्याएको छ । बैंकले सिद्धार्थ युनो क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, एबीबीएस सुविधा, इन्टरनेट बैकिङलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

एनएमबी बैंकले ल्यायो नयाँ सेयर लगानीको प्रविधि, एसमएसबाट आईपीओ र एफपीओमा आवेदन दिन सक्ने

काठमाडौं । एनएमबी बैंकले एसएमएसबाट सेयरमा लगानी गर्ने व्यवस्था गरेको छ । बैंकले डिजिटलाइजेसन ड्राइभ अन्तरगत घर र कार्यलयमा बसेर एसएमएसमार्फत प्रथामिक निष्कासन (आईपीओ) र थप निष्कासन (एफपीओ) मा आवेदन दिन सकिने जनाएको छ । आस्वा स्पेश एकाउन्ट नम्बर एसपेस डिम्याट नम्बर टाइप गरी ३७४४७ मा पठाउनु पर्ने छ । त्यसपछि बैंकबाट आस्वा नम्बर पाउन सकिन्छ । बैंकले मोवाइल तथा इन्टरनेट बैंकिङ प्रदान गरिरहेकोमा थप नयाँ बैकिङ प्रविधिको सुरुवात गरेको छ ।