संचय कोषको कामु प्रशासकमा दीपक रौनियार
काठमाडौं । कर्मचारी सञ्चय कोषको कार्यवाहक प्रशासकमा दीपक रौनियार नियुक्त भएका छन् । कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबार दिएको हो । यसअघि जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका छन् । कोषमा कार्यरत रौनियार प्रतिस्पर्धाबाट जलविद्युत लगानीको सीईओ भएका थिए ।
बेलुराम धितालकाे “मखमली दशैं” बजारमा, पल्टने जीबनकाे कहानी
निकै वर्षदेखि आफ्नो घर परिवारसंगै दशैं मान्न नपाएका गायक बेलुराम धिताल यो साल भने आफ्नो घरपरिवारसंग दशैं मान्न आफ्नै गाउँ जाने भएका छन् । पल्टने जीबन अगाडी बढाई रहेका बेलुराम गत वर्षहरुमा आफुलाई देशले दिएको अविभाराको कारण यस्ता विभिन्न पर्व मान्न गाउँ जान पाएका थिएनन् । तर यो साल भने सबै तारतम्मे मिलाएर दशैं मान्न गाउँ जाने भएका हुन् । उनले यो कुरा एक सांगीतिक कोसेली मार्फत सार्बजनिक गरेका छन् । “मखमली दशैं” नामकरणको साथमा बजारमा आएको यस गीतमा गायक बेलुरामलाई गायिका जमुना सनमले साथ दिएकी छिन् । प्रस्तुत गीतमा लय शब्द पनि गायक स्वयम् बेलुरामको नै रहेको छ । सनम क्रिएसनले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, आरुषी मगर, बिक्रम बजगाईं र बिष्णु बन्जाराको मन छुने अभिनय रहेको छ । भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन पवन सिम्खडाले गरेका छन् ।
गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नुपर्ने समस्या
बेनी । म्याग्दी जिल्लाको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य भएका छन् । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको छ । अहिले सदरमुकाम बेनीबजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायत एक दर्जन बढी निजी तथा विकास बैंकले सेवा दिइरहेका छन् । मालिका गाउँपालिकाको दरबाङमा सरकारी बैंक नभए पनि गरिमा लगायतका निजी बैंक रहेका छन् । यता मंगाला गाउँपालिकाको केन्द्र बाबियाचौरमा गरिमा विकास बैंकबाट नै कारोबार हुँदै आएको छ । गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् । सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । रासस
एनआईसी एसिया बैंकको साना तथा मझौला व्यवसाय योजना, १० करोडसम्म लगानी गर्ने
काठमाडौं । एनआईसी एसिया बैंकले साना तथा मझौला व्यवसाय कर्जा योजना ल्याएको छ । व्यवसायिक योजना भएकालाई बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न कर्जा योजना ल्याएको जानकारी दिएको छ । बैंकले न्युनतम ३ लाखदेखि १० करोड रुपैयाँसम्मको कर्जा लगानी योजना सार्वजनिक गरेको छ । आकर्षक ब्याज दर, सहज रुपमा पाइने र रिफाइनान्सको पनि सुविधा रहेको बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकले ल्यायो सेयर कर्जा, २ दिनमा दिने
काठमाडौं । गण्डकी विकास बैंकले सेयर कर्जा योजना ल्याएको छ । बैंकले प्रक्रिया सुरु गरेको २ दिनमा सेयर कर्जा दिने जानकारी गराएको छ । गण्डकी सेयर लोन नामक योजनामा ब्याज दर भने खुलाएको छैन् । पछिल्लो समयमा बैंकहरुले धमाधम सेयर कर्जा योजना ल्याए पनि बजारमा आपूर्ति बढेका कारण बजार घट्दै गएको छ ।
बीमा सेवा शुल्क आधा घटाउने समितिको प्रस्ताव, ०.२५ % मा झार्न अर्थ मन्त्रालयको दबाव
काठमाडौं । बीमा कम्पनीहरुले बीमा समितिलाई बुझाउने सेवा शुल्क ५० प्रतिशतले घट्ने भएको छ । हालसम्म बीमा कम्पनीले कुल प्रिमियमको १ प्रतिशत सेवा शुल्क बीमा समितिलाई बुझाउँदै आएका छन् । समितिले नै तयार पारेको नयाँ बीमा ऐनको मस्र्यौदामा त्यस्तो सेवा शुल्कलाई घटाएर ०.५० प्रतिशत बनाउन प्रस्ताव गरिएको हो । नयाँ नियम लागु भएपछि बीमा कम्पनीको खर्च पनि कम हुने छ । समितिले ०६३ सालमै तयार पारेको नयाँ बीमा ऐनको मस्यौदामा सेवा शुल्क ०.५० प्रतिशत प्रस्ताव गरेको थियो । समितिको अध्यक्षमा चिरञ्जीवी चापागार्इँ नियुक्त भएपछि ऐन निर्माणको प्रक्रियाले केहि तिब्रता पाएको छ । यद्यपी ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बनेपछि भने छलफल फेरी सुस्ताएको छ । ‘हामीले ऐनको मस्यौदामा सेवा शुल्क ०.५० प्रतिशत प्रस्ताव गरेका छौं, अर्थ मन्त्रालयमा त्यसबारे थप छलफल भैरहेको थियो, नयाँ अर्थमन्त्री आएपछि फेरी छलफल रोकिएको छ’, बीमा समितिका नियमन बिभाग प्रमुख शाम्बराज लामिछानेले भने । समितिले मस्यौदामा जीवन र निर्जिवन दुबै खाले बीमा कम्पनीसँग कुल प्रीमियमको ०.५० प्रतिशत सेवा शुल्क उठाउने प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयले भने ०.२५ प्रतिशत बनाउनु पर्ने अडान लिएको छ । बीमा क्षेत्रको बजारमा व्यापक वृद्धि भएकाले समितिले पाउने सेवा शुल्क घटाउने प्रस्ताव अघि सारिएको लामिछानेले बताउँछन । ‘बीमा क्षेत्रको बजार व्यापक बढेको छ, सेवा शुल्क घटाउनुपर्छ भन्ने बीमा कम्पनीहरुको माग अनुसार नै ०.५० प्रस्ताव गरेका हौं तर अर्थ मन्त्रालयले भने ०.२५ प्रतिशत बनाउनुपर्ने भनिरहेको छ, के गर्ने भन्ने कुरा संसदको हातमा छ’, लामिछानेले भने । बीमा समितिको बीमा कोषमा हाल १ अर्ब ९५ करोड रुपैंयाँ बचत रहेको छ । सोही कोषको रकमबाट समितिको कार्यालय सञ्चालन, कर्मचारीको तलब भत्ता, क्षमता अभिवृद्धि लगायतका सम्पुर्ण कार्य सञ्चालन हुने गरेको छ । बीमा कोषमा सेवा शुल्क, बीमा कम्पनीहरुको दर्ता नविकरण शुल्क वापतको रकम समावेश हुने गरेको छ । बीमा कोषको रकमको उचित सदुपयोग नभएको भन्दै महालेखा परिक्षकको कार्यालयले सो कोषको रकम राजश्व तान्नुपर्ने टिप्पणी गरेपछि भने समिती तातेको छ । समितिले यतिबेला बीमा कोषमा रहेको ७० करोड रुपैंयाँ खर्चेर १० रोपनी जमिनमा कार्यालय भवन निर्माणको तयारी अघि बढाएको छ । ‘बीमा कोषको ७० करोड रुपैंयाँ खर्चेर १० रोपनी जमिनमा सुबिधा सम्पन्न कार्यालय भवन निर्माण गर्दैछौं’, समितिका निर्देशक राजुरमण पौडेलले देशविकाससँग भने । कोषको रकमबाट बीमा समितिका कर्मचारीको क्षमता अभिवृद्धि, बीमा कम्पनीका कर्मचारी र बीमा एजेण्टहरुको क्षमता अभिवृद्धि, बीमाका बारेमा जन चेतना अभिवृद्धि लगायतका काम पनि सुरु गर्न लागिएको उनले बताए । ‘बीमा क्षेत्रमा आम नागरिकको पहुँच विस्तारका लागि व्यापक प्रचार प्रसार र कर्मचारीको क्षमता अभिवृद्धिको आवश्यकता छ, सोही अनुसार बीमा कोषको रकमबाट त्यस्ता काम पनि अघि बढाइँदैछ’, निर्देशक पौडेलले भने । उनले आगामी पाँच बर्षभित्रै निर्माण सम्पन्न गर्ने राखेर नयाँ भवनको डिजाइन तयार भैरहेको जानकारी पनि दिए । ‘इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले डिजाइन बनाईरहेको छ, निर्माणको जिम्मेवारी पनि उसैलाई दिने गरि तयारी अघि बढेको छ’, पौडेलले भने ।
असोजको पहिलो सातामा च्याङ्ग्रा आइसक्ने
काठमाडौ । नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाली मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए। च्याङ्ग्रा खरिदका लागि संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र स्थापना गरेको छ । उक्त संस्थानको पोखरास्थित अञ्चल कार्यालयका प्रमुख अम्बिकाप्रसाद घिमिरेको नेतृत्वमा भोलि साेमबार कर्मचारी मुस्ताङतर्फ प्रस्थान गर्ने र २९ गते पुग्ने जनाइएको छ । संस्थानले किसान वा व्यवसायीसँग च्याङ्ग्रा खरिद गरी हिँडाएर म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याउँछ । बेनीबाट उक्त च्याङ्ग्रा ट्रकमा राखी असोज ५ देखि ६ गतेभित्र राजधानी ल्याइसक्ने तयारी गरिएको छ । गत वर्ष संस्थानले १ हजार ४०० च्याङ्ग्रा र एक हजार ४०० खसी–बोका गरी कूल २ हजार ८०० च्याङ्ग्रा तथा खसी–बोका खरिद गरेकामा यसपाला भने १ हजार च्याङ्ग्रा र १ हजार ५०० खसी–बोका खरिद गर्ने भएको छ । गत वर्ष बिक्री गर्न कठिन भएकाले यस वर्ष च्याङ्ग्रा खरिद कम गर्न लागिएको हो । संस्थानले यस वर्ष दाङको तुल्सीपुरबाट ५००, मकवानपुरबाट १ हजार खसी–बोका खरिद गर्ने भएको छ । संस्थानको प्राथमिक खरिद समितिले तोकिदिएको आधारमा च्याङ्ग्रा खरिद गरिन्छ । समितिको अध्यक्ष सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तीन सदस्य समिति गठन हुने व्यवस्था छ । समितिमा सोही जिल्लाको पशुसेवा कार्यालयका प्रमुख र स्थानीय खाद्य संस्थानका कर्मचारी एकजना हुन्छन् । गत वर्ष समितिले मुस्ताङमा जिउँदो प्रतिकेजि च्याङ्ग्राको मूल्य ४८५ तोकेको थियो । तोकिएको मूल्यमा प्रतिकेजि १६५ ढुवानी तथा नाफा जोडी प्रति केजि ६५० मा बिक्री गरेको थियो । खाद्य संस्थानले खसी–बोका बिक्री गर्दा बजार मूल्य अस्वाभाविक बढेको देखिँदैन । दशैंमा झण्डै राजधानीमा ५० हजारभन्दा बढी खसी–बोका बिक्री हुने अनुमान छ । रासस
जिल्ला समन्वय समितिमा अब छुट्टै कोष रहने, संगठित हुने अधिकार भने खोसियो
काठमाडौं । अब जिल्ला समन्वय समितिको छुट्टै कोष स्थापना हुने भएको छ । व्यवस्थापीका संसदको विकास समितिले पास गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जिल्ला समन्वय समितिहरुलाई छुट्टै कोष खडा गरेर सिमित आर्थिक गतिबिधी गर्ने अधिकार दिएको हो । यद्यपी यस्तो कोषमा सरकारी बजेट र विकास बजेट भने राख्न पाइनेछैन् । आइतबार समितिले पास गरेको मस्यौदामा जिल्ला समन्वय समितिले आफ्नै आम्दानी, कुनै श्रोतबाट प्राप्त सहयोग, विदेशी दाताले दिएको सहयोग लगायतका रकम राखिनेछ । तत्कालका लागि भने सामाजिक सुरक्षा भत्ता समेत सोही कोषमा जम्मा हुनेछ । यसैबिच, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाहरुले संगठित हुने कानुनी अधिकार भने गुमाउन पुगेका छन् । काँग्रेस र माओवादीका सांसदहरुले मतदानद्धारा जिसस, नगरपालिका र गाउँपालिकाहरुले छुट्टाछुट्टै रुपमा संघहरु निर्माण गर्ने व्यवस्था भने हटाएको हो । स्थानीय तहहरुलाई संगठित हुने धारा हटाउन काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र माओवादी नेताहरु टोप बहादुर रायमाझी र हितराज पाण्डे लगायतले नेतृत्व गरेका थिए । एमाले र राप्रपाका सांसद भने जिसस, नगरपालिका र गाउँपालिकाहरुको संघ बनाउने व्यवस्था कानुनमा राख्ने पक्षमा थिए । तर मतदानबाट उनीहरुको प्रस्ताव फेल भयो र स्थानीय तहहरुले संगठित हुने अवसर गुम्यो । समिति बैठकले धादिङ, रामेछाप, गोरखा र पुर्वी रुकुमलाई हिमाली जिल्ला बनाउने प्रस्ताव पनि पारित गरेको छ । हाल स्थानीय तहमा कार्यरत कर्मचारीहरु ऐन लागु भएपछि स्वतः सोही तहमा समायोजन हुनेछन भने जिसस धेरै रहेका कर्मचारीहरु जिससकै निर्णयद्धारा आवश्यक पर्ने स्थानीय तहमा समायोज भएर खटिनेछन् ।