विकासन्युज

प्रभु इन्स्योरेन्सले पनि १९.२०% बोनस दिने

काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५८ लाख ३६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

मञ्जुश्री फाइनान्सको असोज ९ गते बुक क्लोज, २५ गते विशेष साधारणसभामा जाँदै

काठमाडौं । मञ्जुश्री फाइनान्सको अगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन फाइनान्सको बुक क्लोज हुन लागेको हो । कम्पनी अगामी असोज २५ गते विशेष साधारणसभामा जाँदै छ । उक्त साभामा कम्पनीले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव लैजाँदै छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

पूर्णिमा विकास बैंकले ८ करोड ४५ लाख रुपैयाँ बोनस सेयर दिने

काठमाडौं । पूर्णिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ८ करोड ९० लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट सो मात्राको लाभांश दिन लागेको हो । बैंकले अाफ्ना सेयरधनीलाई ८ करोड ४५ लाख ५० हजार रुपैयाँको बोनस सेयर र कर प्रयोजनको लागि ४४ लाख ४० हजार रुपैयाँ नगद लाभांश गरि सो मात्राको लाभांश दिन लागेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र यस बैंकको वार्षिका साधारणसभाबाट पारित भए पछि बाँडफाँड गरिने छ ।

टुरिजमलाई गाभ्न मेगाले तिहार लगतै विशेष साधारणसभा गर्ने, मर्जर भाडिएको छैन: सीईओ शाह

काठमाडौं । मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्न (मर्जर) तिहार लगतै विशेष साधारणसभा बोलाउने भएको छ । दुबै बैंक एक आपसमा मर्जरमा जानका लागि सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) को काम सकिएको छ । विशेष साधारणसभामा डीपीए पेश हुने मेगाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनील शाहले बताए । उनका अनुसार टुरिजमको साधारणसभा नभएकाले सामान्य सभाबाट गाभिने विषयमा प्रस्ताव पेश हुने भएको छ । मेगाले साधारणसभा गरिसकेकाले विशेष साधारणसभा बोलाउने छ । विकास न्युजसंग कुरा गर्दे उनले मेगा र टुरिजमबीच मर्जर भाडिएको भन्ने हल्लामा सत्यता नभएको र दुबै संस्था मर्जर हुने स्पष्टपारे । “अहिलेसम्म त्यस्तो अवस्था देखिएको छैन” उनले भने “सबै हल्ला हुन दुबै संस्था गाभिने छन् ।” दुबै संस्थाले मर्जरका लागि आन्तरिक तयारी गरिरहेकाले मर्जर नभाडिएको उनको भनाई छ । दुबै संस्था एकआपसमा गाभिने सम्बन्धमा गत माघ ६ गते सैद्धान्तिक सहमति भएको थियो । त्यसबेला हाललाई मेगा र टुरिजमको शेयर आदान प्रदान अनुपात १०० र ९५ तय गरिएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरविनै बैंककको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । टुरिजमकाे चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको असोज १८ गतेदेखि २१ दिन बुक क्लोज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी असोज १८ गतेदेखि २१ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १८ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको ३१औँ वार्षिक साधारणसभा आगामी कात्तिक ७ गते हुने भएको छ । उक्त साभामा बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंककाे चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ छ । चुक्ता पुँजीकाे २५ प्रतिशतले कायम हुन आउने २७ करोड ५७ लाख २३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको बैंकले जनाएकाे छ । सञ्चालक समितिकाे निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

सननेपाल लाइफ इन्स्योरेन्सको उद्घाटन शुक्रबार हुँदै, अब ११ वटा जीवन बीमा कम्पनी सञ्चालनमा

काठमाडौं । शुक्रबारदेखि नयाँ जीवन बीमा कम्पनी सञ्चालनमा आउने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ गर्ने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कमलादीस्थित यस कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेर सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । २ अर्ब चुक्ता जारी पुँजी राखेर खुल्न लागेको यस कम्पनीको अध्यक्षमा अनुज कायल छन् भने महाप्रबन्धक कमलराज गौतम रहेका छन् । यस कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।

तरलता बढेपछि राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थाल्यो, निक्षेपको ब्याज दर पनि घट्दै

काठमाडौं । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) बढेपछि यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले रिभर्स रिपो उपकरणमार्फत धमाधम बजारबाट पैसा उठाउन थालेको छ । अघिल्लो साता १ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले आज बुधबार बजारबाट थप ५ अर्ब रुपैयाँ उठाउदै छ । यो रकम एक सातालाई उठाएको केन्द्रीय बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न थालेका प्रवत्ता नारायणप्रसाद पौडेल बताउछन् । राष्ट्र बैंकले बढी भए बजारबाट प्रशोचन र कम भए बजारमा पैसा पठाउने काम गर्दे आएको उनको भनाई छ । पौडेलले बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँ बढी तरलता रहेको  जानकारी दिए । तरलता बढ्दै गएपछि बैंकले धमाधम मुद्धती निक्षेपको ब्याज दर घटाउन थालेका छन् । गत वर्ष मुद्धति ब्याज दर १३ प्रतिशत बढी भएकोमा अहिले घटेर ९ प्रतिशत हारहारीमा आएको छ । निक्षेपको ब्याज दर घटेपछि कर्जाको ब्याज दरमा पनि कमी आउने भएपछि ऋणलाई फाइदा हुने छ । बजारमा अझै तरलता बढ्दै जाने भएकाले निक्षेपको ब्याज अझै घट्ने अनुमान बैंकरको छ । बजारमा तरलता बढ्दै गएकाले बैंकिङ प्रणाली अब सहज अवस्थामा आएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनील शाह बताउछन् । विकास न्युजसंग कुरा गर्दे उनले बजारमा तरलता बढ्दै गएकाले विस्तारै निक्षेप र कर्जा दुबैको ब्याज दर घट्दै जाने संभावना रहेको जानकारी दिए । उनले बजारमा ५० अर्ब रुपैयाँ बढी तरलता रहेको बताए । तरलताको अवस्था सहज भएमा दोस्रो त्रैमाशदेखि निक्षेप र कर्जा दुबैको ब्याज दरमा कमी आउने उनको भनाई छ । “हामीले १४ प्रतिशतसम्म ब्याज तिरेर बजारबाट अर्बो रुपैयाँ निक्षेप उठाएका छौ, त्यसैले तत्काल कर्जाको ब्याज दर घटाउन सक्ने अवस्था छैन” उनले भने । मेगाले पनि मुद्धति निक्षेपको ब्याज दर घटाएर १० प्रतिशतमा झारेको शाहाले बताए । यता बैंकले सेयर, गाडी, साना तथा मझौला कर्जा लिन बोलाउन थालेका छन् । सेयर, गाडी कर्जाको ब्याज दर घटाएको बैंकहरुले जानकारी दिएका छन् । सेन्चुरी बैंकले आज बुधबार ९ प्रतिशत ब्याज दिने गरी ९० दिने मुद्धति योजना ल्याएको छ । अन्य बैंकले पनि ब्याजदर घटाउन थालेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकसंग थप ऋण लगानी गर्न पुँजी नभएपछि वित्तीय घर्षण बढेको थियो । त्यसबेला बैंकहरुले ठुला निक्षेपकर्तासंग मोलमलाई महंगो ब्याज दरमा मुद्धति निक्षेप उठाएका थिए ।