विकासन्युज

जलविद्युत लगानी तथा विकास कम्पनीले साधारण सेयर निस्कासनको स्वीकृति पायो

काठमाडौं, ३१ भदौ । धितोपत्र वोर्डले जलविद्युत लगानी तथा विकास कम्पनीलाई २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निस्कासनको अनुमति दिएको छ । वोर्डले २८ भदौमा कम्पनीलाई साधारण सेयर निस्कासनको अनुमति दिएको हो । कम्पनीले दशै अगाडि नै सेयर विक्री गरिसक्ने प्रश्ताव गरेको सेयर सार्वजनिकको स्वीकृति चाढै दिइएको वोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । ‘उहाँहरुले दशै अगाडि नै सेयर सार्वजनिक गर्ने तयारी रहेको बताउनु भयो, दशै अगाडि सेयर विक्री गर्दा सवै विक्री हुन सक्ने उहाँहरुको तर्क रहेकोले हामीले पनि छिटो गरेर स्वीकृति दियौं,’ कार्यकारी निर्देशक गिरीले भने । बोर्डवाट सेयर निस्काशनको स्वीकृति पाएकोले चाढै नै सेयर सार्वजनिक गर्ने गृहकार्य थालिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए । विचमा दशै तिहार जस्ता चाड पर्ने भएकोले निर्धारित समयमा सेयर विक्रीको काम नसकिने हुदा दशै अगाडि नै सार्वजनिक गर्ने गर तयारी कम्पनीले थालेको छ । ‘बोर्डवाट स्वीकृति पाएको २ महिनाभित्रमा सेयर सार्वजनिक गरिसक्नु पर्ने हुन्छ, दशै पछाडि सेयर सार्वजनिक गर्नको लागि समय नपुग हुन सक्ने भएकोले सकेसम्म दशै अगाडि नै सेयर सार्वजनिक गर्ने गरी गृहकार्य गरिरहेका छौं,’ कार्यकारी निर्देशक रौनियारले भने । कम्पनीले सेयर सार्वजनिको स्वीकृति पाएको भएपनि कुन दिनदेखि सेयर विक्री सुरु गर्ने भन्ने निर्णय भने गरेको छैन । कम्पनीले क्रेडिट रेटिङमा ग्रेड ३ प्राप्त गरेको छ । क्रेडिट रेटिङ गर्ने नेपालको एक मात्र कम्पनी इक्रा नेपालले कम्पनीलाई सो रेटिङ प्रदान गरेको हो । इक्रा नेपालले सोमवार मात्रै कम्पनीको रेटिङ पूरा गरेको थियो । सर्वसाधारणलाई सेयर विक्री गर्न रेटिङ गराएको कम्पनीले अव चाढै नै सेयर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने अनुमति मागेपछि धितोपत्र वोर्डले क्रेडिट रेटिङ गराएर आउन निर्देशन दिएको थियो । रेटिङकै कारण सेयर सार्वजनिक गर्न ढिलाइ भएको थियो । कम्पनीले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निस्कासनको अनुमतिको लागि २०७१ माघ २२ गते धितोपत्र वोर्डमा निवेदन दिएको थियो । बोर्डले अरु सवै प्रक्रिया राम्रो भएपनि क्रेडिट रेटिङ गराउनु भनेको कारण साधारण सेयर निस्कासनमा ढिलाइ भएको थियो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ बराबरका २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक गर्न लागको हो । सो कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । कोषले सेयर निस्कासनको सहविक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट र एनएमबी क्यापिटल नियुक्त भैसकेका छन् । कम्पनीले आफ्नो चुक्ता पूजीको २५ प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

सय दरका २० करोड थान नोट चिनिया कम्पनीले छाप्दै, तीन बर्ष अगाडिको भन्दा ४४ पैसा सस्तो

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले सय रुपैयाँ दरका नेपाली नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिएको छ । सवैभन्दा सस्तो दर प्रश्ताव गरेपछि राष्ट्र बैंकले चिनिया कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोेरेसनलाई नोट छाप्ने जिम्मेवारी दिएको हो । चिनिया कम्पनीले सय रुपैयाँ दरका नेपाली नोट प्रतिगोटा २ रुपैयाँ १५ पैसामा छाप्ने प्रश्ताव गरेको थियो । राष्ट्र बैंकले सय रुपैयाँ दरका २० करोड थान नोट ४२ लाख अमेरिकी डलरमा छाप्न दिएको छ । bikashnews.com चिनिया कम्पनीले छाप्न प्रश्ताव गरेको दर सन् २०१२ को भन्दा पनि सस्तो हो । सन् २०१२ मा राष्ट्र बैंकले इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीलाई प्रतिथान २ रुपैयाँ ५९ पैसाका दरले नोट छाप्न दिएको थियो । अहिले नोट छाप्नको लागि प्रतिथान अधिकतम ३ रुपैयाँ ५९ पैसा पर्ने अनुमान राष्ट्र बैंकको थियो । चिनिया कम्पनीले राष्ट्र बैंकको अनुमान भन्दा पनि कम दरमा र तीन बर्ष अगाडिको भन्दा पनि ४४ पैसा सस्तो दरमा नोट छाप्ने भएको छ । चिनिया कम्पनीले छाप्ने नोट अबको एक बर्षभित्रमा आइसक्ने राष्ट्र बैंकका अधिकारीको भनाइ छ । २० करोड थान नोट छाप्नको लागि ४२ लाख अमेरिकी डलरमा सो कम्पनीलाई जिम्मा दिइसकिएकोले भुक्तानी गर्ने समयमा अमेरिकी डलरको विनिमय दर अहिलेको भन्दा निकै तल वा माथि पुग्यो भने नोट छपाइ दर पनि तलमाथि हुन सक्ने छ । राष्ट्र बैंकले अमेरिकी डलरको विनिमय दर १ डलर बराबर १ सय २ रुपैयाँमा गणना गरेको छ । राष्ट्र बैंकले २८ भदौमा चिनिया कम्पनीलाई पत्राचार गरी नोट छाप्ने जिम्मेवारी दिएको औपचारिक जानकारी गराएको छ । चिनिया कम्पनीसँगै नोट छाप्नको लागि बेलायत, फ्रान्स, रसिया, नेदरल्याण्ड, इन्डोनेसिया र क्यानडाका कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

पूँजी वृद्धि नीतिको पुनरावलोकन हुँदैनः गभर्नर

काठमाडौं, ३० भदौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक/वित्तिय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयमा केन्द्रीय बैंकले कुनै पुनरावलोकन नगर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा गभर्नर नेपालले राष्ट्र बैंकले वित्तिय स्थायित्वका लागि बैंक/वित्तिय संस्थाको चुक्ता पुँजी बढाएकाले त्यसमा हस्तक्षेप भए वित्तिय क्षेत्रको सुधारको गति रोकिने बताए । चुक्ता पुँजी वृद्धिको निर्णयमा केन्द्रीय बैंकको लचकताका लागि संसदीय समितिदेखि राजनीतिक नेतृत्वसम्म भइरहेको लविङप्रति इङ्गित गर्दै गभर्नरले केन्द्रीय बैंकको अडान दोहो¥याएका हुन् । “संसदीय समितिमा जे भइरहेको छ, त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेष्टले काम गरेको छ भन्ने सबैलाई थाहा छ,” उनले भने । केन्द्रीय बैंकले सभासद्हरुलाई बैंकको सञ्चालक बन्न रोक लगाउने सर्कुलरका लागि गृहकार्य गरिरहेको छ । उनले चुक्तापुँजी वृद्धिपछि बैंक÷वित्तिय संस्था थप मजबुत हुने र वित्तिय स्थायित्व कायम गर्न सहज हुने बताए । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिमार्फत् बैंक/वित्तिय संस्थाको चुक्ता पुँजी दुई वर्षभित्र चार गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरेको छ । बैंक/वित्तिय संस्थाले पुँजी वृद्धिको योजना भाद्र मसान्तसम्म राष्ट्र बैंकमा पेश गरिसक्नुपर्छ ।

कैलाश विकास बैंकले २४ प्रतिशत बोनस सेयर दिने, पुँजी वृद्धि योजना पेश

काठमाडौं, ३० भदौं । कैलाश विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७१/७२ सम्मको संचित नाफाबाट उक्त दरमा बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भए पश्चात सेयरधनीले उक्त बोनस सेयर पाउनेछन् । हाल चुक्ता पूँजी ८९ करोड ५३ लाख रुपैयाँ रहेको यस बैंकले बोनश शेयर वितरण गरेपछि चुक्ता पूंजी १ अर्ब ११ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यस्तै बैंकले पुँजी वृद्धि योजना पनि नेपाल राष्ट्र बैंकलाई पेश गरिसकेको छ । राष्ट्र बैंक स्रोतका अनुसार कैलाश विकास बैंकले चार विकल्प दिएको छ । तीन वर्षसम्म लगातार बोनस सेयर जारी गर्दै जाने उसको मुख्य योजना छ । दोस्रो प्राथमिकतामा बोनस सेयर जारी गर्दा अपुग हुने पुँजी जुटाउन आफ्नो उपस्थिति कम रहेका वा उपस्थिति नै नरहेका क्षेत्रका एक वा तीन जिल्ला स्तरका उपयुुक्त विकास बैंकहरुसँग मर्ज गर्ने योजना बनाएको छ । पहिलो र दास्रो प्रयासबाट अपुग पुँजीका लागि हकप्रद सेयर जारी गर्ने बैंकको तेस्रो योजना बनाएको छ । अनुकूल अवस्थामा राष्ट्रिय स्तरको विकास बैंक वा वाणिज्य बैंकसँग पनि मर्जमा जान सकिने बैंकको चौथो योजना रहेको छ । बैंक सञ्चालक समितिले यी योजना बनाई गत आईतबार नेपाल राष्ट्र बैंकलाई बुझाएको छ । हालसम्मको वित्तीय विवरण अनुसार यस बैंकले कूल निक्षेप.९ अर्ब ५३ करोड संकलन गरी कूल कर्जा ८ अर्ब रुपैयाँ लगानी गरेको छ । संस्थाले विभिन्न जिल्लाका २५ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सुविधा सहित १४ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक र भारतीय केन्द्रीय बैंकबीच सूचना आदान प्रदानको समझदारी

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच सुपरिवेक्षकीय सूचना आदान–प्रदान गर्ने तथा बैंक सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोग विस्तार गर्ने सम्बन्धि समझदारी भएको छ । भदौ २८ मा राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाविच समझदारी भएको हो । यस्तो समझदारी पत्रमा राष्ट्र बैंकका तर्फवाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र रिजर्व बैंकका तर्फवाट बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मीना हेमचन्द्रले हस्ताक्षर गरेका हुन् । यस्तो समझदारी रिजर्व बैंकको केन्द्रीय कार्यालय मुम्बइमा सम्पन्न भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । दुबै देशका केन्द्रीय बैंकले आ–आफ्नो सुपरिवेक्षण क्षेत्राधिकार अन्तर्गत पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्नका लागि जानकारी तथा सुचनाहरु आदान प्रदान गर्नेछन् । यसरी सुचना तथा जानकारीहरु आदान प्रदान गर्दा प्राप्त जानकारी वा सूचना भंग नहुने गरी विदेशी सुपरिवेक्षण अधिकारीसँग सूचना÷जानकारी आदान–प्रदान गरिन बताइएको छ । यस्तो समझदारी राष्ट्र बैंकका लागि विदेशी सुपरिवेक्षण अधिकारीसँग गरिएको पहिलो सहमती–पत्र हो । सुपरिवेक्षण अधिकारीहरूबीच पारम्परिक सहयोग, सद्भाव र सम्बन्ध विस्तार गर्ने तथा सुपरिवेक्षकीय जानकारी एवम् सूचना आदान–प्रदान गर्ने उद्देश्यले अन्य मुलुकका सुपरिवेक्षण अधिकारीहरूसँग समेत यस्तो सहमती गर्दै जाने नीति नेपाल राष्ट्र बैंकको रहेको छ । सहमती–पत्रमा हस्ताक्षर कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका निर्देशक झलक शर्मा आचार्य तथा भारतीय रिजर्व बैंकका बैंकिङ सुपरिवेक्षण विभागका पदाधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले केहि बर्ष अगाडिदेखि नै यस्तो समझदारी गर्ने प्रयत्न थालेको थियो ।

यी हुन नाटा अटो सोमा सार्वजनिक गरिएका नयाँ गाडी

काठमाडौं, २९ भदौं । मंगबारबाट सुरु भएको नाटा अटो मोबाइल सोमा विभिन्न कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गरेका छन् । अन्तराष्ट्रियदेखि क्षेत्रीय हुँदै लोकल मार्केट समेत पकड जमाउन सफल कम्पनीहरुले नाडा अटो सोमा अर्थमन्त्री डा. रामशरण महत मार्फत आफ्ना प्रडक्ट सार्वजनिक गरेका हुन् । यसरी नयाँ प्रडक्ट सार्वजनिक गर्ने कम्पनीहरुमो टोयोटा, होण्डा, सुजुकी र टाटा कम्पनी छन् । टोयोटाले इटिओस क्रस डिजेल नामको कार सार्वजनिक गरेको हो । यसको मूल्य ४४ लाख ४५ हजार रुपैयाँ पर्छ । हेण्डाले नयाँ ज्याज कार भित्र्याएको छ । यसको मूल्यभने २८ लाख ३४ हजारदेखि ३९ लाख २५ हजार रुपैयाँसम्म पर्छन् । सुजुकीले एस क्रस र अल्टो के १० भित्र्याएको छ । एस क्रसको ३८ लाख ९९ हजारदेखि ६१ लख ९९ हजारसम्म पर्छन् । यी कारण बिभिन्न सिसि क्षमतामा उपलब्ध हुनेछन् । अल्टो के १० को भने १९ लाख ९९ हजार रुपैयाँ पर्छ । यो गाडी ९९८ सीसीमा मात्रै उपलब्ध छ । टाटा मोटर्सको स्टोर्म पनि भित्रिएको छ । २१७९ सीसीको यो कारमा ६३ लिटर इन्धन हाल्न मिल्छ । स्कोडाका पनि दुई वटा कार मंगलबार नै नेपाली बजारमा भित्रिएका छन् । स्कोडाले अक्टाभिया र यती कार सार्वजनिक गरेको हो । अक्टाभियाको बजार मूल्य ७१ लख ९५ हजार र ८१ लख ९५ हजार रुपैयाँ पर्छ । स्कोडा यतीको मूल्यभने ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सबै कम्पनीहरुले नयाँ डिजाईन र नयाँ सुबिधा सहित नेपाली बजारमा आफ्ना उत्पादन प्रवेश गरेको दावी गरेका छन् ।

नविल बैंकले १२० प्रतिशत बोनस सेयर दिने, बोनसबाटै आठ अर्ब पुँजी पुर्याउने

काठमाडौं, २८ भदौं ।  नविल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई तीन वर्षको नाफाबाट कम्तिमा १२० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले तीन वर्षको नाफाबाट कम्तिमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव अगाडि सारेको छ । नविल आगामी अडाई वर्षमा सेयरधनीसँग हाल भएको सेयरमा कम्तिमा १२० प्रतिशत सेयर थपिने छ । हाल १०० कित्ता सेयर हुनेसँग अडाई वर्षपछि कम्तिमा २२० कित्ता सेयर हुने छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउने नविल बैंकले बोनस सेयर दिने एउटा मात्र प्रस्ताव अगाडि सारेको छ । उसले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्वीजिसन नगर्ने नीति लिने भएको छ । बैंकले बोनस सेयर जारी गरेर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकलाई बुझाउँदैछ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ छ । तीन आर्थिक वर्षको नाफाबाट ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी पुँजी ८ अर्ब पुर्याउने लागेको हो । तीन आर्थिक वर्षको नाफा साढे ६ देखि ७ अर्ब रुपैयाँ सम्म हुने सक्ने बैंकको विश्लेषण छ । ‘गत आर्थिक वर्षमा २ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ । आगामी दुई आर्थिक वर्षमा कम्तिमा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सकिन्छ’ नविल बैंक स्रोतले भन्यो–‘गत आर्थिक वर्षको भन्दा नाफा घट्दैन । आगामी दुई वर्षमा ४ अर्ब २० करोड रुपैयाँ मात्र नाफा भयो भने पनि गत वर्षको नाफा जोड्दा ६ अर्ब ३० करोड रुपैयाँ हुन्छ । त्यसबाट सजिलै ४ अर्ब ३५ करोड रुपैयाँको बोनस सेयर दिन सकिन्छ ।‘ राष्ट्र बैंकले २०७४ असार मसान्तसम्मको नाफाबाट प्रस्तावित बोनस सेयरलाई चुक्ता पुँजीको मान्यता दिने भएपछि नविल बैंकले बोनस सेयरबाटै राष्ट्र बैंकको तोकेको पुँजी पुर्याउने योजना बनाएको हो । बैंकको संचित नाफा ६ अर्ब ११ करोड रुपैयाँ छ ।

फास्ट ट्रयाकमा मोटरसाईकल गुड्न नपाउने, एम्बुलेन्स, दमकल र भिआईपीलाई निःशुल्क

काठमाडौं, २७ भदौं । राष्ट्रिय गौरवको बहुप्रतिक्षित काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक सडकमा मोटरसाईकल गुड्न नपाउने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी दिन लागिएको भारतिय कम्पनी आईएल एण्ड एफएस कम्पनीले तयार पारेको डिटेल प्रोजेक्ट रिपोर्टका अनुसार काठमाडौं–तराई/मधेश नाम दिईएको यो सडकमा मोटरसाईकल गुडाउन नपाईने उल्लेख गरिएको छ । काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक आयोजनाका प्रमुख सतेन्द्र शाक्यका अनुसार एसियाली मापदण्डको सो सडकमा तिब्र गतिमा ठुला सवारी साधान गुड्ने भएकाले मोटरसाईकललाई बर्जित गरिएको हो ।‘यो एसियाली मापदण्डको सडक हो, ठुला सवारी तिब्र गतिमा गुड्छन, त्यसकारण मोटरसाईकल गुडाउन दिँदैनौं ।’ आयोजना प्रमुख सतेन्द्र शाक्यले भने । भारतीय कम्पनी आईएल एण्ड एफएसले बुझाएको डिटेल प्रोजेक्ट रिपोर्ट(डिपिआर) अनुसार सो सडकमा प्रतिघण्टा १२० किलोमिटर अधिकतम गतिमा सवारी साधन गुड्ने छन भने न्युनतम ६५ किलोमिटरमा गड्न पाउनेछन् । एसियाली मापदण्डको ७६ किलोमिटर लामो सो सडकबाट ५९ मिनेटमा निजगढ पुगिनेछ । ट्रयाक चार लेनको हुनेछ । आधुनिक सडक र तिब्र गतिका ठुला सवारी साधनका लागि निर्माण गरिएकाले पनि मोटरसाईकल गुडाउन नहुने शाक्यले बताए । ‘हाम्रो अहिलेसम्मको अध्ययन अनुसार फास्ट ट्रयाकमा मोटरसाईकल गुडाउन मिल्दैन, अब सरकारले के गर्छ थाहा छैन तर यो मोटरसाईकल गुडाउने सडक होइन ।’, शाक्यले भने । यसअघि सो सडकमा एउटा मोटरसाईकलको टोल ट्याक्स आठ सय रुपैंयाँ लाग्ने चर्चा चलेको थियो । मोटरसाईकल गुडाउनै नमिल्ने सडकमा त्यसकै टोल ट्याक्सका नाममा बिरोध गरिएको प्रति उनले आश्चर्य समेत प्रकट गरे । सो सडकमा कारका लागि १५ सय ५८ रुपैंयाँ महसुल तोकिएको छ भने ठुला मालवाहक सवारी साधनका लागि त्यसको तीन गुणा बढि शुल्क तोकिएको छ । दमकल, एम्बुलेन्स र भिआईपीका सवारीसाधनहरुले भने निशुल्क गुड्न पाउनेछन् । सडक निर्माणका लागि एक खर्ब १२ अर्ब नेपाली रुपैंयाँ लाग्ने बताईएको छ । यस अघि एक अर्ब ६५ करोड ५२ हजार मुआब्जा वितरण गरिसकिएको छ । सेनाले ९४ करोड ४४ लाख ५४ हजार खर्चेर ट्रयाक खोलेको हो । हालसम्म सो सडकका लागि दुई अर्ब ५९ करोड ५४ लाख ६ हजार रुपैंयाँ खर्च भैसकेको छ । नेपाली सेनाले २०७० सालमा ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरेको थियो ।