पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर साढे चार रुपैयाँ बढ्यो, आजै विहानैबाट बढेको मूल्य लागू
काठमाडौं ४, पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताउनुभयो । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । भारतीय आयल निगमले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको तथा भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनु परेको निगमको भनाइ छ ।
आधुनिक प्रविधिको इन्टरनेट फोर–जी सेवा दिँदै टेलिकम, पुस १७ देखि काठमाडौं र पोखरामा एकैपल्ट सुरु
काठमाडौं ४, पुस । नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ ।टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् । ‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु गर्दैछौँ,’ शाक्यले भने । उनका अनुसार प्राविधिकले बिटिएस टावरमा प्रविधि थप्नेछन् ।उनका अनुार काठमाडौँका बिटिएस टावरमा आवश्यक प्रविधि जडान भइसकेको छ । पहिलो चरणमा पोखरामा २५ हजार तथा काठमाडौँका ३ लाख ७५ हजारले फोर जी सेवा पाउन सक्नेछन् । नेपालमा ४ लाख जनासँग फोरजी सेवा लिन सक्ने मोवाइल रहेको टेलिकमले जनाएको छ । नागरिक दैनिकबाट ।
लुटेको सुन लुकाउँन जाँडसगै दुई तोलाको सिक्री निले एक लुटेराले, जीवन मरणको दोसाधमा हस्पिटलमा
काठमाडौं ४, पुस । लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। उनको छिनछिनको स्वास्थ्य अवस्था काठमाडौं प्रहरीले लिइरहेको छ। काठमाडौंमा केही दिन अघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो। प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पतालमा भर्ना गरिएका छन्। घटनाको प्रमाण र आरोपीको प्राण जोगाउन प्रहरी आरोपीमाथिको स्याहारसुसारमा खटिइरहेको छ। काठमाडौंका प्रहरी निमित्त प्रमुख एसपी प्रधुम्न कार्कीले बेलाबेला आरोपीको अवस्थाबारे जानकारी लिइरहेका छन्। प्रहरीका अनुसार कीर्तिपुर घर भइ हलचोक बस्ने सुमन महर्जनले लुटेको दुई तोला सुनको सिक्री निलेका थिए। महानगरीय प्रहरी वृत्त स्वयम्भुका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राति जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए। नागरिक दैनिकबाट ।
नेपालमा रहेको भारु नसाटिने निश्चित, पटकपटकको आग्रहलाई भारतद्धारा वेवास्ता
काठमाडौं ४, पुस । नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने देखिएको हो । भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँगको कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ कुरेर बसिरहेको वताए । यसअघि ठूला दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारत जाने डेपुटी गभर्नरले वताएका थिए । कालो धनका रुपमा ठूलो रकम रहेको आशंका गर्दै भारतले गत कात्तिक २४ मा यी नोटहरुमा प्रतिबन्ध लगाएपछि नेपाल पनि प्रतिबन्ध लागेको छ । कारोबार दैनिकबाट ।
छाउगोठमा निसास्सिएर १५ वर्षे किशोरीको मृत्यु, अछाममा मात्रै छउपडीबाट १० जना किशोरिको मृत्यु
काठमाडौं ४, पुस । महिनाबारी हुँदा छाउपडी गोठमा सुतेकै अवस्थामा किशोरीले ज्यान गुमाएको एक महिना पुग्न नपाउँदै अछाममा अर्की किशोरीको छाउपडी गोठमै निसास्सिएर ज्यान गएको छ। महिला तथा बालबालिका कार्यालयले सेभ दी चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी निवारण परियोजनाअन्तर्गत एक वर्षअघि छाउपडी गोठमुक्त गाउँ घोषणा गरिएको गाज्राकै छाउपडी गोठमा किशोरीको मृत्यु भएको हो। महिनाबारी भएको बेला छाउपडी गोठमा बसेकी गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाले शनिबार राति गोठमै ज्यान गुमाइन्। महिनाबारी हुँदा एक्लै गोठमा सुतेकी रोशनी आइतबार बिहान मृत अवस्थामा भेटिएको परिवारले जानकारी दिएको छ। यसअघि तिमिल्सेन–७ की डम्बरा उपाध्यायले केही साताअघि छाउपडी गोठमै ज्यान गुमाएकी थिइन्। छउपडी गोठ अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको मृतकका बुबा भरत तिरुवाले जानकारी दिए। ‘बेलुकी खाना खाएर राम्रैसँग सुतेकी हो, बिहान हेर्दा त मृत भेटिइन्’, बुबा भरतले भने्, ‘सुरुमा आमा गएर उठाउँदा नबोलेपछि मैले ढोका फुटाएको हुँ।’ शनिबार स्कुल बिदाको दिन भएकाले रोशनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन्। स्थानीय राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत उनी महिनाबारी भएको तीन दिन भएको परिवारले जानकारी दिएको छ। घटनास्थल पुगेका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि २० फिट टाढा रहेको उक्त गोठ निकै साँघुरो रहेको र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर ज्यान गएको हुन सक्ने बताए। ‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने, ‘गोठभित्र पूरै धुवाँको मुस्लो भएपछि अक्सिजन कमीका कारण उनको ज्यान गएको हुन सक्ने सम्भावना छ।’ छाउपडी निवारण परियोजनाअन्तर्गत २०७२ असोज ९ गते गाज्रालाई छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। छाउपडी गोठमुक्त घोषणा हुँदा पनि उक्त गोठ त्यहीं छ। त्यही गोठमा करिब एक साता पहिले महिनाबारी हुँदा बसेको अवस्थामा रोशनीकी आमासमेत धुवाँले निसास्सिएपछि मध्यरातमा निस्किएकी थिइन्। गाज्रा छाउपडी गोठमुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनाबारी हुँदा गोठमै बस्छन्। देवीदेउता रिसाउने डरले महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको प्रहरी निरीक्षक ढकालले बताए। रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले एक महिनामा दुई महिलाको गोठमा ज्यान जानु दुःखद भएको बताए। हतारहतारमा गोठमुक्त अभियान चलाएर घोषणा गरिए पनि पछि त्यसको नियमित अनुगमन नहुँदा यस्तो समस्या देखापरेको उनले सुनाए। अछाममा पछिल्लो एक दशकमा डम्बरालगायत १० महिला तथा किशोरीले महिनाबारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन्। पाँच वर्षअघि पनि २० दिनको अवधिमा अछाममा दुई महिलाले गोठमै ज्यान गुमाएका थिए। रिडिकोट–४ की १५ वर्षीय शर्मिला भुलको छाउपडी गोठमै धुवाँले निसास्सिएर ज्यान गएको थियो भने त्यसअघि २०६८ माघ १९ मा ढकारी–४ की लक्ष्मी बुढाको गोठमै आगोले जलेर ज्यान गएको थियो। मानिस तथा जंगली जनावरको डरले ढोकाबाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्नाले अधिकांशको ज्यान निसास्सिएर जाने गरेको छ। सुत्दा आगो निभाएर सुत्नुपर्छ भन्ने सामान्य जानकारीसमेत नराखेका कारणले बर्सेनि महिलाले गोठमा ज्यान गुमाइरहेका छन्। जिल्लाले पाँच वर्षीय छाउपडी प्रथा निवारण योजना निर्माण गरे पनि उक्त रणनीति कागजमै सीमित छ। अन्नपूर्ण पोस्टबाट ।
रुरल माइक्रोफाइनान्सको साधारणसभा पुस २७ गते, पुस १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज
काठमाडौं, ३ पुस । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आगामी पुस २७ गते १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेकोे हो ।
मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत हकप्रद निष्कासन गर्ने, पुस २९ गते साधारणसभा
काठमाडौं, ३ पुस । मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत (१ बराबर १.७५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णयलाई गत जेठ २६ गते बसेको कम्पनीको विशेष साधारणसभाले पारित गरिसकेको पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जनाएको छ । उक्त बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको ९औँ वार्षिक साधारणसभा यहि पुस २९ गते हुने भएको छ । सोही प्रयोजनको लागि फाइनान्सले आगामी पुस ९ गतेदेखि पुस २९ सम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद पारित
काठमाडौं, ३ पुस । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १८ दशमलब १८ प्रतिशत बोनस र शून्य दशमलब ९६ प्रतिशत नगद लभांश पारित भएको छ । उक्त लाभांश मंसिर ३० गते बसेको कम्पनीको १२औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सभाले सो मात्राको बोनस वितरण पश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको प्रस्तावलाई पनि पारित गरेको छ ।