प्रतिलिटर पाँच रुपैंयाँ कर लागेपनि पेट्रोलियम पदार्थको मुल्य नबढ्ने
काठमाडौं, १६ जेठ । सरकारले डिजेल/पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैंयाँ पुर्वाधार कर लगाएपनि पेट्रोलियम पदार्थको मुल्य भने नबढ्ने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण गर्नेवित्तिकै इन्धनको मुल्य बढ्ने हल्ला चलेको थियो । तर बजेट वक्तव्यमा भने उपभोक्तालाई अतिरिक्त भार नपर्नेगरि भन्सार विन्दुमै पुर्वाधार कर लगाउने उल्लेख गरिएको छ । ‘स्वच्छ ऊर्जा विकासका लागि उपभोक्तालाई अतिरक्त भार नपर्ने गरी नेपाल आयल निगमले आयात गर्ने पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सार बिन्दुमै प्रतिलिटर लटर रु ५ का दरले पूवार्धार कर लगाउने प्रस्ताव गरेको छु ।’ अर्थमन्त्री बिष्णु पौडेलले वाचन गरेको वजेट वक्तव्यमा भनिएको छ । सरकारले तीन प्रकारका इन्धनमा लगाईने पुर्वाधार करबाट बूढीगण्डकी जलविद्युत आयोजनाका निर्माणमा खर्चने बताएको छ । सरकारले पुर्वाधार करबाट आगामी आर्थिक वर्षमा सात अर्ब रुपैंयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
माओवादी केन्द्रको नौ सदस्यीय हेडक्वार्टर गठन, देशव्यापी जनसभा असारमा
काठमाडौँ, १० जेठ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा नौसदस्यीय केन्द्रीय हेडक्वार्टर गठन गरेको छ । पार्टीको सोमबार यहाँ बसेको केन्द्रीय समितिको बैठकले तत्कालका लागि गठन गरेको केन्द्रीय कार्यालयमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, मातृका यादव, मणि थापा, तिलक परियार र जयपुरी घर्ती रहेका छन् । यस्तै सचिवालय तथा पोलिटब्युरो पनि गठन गरिने माओवादी केन्द्रले जनाएको छ । सो पार्टीका नेता दीनानाथ शर्माका अनुसार ४९ देखि ५१ जनाको सचिवालय गठन गर्ने प्रस्ताव गरिएको छ भने १५१ सदस्यीय पोलिटब्युरो गठन गर्ने निर्णय गरिएको छ । केन्द्रीय हेडक्वार्टर बसेर सो सम्बन्धमा आवश्यक निर्णय गरिनेछ । देशव्यापी जनसभा असारमा माओवादी केन्द्रले आगामी असार ४ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । केन्द्रले मुलुकका अन्य स्थानमा समेत जनसभा एवम् बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने तय गरेको छ । यस्तै माओवादीले प्रवक्ताको जिम्मेवारी पम्फा भुसाललाई तोकेको छ । यसअघिका प्रवक्ता शर्मालाई प्रकाशन विभागको जिम्मेवारी दिइएको छ । यस्तै नेतृत्वको सङ्गठनात्मक विधि तय गर्न नेता वर्षमान पुनको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा भुसाल, जनार्दन शर्मा, प्रभु साह, उर्मिला अर्याल, हितमान शाक्य, खगराज भट्ट, वसन्त घर्ती, कुलप्रसाद केसी लगायत छन् । यस्तै पार्टी एकतापछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय समेत केन्द्रले गरेको छ । यसै गरी जेठ २० गते ३ नं प्रदेश, जेठ २२ गते महोत्तरीमा २ नं, २४ गते कास्कीमा ४ नं, २६ गते दाङमा ५ नं, २८ गते सुर्खेतमा ६ नं, असार ८ गते इटहरीमा १ नं प्रदेशको र असार ११ गते कैलालीमा ७ नं प्रदेशको भेला गरिनेछ । रासस
२३ महिना केपी ओली सरकार ढल्दैनः माधव नेपाल
कठमाडौं, २९ बैशाख । पुर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अझै २३ महिनासम्म केपी ओली नेतृत्वको सरकार नढल्ने बताएका छन् । सिन्धुलीमा आयोजीत एक कार्यक्रममा बरिष्ठ नेता नेपालले देशमा अझै २३ महिनासम्म संक्रमण रहने र ओली नेतृत्वकै सरकारलाई संक्रमणकाल चिर्ने बताएका हुन । कांग्रेसतर्फ इशारा गर्दै नेता नेपालले बोत्तल फोर्दैमा सरकार नढल्ने बताए । ‘सरकार ढाल्ने र बनाउने खेलमा धेरैले बोत्तलफोडेको सुनेको छु’, उनले भने, ‘बोत्तल फोर्दैमा सरकार ढल्दैन । यही सरकार अझै कम्तीमा २३ महिना टिक्छ ।’ नेता नेपालले भने ‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार हो, सबै पक्ष मिलेर देशलाई अग्रगतितर्फ लैजानुपर्छ । प्रधानमन्त्रीको हुने लफ्डा गर्नु भन्दापनि देश बनाउने कुरामा सबै राजनैतिक शक्तिहरु एकै ठाउँमा आउनुपर्छ ।’ भूकम्प पीडितहरुका लागि सरकारले छिट्टै अनुदान रकम दिनुपर्नेमा उनले जोड दिए । भ्रष्टाचार र ढिलासुस्तीलाई प्रमुख दुष्मनको रुपमा लिँदै समृद्धितर्फ देशलाई लैजानुपर्ने उनको भनाइ छ । ‘सुशासन र विकास अहिलेको मुख्यआवश्यकताहो, त्यसकालागि सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।
ब्रिटिस गोर्खाले बढाए बेलायती सरकारलाई दिएको अल्टिमेटम
काठमाडौ, १२ बैशाख । समान, तलब, पेन्सन, सुविधा र अवसरलगायतको माग राख्दै लामो समयदेखि आन्दोलनरत व्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायति सरकारलाई दिएको अल्टिमेटमको समय बढाएको छ । यसअघि आजसम्मको अल्टिमेटम दिएकोमा त्यसलाई बढाएर असार १७ गतेसम्मको समय दिएको समितिले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
कांग्रेस संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवा विजयी
काठमाडौं , २४ चैत । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका हुन् । केही महिना अगाडी भएको १३ औं महाधिवेशनमा पनि पौडेललाई नै पराजित गर्दै देउवा सभापति बनेका थिए । बुधबारको निर्वाचनमा कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् ।पार्टी छाडेको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले पनि मतदान गरेका छन् । महाधिवेशनका क्रममा क्षेत्रमै पराजित भएपछि उनले कांग्रेस पार्टी छाडेको घोषणा गरेका थिए ।
बजेट मार्फत आयो अनिवार्य बीमाको प्रावधान, ५ प्रतिशत लघु बीमा नगरी नहुने
काठमाडौं, १९ जेठ । अबदेखि बीमा कम्पनीहरुले गर्ने कूल ब्यवसायको ५ प्रतिशत लघु बीमा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल कर्जाको निश्चित प्रतिशत कर्जा रकम विपन्न बर्गमा जानै पर्ने ब्यवस्था गरे जस्तै गरी लघुबीमा पनि अनिवार्य गरिएको छ । सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो । सो कार्यक्रम विषेश गरेर दुर्गम ग्रामीण क्षेत्रसम्म बीमाको पहुच पुर्याउने उद्देश्यले आएको बीमा समितिका निर्देशक राजु पौडेलले जानकारी दिए । १ लाख रुपैयाँभन्दा कम रकमको बीमालाई समितिले लघु बीमा अन्तरगत राखेको छ । ‘बीमा कम्पनीहरुले आफ्नो बीमा सेवाको न्यूनतम ५ प्रतिशत लघु बीमामा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने ब्यवस्था मिलाएको छु, यसवाट कृषि, पशु र अन्य साना ब्यवसायको जोखिम कम न्यून हुने विश्वास लिएको छु,’ अर्थमन्त्री विष्णु पौडलले १५ जेठमा ब्यवस्थापिका संसदमा पेश गरेको बजेट बक्तब्यमा उल्लेख गरिएको छ । लघु बीमा कार्यक्रम जीबन र निर्जीबन दुबै प्रकारका कम्पनीको हकमा लागू हुने समितिको भनाइ छ । ‘बीमाको पहुच दुर्गम ग्रामीण इलाकासम्म पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम राखिएको हो,’ समितिका निर्देशक पौडेलले भने । बीमा समितिले यसअघि नै पशुपक्षी तथा कृषि बाली बीमा गराउनको लागि बीमा कम्पनीहरुलाई जिल्ला नै तोकेर जिम्मेवारी दिएको छ । सो ब्यवस्था अनुसार सवै कम्पनीले आफ्नो भागमा परेका जिल्लाहरुमा शाखा कार्यालय स्थापना गरेर सेवा संचालन गरिरहेका छन् । अहिले अनिवार्य गरिएको यस्तो ब्यवस्था लागू गर्न पनि कम्पनीहरुले तिनै संयन्त्र मार्फत गर्न सक्ने अनुमान समितिको छ ।
२० औं वार्षिकोत्सवमा नेको इन्स्योरेन्सको सचेतना कार्यक्रम
काठमाडौं, १८ जेठ । नेको इन्स्योरेन्स लिमिटेडले २० औं वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्स सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आम मानिसमा इन्स्योरेन्स बारे चेतना जगाउने उदेश्यले केन्द्रिय कार्यालय अनामनगरदेखि बिभिन्न स्थानमा इन्स्योरेन्स सचेतना कार्यक्रम आयोजना गरेको हो । कम्पनीले सो अवसरमा निर्जिवन बीमाका बारेमा अन्तरक्रिया कार्यक्रमहरु समेत आयोजना गरेको थियो । पुर्ण सरकार स्वामित्व रहेका कम्पनीमा राष्ट्रिय बाणिज्य बैंक र कोष व्यवस्थापन कम्पनी लिमिटेड लगायतका लगानी रहेको छ ।
गुँरास लाईफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, १८ जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठौ बर्ष पुरा गरि नवौैं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा कम्पनीले केन्द्रीय कार्यालय तिनकुने, काठमाडौं तथा क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा गुँरास लाईफ इन्स्योरेन्स केन्द्रीय कार्यालयमा १०० जनाले रक्तदानमा भाग लिएका थिए । साथै क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा ६६ जनाले रक्तदान गरेका कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।