विकासन्युज

एसविआई बैंकको नाफा १ अर्ब १० करोड, खराव कर्जा सबैभन्दा न्यून विन्दूमा

काठमाडौं । नेपाल एसविआई बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा १ अर्ब १० करोडरुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५ करोड रुपैयाँले बढी हो । बैंकको सञ्चालन नाफा १ अर्ब ७५ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड रुपैयाँ छ । जगेडा तथा संचित कोषमा ३ अर्ब ११ रुपैयाँ छ ।  बैंकले चैत मसान्तसम्ममा ८५ अर्ब ३७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी ६१ अर्ब ६१ करोड र लगानी १९ अर्ब ७७ करोड गरेको छ । कर्जा निक्षेप अनुपात ७२ प्रतिशत छ । बैंकको खराव कर्जा शुन्य दशमलव १२ प्रतिशत छ जुन वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम हो । बैंकको कष्ट अफ फण्ड २.९६ प्रतिशत छ, जुन अहिलेको बजारमा निकै कम हो । यसले बैंकको नाफा वृद्धिलाई सहयोग गर्छ । बैंकको आरओई २० रुपैयाँ ४१ पैसा छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ छ । पीई रेसियो ४९ प्रतिशत छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

सनराईज बैंकको नाफा ४७ प्रतिशतले वृद्धि, लगानीकर्ताको प्रतिफलमा ३ प्रतिशतले गिरावट

काठमाडौं । सनराईज बैंकका नाफा ४७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ८६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद नाफा बढेपनि रिटर्न अन इक्वीटी अर्थात प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष रिटर्न अन इक्वीटी १८.०१ प्रतिशत रहेकोमा यो वर्ष १५.५५ प्रतिशतमा झरेको छ । यसको अर्थ लगानीकर्ताले पाउने लाभांशमा करिव ३ प्रतिशतले घटेको देखिएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँ छ । जगेडा तथा संचित कोषमा २ अर्ब रुपैयाँ छ । बैंकले चैत मसान्तसम्ममा ५६ अर्ब २९ रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी ५० अर्ब ८६ करोड र लगानी ७ अर्ब ७२ करोड गरेको छ । कर्जा निक्षेप अनुपात ७९ प्रतिशत छ । बैंकको खराव कर्जा १.५ प्रतिशत छ जुन पुस मसान्तको तुलनामा केही बढी हो । बैंकको कष्ट अफ फण्ड बढेर ४.४३ प्रतिशत पुगेको छ ।

नेसनल ट्रेडिङले टेकुको ५१ रोपनी जग्गा बेच्ने, आयल निगमदेखि ठूला कर्पोरेट हाउसहरु किन्ने प्रयासमा

काठमाडौं । आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङ लिमिटेडको जग्गा बिक्रीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । मन्त्रालयले बिहीबार संस्थाका नाममा टेकमा रहेको ५१ रोपनी जग्गा बिक्री गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयको सहमतिमा आपूर्ति मन्त्रालयले जग्गा बिक्री गर्न प्रस्ताव गरेको हो । कुनै विकल्प नदिई विगतमा गर्दै आएकोे कारोबारमा समेत सरकारले रोक लगाएपछि निरन्तर घाटामा गएको लिमिटेडका विभिन्न निकायको ऋण तिर्न र स्वेच्छिक अवकाश लिने कर्मचारीको दायित्व पूरा गर्न जग्गा बिक्री गर्न लागेको छ । जग्गा बिक्री गर्नुअघि संस्थाले आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा तीनवटा प्रस्ताव गरेको थियो । यसअनुसार पहिलो प्रस्तावका रूपमा टेकुको जग्गा सरकारले नै खरिद गरिदिनुपर्ने विषय अघि सारिएको थियो । दोस्रो प्रस्ताव नेसनलले टेकुको जग्गा सरकारी निकायलाई बिक्री गर्न दिनुपर्ने थियो । यस्तै तेस्रोमा व्यापार प्रवद्र्धन गर्न रकम उपलब्ध गराइ दिनुपर्ने प्रस्ताव आपूर्ति मन्त्रालयले गरेको थियो । नेसनल ट्रेडिङ लिमिटेडका महाप्रबन्धक लवराज जोशीले तीनवटा प्रस्तावमध्ये अर्थ मन्त्रालयले दोस्रो प्रस्तावमा वैशाख पहिलो साता सहमति दिएको थियो । ‘सोही सहमतिका आधारमा आपूर्ति मन्त्रालयले जग्गा बिक्रीका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो’, महाप्रबन्धक जोशीले भने । उनका अनुसार टेकुको जग्गा चलन चल्ति मूल्यमा नेपाल आयल निगमले लिन स्वीकार गरेको छ । आपूर्ति मन्त्रालयले टेकुको जग्गा निगमको नाममा बिक्री गर्ने आन्तरिक तयारी सम्पन्न गरिसकेको छ । साे जग्गा किन्न निजी क्षेत्रका ठूला कर्पोरेट हाउसहरु पनि लविङमा छन् । निगमले करिब दुई अर्ब ५० करोडमा जग्गा खरिद गर्न मन्त्रालयमा इच्छा व्यक्त गरेको छ । ड्युटी फ्रीको रक्सी आयात गरी बिक्री गर्दै आएको नेसनलको कारोबारमाथि २०६५ मा डा . बाबुराम भट्टराई अर्थमन्त्री हुँदा रोक लगाएका थिए । यसपछि संस्था निरन्तर घाटामा गएको हो । आपूर्तिले मन्त्रिपरिषद्बार सहमति मागेको टेकुको ५१ रोपनी जग्गाको बजार मूल्य दुई अर्ब ५० करोड रुपैयाँ पर्छ । जग्गामा २०२२ सालमा निर्माण भएको अहिले चारवटा ठूलो गोदाम, एकवटा प्रशासनिक घर र एक चालू अवस्थाको पेट्रोल पम्प छन् । जोशीका अनुसार सरकारको ऋण दायित्व करिब एक अर्ब १२ करोड रुपैयाँ छ । यस्तै स्वेच्छिक अवकाशमा जाने कुल दुई सय ९१ कर्मचारीको उपदान, चार वर्षको सञ्चय कोष र ६ महिनाको तलब गरी एक अर्ब ६६ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था छ । ‘टेकुको जग्गा बिक्री भएपछि सोही रकमबाट सरकारको सम्पूर्ण ऋण र स्वेच्छिक अवकाशमा जाने कर्मचारीको भुक्तानी गरिनेछ’, जोशीले जानकारी दिनुभयो । नेसनलका प्रवक्ता गोपाल घिमिरेका अनुसार कर्मचारीले स्वेच्छिक अवकाश लिन दुई महिनाअघि निवेदन बुझाइसकेका छन् । स्वेच्छिक अवकाशमा जाने हरेक कर्मचारीले करिब ५० लाख रुपैयाँको दरमा उपदान प्राप्त गर्नेछन् । करिब एक अर्ब घाटा रहेको संस्थाले वार्षिक पाँच करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । १६ करोडको पुँजीबाट कम्पनीले हाल २२ अर्बको सम्पत्ति आर्जन गरेको छ । संस्थासँग टेकु बाहेक रामशाहपथस्थित २५ रोपनी जग्गासहित भौतिक पूर्वाधार र बिक्री केन्द्र छ । यस्तै भैरहवामा पोनै दुई बिघा, नेपालगन्जमा एक बिघा, सुर्खेतमा ११ कठ्ठा, धनगढीमा डेढ बिघा, महेन्द्रनगरमा डेढ बिघा, वीरगन्जमा साढे पाँच बिघा, विराटनगरमा चार बिघा र पोखरामा २२ रोपनी जग्गा छ । यस्ता स्थानमा भौतिक पूर्वाधार र बिक्री केन्द्रको सुविधा पनि यथावत् छ । प्रायः सबै जिल्लामा ट्रेडिङको आफ्नै भौतिक पूर्वाधारसहितको गोदाम र कार्यालय छ । यस्तै विशालबजार, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल ल्युव आयल, साझा भण्डार, साझा सेवा, गोरखकाली रबर उद्योग र हिमाल सिमेन्ट उद्योगमा पनि संस्थाको ठूलो लगानी छ । स्टेट ट्रेडिङ सेन्टर टेकुको जग्गा बिक्री गरेबापत प्राप्त हुने रकमबाट सबै हिसाब फरफारक गरी बाँकी रहने रकम सीड मनिका रूपमा राखिनेछ । यो रकम अन्तर्राष्ट्रियस्तरको स्टेट ट्रेडिङ सेन्टर वा नेसनल, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गरिनेछ । उक्त सेन्टर वा कम्पनीमार्फत थोकमा मात्रै बिक्री गर्ने उद्देश्यले खाद्यान्न, चिनी, रासायनिक मल, खानेतेल, दाल, विटुमिनलगायतको कारोबार गरिने योजना अघि बढाइएको छ । यो संस्थामार्फत तेस्रो मुलुकबाट पेट्रोलियम र ग्यासको आयात गरी थोक कारोबार गर्ने तयारी पनि आपूर्ति मन्त्रालयको छ । अत्याधुनिक कर्पोरेट हाउस नेपाल आयल निगमले नेसनलसँग खरिद गर्न लागेको टेकुको जग्गामा अत्याधुनिक कर्पोरेट हाउस वा पेट्रोलियम हब निर्माण गर्ने आन्तरिक तयारी गरेको छ । निगमले उक्त जग्गामा कर्पोरेट हाउसअन्तर्गत सातवटा विभागसहितको अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्ने योजना बनाएको छ । (अन्नपूर्ण पाेटबाट)

एनसेलले पायो फोरजी सेवा अनुमति, पहिलो चरणमा काठमाडौं, पोखरा र दमौलीमा सेवा दिने

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो। प्राधिकरण संचालक समितिको बुधबार बसेको वैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिइएको स्रोतले जानकारी दियो। अघिल्लो साता विकास समितिले उपभोक्ताको अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकार निकायलाई एनसेलको फोरजी सेवा स्विकृत गर्न निर्देशन दिएको थियो। एनसेलले अनुमति पाएको एक महिनाभित्र फोरजी सेवा संचालमा ल्याउन सक्ने कार्ययोजना प्राधिकरणमा पेश गरेको छ। एनसेलले पहिलो चरणमा काठमाडौं सहित पोखरा र दमौलीमा फोरजी सेवा संचालन गर्ने बताएको छ। प्राधिकरणलाई आफ्नो विस्तृत कार्ययोजना पेश गर्दै पहिलो चरणमा तीन ठाउँमा सेवा संचालन गर्ने बताएको हो। एनसेलले प्राधिकरणलाई बुझाएको विस्तृत कार्ययोजनामा दोस्रो चरणमा विराटनगर, भैरहवा र बुटबल जस्ता प्रमुख सहरमा फोरजी सेवा संचालन गर्ने जनाएको छ। प्राधिकरणले नेपाल टेलिकमपछि एनसेलसँग आफ्नो सेवा संचालनको विस्तृत कार्ययोजना पेश गर्न तिहार अघि नै अनुरोध गरेको थियो। प्राधिकरणले कुन कुन प्रविधिमा आधारित के कस्तो सेवा ग्राहकलाई प्रदान गर्ने हो, ती सेवाहरु के कसरी सञ्चालन तथा देशभर विस्तार गर्ने हो र यसका लागि न्यूनतम कति फ्रिक्वेन्सी आवश्यक पर्ने हो लगायत जानकारी समावेश गरी विस्तृत कार्ययोजना माग गरिएको थियो। एनसेलले फोरजी सेवा स्विकृतिको लागि ६ वर्षपछि सरकारले फ्रिक्वेन्सी माग गरेको थियो। पहिलोपटक एनसेलले असोज २०६७ मा फोरजीका लागि प्राधिकरणसमक्ष फ्रिक्वेन्सी माग गरेको थियो। सरकारले गरेको नीतिगत परिमार्जन अनुरुप फोरजी सेवाका लागि एनसेलले १८०० मेगाहर्ज ब्यान्डमा २० मेगाहर्ज थप फ्रिक्वेन्सी माग गरेको थियो। नीतिले १८०० मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गरेको छ र एउटा सेवा प्रदायक कम्पनीलाई २० मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन सकिने व्यवस्था गरेको छ। अहिले यो ब्यान्डमा एनसेलले ११ मेगाहर्ज र नेपाल टेलिकमले १५ मेगाहर्ज पाएका छन् र यी फ्रिक्वेन्सीहरु टुजी प्रविधिमा आधारित मोबाइल सेवा सञ्चालनमा प्रयोग भइरहेको छन्। प्रविधि तटस्थता अन्तर्गत सेवा प्रदायकले प्राधिकरणको अनुमतिमा सोही ब्यान्डमा तोकिएको फ्रिक्वेन्सी प्रयोग गरी थि्रजी वा फोरजी सेवा दिन सक्छन्। एनसेल फोरजी सेवा संचालन गर्ने दोस्रो टेलिकम कम्पनी बन्ने भएको छ। यस अघि नै नेपाल टेलिकमले यो सेवा लिइ सकेको छ। नेपाल टेलिकमले पुस १ गतेबाट काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरिसकेको छ। फोरजी थि्रजीको विकसित रुप हो। फोरजीमा मोबाइल इन्टरनेटको गतिमा सुधार हुने र ग्राहकले सजिलैसँग अनलाइन भिडियो हेर्न, भिडियो कन्फ्रेन्सिङ, गेम खेल्न, ठूला फाइल सजिलै डाउनलोड गर्न सक्नेछन्। भारतमा हाल ४० एमबी प्रति सेकेन्डसम्मको गतिमा यो सेवा त्यहाँका कम्पनीले उपलब्ध गराइरहेका छन्। नेपाल भने लामो समयको प्रयासपछि सरकारले फोरजी सेवा संचालन गर्न सक्ने अनुमती दिन थालेको हो। टेलिकम कम्पनीहरूले भने पाँच छ वर्ष पहिलादेखी नै फोरजी सेवा संचालन गर्न सक्ने बताउँदै आएका थिए। एनसेलले अहिले काठमाडौंमा आफ्नो थि्रजी प्रविधिमा आधारित नेटवर्कमा आधुनिकीकरण गरेर २१ एमबी प्रतिसेकेन्ड गतिसम्मको इन्टरनेट सेवा दिइरहेको छ र मोबाइल सेवा ७५ जिल्लामा पुर्‍याइसकेको जनाएको छ। प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार, गत आर्थिक वर्षको अन्त्यसम्ममा एनसेलको डाटा सेवा ५८ लाख ५५ हजार ४ सय ६४ ग्राहकले लिएका छन्। १ करोड ४१ लाख ४५ हजार ७ सय ५८ ग्राहकले यस कम्पनीको मोबाइल सेवा लिएका छन्। (नागरिकबाट)

३ महिनामा फेसबुकको नाफा ३ अर्ब डलर, सेवा सुधार्न ३ हजार कर्मचारी थप्ने घोषणा

क्यालिफोर्निया- फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ। फेसबुकले भनेको छ , ‘प्रत्येक महिना सक्रिय फेसबुक प्रयोग गर्नेहरुको संख्या बढेर १ अर्ब ९४ करोड पुगेको छ।’ यी मध्ये १ अर्ब ३० करोड व्यक्ति प्रत्येक दिन फेसबुकमा आउने गरेको उसको दाबी छ। सन् २०१७ को पहिलो ३ महिनामा फेसबुकको नाफा बढेर ३ अर्ब डलर पुगेको छ। यो गत वर्षकोभन्दा ७६ प्रतिशत वृद्धि हो। फेसबुकले विज्ञापनबाट हुने आम्दानी घट्ने प्रक्षेपण गरेको छ। फेसबुक पछिल्लो समय सामाजिक अपराधका कारण विवादित बनिरहँदा उसले विज्ञापनबाट गर्दै आएको कमाइ घट्ने अनुमान गरेको हो। बुधबार फेसबुक संस्थापक एवं सिइओ मार्क जुकेरबर्गले आपत्तिजनक एवं हिंसाका सामग्री रोक्न कडाइ गर्ने घोषणा गरे। उनले कन्टेन्ट मोडरेट गर्न ३ हजार कर्मचारी भर्ना गर्ने जानकारी दिए।

फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई, अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह सुविधा पाउने सरकारको निर्णय

काठमाडौ ।  विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णय लिएको छ । सरकारले बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ संयोजक रहेको अध्ययन समितिले द्रुतमार्ग निर्माणका विषयमा दिएको सुझावका आधारमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । गत चैतमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नेपाली सेनासँग सो मार्ग निर्माणका विषयमा सुझाव मागेकामा सेनाले आफूहरु द्रुतमार्ग निर्माणका लागि तयार रहेको बताएको थियो । सो आयोजनाको ट्र्याक (मार्ग) यसअघि नै नेपाली सेनाले खोलिसकेको छ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई तथा नेपाली सेनातर्फ पाइलट विनायक सिंहलाई महासेनानी पदमा बढुवा गरेको छ । बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका निम्ति विश्व बैंकबाट प्राप्त हुने रु २० अर्ब ऋण स्वीकृत गर्नाका साथै पोखरा विश्वविद्यालयअन्तर्गत जियोमेट्रिक इन्जिनियरिङ अध्यापनको स्वीकृति दिएको र नेपालमा विभिन्न देशबाट अध्ययन गर्न आउने विद्यार्थीको छात्रवृत्तिमा अन्तर्राष्ट्रियस्तरको मापदण्ड पुग्ने गरी वृद्धि गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ सम्मान दिइने निर्णय पनि गरेको छ । त्यस्तै करारमा रहेका कर्मचारीलाई दसैँ खर्च, पोसाक भत्ता, सामाजिक सुरक्षा बीमा, उपदान र उपचार खर्च अरु कर्मचारीसरह प्रदान गर्ने निर्णय भएको छ । बैठकले सङ्घीय प्रशासनिक पुनःसंरचना समिति गठन गरेको छ । समितिका पदेन अध्यक्षमा सामान्य प्रशासनमन्त्री तथा सदस्यमा सांसदत्रय राजेन्द्रप्रसाद पाण्डे, रेखा शर्मा र आरजु देउवा, पूर्वराज्यमन्त्री भुवन पाठक तथा सदस्य सचिवमा सामान्य प्रशासन मन्त्रालयका सचिव रहनुहुनेछ । त्यस्तै कार्यान्वयन सहजीकरण समितिमा प्रशासनविज्ञ काशीराज दाहाल, कानुनविद्मा कुमार योञ्जन तामाङ, परराष्ट्रविद्मा पूर्वसचिव मधुरमण आचार्य, प्रशासन एवम् सुरक्षाविज्ञमा माधवप्रसाद रेग्मी, पूर्वसचिव विजयकुमार मल्लिक र सदस्य सचिवमा प्रशासन सुधार महाशाखाका सहसचिव रहने मन्त्री कार्कीले जानकारी दिए ।  रासस

‘नोट चल्ने, भोट चल्ने ?’ कसरी बन्छ नेपाल ? भवन भट्ट

भवन भट्ट आवाधिक निर्वाचन लोकतन्त्रको सौधर्य हो र आधारभूत सिद्धान्त पनि हो । निर्वाचनमा जनताले आफ्नो मतदान गर्न पाउने अधिकार नै सबैभन्दा पहिलो आधारभूत अधिकार हो । त्यो अधिकार नेपालमा पनि छ । तर, हामी नेपाली नागरिक जो विविध कारणबस बिदेसिएका छौ र बैदेशिक रोजगारीको लागि आफ्नो देश भन्दा टाढा रहेका छौ, हामीले भने यो अधिकारबाट बन्चित हुनु परेको छ । देश दशक लामो द्वन्द्व र राजनीतिक अस्थिरतामा भएको बेला हामीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र तहस नहस हुनबाट जोगाएको छ र अझै पनि त्यो क्रम जारी नै छ। राष्ट्रभित्र शिपमुलक शिक्षाको अभाव रहेकोले बिदेशी भूमिमा आएर शिप र शिक्षा लिएर राष्ट्र निर्माणमा सहभागी हुन फर्किने योजनामा हामी मध्ये कैयौ छौ, तर राज्य र सरकारले हाम्रो अधिकारको बारे कति सोचेको छ ? शायद छैन । घर परिवार समाज र राष्ट्रले हामीले पठाउने नोट भने खुशी खुशी स्विकार्ने तर हाम्रो भोट गर्ने अधिकारको भने चर्चा समेत गरेको देखिदैन । तसर्थ, लामो समयदेखि सामाजिक सन्जालमा बहस भैरहेको यो मुद्दालाई औपचारिक रुपमा अझै गम्भिर रुपले बहस गर्ने उदेश्यले ‘नोट चल्ने भोट नचल्ने?’ अभियान सुरु गर्दैछौ । “नोट चल्ने भोट नचल्ने? “अभियानको क्रममा हामीले सामाजिक सन्जालमा बहस, राष्ट्रिय संचार माध्यमामा छलफल र बिदेशमा रहेको नेपालीहरुबीच चर्चा गरेर भविस्यमा हुने निर्वाचनमा नेपालीहरुले बिदेशबाटै मतदान कसरी गर्न सकिन्छ भन्ने सम्भावनामा पनि छलफल र अध्ययन गर्ने कार्यक्रम रहेको छ । यो अभियान केवल गुनासो गर्ने मात्र हैन नेपालीको आधारभूत अधिकारको सम्मानको लागि एक पहल हो । आसन्न निर्वाचन को तयारीमा रहेको सरकार, राज्य ब्यबस्था, राजनीतिक दल र नेपाली समाजलाई यो ‘नोट चल्ने भोट नचल्ने?’ अभियानबाट हामी हाम्रो देश नेपालको भविस्यप्रति कति सरोकार राख्दछौ र आफ्नो संलग्नताको लागि कति आतुर छौ भन्ने कुराको सन्देश दिन खोजेका छौ । धन्यवाद। भवन भट्ट, उपाध्यक्ष गैर आवसिय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद्)

आर्थिक पत्रकारलाई ७ लाख ५० हजार बीमाङ्कको जीवन बीमा निःशुल्क, अब मोटर बीमा भन्दा जीवन बीमा सस्तो

काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन) मा सदस्यता लिएका आर्थिक पत्रकारहरुको ७ लाख ५० हजार रुपैयाँ बीमाङ्कको निःशुल्क जीवन बीमा हुने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत आर्थिक पत्रकार समाजमा आवद्ध २५४ जना पत्रकारहरुलाई जीवन बीमा निःशुल्क गर्ने निर्णय गरेको हो । २ लाख ५० हजार रुपैयाँ बीमाङ्क रहेको ‘स्मार्ट जीवन बीमा’ बीमा लेखमा २ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा र २ लाख ५० हजार पूर्ण अशक्तता बीमाको सुविधा थप गरी जनही ७ लाख ५० हजार रुपैयाँ बीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । यो बीमा एक वर्षको लागि हुनेछ । त्यसपछि पुनः नविकरण गर्न सकिने सेजनका अध्यक्ष गोकर्ण अवस्थीले बताए । कम्पनीले सेजनसँग सहकार्य गरी जीवन बीमा गराउन गरेको सहयोग निकै महत्वपूर्ण रहेको उनले बताए । विहीबार राजधानीमा आयोजित कार्यक्रमा कम्पनीका अध्यक्ष रमेशप्रसाद गुप्ताले कुल १९ करोड ५ लाख बीमाङ्कको बीमा लेख सेजनका अध्यक्ष अवस्थीलाई हस्तान्तरण गरे । साङ्केतिक रुपमा एकमुष्ट बीमा लेख हस्तान्तरण गरिए पनि सेजनका सबै सदस्य विधिपूर्वक डकुमेन्टहरु कम्पनीलाई बुझाउनु पर्नेछ । डकुमेन्टहरु संकलन कार्य सेजन सचिवालयमार्फत हुने उनले बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पत्रकारहरुले ठूलो जोखिम लिएर काम गरिरहेको बताउँदै उनीहरुको जोखिम वहन गर्न सहयोग गर्ने उदेश्यले सेजनसँगको सहकार्यमा आर्थिक पत्रकारहरुको सामूहिक बीमा गराउने कार्य गरेको बताए । उनले नेपालमा बीमाको इतिहास ५० वर्ष लामो भए पनि स्वेच्छाले बीमा गर्ने, बीमा लेखहरु मध्ये पनि राम्रो बीमा लेख छानेर लिने अभ्यास कम भएको बताए । ‘हामी कोट किन्दा १० वटा हेरेर एउटा छान्छौं । तर बीमा गर्दा करकापको भरमा गर्छौ । कुन बीमा पोलिसी बढी राम्रो छ भनेर छान्ने प्रयास गर्दैनौं’–झाले भने । जीवन बीमालाई जनस्तरमा व्यापक रुपमा लैजाने उदेश्यका साथ कम्पनीले दैनिक १० रुपैयाँमा १० लाखको जीवन बीमा पोलिसी ल्याएको उनले बताए । ‘मानिसहरुमा जीवन बीमा महँगो छ भन्ने भ्रम छ । त्यो भ्रम हटाउन हामीले नयाँ पोलिसी ल्याएको छौं’ उनले भने–‘एउटा मोटर साईकल वा कारको बीमा भन्दा जीवन बीमाको  प्रिमियम (बीमा शुल्क) कम भएको पोलिसी हामीले ल्याएका छौं ।’ कम्पनीको अध्यक्ष रमेशकुमार गुम्ताले सेजनसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले देशमा आर्थिक विकासको वहस चलाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न आर्थिक पत्रकारले खेलेको भूमिकाको प्रशंशा गरे । नेपाल चम्बेर अफ कमर्शका महासचिव समेत रहेका अग्रवालले भने–‘आर्थिक पत्रकारहरुको भूमिकाले निजी क्षेत्रलाई उत्साहित गरिरहेको छ । हामीलाई नयाँ काम गर्न प्रेरित गरिरहेको छ ।’