मेलम्चीको पानी वितरण गर्न ५५ किमी पाइप बिच्छ्याउन बाँकी, चैतसम्म पानी आइसक्ने
काठमाडौं । मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको छ । असोजमै पानी ल्याइसक्ने सरकारको लक्ष्य थियो । सुरुङको काम नसकिएकाले र वर्षा याममा सडक हिलाम्मे हुने भएपछि निर्देशनालयले उपत्यकाका मुख्य सडकमा पाइप बिच्छ्याउने काम केही समयलाई रोकेको थियो । वर्षा याममा सडक खनेर पाइप बिच्छ्याउँदा धुलो र हिलोका कारण आवतजावतमा समस्या भएपछि वर्षा नसकिएसम्मका लागि रोकिएको काम पुनः शुरु गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । “पानी वितरणका लागि ६० किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको छ, ६० किमीमध्ये पाइप जोड्नुपर्ने स्थानबाहेकमा काम सकिएको छ, वितरण सञ्जालको ५५ किमी पुस मसान्तसम्म सक्ने योजना छ”, उनले भने। पुस मसान्तसम्म पहिलो चरणमा पानी वितरण गरिने स्थानमा पाइप बिच्छ्याइसक्ने योजना रहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याइएको स्थानमा पाइप परीक्षण पनि शुरु गरिएको छ । सुन्दरीजलबाट बाग्मतीको पानी प्रशोधन केन्द्रमा लगेर पाइप परीक्षण गरिएको हो । बाँकी करिब डेढ किमी सुरुङ निर्माण सकेर चैत मसान्तसम्म पानी काठमाडौं ल्याई वितरण गरिसक्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी सुरुङ निर्माण गरेर उपत्यकामा मेलम्ची खोलाको पानी ल्याउने अन्तिम तयारी भइरहेको छ । रासस
बैकिङ प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आइतबार ५ अर्ब उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाउन लागेको हो । ब्याज दर बोलकबोलबाट निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक २१ गते हुने छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । उनकाअनुसार बजारमा झण्डै १ खर्ब रुपैयाँ हारहारीमा तरलता छ । पछिल्लो समयमा तरलता बढ्दै गएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् । तरलता अभाव भएपछि गत वर्ष बैंकले १३ प्रतिशत ब्याजमा निक्षेप उठाएका थिए । गत वर्षको दोस्रौ त्रैमाशदेखि बजारमा ऋण लगानी गर्न पुँजी नभएपछि राष्ट्र बैंकले पटकपटक गरी ५० अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।
रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको संचित नाफाबाट ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय असोज २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । संचालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाबाट पारित भएपछि कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम तीन करोड ४६ लाख ६ हजार रुपैयाँ बोनस वितरण गर्ने छ । साथै, चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभांश (बोनस र नगद लभांशको कर सहित) वितरण गर्ने कम्पनीले जनाएको छ ।
संस्थागत सुशासनमा नयाँ प्वाल देखियो, कृष्णप्रसाद शर्मा एनएलजी इन्स्योरेन्सको लागि अयोग्य
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि प्रस्तावित कृष्णप्रसाद शर्माको फाइल बीमा समितिमा अड्किएको छ । कम्पनीले एक महिनाअघि शर्मालाई सिईओ नियुक्ती गर्न समिति समक्ष सहमति मागेको थियो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ अनुसार कुनै पनि बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नुपूर्व बीमा समितिको सहमति लिनु पर्छ । प्रस्तावित व्यक्तिको शैक्षिक योग्यता र निजको परिश्रमिक लगायत विषयमा समितिले अध्ययन गरी १५ दिन भित्र स्वीकृति दिनुपर्नेछ । तर शर्माको नाम सिफारिस भएको एक महिना बितिसक्दा पनि समितिले स्वीकृति दिएको छैन । बीमा समिति स्रोतको अनुसार शर्माको शैक्षिक योग्यता, अनुभवमा समस्या छैन । एनएलजी इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको निर्णय र बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा रहेको अस्पष्टताका कारण बीमा समितिले शर्माको फाइलमा सदर गर्न सकेको छैन । संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको दफा २८, उफदफा ४ (ज) मा लेखिएको बुँदा नै शर्माको लागि बाधक बनेको छ । दफा २८, उफदफा ४ प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन नसक्ने अवस्थाका बारेमा उल्लेख गरिएको छ । त्यसभित्र (ज) बुँदामा लेखिएको छ –‘समितिको अध्यक्ष वा सदस्य भईसकेको व्यक्ति’ प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन सक्ने छैन । शर्मा एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको सञ्चालक तथा अध्यक्ष भईसकेका व्यक्ति हुन् । ‘समितिको अध्यक्ष वा सदस्य’ भन्नाले कसलाई भन्न खोजिएको हो ? बीमा समिति भित्रै यतिबेला अन्यौलता देखिएको छ । उक्त निर्देशिकाको परिभाषमा ‘समिति वा उपसमिति’ भन्नाले यस निर्देशिकाको दफा १४ बमोजिम गठित बीमकको सञ्चालक समितिले आफ्नो काममा सघाउ पुर्याउन गठन गरेको समिति वा उपसमिति सम्झनुपर्छ’ भनेको छ । यस विषयमा अस्पष्टता देखिएकोले बीमा समितिको सञ्चालक समितिले नै व्याख्या गर्ने बीमा समिति स्रोतले बतायो । ‘समितिको अध्यक्ष वा सदस्य’ भन्नाले सञ्चालक समितिको अध्यक्ष वा सञ्चालक नै भन्न खोजिएकोले अस्पष्टतालाई व्याख्या गर्दा पनि शर्माको लागि एनएलजी इन्स्योरेन्समा ढोका खुला हुने सम्भावना कम रहेको बीमा समितिका अधिकारीहरु बताउँछन् । शर्माको लागि सञ्चालक समितिले प्रस्ताव गरेको पारिश्रमिकमा पनि समस्या उत्पन्न भएको छ । कम्पनीको सबैभन्दा कम पारिश्रमिक खाने कर्मचारीको भन्दा प्रमुख कार्यकारी अधिकृतको तलव १५ गुणा भन्दा बढी हुन नहुने व्यवस्था रहेकोमा सो भन्दा बढी पारिश्रमिक दिने प्रस्ताव गरेकोले बीमा समितिले सीमा भित्र बस्न निर्देशन दिएको छ । ‘राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भई सफलता पूर्वक संस्था चलाएको व्यक्ति, उहाँको व्यक्तित्व र ख्यातीलाई ध्यानमा राखेर आगामी साधारणसभाबाट अनुमोदन गर्ने गरी उचित पारिश्रमिकको प्रस्ताव गरेको हौं, नियामक निकायले जे निर्देशन दिन्छ, हामी त्यो पालना गछौं’ कम्पनी सञ्चालक समितिका अध्यक्ष विमलप्रसाद वाग्लेले भने । शर्मा वाणिज्य बैंकको प्रतिनिधि भएर एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक तथा अध्यक्ष भएको थिए । उनी आफै सोही कम्पनीको सेयरधनी होइनन् । ‘सेयरधनी वा प्रवद्र्धकको हैसियतमा शर्मा अध्यक्ष भएका होइनन्, त्यसैले उनी सो कम्पनीमा प्रमुख कार्यकारी अधिकृत बन्न योग्य व्यक्ति हुन्, त्यसमा स्वार्थ बाझिएको छैन । तर संस्थागत सुशासन निर्देशिकामा रहेका प्वाल उनको लागि वाधक बन्यो’ बीमा क्षेत्रका एक जानकारले भने । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा धेरै कमजोरी र अस्ष्टता रहेकोले त्यसमा संशोधन जरुरी भएको यस क्षेत्रका अनुवभीहरुले बताउँदै आएका छन् ।
एक वर्षमा एघार हजार पर्यटकद्धारा कोशी टप्पुको अवलोकन, सबैभन्दा बढी वैशाखमा
इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३/०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार दुई जना, सार्क मुल्कका ५४ र विदेशी मुलुकका १९६ गरी जम्ममा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेको संरक्षण अधिकृत साहले बताए । आरक्षमा सबैभन्दा बढी वैशाख महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम पुस महिनामा पर्यटक आएको तथ्यांकले देखाएको छ । आरक्षमा वैशाखमा एक हजार ८७४ जना पर्यटक आएको छ भने पुस महिनामा १२३ जना पर्यटक आएका थिए । आरक्षमा आवलोकन गरेको पर्यटकबाट सोही आर्थिक वर्षमा रु सात लाख ८५ हजार १०० राजस्व संकलन भएको आरक्षले जनाएको छ । आरक्षमा रहेको विभिन्न किसिमका चराचुरुङ्गी, अर्ना, हात्तीलगायतका जंगली जनावरको अवलोकन गर्नका लागि पर्यटक आउने गरेका छन् । रासस
सिन्धु विकास बैंकको हकप्रद सेयर बिक्रीको म्याद १४ दिन थप
काठमाडौं । सिन्धु विकास बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुलाको म्याद १४ दिन थप भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद बिक्री खुला गर्ने निर्णय गरेको थियो । सो अवधिमा दशैंको लामो बिदा पर्न गएको हुँदा कम्पनीले हकप्रद सेयरको खरिदको म्याद आगामी कात्तिक ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बैंकले चुक्तापुँजी बढाउन ८० प्रतिशत अर्थात २० करोड ९७ लाख रुपैयाँ बराबर २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ । इच्छुक सेयरधनीले कात्तिक ५ गते(बैंकिङ समयसम्म) एनआईबिएल क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर खरिद गर्न सक्नेछन् ।
सिनर्जी फाइनान्सको वार्षिक साधारणसभा कात्तिक १७ गते, के के छन् विशेष प्रस्ताव?
काठमाडौं । सिनर्जी फाइनान्सको १९औं वार्षिक साधारणसभा कात्तिक १७ गते हुने भएको छ । सभामा कम्पनीले ७० प्रतिशत (१ः०.७० को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउने प्रयोजनको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । उक्त निणर्य असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि गर्ने निर्देशन बमोजिम सो निर्णय गरेको हो । वार्षिक साधारणसभा प्रयोजनको लागि असोज २७ गतेदेखि कात्तिक १७ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । त्यस्तै, नेप्सेमा असोज २६ गतेसम्म कारोबार भएका सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
२० रुपैयाँ नोटमा गम्भीर त्रुटी, राष्ट्र बैंक भन्छ-थाहा छैन
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका बेला निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ नोटमा गम्भीर त्रुटी (बलण्डर) देखिएको छ । राष्ट्र बैंकले ०७२ सालमा छापेको तर गत दशैंमा निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ नोटमा रुपैयाँ बीस दीर्घ लेखिनु पर्नेमा ह्रस्व अर्थात रुपैयाँ बिस लेखिएको छ । नयाँ नोटमा गभर्नर डा. चीरन्जीवि नेपालको हस्ताक्षर छ । यसअघि तत्कालिन गभर्नर डा. युवराज खतिवडाले हस्ताक्षर गरेको २० रुपैयाँ दरको नोटमा रुपैयाँ बीस दीर्घ लेखिएको छ । राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले २० रुपैयाँ नोटमा त्रुटी भएको बारे अनविज्ञता प्रकट गरे । उनले आफुले बुझेर मात्र जानकारी दिने बताए । पुर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री गम्भीर त्रुटी भएको बताउछन् । “नोटको डिजाइन गर्ने बेलामा भाषाविद् पनि राखिएको हुन्छ” उनले भने “कसका कारण त्रुटी हुन गयो यसको अनुसन्धान हुनुपर्छ । नोटमा गल्ती लेख्न पाइँदैन ।”