विकासन्युज

के गर्ने नेपालीसँग रहेको ३ अर्ब भारू? भारतले सहटी सुविधा नदिँद नेपालमा भएको भारु अलपत्र

काठमाडौं ११, पुस । भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ। नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकको एक टोली भारत जाने भनिए पनि कहिले जाने भन्ने टुंगो लागेको छैन। पुराना भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ महिना पुगिसक्दा पनि नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा अहिलेसम्म कुनै पहल भएको छैन। ‘कहिलेसम्म नेपाली सर्वसाधारणसँग भएको भारू साटिने हो त्यसको कुनै टुंगो नलागेको र राष्ट्र बैंक समेत पर्ख र हेरको अवस्थामा छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायाण पौडेलले भने। भारतीय पक्षसँगको कुराकानीमा आगामी जनवरीसम्म यसबारे टुंगो लाग्ने आश्वासन पाएको उनले बताए। नेपालस्थित भारतीय दूतावासले भारु सहटीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि उत्पन्न समस्याको समाधानका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो। उक्त अध्ययन समितिले भारुबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भए पनि भारतीय पक्षबाट जवाफ नआएसम्म कुनै कदम चाल्न नमिल्ने राष्ट्र बैंकले बताएको छ। भारत सरकारले पनि नेपालसँगै भुटान तथा अन्य छिमेकी मुलुकमा रहेको भारु रकम के कसरी साट्ने भन्नेबारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो। सो समितिले पनि यसअघि नै अध्ययन रिपोर्ट बुझाइकेको छ। तर, भारत सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिन नसक्दा भारुबारेको अन्योलता टुंगोमा पुग्न सकेको छैन। नेपाल समाचारपत्रबाट ।

वैदेशिक रोजगारीमा गएका धादिङका २३ युवा बेखबर, मलेसियामा मात्रै १२ वेपत्ता

काठमाडौं ११, पुस । रोजगारकिा लागि विभिन्न समय खाडी मुलुक पुगेका धादिङका २३ युवा लामो समयदेखि परिवारको सम्पर्कमा नआएको उजुरी परेका छन् । यी मध्ये मलेसियामा १२, भारतमा तीन, साउदीमा दुई कुवेतमा दुई, युएईमा दुई, कतारमा एक र जर्जियामा एकजना बेपत्ता छन् । धादिङमा पछिल्लो दुई वर्ष अवधिमा सूचना तथा परामर्श केन्द्रमा तीन सयभन्दा बढी उजुरी परे । यीमध्ये २३ युवा परिवारको सम्पर्कमा नआएको केन्द्रले जनाएको हो । बेपत्तामध्ये कागजपत्र अभावका कारण निकै कमलाई मात्र उद्धार गर्न सकिएको सामी परियोजनाका कार्यक्रम संयोजक गंगा सुवेदीले बताइन् । वेदेशिक रोजगारीमा जानेमध्ये धादिङ उत्तरी क्षेत्रका युवा बढी रहेको पाइएको छ । नागरिक दैनिकबाट।

निगमलाई साढे २२ अर्बमै दुई वाइडवडि दिने प्रस्ताव, आगामी चैतत्रिभै डेलिभरी दिन अमेरिकी कम्पनी तयार

काठमाडौं ११, पुस । अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी ‘एएआर कर्पोरेसन’ ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुई थान ठूला आकारका ‘वाइड बडी’ जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर ९११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ० का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो। ‘हामीलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेछ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘प्रतिजहाज १० करोड ४८ लाख डलरको प्रस्ताव सन् २०१६ को बजार भाउअनुसार रहेको एएआरले उल्लेख गरेको छ।’ निगमलाई २ सय ५० देखि २ सय ८० सिटसम्मको ए३३०(२००ु सिरिजका दुईथान वाइड बडी बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। यिनमा जहाज भाडामा दिने कम्पनीदेखि इन्जिन निर्मातासम्म थिए। असोज १० गते सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बोलपत्र ९ग्लोबल टेन्डर० मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न प्रतिस्पर्धामा उत्रिएका थिए। निगमका अनुसार केएल एरो पार्टस्, केजेटी इन्भेस्टमेन्ट एन्ड वान वल्र्ड क्लोजआउट्स लिमिटेड, रन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, ले ग्रुप डेल्टा, एएआर कर्पोरेसन र सूर्या एयर सपोर्टले दुईथान वाइड बडी उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए। निगमको टेन्डर सर्तअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस आफैं प्रतिस्पर्धामा सहभागी हुन पाउने भए पनि टेन्डर खोल्दा उसको प्रस्ताव परेको थिएन। बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसले भेने इन्जिन उपलब्ध गराउन प्रस्ताव हालेको थियो। ती कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव सुक्ष्म तरिकाले मूल्यांकन गर्न नायब महाप्रबन्धक आरबी शाहको संयोजकत्वमा निगम व्यवस्थापनले ११ सदस्यीय समिति गठन गरेको थियो। समितिले पुस २ गते महाप्रबन्धक कंसाकारलाई मूल्यांकन प्रतिवेदन बुझाएको थियो। ‘यही साता वाइड बडी मूल्यांकन प्रतिवेदन सञ्चालक समितिमा पेस गर्छु,’ कंसाकारले भने, ‘दुइटै जहाज ब्रान्ड न्यु (कारखानामा निर्माणाधीन) उपलब्ध गराउने एएआरको प्रस्तावबाट हामी खुसी नहुने कुरै भएन। त्यसकारण सञ्चालक समितिले यसलाई तुरुन्तै पास गर्ने विश्वास छ।’ नागरिक दैनिकबाट ।

तरलता अभावले व्याजदर बढेको बढ्यै, मुद्दती निक्षेपको ब्याज ११ प्रतिशतसम्म

काठमाडौं ११, पुस । मुद्दती निक्षेपको ब्याजदर बढेर साढे १० प्रतिशत नाघेको छ। तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ऋण दिन मिल्ने रकम अभाव भएपछि वाणिज्य बैंकहरूले गत वैशाखदेखि मुद्दती निक्षेप बढाउन सुरु गरेका थिए। त्यो क्रम अहिले पनि जारी छ। गत शुक्रबारसम्म केही वाणिज्य बैंकले झन्डै ११ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिएका छन्। दुईतीन वटा वाणिज्य बैंकले पौने ११ प्रतिशतमा कर्मचारी सञ्चय कोषको मुद्दती निक्षेप उठाएका छन्,’ स्रोतले भन्यो, ‘कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० मा दबाब पुगेका केही बैंकले ११ प्रतिशतभन्दा पनि धेरैमा निक्षेप संकलन गरेका छन्।’ वैशाखयता मुद्दती निक्षेपको ब्याजदर दोब्बरभन्दा माथि पुगेको छ। नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपेन्द्र पौड्यालले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतमाथि पुगेको स्वीकारे। ‘कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन दर कम भएकाले ब्याजदर बढेको हो,’ उनले भने, ‘यही दरले ब्याजदर बढदै गयो भने वित्तीय प्रणालीमा समस्या आउन सक्छ।’ बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले पनि मुद्दती निक्षेप दोहोरो अंकमा पुगेको बताए। ‘हाल बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर १० प्रतिशतमाथि छ। यो बढ्ने क्रममा छ,’ उनले भने। लगानीयोग्य रकममा कमी आएसँगै मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा पुगेको र यही कारण बैंकहरूले सबै प्रकारका निक्षेप दर बढाउन थालेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘पहिले मुद्दती निक्षेपको ब्याजमात्र बढाएका बैंकहरूले अहिले अन्य बचत योजनामा पनि ब्याजदर बढाउन थालेका छन्,’ उनले भने, ‘अहिले सुरुवात मात्र भएको छ। आउँदा दिनमा यसले अझै तीव्रता पाउँछ।’ सरकारी खर्च बढ्न नसक्नु, ऋणको माग बढ्नु, निक्षेप संकलन वृद्धिदर कम हुनुलगायत कारण ब्याजदर बढ्न थालेको हो। ब्याजदर बढेर ठ्याक्कै यतिमा पुग्यो भन्ने अवस्था नरहे पनि लगानीयोग्य रकममा कमी आएपछि ब्याजदर बढेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले स्वीकारे। ‘अधिकांश वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत नजिक छ,’ उनले भने, ‘यसले पनि बैंकहरूलाई ब्याजदर वृद्धिको दबाब परेको हुन सक्छ।’ बैंक तथा वित्तीय संस्थामा तरलता घटदै गए पनि अभाव भने नभएको उनले दाबी गरे। भारतीय नाकाबन्दीपछि अर्थतन्त्रमा सुधार आएर ऋणको माग बढ्न थालेको थियो। त्यो क्रम बढदै जाँदा निक्षेपभन्दा कर्जा प्रवाह बढी हुन थालेको थियो। यसले बैंकहरूको सीडी रेसियोमा दबाब पर्‍यो। सीडी रेसियो भनेको कर्जा निक्षेप अनुपात हो। यसको अर्थ निक्षेपको कति प्रतिशत लगानी भएको छ भन्ने पनि हो। केन्द्रीय बैंकको नियमअनुसार निक्षेपको ८० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न पाइँदैन। हाल वाणिज्य बैंकहरूको सीडी रेसियो औसत झन्डै ७९ प्रतिशत छ। तर, केही बैंकको सीडी रेसियो ८० प्रतिशत माथि छ। जुन राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा बढी हो। अधिकतम सीमा नाघेपछि राष्ट्र बैंकले केही बैंकलाई स्पष्टीकरण पनि सोधेको छ। स्रोतले भन्यो, ‘यही कारण केही बैंकले ऋण प्रवाह गर्न पनि छाडेका छन्।’ यस्तो अवस्थामा कर्जा प्रवाहका लागि उनीहरूले निक्षेप बढाउनुपर्छ। आपत् परेकै कारण उनीहरूले महँगो दरमा भए पनि निक्षेप संकलन गर्नुपर्ने बाध्यता परेको हो। सञ्चालनमा रहेका बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंकलगायतको सीडी रेसियो ६० देखि ७० प्रतिशत हाराहारी छ। यसकारण वाणिज्य बैंकको सीडी रेसियो औसत ८० प्रतिशत तल रहन गएको हो। रेमिट्यान्स वृद्धिदर घट्नु र सरकारी खर्च बढ्न नसक्नु ब्याजदर वृद्धिका प्रमुख कारण हुन्। हाल सरकारी ढुकुटीमा करिब १ खर्ब ९५ अर्ब रुपैयाँ निष्क्रिय बसेको छ। सरकारी खर्च बढे त्यो रकम बजारमा आउने भएकाले बजारलाई केही राहत पुग्न सक्छ। कान्तिपुर दैनिकबाट ।

राजविराजकाे औद्योगिक क्षेत्रमा गाईभैँसी र गँजडी, १० वटा उद्योग बस्ने ठाउँमा एउटा डेरी मात्र

सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख काटिने र गाईभैँसीलगायतका घरपालुवा जनावरले सो क्षेत्रमा लगाइएका बोट बिरुवा नष्ट गरिदिने गरेका छन् । हुर्किएका ठूला रुख काटेर चोरी गर्ने र गाँजा खाएका व्यक्ति पसेर झैझगडा गर्ने गरेका कारण त्यहाँको सुरक्षा व्यवस्थामा समस्या रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सञ्जय थापाले गुनासो गरे । बिदामा सो कार्यालयका कर्मचारीहरु औद्योगिक क्षेत्र बाहिर जाँदा स्थानीय बासिन्दाले विभिन्न किसिमका समस्या उत्पन्न गराउने गरेको कर्मचारीको गुनासो छ । हुलाक, स्वास्थ्य क्लिनिक, बैंक, अतिथिगृह चमेनागृह, विद्युत्, टेलिफोनलगायतका सुविधासहित १० वटा उद्योगको क्षमता भए पनि औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योगमात्र सञ्चालनमा रहेको छ । कार्यालय प्रमुख थापाका अनुसार पहिले स्थापना भएका महालक्ष्मी खाद्य उद्योग, कृष्ण खाद्य उद्योग, पदम प्लास्टिक उद्योग, माँ भगवती कृषि उद्योग, फुड इन्डस्ट्रिज, अल नेपाल टि एन्ड कफी सेन्टर प्रालि, एस एन्डको इलेक्ट्रोनिक्स प्रालिलगायतका उद्योग बन्द भइसकेका छन् । उद्योग सञ्चालनका लागि औद्योगिक लगानी तथा वातावरण र औद्योगिक सुरक्षा बल आवश्यक रहेको बताउँदै उनले जिल्ला सुरक्षा समन्वय समिति, सप्तरीले यसबारे निर्णय गरेर पठाए पनि अहिलेसम्म कुनै पहल नभएको दुखेसो पोखे । सो निर्णयबारे तीन महिना अगाडि जिल्ला सुरक्षा समन्वय समितिले गृह मन्त्रालयमा लेखी पठाएको जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रशासन शाखाले जनाएको छ । सो औद्योगिक क्षेत्र भारत सरकारको लगानीमा दुई दशक अगाडि निर्माण भएको हो । एक दशक अगाडि भूमिगत समूहको चन्दा आतङ्क, असुरक्षा र बजार अभावका कारण त्यहाँका उद्योग पलायन भएका राजविराजका उद्योगी व्यवसायी बताउँछन् । रासस

जलविद्यतु क्षेत्रमा बढ्दो सेयर लगानी र नियमनका चुनौति

जलविद्युत क्षेत्रमा नयाँ लगानी थपिदै छ । देशको आवश्यकता पनि हो । सरकारले पनि यो क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति लिएको छ । लगानीको दायरा फराकिलो बनाउन र स्थानीय स्रोतमा स्थानीय बासीको स्वामित्व पनि जोगाउन स्थानीयबासीलाई सम्बन्धित परियोजनाले सेयर लगानी गर्ने मौका दिलाउन सरकारको तर्फबाट नीति लिइएको छ । परिणाम जलविद्युत कम्पनीहरु पब्लिक कम्पनीको रुपमा आउन थालेका छन् । यस्ता कम्पनीमा संस्थापक सेयरधनी थोरै संख्यामा हुन्छन् तर ठूलो लगानी उनीहरुले गरेका हुन्छन् । त्यो स्वाभाविक पनि हो । यस्ता कम्पनीमा साना लगानीकर्ताको लगानी पनि थोरै हुन्छ तर लगानीकर्ता धेरै हुन्छन् । टाउको धेरै भए पनि लगानी थोरै भएको कारणले साना लगानीकर्ता अन्यायमा पर्ने सम्भावना धेरै हुन्छ । ठूला लगानीकर्ताले कसरी बद्मासी गर्छन र साना लगानीकर्तालाई ढुवाउँछनु भन्ने एउटा उदाहरण हो नेशनल हाइड्रो पावर कम्पनी । जसमा प्रवद्र्धकले ५५ करोड घोटाला गरेको पाईएको छ । संधै विवादमा आउने नेशनल हाईड्रो पावर कम्पनीमा ५५ करोड ५४ लाख रुपैयाँ घोटाला तथ्य सोही कम्पनीको लेखापरिक्षकले औल्याएका छन् । आर्थिक वर्ष २०६८/६९ देखि २०७१/७२ सम्मको आयव्यय लेखापरिक्षण गरी तयार पारिएको हिसाव कितावमा उक्त रकम बराबरको कारोबार अनियमित तरिकाबाट गरिएको लेखापरिक्षकले औल्याएका छन् । नेशनल हाईड्रपावरको सबैभन्दा ठूलो रकम सुनकोशी जलविद्युत आयोजनामा नाममा खर्च देखाएर प्रवद्र्धकहरुले करोडौ रुपैयाँ अनियमितता गरेका छन् । नेशनल हाईड्रोको सहायक कम्पनीको रुपमा खडा गरिएको सुनकोशी हाइड्रो पावरले सुनकोसीमा ४.५ मेघावाटको आयोजना बनाउने प्रयास गरेको थियो । ३५ करोड रुपैयाँ सेयर लगानी लगानी, १९ करोड ऋण देखिएको सो कम्पनीमा हालसम्म ५४ करोड खर्च गरेको देखिएको छ । निर्माणको काम २० प्रतिशत पनि नहुँदै सरकारले यस कम्पनीलाई दिएको निर्माण तथा सञ्चालन अनुमति (लाईसेन्स) खारेज गरिसकेको छ । सो कम्पनीमा भएको सबै लगानी माटोमा विलाएको छ । अनियमितता पनि कतिसम्म भने नेशनल हाइड्रो पावर कम्पनीका प्रवद्र्धकले नक्कली हकप्रद सेयर निश्काशनबाट ७ करोड रुपैयाँ संकलन गरेर खाईदिएछन । डुबेको र अस्तित्व नै नभएको कम्पनीलाई ६ करोड ४२ लाख ५७ हजार ६४१ रुपैयाँ अग्रिम भुक्तानी भएको देखाएर घोटाला गरिएको छ । सामान खरिदका लागि अग्रिम भुक्तानी भनेर १ करोडौं भुक्तानी गरिएको छ । त्यसको सपोटिङ डकुमेन्ट केही पनि छैन । यस्तै अनियमितताका कारण २० वर्षदेखि कम्पनीले सेयरधनीलाई एक रुपैयाँ पनि लाभांश दिन सकेको छैन । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ छ । २०७२ असार मसान्तसम्ममा कम्पनी ३० करोड संचित नोक्सानीमा छ । कम्पनी करिव ८ करोड रुपैयाँ ऋणमा छ । नेशनल हाईड्रो जस्तै जलविद्युत क्षेत्रमा धेरै कम्पनीहरुले सर्वसाधारणलाई सेयर बिक्री गरे पैसा उठाएका छन् । तर नियमनकारी निकायको अभावमा जलविद्युत कम्पनीका प्रवद्र्धकहरु किर्ते कारोबार देखाई खर्च बढाउने, त्यसबाट प्रवद्र्धकहरुले मात्र लाभ लिने, साधारण सेयरधनी सधै मर्कामा पर्ने गरेको देखिएको छ । एनबी समूहले झै यति बेला न्यौपाने समूहले जलविद्युत कम्पनीका अराजकका मच्चाउन थालेको छ । नेपाल स्टक एक्स्चेन्जमा ९ वटा जलविद्युन कम्पनी सूचिकृत भईसकेका छन् । त्यसमा अपि पावर, अरुण भ्याली, बरुण हाइड्रपावर, बुटवल पावर, चिलिमे हाईड्रोपावर, नेशनल हाईड्रो, नग्दी गु्रप, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर लगायत छन् । पाँच वटा हाईड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन प्रक्रियामा छन् । यूनाईटेड मोदी हाईड्रोपावर, अरुण कावेली पावर, नेपाल हाईड्रो डेपलपर, सिनर्जी पावर डेपलपर्स, हिमालयन पावर, छ्याङदी हाईडट्रपावर कम्पनीहरुले सेयर निष्काशन गर्न चालु आर्थिक वर्षमा स्वीकृत पाईसकेको छन् । अखुखोला जलविद्युत्, मैलुङ खोला जलविद्युत्, रिधी विद्युत कम्पनी लगातय कम्पनीले सार्वसाधारणमा सेयर निश्काशन गरी पुुँजी संकलन गर्दैछन् । यी कम्पनीको अनुगमनको लागि प्रयाप्त ध्यान नदिने हो भने सर्वधारण लगानीकर्ताको लागि जलविद्युत लाभको क्षेत्र नभई अभिसापको क्षेत्र बन्नसक्छ ।

जापानको विमानस्थलमा भीषण हिमपात, हजारौँ यात्रु अलपत्र

टोकियो, १० पुस । उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन् । उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको न्यु चिटोसे विमानस्थलका सयौँ उडान हिमपातका कारण स्थगित भएका छन् । विमानस्थलका सुरक्षा अधिकारीहरुले बिहीबार दुई हजार पाँच सय, शुक्रबार छ हजार र शनिबार दुई छ सय जना विमानस्थलमै जवरजस्ती रातभरी बसेका बताएका छन् । बिदा मनाउनका लागि सबैजसो उडानहरु भरिएकाले विमानस्थलमा यात्रुहरुको दुर्दशा भएको जापानको राष्ट्रिय प्रसारण एनएचकेले जनाएको छ । शुक्रबार मात्रै २८० भन्दाबढी उडान र हप्तान्तमा सयभन्दा बढी रेलसेवा रद्ध भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर आइतबारदेखि भने मौसममा धेरै सुधार आएको बताइएको छ । निकै ठूलो पहाडी क्षेत्र र धुले हिउँका लागि प्रख्यात होकाईदोमा जापानका नागरिकबाहेक अस्ट्रेलिया र चीनबाट पनि पर्यटक आउने गर्दछन् । रासस/एएफपी

बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो । शेयर बजारमा म प्रवेशको परिवेश पनि आफ्नै छ । मेरा धेरै चिनेजानेका आफन्तहरुले शेयर बजारमा लगानी गरि मनग्य कमाएका थिए । तीन चार बर्ष अगाडी च्याउरिएको अनुहार सहित बसमा हिड्नेहरु आफ्नै कारमा हिंड्न् थालेका थिए । त्यो सबै देखेकी म र तिनीहरु भन्दा सक्षम छु भन्ने मेरो बुझाईले म पनि केही गर्न सक्छु त्यो पनि शेयर बजारबाटै भन्ने सोची यो क्षेत्रलाई नै बचत लगानीको क्षेत्रको रुपमा रोजेकी थिए । जम्मा जम्मी ५ लाखबाट शुरु गरेको यो मेरो आफ्नो ब्यबसाय गत असारमा आउदा करिब १२ लाखको भएछ । म अति नै उत्साहित थिए । मेरो सम्पति बढेको देखेर । मेरो लोभ अनि जोस संगसगै बढेको थियो। मैले मेरा बुवा दाजु भिनाजु सबैलाई मेरो प्रगतिबारे सुनाए । सबै खुशी हुनु भयो । सबैले मलाई स्याबासी दिनुभयो । छरछिमेकले बजारबाट कमाएको देखेको हाम्रो परिवार अनि मैले नै कमाएको प्रमाण देख्नु भएको मेरो बुवा शेयर बजारप्रति अति नै उत्साहित हुनुभयो । मेरो शेयर बजारमा गरेको प्रगति देखेर मेरो बुवाले ५८ वर्ष निजामती सेवामा जागीर गरेर अबकास हुँदा प्राप्त गरेको रु २० लाख साउनको पहिलो हप्ता मलाई लगानी गर्न दिनुभयो । म सारै उतसाहित भए । तुरुन्तै त्यो रकम बजारमा लगानी गरे । सायद त्यतिबेला नेप्से १८०० मा थियो । सबै भन्दै थिए बजार छिट्टै २२०० पुग्छ । बुवाले जीवनकाल भरी कमाउन नसकेको रकम अब म बुवालाई कमाएर दिन्छु भन्ने प्रतिबद्धता साथ बजारमा बुवाको त्यो मेहनतको कमाई लगाए । साथी भाईको सल्लाह र मेरो आफ्नै विवेकलेले गरेको त्यो लगानी आज धेरै घटेको छ । मैले गत बर्ष गरेको लगानी त नोक्सानमा छैन अझसम्म तर मेरा बुवाको लगानी ३०% जति नै घटेको छ । मलाई मेरो लगानीको भन्दा मेरो बुवाको जिन्दगी भरीको कमाई डुबाएकोमा ठूलो पश्चाताप छ । बेलुका सुत्न गाह्रो भएको छ । दिन एकान्त प्रेमी बन्न थालेको छ । कहाँ जाउ के गरौं जस्तो भएको छ । बेचौ घाटा छ नबेचौ अझै कति नोक्सान हुने हो थाहा छैन । सधै यस्तै तरङ्गले मन बिचल्लीत भएको छ । बुवाको जिन्दगी भरीको त्यो मेहनत को कमाई ३०% घटेको कसरी सहन गर्न सक्नु हुने छैन । धेरै साथी भाइसंग सरसल्लाह गरेको छु । कसैले भन्छ यो त घटन मात्र सुरु गरेको अबस्था मात्र हो नानी । सम्झ तिमीले शेयर खरिद गर्दाको अबस्था भर्खरै असारको शुरुको खोलाको बहाव थियो । तिम्रो बुवाको लगानी मध्य साउनको खोलाको बहाव थियो । मानौ अहिलेको अबस्था दसैं तिरको खोलाको बहाब हो । पौषमा पानी जम्न त बाकी नै छ । बिस्तारै चैत आउछ अनि हिउँ पग्लिन्छ र फेरि बर्षा शुरु हुन्छ अर्थात फेरि शेयर चरम उत्कर्शमा पुग्छ । धैर्य गर नानी तिमी गलत समयमा बजार प्रवेश गरेउ । अर्को साथीलाई सोध्यो यो पुरै ठूलाहरुको चलखेल हो । यस्तो अवस्था पटक पटक आएको हो । अब ठूलाले सबै शेयर बेची सके । केही दिनमा यिनीहरु बजारमा आइ हाल्छन । अनि क्रमस बजार बढ्छ । तिमीले तिम्रो बुवाको सपना छिट्टै साकार गर्दैछौ । शुक्रबार राती अबेर सम्म एस्तै कुराले राती २ बजेसम्म निद्रा परेन अनि बल्ल २:३० बजे निदाएछु । तर झन डरलाग्दो सपनी देखे । मन पुरै बेचैनी छ । के गरु कसो गरु भनेर । फेसबुकबाट