विकासन्युज

नवलपरासीको बुङ्दीकालीमा काँग्रेस-एमालेले अध्यक्ष उपाध्यक्ष बाँडे

काठमाडौं नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेको उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा ३ हजार १ सय ९१ मति सहित कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका हुन् । बुङ्दीकालीको उपाध्यक्षमा भने ३ हजार १ मतसहित एमालेकी उम्मेदवार डिलकुमारी सारु विजयी भएकी हुन् ।

राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब ७ करोड

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नौ महिनामा २ अर्ब ७ करोड नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा ४६ करोड बढि नाफा यसपालीक आर्जन गरेको हो । गत आवको नौ माहिनामा राष्ट्रिय बाणिज्य बैंकले जम्मा एक अर्ब ६१ करोड मात्रै नाफा कमाएको थियो । बैंकले ६ अर्ब ३ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३५ करोड मात्रै ब्याज खर्च गरेको छ । ८ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड रुपैंयाँ रहेको छ । बैंकले ३ दशमलब ५२ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर २ दशमलब ७० प्रतिशतमा ल्याएको छ ।

कसरी चल्छन् स्थानीय तह ? सरकार ३० वटा कार्यकारी आदेश जारी गर्ने तयारीमा

काठमाडौं । पहिलो चरणको निर्वाचन परिणामसँगै स्थानीय तहमा आर्थिक अधिकारसहितका जनप्रतिनिधि बहाल हुँदैछन् । संविधानअनुसार उनीहरू निर्वाचित भएर शपथ ग्रहण गरेको भोलिपल्टदेखि नै केन्द्र सरकारले जस्तै कार्यकारिणी, व्यवस्थापकीय र न्यायपालिकाको हैसियतमा कार्यसम्पादन गर्नेछन् । यी कार्य सरल, सहज र प्रभावकारी किसिमले सम्पादन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न ३० वटा कानुनको नमूना ढाँचा बनाएर पारित गर्ने प्रक्रिया अघि बढाइसकेको सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । स्थानीय तहको कानुन प्रमाणीकरण आदेश, कार्यविभाजन तथा सम्पादनसम्बन्धी लगायतका ३० वटा कानुनको ढाँचा मन्त्रालयले तयार गरिसकेको सचिव थपलियाले बताए । आवश्यक सबै कानुन नमूना ढाँचा समयमा नै ल्याउने उनले बताए । कर तथा दस्तुर उठाउने, वैठक सञ्चालन गर्ने, आयव्यय प्रस्तुत गर्ने लगायतका नमूना कानुन तयार पारेका छौं,” उनले भने, “स्थानीय सरकारले केन्द्र सरकारले झैं गरिआएका कार्यकारिणी, व्यवस्थापकीय, न्यायपालिकासम्बन्धी कार्य गर्नका लागि  स्थानीय तहको शासन सञ्चालन ऐन नै छिटो आउनु पर्छ ।” सचिव थपलियाले समयमै ऐन नआउँदा समस्या आएको भन्ने स्वीकार गरे । “सबैभन्दा राम्रो ऐन आएर मात्रै निर्वाचनमा जान पाएको भए हुन्थ्यो, उम्मेदवारले पनि आफ्ना काम, कर्तव्य र अधिकार बुझ्थे,” सचिव थपलियाले भने, “ऐन बनाउन केही ढिलाइ भएकै हो । ऐन नभएपनि कार्यकारी आदेशले स्थानीय तहका काम अहिले पनि नरोकिएकोले जनप्रतिनिधि आएपछि पनि रोकिँदैन ।” पहिलो चरणको निर्वाचन सम्पन्न हुन करिब १५ दिन जति लाग्ने भएकोले सपथ ग्रहण, नगर र गाउँ सभामा मनोनित र जिल्ला सभा निर्वाचनका प्रक्रिया पूरा गर्न १५ दिनजति लाग्ने देखिन्छ । यो बीचमा त स्थानीय शासन विधेयक स्वीकृत भएर ऐन आउनेमा थपलिया आशावादी छन्  । मन्त्रालयले बनाएको कार्यकारी आदेशबाट कर्मचारीले स्थानीय तह सञ्चालन गरिरहेकाले त्यसकै आधारमा जनप्रतिनिधिले पनि काम गर्ने थपलियाले बताए । “उता संविधानले ती तहले  कानुन बनाएर लागू गर्नसक्ने पनि व्यवस्था गरेकोले स्थानीय तहले आफूलाई आवश्यक पर्ने आवश्यक पर्ने कानुन, नीति बनाएर अघि बढ्न सक्नेछन्,” उनले भने । प्रस्तावित उक्त ऐनमा स्थानीय तहले सार्वजनिक खरिद गर्नुपर्दा संघीय सर्वाजनकि खरिद ऐनको पालना गर्नुपर्ने छ । स्थानीय तहले सार्वजनकि खरिद नियमावली बनाइ लागू गर्न सक्ने उल्लेख गरिएको छ । के छ सञ्चित कोषमा ? संविधानको भाग १९ को स्थानीय आर्थिक कार्य प्रणालीमा २२८ मा कर लगाउन वा ऋण लिन नपाइने उल्लेख छ । यसैगरी २२९ मा स्थानीय सञ्चित कोषको व्यवस्था छ । स्थानीय सञ्चित कोषमा स्थानीय तह अन्तर्गतका प्रत्येक गाउँपालिका र नगरपालिकामा एक स्थानीय सञ्चित कोष रहनेछ । त्यस्तो कोषमा गाउँपालिका वा नगरपालिकालाई प्राप्त हुने सबै प्रकारको राजस्व, नेपाल सरकार वा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा गाउँपालिका वा नगरपालिकाले लिएको ऋण रकम र अन्य स्रोतबाट प्राप्त हुने रकम जम्मा हुने उल्लेख गरिएको छ । धारा २३० मा गाउँपालिका र नगरपालिकाको राजश्व र व्ययको अनुमानको गरिएको छ । स्थानीय तहले प्रत्येक आर्थिक वर्षको राजश्व र व्ययको अनुमान स्थानीय कानुन बमोजम गाउँ वा नगर सभामा पेश गरी पारित  गराउनु पर्ने व्यवस्था गरिएको छ । स्थानीय तहलाई दिने बजेटका बारेमा अर्थ र स्थानीय विकास मन्त्रालय र राष्ट्रि योजना आयोगबीच घनिभूत छलफल भइरहेको छ । सबै स्थानीय तहलाई न्युनतम बजेट समान रूप्मा दिएपनि  क्षेत्रफल, जनसंख्या, विकासको स्तर, मानव विकास सूचांकअनुसार पनि केही बजेट दिइने बताइएको छ । स्थानीय तहले स्थानीय कानुन बमोजिम आकस्मिक कोष पनि स्थापना गरी सञ्चालन गर्न पाउने ऐनमा प्रस्तावित छ । (काराेबार दैनिकबाट)

बेलकोटगढी नगरपालिकामा एमालेको अग्रता, १ नम्बर वडामा एमाले प्यानल विजयी

काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर १ को मतगणना सकिएकोछ । मतपरिणाम अनुसार सो वडामा अध्यक्षसहित सबै सदस्यहरु नेकपा (एमाले)लेका प्रतिनिधिहरु विजयी भएका छन् । नगरपालिकाको मेयर र उपमेयर पदमा पनि एमालेले अग्रता लिएको छ । वडा अध्यक्षमा सुब्ब तामाङले ३८६ मत ल्याएर विजयी भएका छन् । माओवादीका उम्मेदवारले २७० मत पाएका छन् । वडा सदस्यहरुमा एमालेका सुविता नेपाल, प्रकाश सापकोटा, हर्कबहादुर तामाङ विजयी भएका छन् । मेयर पदका प्रत्यासी एमालेको राजेन्द्र रमण खनालले ३६३ मत पाएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार जगत गुरुङले २६२ मत पाएका छन् । उपमेयरमा एमालेका रूपा सापकोटाले ३९० मत ल्याएर १११ मतले अग्रता लिएकी छिन् ।

सबै बैंकका अध्यक्ष सपथ खान राष्ट्र बैंक जानु पर्ने, सिभिल बैंकका अध्यक्षले लिए गभर्नरसँग पहिलो सपथ

काठमाडौं । सिभिल बैंकको अध्यक्ष बनेका अम्बीर बोगटीले सोमबार नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट सपथ ग्रहण लिएका छन् । बैंकको अध्यक्षको हैसियतमा गभर्नरसँग सपथ लिने उनी पहिलो बैंकर्स हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ अनुसार सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंक समक्ष सपथ लिनु पर्नेछ । सञ्चालक तथा कार्यकारी प्रमुख ले अध्यक्ष समक्ष र अन्य पदाधिकारी तथा कर्मचारीले कार्यकारी प्रमुख वा निजले तोकेको पदाधिकारी समक्ष सपथ लिनुपर्ने हुन्छ । नयाँ ऐन आएपछि सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सांसद भएकै कारण पद त्याग्नु परेको थियो । तामाङले राजीनमा दिएपछि सञ्चालक बोगटी अध्यक्ष भएका हुन् । उनी बैंकको स्थापना कालदेखि नै बैंकका संचालक थिए । सभासद तामाङले राजीनामा गरेपछि रिक्त सञ्चालक पदमा उनकी श्रीमती सृजना शाक्य तामाङ्गले नियुक्त भएकी छिन् । बैंक नयाँ सञ्चालक समितिले बैंकको कार्यशैलीमा सुधार गर्दै सेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घता व्यक्त गरेको छ । नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नवनियूक्तका.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताएका छन् ।

काठमाडौं महानगरमा एमाले अगाडि

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए । राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना शुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो । उनका अनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु दर्शनाले २५, नेपाली काँग्रेसका राजुराज जोशीले २३ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले दुई मत प्राप्त गरेका छन् । यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याएका छन् । कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको उनले जानकारी गराए । वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो । रासस

बूढानीलकण्ठ नगरपालिकामा एमालेको अग्रता

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा नेकपा (एमाले) का उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५ मत, नेकपा (माओवादी केन्द्र) का रवीन अधिकारीले २४८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा एमालेकी रमादेवी राईले ८७५, काँग्रेसकी सुभद्रा खड्काले ५७१, माओवादीकी होमकुमारी दुलालले २७३ र राप्रपाकी सावित्रा थापाले ४६ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए । नगरपालिकामा हाल साविकको कपन गाविस अर्थात् वडा नं १२ र १३ को मतगणना भइरहेको उनले बताए । रासस

तारर्केश्वर नगरपालिकामा काँग्रेस अघि

तारर्केश्वर । तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा (एमाले) दोस्रो र नेकपा(माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् । पाँच बजेसम्म भएको मतगणनामा नेपाली काँग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ । तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् । कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । रासस