चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान
काठमाडौं । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौं महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो । औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो । पोखरा महानगरपालिकामा मतदाता सङ्ख्या एक लाख ६८ हजार ६७ रहेकामा एक लाख २४ हजार छ सय १४ अर्थात् ७५।७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाका रुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसङ्ख्या चार लाख १४ हजार १४१ रहेको छ । तराई-मधेसको एक मात्र चितवनस्थित भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ५० हजार दुई सय ७४ मध्ये एक लाख १२ हजार सात सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता सङ्ख्याको ७५।०२ प्रतिशत हो । कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसङ्ख्या दुई लाख ८० हजार पाँच सय दुई छ । मुलुकको पहिलो कामपामा मतदाता सङ्ख्या दुई लाख ७१ हजार दुई सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब एक लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसङ्ख्या नौ लाख ७५ हजार ४६३ छ । ऐतिहासिक तथा पर्यटकीय महत्वको ललितपुर महानगरपालिकामा कुल एक लाख १२ हजार नौ सय २३ मतदातामध्ये सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार दुई सय १४ मत खसेको थियो । चार महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । उनन्तीस वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार दुई लाख ८४ हजार नौ सय २२ जनसङ्ख्या छ । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । चारै महानगरपालिकामध्ये ललितपुरमा आइतबार रातिदेखि र अन्यमा आजदेखि मतगणना सुरु भएको छ । रासस
काठमाडौं महानगरमा काँग्रेस/एमाले टक्कर, पछिपछि रञ्जु दर्शना
काठमाडौं । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । परिणाम अनुसार मेयरमा काँग्रेस राजुराज जाेशीले २३ मत पाएका छन् । एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले ३५ मत पाएका छन् । काँग्रेस र एमालेलाई पच्छाउदै साझा पाटीको उम्मेदवार किशोर थापाले २६ मत पाएका छन् भने विवेकशिलकी रञ्जु दर्शनाले २५ मत ल्याएकी छिन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयी
धुलिखेल । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा(एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका छन् । सो वडामा सात सय १७ मत खसेको थियो । त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका छन् । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ । रासस
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालिकामा मतगणना शुरु
चौतारा । सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकामध्ये मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालिकाको मतगणना शुरु भएको छ । मेलम्चीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार आइतराम तामाङले ९७, उपप्रमुखकी सविता गुरुङले ९९, नेकपा (एमाले)का प्रमुख उम्मेदवार डम्बर अर्यालले दुई सय ६९ र उपप्रमुख उम्मेदवार भगवती नेपालले दुई सय ७७, नेकपा (माओवादी केन्द्र)का प्रमुख उम्मेदवार श्याम खड्काले एक सय ८९ उपप्रमुख उम्मेदवार मुना ढकालले एक सय ४४ तथा राप्रपाका प्रमुख उम्मेदवार फणीन्द्रले एक सय १३ र उपप्रमुख उम्मेदवार कुमारी तामाङले एक सय २७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी भोटेकोसी गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका साङ्बु शेर्पाले दुई सय ९८ र उपप्रमुख उम्मेदवार गेलुम लामाले दुई सय ७, एमालेका प्रमुख उम्मेदवार छिरिङ शेर्पाले एक सय नौ र उपप्रमुख उम्मेदवार सुन्तली तामाङले दुई सय २०, माओवादी केन्द्रका प्रमुख उम्मेदवार राजकुमार पौडेलले एक सय २८ र उपप्रमुख उम्मेदवार दाबुटी शेर्पाले एक सय १९ मत प्राप्त गरेका छन् । चौतारा साागाचोकगढी नगरपालिकाको मतगणना भर्खर सुरु गरिएको र अन्य स्थानको मतगणना केही समयपछि शुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
वारेकोट गाउँपालिका-९ मा गौतम विजयी
जाजरकोट । स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शशिराम गौतम विजयी भएका छन् । सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । रासस
ललितपुरमा काँग्रेसलाई एमालेले उछिन्यो
काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेले काँग्रेसलाई उछिनेको छ । ललितपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले अग्रता लिएका हुन् । व्यञ्जनकारले १०७४ मत ल्याएका छन् । काँग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले भने ९५१ मत ल्याएका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले ४६८ मत ल्याएका छन भने साझा पार्टीका रमेश महर्जनले १३६ मत ल्याएका छन् । मतगणनाको सुरुवातमा काँग्रेसले अग्रता लिएको ललितपुरमा एमालेले अग्रता लिन सुरु गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु
पोखरा । स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ । महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए । सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उनले क्रमशः अन्य वडाको मतगणना गरिने बताए । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए । मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् । रासस
प्रभु इन्स्योरेन्सको हकप्रद सेयर भर्नुभयो? म्याद अब २ दिन मात्रै बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब २ दिन(मंगलबार) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २ बराबर १(५० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीका अनुसार उक्त सेयर भोली बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरिरहेको छ । इन्स्योरेन्सले २०७३/१२/०४ गते सम्म कायम साविक सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको जनाएको छ ।