आइतबारको सेयर बजारमा ७५ करोडको सेयर कारोबार, सबैभन्दा बढी सिद्धार्थ बैंकको
काठमाडौं । आइतबारको सेयर बजारमा ७५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४८ कम्पनीको १४ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । आइतबार बैंकको ११ करोड ५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार नेप्से परिसूचक दोहो अंकले घटेको छ । साताको पहिलो दिन परिसूचक १४ अंकले घटेर १६१५ दशमलब ५८ अंकमा झरेको छ । त्यस्तै, कारोबारमा आएका दुई समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ६ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले झरेको छ ।
कन्काई विकास बैंकलाई २१४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कन्काई विकास बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १ः२.१४ अर्थात् २१४ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ३२ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ३२ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
एनएमबी बैंक र शिखर इन्स्योरेन्सको एफपीओ रोकिने, पाँच वर्षको अन्तरमा मात्र एफपीओ दोहोर्याउन पाउने नयाँ नियम
काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ रोकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली २०७४ जारी गर्दै कुनै पनि कम्पनीले एउटा एफपीओ जारी गरेको ५ वर्षपछि नयाँ एफपीओ जारी गर्न पाउने व्यवस्था गरेको छ । नयाँ नीतिको पहिलो असर शिखर इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको एफपीओलाई पर्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले बताए । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता एफपीओ निष्काशन गर्न अनुमति माग गर्दै २०७३ फागुन २ गते आवेदन गरेको थियो । यस कम्पनीले एक वर्षअघि पनि एफपीओ जारी गरेको थियो । त्यस्तै एनएमबी बैंकले १ अर्ब १४ करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने निर्णय गरेको छ । एफएमओलाई जारी एफपीओ र पब्लिकलाई जारी गरेको एफपीओलाई समान रुपमा हेर्न नमिल्ने भएकोले आफूहरुले प्रस्ताव गरेको एफपीओमा समस्या हुनु नपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले एफपिओका नाममा सूचिकृत कम्पनीलाई व्यापार गर्न नदिने स्पष्ट पारे । उनले भने-‘काम गरेर नाफा कमाउनुस, एफपिओ जारी गरेर नाफा कमाउन मिल्दैन र हामी त्यस्तो हुन पनि दिने छैनौं ।’ बोर्डले निर्देशिका जारी हुँदा स्वीकृत प्राप्त गरिसकेका कम्पनीले दोश्रो पटक नै भएपनि एफपिओ निष्काशन गर्न पाउने तर बोर्डबाट स्वीकृती नपाएका कम्पनीले भने पाँच बर्ष कुर्नुपर्ने स्पष्ट पारेको छ ।
कैलाश विकास बैंकका नयाँ कार्यकारी प्रमुख अमृतचरण श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठले आइतबार बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् । बैंकको संचालक समितिको बैठकले जेठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि श्रेष्ठलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नयाँ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग नेपालका बिभिन्न वाणिज्य बैंकमा करिव ३० वर्ष कार्य गरेको कार्यानुभव रहेको छ ।
नेपालीको आम्दानी साढे ११ हजारले बढ्यो, देशको आर्थिक वृद्धि ६.९४ प्रतिशत
काठमाडौं । आर्थिक वर्ष २०७३/७४को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि शुन्य दशमलव १ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । यो वृद्धि आर्थिक २०५०/५१ यताको उच्चतम भएको अर्थमन्त्रालयले जनाएको छ । सन २०१७ मा विश्वको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको बेलामा नेपालले ६.९४ प्रतिशतको आर्थिक वृद्धि गर्नु उत्साहजनक भएको अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन् । अनुकूल मौसम, सरकारको पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको बातावरणमा सुधार लगायत समग्र आपूर्ति व्यवस्थामा आएको सुधारले उच्चदरको आर्थिक वृद्धि सफल भएको अर्थ मन्त्रालयको विश्लेषण छ । कृषि क्षेत्रको वृद्धि ५.२९ प्रतिशत छ भने गैर कृषि क्षेत्रको वृद्धि ७.७४ प्रतिशत रहेको छ । सेवा र उद्योग क्षेत्रको उत्पादन वृद्धिदर क्रमशः ६.९० र १०.९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा २९.३७ प्रतिशतमा खुम्चिएको छ भने गैर कृषि क्षेत्रको हिस्सा ७०.६३ प्रतिशत पुगेको छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ८९.७ प्रतिशत देखिएको छ । बचतको अंक ६.४३ प्रतिशत विन्दुले वृद्धि भई १०.२५ प्रतिशतले पुग्ने भएको छ । यस वर्ष नेपालीहरुको औषत आम्दानी ११ हजार ५५० रुपैयाँले बढेको छ । मन्त्रालयका अनुसार यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपालीको वार्षिक आम्दानी अमेरिकी डलर ७५७ रहेकोमो चालु आर्थिक वर्ष २०७३/७४ मा अमेरिकी डलर ८६२ पुगेकोे छ ।
एभरेष्ट इन्स्योरेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त
काठमाडौं । एभरेष्ट इन्स्यारेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सापकोटालार्इ सो पदमा नियुक्त गराएका हुन् । यस अघि कम्पनीको अध्यक्षको कार्यभार सुरेन्द्र सिलवालले सम्हालेका थिए । सिलवालले गत वैशाख २१ गते देखि लागु हुने गरी राजीनामा दिएका हुन । सोही दिन बसेको कम्पनीको बैठकले सिलवालको राजीनामा स्वीकृत गरेको हो ।
छ्याङ्दी हाइड्रोको ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला, कहाँ कहाँबाट आवेदन भर्ने ?
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले जेठ १४ गते(आइतबार) बाट १०० रुपैयाँ दरका सो मात्राको सेयर निष्काशन गरेको हो । कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० हजार ८०० कित्ता साधारण सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । साथै, २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोष र बाँकी ५ लाख २ हजार २०० कित्ता सर्वधारणमा निष्काशन गरेको कम्पनीले जनाएको छ । सर्वसाधारणले सेयरका लागि कम्तिमा ५० कित्ता र बढिमा २७०० कित्तासम्मका लागि आवेदन दिन सक्छन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ । जेठ ११ गतेदेखि निष्काशन गरिएको उक्त सेयरको बिक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुने कम्पनीले जनाएको छ । सो मात्राको साधारण सेयरको लागि इच्छुक सर्वसाधारणले निम्न ठाँउबाट आवेदन भर्न सक्नेछन् ।
तीन बर्षभित्रै खाना पकाउने एलपी ग्यास विस्थापित हुने
काठमाडौं । आगामी तीन बर्षभित्रै नेपालबाट खाना पकाउने एलपी ग्यास विस्थापित हुने भएको छ । उर्जा मन्त्रालयले सबै नेपालीको घरमा विद्युतको पहुँच विस्तार गरेर आगामी तीन बर्षभित्रै एलपी ग्यास मुक्त मुलुक बनाउने योजना अघि सारेको हो । उर्जा मन्त्रालयले नेपाली जनताका भान्छामा तीन बर्षपछि एलपी ग्यासँ नभएर विद्युतिय उपकरण मात्रै हुने बताएको हो । त्यसका लागि चालु आवको बजेट मार्फत तीन बर्षभित्रै एलपी विस्थापित हुने योजनासहितको बिशेष योजना ल्याउने भएको हो । नेपालको पानी जनताको लगानी अभियानका लागि ७ अर्बको लगानी प्रतिवद्धता समेत आईसकेको पनि उर्जा मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट