विकासन्युज

नेपाली ग्यास बुलेट ३३ दिनदेखि नाकामै, कागजात नमिलेको भन्दै भन्सारले बुलेट पास गरेन

काठमाडौं २४, पुस । नेपाली लगानीका बुलेटमार्फत पहिलोपटक ग्यास भित्र्याउने प्रयास अन्तरसरकारी समन्वय अभावका कारण झमेलामा परेको छ । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट एक महिनादेखि वीरगन्ज भन्सार नाकामा अलपत्र परेका छन् । कागजपत्र नमिलेको भन्दै भन्सार कार्यालयले बुलेट पास नगर्दा ३३ दिनदेखि नेपाली बुलेट नाकामै रोकिएर अलपत्र छ । विगतमा भारतीय बुलेटहरूले मात्र ग्यास आयात गर्दै आएकोमा सरकारले गतवर्ष नेपाली बुलेटलाई पनि अनुमति दिएपछि पहिलोपटक उद्योगीले बुलेट ग्यास लिएर आएका थिए । तर, अलपत्र परेपछि व्यवसायीहरू निराश बनेका छन् । नेपाली नम्बरका ग्यास बुलेट ल्याउन बजेटमा दुईतिहाई कर छुट पाइने व्यवस्था भए पनि प्रक्रिया नमिलेको भन्दै भन्सार कार्यलयले नछुटाउदा लामो समय देखि बुलेट नाकामै अलपत्र परेका थिए । भन्सार विभागले बुलेट छुटाउनका लागि प्रक्रिया अगाडि बढाए पनि ग्यास भने अझै नेपाल भित्रिएको छैन । नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले लामो समयदेखि नाकामा रोकिएका ग्यास अझै नछुटेको बताए । “बुलेट छुटाउनका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउदा पनि भन्सार पास नहुँदा नाकामै रोकिएको छ,” उनले भने, “अर्थमन्त्रालय, भन्सार विभाग र वीरगन्ज भन्सार कार्यलयको समन्वय नहुँदा महिना दिनदेखि ग्यास नाकामा रोकिनु परेको हो ।” बैंकबाट व्याजमा रकम निकालेर ६० देखि ७० लाख रुपैयाँको लागतमा ग्यास बुलेट निर्माण गरेकाले पनि यसबाट उद्योगीलाई धेरै नोक्सानी भएको बताएका छन् । कारोबार दैनिकबाट ।

नारायणगढ–बुटवल र लुम्बिनी–भैरहवा सडक चार लेन बन्दै, २५ बर्षमा तिर्ने गरि एडिबीले दिँदैछ १८६ मिलियन डलर ऋण

काठमाडौं, २३ पुस । एसियाली विकास बैंक(एडिबी)को सहुलियत ऋणमा नारायणगढ–बुटवल र भैरहवा–लुम्बिनी सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकका रुपमा स्तरोन्नति हुने भएका छन् । एडिबीले २५ बर्षमा तिरिसक्नुपर्ने सर्तसहित एक दशमलब ५ प्रतिशतको सहुलियत ब्याजदरमा यी दुई सडक निर्माणका लागि १८६ मिलियन अमेरिकी डलर ऋण दिन लागेको हो । एडिबीले नारायणगढ–बुटवल खण्डका लागि १६ अर्ब र भैरहवा–लुम्बिनी–तौलिहवा खण्डका लागि २ अर्ब १५ करोड रुपैंयाँ ऋण दिन लागेको हो । यी दुबै सडक निर्माण गर्दा खरिद गरिने समानमा लाग्ने भ्याट भने नेपाल सरकारले व्यहोर्नुपर्नेछ । सो रकमले आगमी साढे तीन बर्षभित्रै नारायणगढ–बुटवल खण्डको ११५ किलोमिटर र भैरहवा–लुम्बिनी खण्डको १८ किलोमिटर सडक चार लेनको बनाइनेछ । ‘सडकको डिजाइन तथा ऋणको डकुेमन्ट तयार भैसकेको छ, अब दुई पक्षबिच सम्झौता गर्न मात्रै बाँकी छ’, सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय(एडिबी)का इञ्जिनियर प्रदिपराज शाक्यले विकासन्युजसँग भने । । ऋण सम्झौता यहि जनवरी महिना भित्रै सम्पन्न गर्ने तयारी भैरहेको पनि शाक्यले जानकारी दिए । लुम्बिनीदेखि तौलिहवासम्मको १८ किलोमिटर खण्ड पनि ४ लेनको सडक बन्नेछ । हाल भैरहवा–लुम्बिनी सडक २ लेनको र लुम्बिनी–तौलिहवा सडक सिंगल लेनका छन् । लुम्बिनी क्षेत्र विकास कोषले पौराणिक महत्वका समान नष्ट हुन सक्ने भन्दै लुम्बिनी तौलिहवामा भने डबल लेनको सडक मात्रै बनाउन सकिने बताएको छ । यो सडकको स्तरोन्नति ३ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । एसियाली विकास बैंकले साउथ एसियन सब रेजिओनल इकोनोमिक कोअपरेशन रोड कनेक्टिीभीटी प्रोजेक्ट अन्तर्गत सो सडकको स्तरोन्नतिका लागि सहुलियत ऋण उपलब्ध गराउन लागेको हो । यी दुबै सडकहरुको विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तयार भैसकेको सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय(एडिबी)का इञ्जिनियर प्रदिपराज शाक्यले बताए । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा ८ किलोमिटर सडक भने डबल लेनको मात्रै हुनेछ त्यसमा फुटपाथ र साइकल लेन राखिने विभागका इञ्जिनियर शाक्यले जानकारी दिए । यो आयोजना आगामी साढे तीन बर्षभित्रै सम्पन्न हुने उनले जानकारी पनि दिए । ‘तराईका जनताको जिवनस्तरसँग जोडिएका यी सडककको निर्माण तिब्र गतिहा अघि बढ्नेछ’, विभागका सिनियर डिभिजनल इञ्जिनियर कमलदेव प्रसाद साहले भने ।

ग्लोबल आइएमई बैंकले २२ जना कर्मचारीलाई सम्मान गर्यो, ‘बचत गरौं’ नारासहित प्रभावतफेरी कार्यक्रम आयोजना

काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंकले १०औं वार्षिकोत्सवको अवसरमा बैंकले पुस २३ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उदेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । त्यसैगरी बैंकले १० औ वार्षिकोत्सवको अवसरमा स्थापनाकाल देखि बैंकमा कार्यरत आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकाल देखि बैंकमा कार्यरत ३२ जना कर्मचारीहरुलाई सम्मान गरेका छन् । वार्षिककोत्सवको अवसरमा बैंकले २२ गेत वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगालागि तथा अति प्रजवल्नशिल पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीहरुलाई ज्याकेट तथा खाद्यन्न वितरण गरेको छ । त्यस्तै, बैंकले काठमाण्डौँको शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै कम्बल वितरण, रक्तदान र निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरिएकोे थियो । २०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको जनाएको छ ।

काठमाडौंदेखि नुुवाकोटसम्म सुुरुङमार्ग बन्दै, आधा घण्टामै चिनियाँ सिमाना पुग्न पूर्वाधारले संभव

काठमाडौं २३, पुस । सडक विभागले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग बनाउँने योजना अगाडि सारेको छ । काठमाडौंको टोखाबाट करीब ६ किलोमिटरसम्मको सुरुङमार्ग बनाएर नुवाकोटको छहरेसम्म पुर्याउने भएको छ । यो मार्ग बनेपछि नुवाकोटको थान्सिङफाँट जोडिने भएको छ । सरकारले ८५ किलोमिटरको गल्छी रसुवागढी सडक विस्तारको कामलाईसमेत प्राथमिकता दिएको छ । यो सडक आगामी दुई देखि पाँच वर्ष भित्रमै यो सडक निर्माण गरेर संचलनमा ल्याउने तयारी गरेको छ । प्रथमिकताका साथ काम भइरहेको यो सडकको ५१ किलोमिरट ट्रयाकसमेत खोलिसकिएको छ । यो सडक निर्माण गर्ने र टोखाबाट नुवाकोट सुरुङमार्गले जोडिएको अवस्थामा काठमाडौंबाट आधा घण्टामै रसुवागढीहुँदै चिनियाँ सिमानामा पुग्न सकिने सडक विभागको भनाइ छ । विभागका वैदेशिक महाशाख प्रमुख ईन्जिनियर संजयकुमार श्रेष्ठका अनुसार भारतसँगको परनिर्भरता हटाउन र चिनियाँसँगको सम्बन्ध विस्तारको लागि गल्छी रसुवागढी सडक र काठमाडौं नुवाकोट सुरुङमार्ग निकै प्रभावकारी हुने उल्लेख छ । विभागका अनुसार टोखा–छहरे सुुरुङमार्ग निर्माण गर्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गर्ने भएको छ । यो बैंकले नै सुरुङ मार्ग निर्माण गर्ने विषयमा पनि सरकारको सहमति खोजिरहेको उल्लेख छ । नेपाल पनि संस्थापक सदस्य रहेको यो बैंकले ६ किलोमिटर सुुरुङमार्ग निर्माण गर्न चाहेको उल्लेख छ । यो सुुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट सीधै नुुवाकोटको थान्सिङ फाँट निस्कन सकिन्छ । गल्छीदेखि रसुुवागढीसम्म सरकारले स्तरीय सडकमार्ग निर्माण गरिरहेकोले पनि सुरुङमार्गको पनि काम तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ । काठमाडौंबाट नुवाकोट पुग्न लाग्ने घण्टौको समय सुरुङमार्गपछि पाँच मिनेटको हुने छ । यो सुरुङमार्ग बन्यो भने गल्छी रसुवागढी जोड्ने स्तरीय सडकमार्गको पहुँचले पनि जोड्ने छ । सरकारले रेलमार्गको पनि संम्भाव्यता अध्ययन गरिरहेकोले काठमाडौंबाट चीनियाँ नाकाको दुरी आधा घण्टा भन्दा लामो नहुने दाबी सडक विभागको छ । काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणका लागि चीन सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनले प्रस्तावसमेत नेपाल सरकारसमक्ष पेश गरिसकेको छ । १०५ किलोमिटरको यो रेलमार्ग निर्माण भए काठमाडौं–रसुवागढीसम्म आधा घण्टामै पुग्ने सकिन्छ । यो रेलमार्ग बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने र यो रेलमार्ग अन्तर्राष्ट्रिय संजालको पनि हुने भएकोले प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा रेल दौडन सक्ने क्षमताको हुने छ । नुवाकोटसम्म सुरुङमार्गप्रयोग गरेर जाँदा अझै छिटो हुने भएकोले काठमाडौंबाट नुवाकोट हुँदै जाने सुरुङमार्गसँग रेलमार्गको पनि पहुँच विस्तार भए आधा घण्टामै सिमाना पुग्ने वातावरण बन्ने विभागको भनाइ छ ।

डेढ महिना भित्रै नेपालीसँग भएको ५०० र १००० दरका भारु नोट साट्न सकिन्छ-ढुंगाना

भिष्मराज ढुंगाना, प्रमुख-विदेशी विनिमय व्यवस्थापन विभाग ५०० र १००० दरका भारतीय नोट सटही गराउने प्रक्रिया कहाँ पुग्यो ? भारत सरकारले नोभेम्बर ८ देखि ५०० र १००० दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसको असर भारत र नेपाल दुबैमा परेको छ । भारत सरकारले २५ हजारसम्मको भारतीय रुपैंयाँ नेपालीले पनि बोक्न पाउने व्यवस्था गरेको थियो । त्यस्तो नोट साट्ने व्यवस्था मिलाउनु नेपालको दायित्व हो । भारतले पनि नेपालीसँग भएको त्यस्तो नोट साट्ने व्यवस्था मिलाउनु पर्छ । अहिलेसम्मको वार्ता र छलफलबाट भारतले नेपालीसँग भएको २५ हजार रुपैंयासम्मको सो दरका नोट साट्न प्रतिवद्ध रहेको जस्तो देखिएको छ । भारतमा नोट सटही सहज भएपछि नेपालसँग भएका नोट साट्ने संकेत भारतले दिएको छ । हामी थप आशावादी छौं । खुल्ला सिमाले उताका नोट यता आउने सम्भावनालाई कसरी हेरिएको छ र त्यसलाई कसरी रोक्ने ? यो हाम्रो भन्दा भारतको बढि चासोको बिषय हो । नेपालीसँग भएको पैसा सटाउनेबारे हामीले गहन प्रयास गरिरहेका छौं । नेपाली जनताले श्रोत खुलाएपछि हामीले हाम्रो मोडालिटी अनुसार सटहीको व्यवस्था गरिदिनेबारे सोचिरहेका छौं । उनीहरुले सुक्ष्म मोनीटरिङ गरेर साटिदिने सम्भावना बढेको छ । भारतबाट नोट नेपालमा भित्रिने कुराबारे भारत सजग हुनुपर्छ । नोट सटहीबारे छलफल गर्न नेपाली टोली भारत जाने भन्ने थियो, किन नगएको हो ? हामीले नोटको सटहीका लागि हाम्रो तर्फबाट के गर्नुपर्छ भनेर कुरा गरिरहेका छौं । त्यसका लागि छलफल गर्न भारत जाने भन्ने तयारी थियो । त्यसको व्यवस्थापन गर्ने जिम्मा भारतस्थित नेपाली राजदुतावासको हो । भारतमा रहेको नेपाली दुताबासकै अनुरोधमा हामी थप छलफलका लागि भारत नगएका हौं । आवश्यक पर्ने वित्तिकै हामी थप छलफलका लागि भारत जान तयारी अवस्थामा छौं । दुतावासले आफ्नै च्यानलबाट कुरा गरिरहेको भनेको छ । मन्त्रिस्तरबाट ब्रिफिङ समेत भैसकेको छ । दुताबासले हामी जानै पर्दैन आफैं काम गरिरहेको छु भनेको छ । हामीसँग कुरा हुँदा भारतीय रिजर्भ बैंकले नोटबारेको निर्णय भारत सरकारको हो र भारत सरकारले भनेकै दिन नोट साटिदिन्छौं भनेको छ । समय घर्कियो, अब त जनताले आशा पनि मार्ने बेला भयो नी ? आसा मार्ने बेला भएको छैन् । भारतीय पक्षले नोट नसाट्ने भन्ने कुनै संकेत गरेको छैन् । समय लामो भएको अवश्य पनि हो । उनीहरुले केहि समय पख्नुस् हामी साट्छौं भनिरहेका छन् । हामी छलफलका लागि भारत जान लागेका थियौं तर प्रक्रिया अघि बढेको छ, अहिले आउनु पर्दैन भनेका छन् । हामीले डेप्युटी गभर्नरको नेतृत्वमा जाने भनेका थियौं । तर उता जुन स्तरमा छलफल गर्ने हो त्यहि स्तरको नेपाली टोली जानुपर्छ भन्ने छ । मन्त्रि, सचिव वा डेप्युटी गभर्नरको नेतृत्वमा जान सकिन्छ । नोट सटहीको मोडालिटी कसरी तयार भएको छ ? नोट सटहीबारे भारतले तदारुकता देखाउने वित्तिकै तयारी पुष्टि गर्न डिक्लेरेशन फर्म तयार पारेका छौं । डेप्युटी गभर्नरको नेतृत्वमा विदेशी विनिमय विभागको प्रमुख र अर्थमन्त्रालयको सह सचिवको सहभागीतामा रहेको सो टिमले डिक्लेरेशन फर्म तयार पारेका हौं । नोटको डिनोमिनेशन लिएर जाली नोट पत्ता लगाउने उपायबारे पनि छलफल गरेका छौं । आरबिआईले मात्रै जाली नोट पत्ता लगाउन सक्ने रहेछ । हामीले नम्बरसहितको नोट बैंकिङ च्यानलबाट लिन्छौं । त्यसमा जाली नोट परेछ भने फिर्ता दिन सकिन्न । सक्कली नोटको सटही व्यवस्था गराउँछौं । बुझाउने वित्तिकै पैसा दिन सकिन्न । तर केहि समयपछि बैंक खातामै नोट साटेर नेपाली नोट दिने तयारी गरेका छौं । हामीले एउटा सफट्वेयर पनि बनाएका छौं । हरेक बैंकमा ५०० र १००० दरका भारतीय नोट आउने वित्तिकै राष्ट्र बैंकको सिस्टममा जानकारी आउने व्यवस्था गरेका छौं । भारतले नोट साटिदिन्छौं भनेको कति समयमा नेपाली नागरिकले भारतीय नोट दिएर नेपाली नोट लिन सक्छन् ? सटहीका लागि हामीले कति समय दिन्छौं ? सुसुचित हुन कति समय दिन्छौं भन्ने कुराले महत्व राख्छ । बैंकमा डिपोजिट गर्न पनि समय लाग्छ । सबै नोटलाई एकत्रित गरेर आरबीआईमा पठाउँछौं । तीन हप्तादेखि चार हप्तासम्म नोट जम्मा गर्न समय लाग्छ । २ हप्तामा केन्द्रमा ल्याइसक्छौं । एक हप्ता भारत पठाउन लाग्छ । भारतबाट खबर आएपछि यता वितरण सुरु हुन्छ । भारतले काम थाल्न भनेको डेढ महिनासम्ममा नेपालीलाई भारतीय नोट लिएर नेपाली नोट दिन सक्छौं । कथंकदाचित भारतले नोट साट्न सक्दिन भन्यो भने नेपालीसँग भएको ५०० र १००० दरका नोट के हुन्छ ? भारतले नेपालीसँग भएको ५०० र १००० दरका नोट साट्दिन भन्न सक्दैन् । भारतीय कानुनले नै नेपाल र भुटानका नागरिकलाई २५ हजारसम्म भारतीय रुपैंयाँ राख्ने अनुमति दिएको छ । भारतले आफैं आफ्नो कानुनको उल्लघंन गर्छ भन्ने मलाई लाग्दैन् । भारती नोट राखेकै कारण नेपालीहरुले खान लाउनै नपाउने अवस्था आयो भने नेपाल सरकारले सटहीको व्यवस्था गर्नुपर्छ । हामीले अन्तराष्ट्रिय मञ्चमा कानुनी लडाई लड्ने अवस्था रहन्छ ? बिभिन्न फोरमहरुमा यी यी व्यवस्थाहरु हुँदा हुँदै पनि भारतले सटही सुबिधा दिएन भनेर कुरा उठाउन पाइन्छ । र्साक र अन्तरािष्ट्रय अदालतमा पनि कुरा उठाउन सकिन्छ । तर त्यो स्तरमा पुग्ने अवस्था आउदैन भन्ने लाग्छ । नेपाल र भारतीय मुद्राको स्थिर विनियम दरका बारेमा पनि सोच्ने बेला भएको हो ? नेपालमा भारतीय मुद्रा र अन्य विदेशी मुद्राको कानुनी हैसियत बराबर हो । हामीले २५ हजारसम्म बोक्न छुट दिएको मात्रै हो । जहासम्म विनियम दर निर्धारणको सवाल छ, त्यो केन्द्रिय बैंक र सरकारले निर्धारण गर्ने हो । हामीले भारतीय मुद्रासँग राष्ट्र बैंकको स्थापना कालदेखि नै समान गर्दै आएका छौं ।

हिमालयन बैंकको ३१ दशमलब ५७ प्रतिशत लाभांश पारित

काठमाडौं, २२ पुस । हिमालयन बैंक लिमिटेडको २४ औं बार्षिक साधारण सभाले ३१ दशमलब ५७ प्रतिशत लाभांश पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न बार्षिक साधारण सभाले ३० प्रतिशत बोनस शेयर र एक दशमलब ५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने सञ्चालक समितिको निर्णय पारित गरेको हो । बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० पुग्नेछ । साथै बैंकले बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पूँजी ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५०० हुने जानकारी पनि दिएको छ । बैंकले गत आर्थिक बर्षमा ८७ अर्व ३३ करोड निक्षेप संकलन र ६९ अर्व १० करोड कर्जा प्रवाह गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८ दशमलब ७६ र २४ दशमलब ६७ प्रतिशतले बढी हो । बैंकले चालु आर्थिक बर्षमा ५ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने र विभिन्न स्थानमा थप एटीएम तथा पस टर्मिनलहरु विस्तार गर्ने जनाएको छ ।

पाँचथरको फिदिममा नेपाल बङ्गलादेश बैंकको ३९ औं शाखा

पाँचथर, २२ पुस । नेपाल बङ्गलादेश बैंकले पाँचथर जिल्लाको फिदिममा ३९ औं शाखा खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, फिदिम उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्ले तथा बैंकका संचालक मुकुन्द नाथ ढुङ्गेल र पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सो शाखाको संयुक्तरुपमा उद्घाटन गरेका हुन् । साथै कार्यक्रममा बैंकको एटिएम पनि सुभारम्भ गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै साथै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रामिण क्षेत्रमा वित्तिय पहुँच विस्तार गर्ने अभियान अन्तर्गत फिदिममा नयाँ शाखा खोलेको बताएका थिए । हाल बैंकको शाखा संख्या ३९ पुगेको छ भने २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३७ वटा बुथ रहेका छन् । बैंकले आर्थिंक बर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा ३९ अर्ब ६० करोड निक्षेप, ३४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको नाफा भने २२ करोड ५० लाख पुगेको छ ।

होटल स्नोल्यान्डले ल्यायो ‘पोखरा टुर प्याकेज’

काठमाडौं, २२ पुस । होटल स्नोल्यान्ड प्रालिले स्वदेशी पाहुनाका लागि विशेष पोखरा टुर प्याकेज घोषणा गरेको छ ।२ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नोल्यान्ड सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए । शुलभ दरमा पोखरा भ्रमण प्याकेजको व्यवस्था मिलाएको उनले बताए । उक्त प्याकेजमा एयरपोर्ट वा बस स्टेसनबाट होटलसम्म लैजाने, स्नोल्यान्डमा २ रात सुविधा सम्पन्न कोठामा राख्ने र विहानको नास्ताको सुविधा छ । प्याकेजको पहिलो दिन सराङकोट, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, सेती खोँच, गोर्खा स्मारक, पूरानो पोखरा र बजार क्षेत्र घुमाइन्छ । दोस्रो दिन बाराही मन्दिर, कोमागाने पार्क, केदारेश्वर मन्दिर, रक गार्डेन, विश्व शान्ति स्तुप, डेभिज फल, गुप्तेश्वर गुफा घुमाइने सञ्चालक थापाले बताए । पाहुनाले साँझपख फेवातालको वरपर डुलेर आनन्द लिन सक्छन् । विभिन्न स्थानमा लाग्ने प्रवेश शुल्क, डुंगा भाडा, बिहान र बेलुकीको खाना, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, बेगनास र रुपाको यात्रा भने प्याकेजमा समावेश छैन । नयाँ बर्षको अवसरमा ल्याइएको प्याकेजमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, क्यानोनिङ, जिप फ्लायरको लागि होटल स्नोल्यान्डबाटै बुक गर्ने सुविधा छ । २०२९ सालमा स्थापना भएको होटल स्नोल्यान्ड पोखराकै जेठो पुस्ताको होटल हो । २ तारे होटलमा हाल ४२ कोठा छन् । होटलमा पार्किङको राम्रो सुविधा छ ।