विकासन्युज

नेशनल ट्रेडिङ डुबाउने मेहतालाई पुनःमहाप्रबन्धक बनाउन मन्त्री शिवकुमार मण्डलको चलखेल

काठमाडौं । लामो समयदेखि अनियमितता र बेथितीका कारण चुर्लुम्म डुबेको नेशनल ट्रेडिङ लिमिटेडलाई पुनर्जागरण दिने प्रस्ताव सहितको खाका अन्तिम चरणमा पुगेको छ । तर, विनाविभागीय आपूर्तिमन्त्री शिवकुमार मण्डल भने संस्थानलाई हानी पुर्याउने ’कुपात्र’लाई फेरी नियुक्ती दिने कसरतमा लागिपरेका छन् । बिना विभागीयमन्त्री मण्डलले नेशनल ट्रेडिङमा भ्रष्टाचार गरेको आरोप लागेका सत्यनारायण मेहतालाई पुनःमहाप्रबन्धकमा नियुक्त गर्ने निर्देशन दिएको पाइएको छ । मन्त्रालय स्रोतका अनुसार मेहताले पुनःमहाप्रबन्धकमा नियुक्ती पाउनका लागि मन्त्रालयमा दवाब दिँदै निवदेन दिएका थिए । सोही निवदेनलाई तोक लगाएर गत असोज ३० गते आपूर्तिमन्त्री मण्डलले जिम्मेवारी छाड्नुपूर्व मेहतालाई ‘जसरी पनि’ महाप्रबन्धकमा नियुक्त गर्न निर्देशन दिएका थिए । सत्यनारायण मेहता महाप्रबन्धक नियुक्त गर्ने सम्बन्धमा पत्र आएको र त्यसलाई प्रक्रियागत हिसाबले अघि बढाइएको मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीले भने, ’मन्त्रालयमा नेशनल ट्रेडिङमा महाप्रबन्धक नियुक्तिका सम्बन्धमा केहि पत्र आएको थियो । त्यसलाई पनि कानुनी आधारमा कति ठिकबेठिक हेरेर काम कारबाही अगाडी बढाउने तयारी भएको छ ।’ २०७२ साल असोजमा मेहतालाई कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले नेशनल ट्रेडिङको महाप्रबन्धक बनाएको थियो ।२०७३ मंसिरमा आपूर्ति मन्त्रालयले सार्वजनिक पदमा रहेर संस्था र राज्यको सम्पत्तिको दुरुपयोग गरेर आर्थिक लाभ हासिल गरेको आरोपमा मेहतालाई आपूर्तिले अनियमितता गरेको आरोपमा सरुवा गरेको थियो । राष्ट्रिय सतर्कता केन्द्रको छानविन समितिले मेहतालाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सिफारिस गरेको थियो । उनको लापरवाही र कानुन उल्लंघनले देशले ठूलो आर्थिक अनियमितता व्यहोरेको छानविन समितिको ठहर छ । यस्तै उनले सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का नलगाएर कानुनभन्दा माथि बसेर निर्णय लिएको छानविन समितिको ठहर छ । छानविन समितिले मेहतामाथि थप छानविन गरेर कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सतर्कता केन्द्रले नेशनल ट्रेडिङका महाप्रबन्धक मेहता आर्थिक अनियमिततामा संलग्न भएको भेटिएकाले उनीमाथि थप छानबिन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस समेत गरेको थियो ।तत्कालिन निमित्त महाप्रबन्धक मेहताले कानून विपरित र अनियमित तरिकाले काम कारबाही गरी संस्थानलाई हानी पुर्यााएको आरोपमा उनीमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालिरहेको छ । गत जेठ ४ गते उक्त प्रतिवेदन फिर्ता गर्दै मन्त्रिपरिषदको कार्यालयले बाँकी सम्पत्तिको व्यवस्थापन नहुन्जेल सञ्चालक समिति र मन्त्रालयले तोकेको कार्यकारी प्रमुखबाट कार्यसम्पादन गराउन निर्देशन दिएको थियो ।त्यसपछि मन्त्रालयले उपसचिव लवराज जोशीलाई महाप्रबन्धकको जिम्मेवारी दिएको थियो । जग्गा भाडामा कीर्ते २०६७ जेठ १६ गते महाप्रवन्धक मेहताले नेशनल ट्रेडिङको रामशाहपथस्थित २५ रोपनी खाली जग्गा ३३ बर्षका लागि ५१ करोड ३० लाख रुपैयाँमा भाडामा लगाएका थिए । तत्कालिन सम्झौता अनुसार भाडामा लगाएको उक्त जमीनमा कच्ची संरचना बनाउन पाउने उल्लेख थियो । तर, भाडा लगाउँदा प्रक्रिया मिचिएको भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सोही वर्ष जेठ २३ गते नियम मिचिएको भन्दै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । मेहताले जग्गा भाडामा लिएको कम्पनी इन्फ्रिनिटी इन्फ्रास्ट्रक्चर प्रा.लिलाई ०७२ मा सोही जग्गाबाट ७ करोड रुपैयाँ बैंक ग्यारेण्टीका लागि स्वीकृत दिए । त्यस्तै उनले सरकारले कानुनी प्रक्रिया मिचिएको भनेर रोक्का गरेको ठेक्कामा थप निर्णय नगर्दै ०७० पुसमा टिप्पणी उठाएर स्वीकृत गरी जग्गा प्रयोग गर्न दिए । यस्तै मेहताले सुरुमा उक्त जग्गामा कच्ची भवन बनाउन भाडा स्वीकृति दिएका थिए । तर, पछि थप कमिशन लिएर कच्ची भवन बनाउने सम्झौता रद्द गरी पक्की भवन बनाउने सम्झौता गरेको आरोप उनीमाथि लागेको छ । मेहताले नेशनल ट्रेडिङ पोखराको खाली जग्गा भाडामा लगाउँदा लाखौँ रुपैँया कमिशन लिएर गैरकानुनी रुपमा उक्त जग्गा १० बर्षका लागि भाडामा लगाएका थिए । उनले नेशनल ट्रेडिङ पोखराको जग्गा भाडामा लगाउँदा सार्वजनिक सूचना समेत जारी नगरी र सञ्चालक समितिबाट समेत निर्णय नगराई जग्गा भाडामा लगाएको सतर्कता केन्द्रको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । छानविन समितिले उनले कुनै पनि प्रक्रिया नअपनाई जग्गा भाडामा लगाएको निश्कर्ष निकालेको थियो । यस्तै मेहताले रामशाहपथस्थित ड्राइभिङ इन्स्टिच्युटका लागि जग्गा भाडामा लगाउँदासमेत अनियमितता गरेका थिए । उनले ड्राइभिङ इन्स्टिच्युटका लागि दिएको जग्गा पुनः पार्टी प्यालेस पनि सञ्चालनका लागि अनुमति दिएका थिए । सुरुवातमा ड्राइभिङ इन्स्टिच्युटका लागि सम्झौता गरेर आर्थिक लाभपछि उनले गोप्य तरिकाले सम्झौता पार्टी प्यालेसलाई समेत सञ्चालन गर्न सम्झौता गरेका थिए । उनले नेशनल ट्रेडिङस्थित टेकुको जग्गासमेत गैरकानुनी रुपमा ५ वर्षका लागि पार्टी प्यालेस सञ्चालन गर्न भाडामा लगाएका थिए । उनले आफु मातहतको कर्मचारीलाई जानकारी नै नदिई उक्त ५ रोपनी संस्थानको जग्गा गोप्यरुपमा सम्झौता गरेर दिएको छानविन समितिको निष्कर्षले देखाएको छ । ड्युटी फ्री पसलमा अनियमितता अन्तर्रा्ष्ट्रिय विमानस्थलभित्र ड्युटी फ्री पसल सञ्चालन गर्दा समेत मेहता अनियमिततामा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ । उनले पसल सञ्चालनका लागि बोलपत्र आहृवानपछि सरोकारवालाको रोहवरमा मात्र वोलपत्र नखोलेको पाइएको थियो । पुनःसञ्चालनको तयारी नेशनल ट्रेडिङलाई पुन सञ्चालनमा ल्याउन मन्त्रालयको उपसमितिले नयाँ विकल्प सहितको प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनको मस्यौदालाई अनुमोदन गर्न मन्त्रिपरिषदको कार्यालयमा पठाएको थियो । उक्त मस्यौदालाई फिर्ता गरी अर्थ मन्त्रालयसँग छलफल गर्न मन्त्रीपरिषदले निर्देशन दिएको मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन् । उनले भनिन्, ‘चीनबाट ईन्धन आयात गर्ने विकल्प सहितको प्रतिवेदन तयार भएको छ । यसलाई सचीवज्यु मार्फत अर्थ मन्त्रालय पठाउने तयारी भइरहेको छ ।’

बिटक्वाइनमा नयाँ रेकर्ड, मूल्य ६४६० डलर पुग्यो

लण्डन । बुधबार भर्चुयल मूद्रा बिटक्वाइनको मूल्य बढेर ६ हजार ४ सय ६० अमेरिकी डलर पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । विश्वकै ठुलो डेरिभेटिभ्स अपरेटरले बिटक्वाइन सार्वजिनक गर्ने घोषणा गरेपछि क्रिप्टोकरेन्सीले मुलधारको वित्तीय क्षेत्रमा प्रवेश गर्ने दाबी गरिएको छ । सिएमइ ग्रुप इकंका अनुसार यसले क्रिप्टोकरेन्सी मार्केटलाई व्यवस्थित व्यापारिक स्थान प्रदान गर्नेछ र २०१७को चौमासिकतिर नयाँ डेरिभेटिभहरुपनि सार्वजनिक गर्नेछ । बिटक्वाइनको मूल्य ६ गुणाले बढेको छ र यो मध्य सेप्टेम्बर को भन्दा दोब्बरले वृद्धि भएको हो । लक्जमबर्गमा आधारति बिटस्ट्याम्प एक्सेञ्जमा बुधबार यसको मूल्य ०.३ प्रतिशतले माथि थियो ।

५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

काठमाडौं । राजधानीको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय सुटर पक्राउ परेका छन् । भारत पञ्जावका जसवित सिंह र हरदेवेन्द्र सिंह हतियार र गोलीसहित पक्राउ परेका हुन् । पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले पुष्टि गरेका छन् । प्रहरीका अनुसार उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ । कुन प्रयोजनले नेपालमा हतियारसहित आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उम्मेदवार मनोनयन दर्तामा उत्साहजनकरुपमा सहभागी हुन आह्वान

काठमाडौं ।  निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भोलि कात्तिक १६ गते बिहीवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ । मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनको लागि आवश्यक तयारीबारेमा जानकारी दिने उद्देश्यले बुधबार राजधानीमा  आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको उम्मेदवार मनोनयनलाई ऐतिहासिकरुपमा सफल बनाउने अभियानमा सहयोग पुरयाउन सबैसँग आग्रह गरे । निर्वाचन मनोनयका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जनाउँदै उनले भने , “भोलि बिहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ ।” मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले बिहीबार मनोनयन दर्ता गर्दै हुनुहुन्छ । आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हँुदैछ । नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको हो । निर्वाचनका सम्पूर्ण गतिविधिलाई सुरक्षा प्रदान गर्न आवश्यक सुरक्षा प्रबन्ध भइसकेको जनाउँदै आयोगले निर्वाचनलाई महान् उत्सवको रुपमा सफल बनाउन सबैबाट सम्पूूर्ण सहयोग अपेक्षा गरिएको उल्लेख गरेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरुको बन्दसूची पेश भई यही कातिक १७ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको पनि सो अवसरमा जानकारी दिइयो । समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ७४ लाख मतपत्र र मतदाता नामावली छपाइको काम पूरा भइसकेको तथा सर्वाेच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्रको छपाइ कार्य जारी रहेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्न रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको जानकारी दिँदै आयोगले कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पूर्ण मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाउने कार्य योजनाअनुसार तीव्र गतिमा काम भइरहेको जनाएको छ । अदालतको आदेशअनुसार, परिमार्जन तथा संशोधन गर्नुपर्ने नियमावली, निर्देशिका तथा कार्यविधिहरु द्रुत गतिमा संशोधन तथा परिमार्जनको काम भइरहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि छुट्टाछुट्टै पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीको छोटो समयमै व्यवस्थापन गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए । नियमावली र निर्देशिका परिमार्जन गरी सोही आधारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुँदा मतदाता शिक्षासम्वन्धी तालीम, प्रशिक्षण कार्यक्रम छिट्टै सञ्चालन गर्न आयोगले गृहकार्य गरिरहेको जनाएको छ । निर्वाचन आचारसंहिताको सबैबाट पूर्ण पालना हुने विश्वास लिएको जनाउँदै आयोगले कहीँ कतैबाट आचारसंहिता उल्लंघन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निवर्तमान सांसदको सिफारिशमा सञ्चालन गर्न आचारसंहिता प्रतिकूल भएकाले त्यस्ता कार्यक्रम रोक्न आयोगले निर्देशन दिएको र ७७ वटै जिल्लाबाट त्यस्ता कार्यक्रम रद्द गरी रु १० अर्ब निकासा रोक्का भइसकेको जानकारी आयोगलाई प्राप्त भएको पनि सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले जानकारी दिए । आयोगबाट स्वीकृत फोटासहितको मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीलगायतको मताधिकारलाई सुरक्षित गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति बनाई कार्य अगाडि बढाइएको पनि सो अवसरमा जानकारी दिइएको थियो । आगामी मंसिरमा हुने निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आयोगले निर्वाचन पर्यवेक्षण गर्न अनुरोध गरिसकेको छ ।  रासस

अधिक तरलताले पनि घटेन ब्याजदर, ४३ अर्ब हुँदा आधार दर १० प्रतिशत माथि नै

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपनि बैंकको ब्याज दर भने घटेको छैन् । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंक साउनयता विभिन्न उपकरणमार्फत पटकपटक गरी १ खर्ब २० अर्ब रुपैयाँ बढी रकम प्रशोचन गरेको छ । बजारमा पर्याप्त तरलता भएपनि अधिकाँश बैंकको आधार ब्याज दर भने १० प्रतिशत भन्दा बढीनै छ । केही बैंकको झण्डै १२ प्रतिशत हारहारीमा आधार दर रहेको छ । १० प्रतिशत आधार दर भएको बैंकले ४ प्रतिशत स्प्रेड दर राख्दा कर्जाको ब्याज दर १४ प्रतिशत पुग्छ । कर्जाको ब्याज दर अझै महंगो नै छ । बुधबारमात्र केन्द्रीय बैंकले निक्षेप उपकरणमार्फत थप ३ अर्ब रुपैयाँ बजारबाट उठाएको छ । राष्ट्र बैंकले निक्षेप बोलकबोल र रिभर्स रिपो उपकरणमार्फत बैंकिङ प्रणालीमा भएको तरलता उठाउदै आएको छ । बजारमा अझै ४३ अर्ब रुपैयाँ तरलता रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्ने मध्य अधिकाँशको आधार दर १० प्रतिशत बढी देखिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये सबैभन्दा बढी जनता बैंकको छ । जनताको आधार दर साढे ११ प्रतिशत छ । यस्तै सिटिजन बैंकको १०.७७, सानिमाको १०.२७, माछापुच्छ्रेको १०, नेपाल इन्भेष्टमेन्ट बैंकको ८.९१ प्रतिशत रहेको छ । यस्तै एभरेष्ट बैंकको ७.९१, नविल बैंकको ६.६९ र सबैभन्दा कम सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । वाणिज्यको आधारदर ५.९८ प्रतिशत छ । कर्जाको ब्याज दर वाणिज्य बैंकमा सस्तो पाइन्छ । गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।निक्षेपको ब्याजदर बढेपछि आधार दर पनि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको भनाई छ । सस्तोमा निक्षेप नपाएसम्म लागत बढ्ने उनीहरुको तर्क छ । हाल बचतको ब्याजदर औसत ८ प्रतिशत रहेको सीईओहरुको भनाई छ । गतवर्ष कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम राख्न बैंकले महंगो ब्याजदरमा निक्षेप उठाउँदा हालसम्म यसको असर देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । निक्षेपको ब्याजदर बढेपछि यसको असर बैंकको आधार दरमा पर्ने उनको भनाई छ । निक्षेपको ब्याजदर घटेर औसत साढे ८ प्रतिशत पुगेको बताउँदै उनले माछापुच्छ्रेको आधार दर अझै १० प्रतिशत रहेको उनले सुनाए । साउनयता लगानी गर्न पुँजीको अभाव नभएको सीईओहरुको भनाई छ । गत वर्ष बजारमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) अभाव भएपछि बैंकहरुले महंगो दरमा निक्षेप उठाउदा लागत दोब्बर बढेको थियो । महंगो दरमा निक्षेप परिचालन गर्दा आधार दर नघटेको सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल बताउँछन् । साधारण बचतमा अझै ८ प्रतिशत ब्याज दिइरहेको उनको भनाई छ ।    

बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणको जिम्मेवारी प्राधिकरणलाई

काठमाडौं । बाढीबाट प्रभावित तराईका जिल्लाको पुनःनिर्माणको जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिइएको छ । बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यवस्था मिलाउन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण मातहत विशेष बाढी पुनःनिर्माण आयोजना एकाइ निर्माण गरिएको हो । मन्त्रिपरिषद्को कात्तिक ६ गतेको बैठकले बाढी तथा डुबान प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण अन्तर्गत विशेष एकाइको गठन गर्ने निर्णय गरेको थियो । यो विशेष एकाइको आयोजना प्रमुखका रुपमा डा सुमन कर्ण नियुक्त भएका छन् । कर्णले कात्तिक १३ गते सोमबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । मोरङका डा कर्णले यसअघि प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको विशेष सल्लाहकारका रुपमा काम गरेका थिए । शहरी विकासमा विद्यावारिधि गरेका डा कर्णसँग संयुक्त राष्ट्रसंघमा आबद्ध भई इराक, सुडान, अफगानिस्तान र जोर्डनमा पुनःनिर्माण तथा विकाससम्बन्धी कार्य गरेको अनुभव छ । बाढीबाट तराईमा भएको क्षतिको विस्तृत अध्ययन राष्ट्रिय योजना आयोगले गरिरहेको आयोजना प्रमुख कर्णले बताए। अहिलेसम्म अनुमानित ६० हजार घर पूर्णरुपमा क्षति भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । “आंशिकरुपमा क्षति भएका घरको विवरण आयोगको प्रतिवेदनपछि मात्र भन्न सकिन्छ, बाढीको क्षति कम भएकाले छिटोछरितो पुनःनिर्माण गरिन्छ, पुनःनिर्माणमा स्थानीय तहलाई पनि सहभागी गराएर पीडितलाई राहत दिने योजना बनाएका छौँ”-उनले भने । बाढीले तराईमा सिँचाइ, कृषि, सडक, पुललगायत भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो । बाढीबाट तराईका २४ जिल्ला प्रभावित बनेका थिए । आयोगले गरेको अध्ययनको प्रतिवेदन यसै साता प्राधिकरणलाई बुझाउने जनाइएको छ । रासस

गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कल मै आइपुग्छ मर्मत टोली

काठमाडौं । के तपाई गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कलमै गाडी मर्मत टोली गाडी बिग्रेकै स्थानमा आइपुग्ने छन् । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवा सँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी बिग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्य (कन्ट्रि हेड महिन्द्रा एण्ड महिन्द्रा) तपश पट्टनाएक (कन्ट्री म्यानेजर महिन्द्रा एण्ड महिन्द्रा) ले मोबाइल भ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुरु गरेका थिए । बालाजू अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मतगर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र लागु गरिएको छ भने भविष्यमा क्रमशः नेपाल अधिराज्य भरका प्रमुख सहरहरुबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । बालाजु अटोवर्कका सर्भिस हेड शिब सुदन श्रेष्ठले बिक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित बालाजु अटोवर्कका दक्षप्राविधिकहरुले मोबाइल सर्भिस भ्यान/मोबाइल वाईक मार्फत् छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन् ।

कतार एयरवेजद्धारा आकर्षक योजना सार्वजनिक, एउटाको मूल्यमा दुईटा विजनेश क्लास टिकट पाइने

काठमाडौं । कतार एयरवेजले आफ्नो २०औँ बार्षिकोत्वसको अवसरमा इकोनोमी तथा विजनेस क्लास क्वाविन दुबैमा आकर्षक तथा अपत्यारिलो मूल्यको घोषणा गरेको छ । जस अन्तर्गत एउटा विजनेश क्लास टिकटको मूल्यमा यात्रुले दुई ओटा विजनेश क्लास टिकट पाउन सक्छन् । त्यसैगरी, दूई इकोनोमी टिकटको मूल्य तिर्दा तीन वटा इकोनोमी क्लास टिकट पाउन सक्छन् । उक्त योजना नोवेम्बर १ देखि १०(अर्थात कात्तिक १५ देखि कात्तिक २४) सम्म लागु हुने छ ।  योजना अन्तर्गत यात्रुले सुविधाको उपयोग २०७४ कात्तिक १५ देखि २०७५ कात्तिक १४(अर्थात नोवेम्बर १-२०१७ देखि अक्टोबर ३१ २०१८)सम्मको यात्रा अवधिभर गर्न सक्छन् । साथै, २० जना भाग्यशाली विजेतालाई प्रिभलेज क्लब गोल्ड मेम्बरसिप अफर तथा वैश्विक सञ्जाल भरका प्रिभलेज क्लब मेम्बरहरुलाई गन्तब्य छान्न रिडेम्पशन टिकटमा ५० प्रतिशत छुटको घोषणा पनि गरेको छ । ‘हाम्रो २०औँ वार्षिकोत्सवका अवसरमा वैश्विक रुपमा आकर्षक योजनाको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हाम्रा यात्रुलाई तिनको सहयोगका लागि कृतज्ञता स्वरुप केही दिने बर्षका रुपमा हामीले यस अवधिलाई लिएका छौँ ।’ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एमब अमिनले भने ‘यसर्थमा हाम्रा ईकोनोमी तथा विजनेश क्लास क्याविनमा आकर्षक योजना उपलब्ध गराउँदै कार्य सम्पादनको सफल २० बर्ष साथमा मनाउँदै विभिन्न स्थानमा संगै जान पाउँदा हामी निकै खुशी छौँ ।’ २०औँ बार्षिकोत्सवको अवसरमा सार्वजनकि आकर्षक छुट योजनाका साथै कतार एयरवेजले आफ्ना सामाजिक सञ्जालहरुमा कात्तिक ९ गतेदेखि (अक्टोवर २६ देखि) २० दिने ट्वान्टि रिजन टु फ्लाई क्याम्पेन पनि सञ्चालन गरेको छ । क्याम्पेन अन्तर्गत २० बर्षको यात्राका दौरान कतार एयरवेजले हात पारेका महत्वपूर्ण सफलताहरु माथि प्रकाश पार्ने प्रयास गरिएको छ ।