विकासन्युज

भूकम्प अति प्रभावित स्थानीय तहका वडामा प्राविधिक खटाइने

काठमाडौं । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका वडामा कम्तीमा एकजना प्राविधिक खटाउने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बसेको ८९औँ कार्यकारी समितिको बैठकले शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाईबाट निजी आवास पुनः निर्माणका लागि जिल्लामा खटिएका तथा प्राधिकरणबाट नयाँ नियुक्त हुने प्रक्रियामा रहेका इञ्जिनियर, सब-इञ्जिनियर र ओभरसियरमध्येबाट भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय तहको प्रत्येक वडामा कम्तीमा एकजना प्राविधिक पुग्ने गरी खटाउने निर्णय गरेको हो । भूकम्प कम प्रभावित १७ जिल्लामा भने लाभग्राही सङ्ख्याका आधारमा निजी आवास पुनः निर्माण कार्यमा पर्याप्त हुने गरी प्राविधिक खटाउने व्यवस्था मिलाई पुनः निर्माणमा तीव्रता दिने निर्णय पनि प्राधिकरणले गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र सरोकारबाला बीच छलफल गरेर पुनः निर्माणमा देखिएका समस्या पहिचान गर्ने, समस्या समाधानको उपाय खोजी गर्ने र पुनः निर्माणमा स्थानीय तहको साझेदारीको विधि तय गर्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधि, सम्बद्ध मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक एवं बैंकर्स एशोसिएशन लगायतका सरोकार भएका संस्थासँग शुक्रबार छलफल गर्ने निर्णय पनि भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । पुनः निर्माण गरेका र गर्न चाहने भूकम्पपीडितले स्थानीय तहमा प्राविधिक नभेट्दा समस्या भएको गुनासो गरेपछि कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । रासस

वोमी माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १५०० रुपैयाँ मात्र

काठमाडौं । बिहीबार वोमी माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँ रहको छ । जसको आधार मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ रहेको थियो ।

दुध उत्पादक कृषकलाई खुशीको खबर, १ लिटर दुधमा १ रुपैयाँ सरकारी अनुदान

काठमाडौं । सरकारले देशभरका कृषकलाई दूधको उत्पादनमा एक रुपैयाँ अनुदान कार्यक्रम सुरु गरेको छ । पशु सेवा विभागले १ लिटर दूध उत्पादन बापत कृषकलाई एक रुपैयाँ अनुदान दिनेछ । पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने उद्येश्यले पाइलट कार्यक्रमको रुपमा कृषकलाई अनुदान कार्यक्रम सुरु गरेको हो । कृषकले सो अनुदान प्राप्त गर्नका लागि निश्चित मापदण्ड पालना गरेको दूग्ध उत्पादक सहकारी संस्थामा दुध संकलन गर्नुपर्नेछ । उक्त सहकारीले दैनिक कम्तिमा ३ सय लिटर दुध संकलन र वर्षमा न्युनतम दुई सय दिनसम्म दुधको कारोबार गरेको हुनुपर्नेछ । त्यस्तै सहाकारीले नियमित रुपमा वार्षिक साधारण सभा र लेखा परिक्षण गरेको, स्थायी लेखा नम्बर लिएको र करचुक्ता गरेको हुनुपर्ने मापदण्डमा उल्लेख छ । विभागका अनुसार गत आर्थिक वर्षमा विभागले ७ करोड लिटर बराबरको दूध संकलन भएको थियो । सोही आधारमा सहकारी मार्फत कृषकलाई ७ करोड रुपैयाँ अनुदान वितरण गरेको केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालयका कर्मचारी सुरेश ज्ञवालीले जानकारी दिए । गत वर्ष अनुदान प्राप्त गर्ने सहकारीले अहिले न्युनतम १० प्रतिशतले दुध संकलन बढाएको हुनुपर्ने उनले बताए । उनले भने, ‘यसले दुध उत्पादक कृषकलाई प्रोत्साहित गर्छ नै । साथै यसले दुध संकलन गर्ने सहकारीलाई पनि कानुनी दायरमा ल्याउन मद्दत पुर्‍याउछ ।’ गत आर्थिक वर्षदेखि लागू गरिएको सो कार्यक्रमले दूध उत्पादन तथा संकलनमा वृद्धि भइरहेको उनले जानकारी दिए । उनले भने, ‘यस अघि जिल्ला प्राशासन कार्यालयमा मात्र दर्ता गराउने प्रावधानलाई फराकिलो बनाएका छौं । यसलाई अझ सहज बनाउन हामीले यस्ता सहकारी संस्थालाई विभिन्न जिल्लाका पशु सेवा कार्यालयमार्फत पनि दर्ता गराउने व्यवस्था जारी गरेका छौं ।’ दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागि हुन १५ दिनको सुचना प्रकाशन गरेको छ ।

स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको तयारी

उद्योग मन्त्रालयले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ । सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो । हरेक तहमा ससाना घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न ती ग्रामको विकास गर्ने अवधारणा ल्याइएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए। उक्त ग्राम स्थापनाका लागि १०० देखि २०० रोपनी क्षेत्रफलको जमिनको व्यवस्था तथा बिजुली, बाटो, पानीलगायतका पूर्वाधार मन्त्रालयले तयार गर्नेछ । उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगका बारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ । के कस्तो उद्योग तथा व्यवसाय कुन स्थानीय तहमा उपयुक्त हुन्छ, त्यसको आधारमा ग्रामको विकास गरिन्छ । त्यसैगरी, मन्त्रालयले मझौला तथा ठूला उद्योग सञ्चालनका लागि १४ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । यसका लागि एक हजार रोपनीभन्दा धेरै क्षेत्रफल आवश्यक हुन्छ । शहर बजार तथा त्यस वरपर क्षेत्रमा भएका उद्योगलाई समेत उक्त स्थानमा प्रतिस्थापन गर्न सकिने योजना छ । रासस

देवले युनियन र साझालाई प्राप्ति गर्यो, आउदो बिहीबारदेखि एकिकृत कारोबार हुने

काठमाडौं । चुक्तापुजी बढाउन देव विकास बैंकले दुई संस्थालाई प्राप्ति गरेको छ । देवले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको हो । आउदो बिहीबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्ने छ ।

स्याङ्जामा १५० टन क्षमताको तरकारी तथा आलुको बिऊको स्टोरेज बन्ने

काठमाडौं । सरकारले स्याङ्जामा तरकारी तथा आलुको बिऊ भण्डारण गर्ने कोल्ड स्टोर पुन निर्माण गर्ने भएको छ । स्टोरमा १५० मेट्रिक टनसम्मको बिऊ भण्डारण गर्न मिल्छ । कृषि मन्त्रालय अन्तर्गतको सिचाईं तथा जल स्रोत व्यवस्थापन परियोजनाले स्याङ्जाको गाल्याङ १५० मेट्रिक टन बिऊ अट्ने स्टोरेज बनाउन सार्वजनिक सूचना जारी गरेको छ । अन्तराष्ट्रिय विकास संघबाट ऋण प्राप्त गरी सरकारले स्टोरेज बनाउने तयारी गरेको हो ।

१० कम्पनीको १ अर्ब २२ करोडको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता

काठमाडौं । आर्थिक वर्ष ०७४/०७५ सुरु भएयता धितोपत्र बोर्डमा १० कम्पनीको बोनस सेयर दर्ता भएको छ ।हालसम्म १ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ३३ हजार ४३० कित्ता बोनस सेयर दर्ता भएकोे बोर्डले जानकारी दिएको छ । बोर्डमा दर्ता भएका कम्पनीमा सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंकको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको छ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ४० लाख रुपैयाँ बराबरको ४४ लाख र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएको छ । यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ करोड १२ लाख ९ हजार ९ सय र मिसन डेभलपमेन्ट बैंकको ४ करोड २८ लाख ८३ हजार ५ सय रुपैयाँको बोनस सेयर दर्ता भएका छन् । यी मध्ये अधिकाँशको बोनस सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा कारोबारका लागि सुचिकृत भएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन गत आवको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । अन्य कम्पनीको बोनस सेयर दर्ता हुने क्रममा रहेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रका गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ ।

च्याम्पियन्स लिगमा रियल मड्रिडको लज्जास्पद पराजय

कठमाडौं । च्याम्पियन्स लिगमा गत सिजनको बिजेता रियल मड्रिडको लज्जास्पद पराजय व्यहोरेको छ । इङिलस क्लाब टोटेनह्यामले रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियलले पहिलो हाफमा एक गोल खाएको थियो भने दोश्रो हालमा थप २ गोल गोल खायो । टोटेनह्यामका लागि डेल अलीले २ गोल गरेका हुन् ।  तेश्रो गोल भने एरिक्सनले हानेका थिए । रियल मड्रिडका लागि सान्त्वना एक गोल भने रोनाल्डोले गरेका थिए । जितसँगै ४ खेलबाट १० अंक जोडेको टोटेनह्याम नकआउट चरणमा पुगेको छ भने रियलको ७ अंक रहेको छ ।